ए युवा ! हे युवा !

‘नो नट अगेन’ले एउटा प्रश्न उब्जायो, नट अगेन हो भने ‘यस् अगेन’ चाहिँ के त ?

ए युवा !  हे युवा !
सुन्नुहोस्

नेपालको ‘नो नट अगेन’ आएको ६ महिना कटेको छ। उक्त अभियानको पोस्टरका ६ मध्ये ४ नेताको विजयले ‘यस् अगेन’ भनिसकेको छ। 

‘नो नट अगेन’ले एउटा प्रश्न उब्जायो, नट अगेन हो भने ‘यस् अगेन’ चाहिँ के त ? सामान्य हिसाबमा तत्कालीन जवाफमा रूपमा ६ नेता ‘होइनन्’, युवा–नेता ‘हो/हुन्’ भन्ने बुझिएको हो। अर्को प्रश्न युवा कसलाई भन्ने ? संरासंघको परिभाषा एउटा होला, देशैपिच्छे अर्को। 

हो, यहाँ यसै सेरोफेरोमा बढीमा ४५–५० वर्ष पुगेका विश्वका युवा वा युवा–वयस्क राष्ट्रप्रमुख वा नेतालाई यही ६ महिनामा नियाल्ने प्रयास गरियो। केही समय खर्चंदा पनि युवा–नेताका पक्षमा लेख्नैका लागि मनमा छर्लंग तस्बिर भने आउन सकेन। दोमन भयो। प्रश्नहरू आफूतर्फ सिंगौरी खेल्न आए।

के आममान्छे यो जमातलाई विश्वास गर्दैन ? के सामाजिक सञ्जाल यिनका लागि अप्ठ्यारा हुन् ? के ती माध्यमले बढी उफारेका हुन् ? के ती माध्यमले सबैथोक हुन् ? सञ्चारमाध्यम पनि यिनैविरुद्ध खनिने गर्छन् ? के उनीहरू हतारमा छन् ? चर्चित हुन अनेक गर्छन् ? के कता जाने हो, स्पष्ट छैनन् ? राजनेताको संस्कार छैनन् ? परिपक्व छैनन् ? विघटनशील छन् ?
आदि आदि। यस्तै प्रश्नको उत्तर खोज्दा ती राष्ट्रप्रमुख वा नेताहरू तिनै प्रश्नमा जेलिएका जस्ता देखिए।

‘नो नट अगेन’ आएताका फिनिस प्रधानमन्त्री साना म्यारिन पार्टीमा नाचेको भिडियो ट्विटरमा आयो। उनी विवादमा परिन्। सन् २०१९ मा ३४ वर्षकै उमेरमा प्रधानमन्त्री छानिँदा उनी विश्वकै कान्छो प्रधानमन्त्री बनेकी थिइन्। म्यारिन त्यसको चार वर्षअघि २९ वर्ष हुँदा सांसद चुनिएकी थिइन्। 

उक्त घटनापछि उनले झेलेका आलोचनाको चाङ नै थियो। मादक पदार्थ खाएको थियो, उनको लागूऔषध परीक्षण गर्नुपर्छ आदि। कोभिडका समयमा क्लबमा उनलाई भेटिएको थियो। लाग्छ, जिम्मेवार मान्छे, अलि गम्भीर हुनुपर्ने हो। हामीलाई मात्र लाग्या हो वा अरूलाई पनि यस्तो हुन्छ ? उनीमात्र होइनन्, एकातर्फ युवा– अर्कातर्फ जिम्मेवार व्यक्तिको चेपमा पर्ने राष्ट्रप्रमुख।

अमेरिकी प्रतिनिधिसभा (संघीय) सदस्य जोर्ज स्यान्टोस सात दिनमा एकपटक समाचारमा देखिन्छन्। ३४ वर्षीय स्यान्टोस गत नोभेम्बरमा न्युयोर्क तेस्रो कंग्रेसनल डिस्ट्रिक्टबाट विजयी। 

आफ्नो पहिलो जितको केही हप्ताभित्रै स्यान्टोसमाथि आफ्नाबारे असत्य तथ्य उजागर गरेको आरोप लाग्यो। जसमा उनको विद्यालय तथा कलेज शिक्षा, यहुदी भएको र दोस्रो विश्वयुद्धको जातीय संहारमा हजुरआमा गुमाएको, सिटीग्रुप र गोल्डम्यान स्याक्सजस्ता वित्तीय संस्थामा काम गरेकोसहित चुनावी अभियानमा खर्च कहाँबाट आयो र कसरी खर्च भयो। 

सेप्टेम्बर ११ को आतंकवादी हमलामा आमाको मृत्यु आदि छन्। स्यान्टोसमाथि यस्ता धेरै मनगढन्ते तथ्यले आफूलाई उचो देखाएको/सिंगारेको आरोप छ।  उनीमाथि उनको रिपब्लिकन पार्टीको एथिक्स कमिटीले छानबिन गर्ने मार्चको सुरुमा जनाएको छ।

स्यान्टोससँगै निर्वाचित अर्का युवा समाचारमा आए, तर फरक किसिमको व्यक्तिगत आर्थिक अव्यवस्थापनका कारण। उनी हुन्, २५ वर्षीय म्याक्सवेल फ्रस्ट। फ्लोरिडा दसौं कंग्रेसनल डिस्ट्रिक्टबाट विजयी। फ्रस्ट सबभन्दा कान्छो र पुस्ता– जेड (सन् ९० को दशक अन्तिम र २००० दशक सुरुमा जन्मेको) को कंग्रेस सदस्य। जितपछि राजधानी वासिंटन डीसी बस्नुपर्ने भयो। 
जनवरी सुरुमा शपथ हुनुअघि डेरा खोज्न थाले। घरभाडा लिन खोज्दा क्रेडिट पुग्दो नभएकाले आवास पाएनन्। चुनावी–अभियानमा लाग्दालाग्दै क्रेडिटमा ध्यान नपुगेको उनको भनाइ थियो। उनलाई किन धनभन्दा क्रेडिटको महत्व बढी हुन्छ, भन्ने हेक्का रहेन ?

अब अफ्रिकी मुलुकतिर लागौं। एकैछिन कमजोर राजनीतिक संस्कार, कम साक्षर देश युगान्डा। डिसेम्बरमा राष्ट्रपति योभेरी मुसेभेनीका ४८ वर्षीय छोरा मुहुजी काइनेरुगाबाले भने, ‘यदि मैले ट्विटरमा पर्याप्त लाइक पाएँ भनें म बुबाको उत्तराधिकारी हुन्छु।’ मुहुजी सशस्त्र सेनाका एक जनरल पनि हुन्। उनका ७८ वर्षीय पिता सन् १९८६ देखि देशका शासक छन्। 

ट्विटलाई रिट्विट र लाइक भए, भरोसा हुन्छ, नत्र कसरी पत्याउनु भन्ने उनको तर्क थियो। अहिले उनी चुनाव लड्ने तर्खरमा छन्। खुब ट्विट गर्न रुचाउने मुहुजी केन्या कब्जा गर्ने धम्की दिन्छन्, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्छन्। उनको देशको आम–मतदाताका लागि उनी पक्कै ठूलै मानिस होलान्। तर बाहिरबाट हेर्दा/पढ्दा अनौठो पक्कै लाग्छ! युगान्डामा कस्तो राजनीतिक संस्कार होला खै!

यता युरोपमा फिनल्यान्डपछि बेलायततिर बरालिऔं। प्रधानमन्त्री ऋषि सुनकले गत साता आफ्नो कुकुरलाई डोरी (फित्ता) बाट छाडेको भिडियो टिकटकमा सार्वजनिक भयो। उनी मध्य–लन्डनको हाइड पार्कमा आफ्नो नोभा नामक घरपालुवा ल्याब्राडोर कुकुर लिएर घुम्दै थिए। उक्त स्थानमा कुकुर खुला नछाड्नू भनेर लेखिएको पनि सूचना थियो। 

उनको परिवारलाई प्रहरीले कुकुर छाडा नछाड्न सम्झाउनु परेको थियो। केही साताअघि ४२ वर्षीय सुनक कारमा सिटबेल्ट नबाँधी यात्रा गरिरहेका भेटिएका थिए। त्यो भने इन्स्टाग्राम भिडियोमा र जसका लागि उनले एक सय पाउन्ड जरिवाना तिरेका थिए। त्यसभन्दा पनि अघि नै कोभिडकालमा रोग नियन्त्रण तथा रोकथामविरुद्ध राज्यको नियम उल्लंघन गरी पार्टीमा सहभागी भएकाले ५० पाउन्ड तिरेका थिए, सुनकले।

यस्तै, उट्पट्याङमाझ सुखद समाचार आयो, न्युजिल्यान्डको। तत्कालीन प्रधानमन्त्री जसिन्डा आर्डर्नले फेब्रुअरीमा स्वेच्छापूर्ण रूपमा पद छाडिन्। 

४२ वर्षीया उनले भनिन्, ‘म छोड्दै छु, किनकि यस्तो विशेषाधिकार प्राप्त भूमिकामा जिम्मेवारी हुन्छ। तपाईं नेतृत्व गर्न सही व्यक्ति कहिले हुनुहुन्छ र हुनुहुन्न भन्ने थाहा पाउनु नै जिम्मेवारी हो। मसँग अब उक्त जिम्मेवारी पूरा गर्न यो ट्यांक (क्षमता वा दिमाग) पर्याप्त स्रोत छैन। यो सामान्य हो।’ उनले १७ वर्षमा राजनीति गर्न थालेकी थिइन्। एक परिपक्व रूपमा देश सम्हालिन् र ससम्मान पद छाडिन् भन्दा धेर नहोला। उनको घोषणाबाट पदलोलुप नेताले शिक्षा लिए/लिएनन् ?

उदाहरण धेरै भेटिन्छन्। कहिले राम्रो त कहिले नराम्रो। यो लेखन यी पात्रको पूर्ण मूल्यांकन होइन। सूक्ष्म पाटोमात्र हो। क्षणिक कुरा हुन्, जसले उनका राम्रा काम छायामा पारेका हुन सक्छन्। यी उदाहरणमा उल्लेख गरिएका ‘हुस्सु’ ठहरिएका कि धेर बाठा वा ’... लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन’ भएका हुन् ? वा हामीले युवालाई प्यारो ठानेर ‘त्यसो नगर’ भन्न औंला ठड्याएका हौं। हाम्रो अपेक्षा बढी भएर साना गल्ती ठूला देखिएका। 

समाज युवामा विश्वास गर्ने तयार छैन भनौं भने ३४/३५ का युवा पनि राष्ट्रप्रमुख छन्। आशा पनि युवाप्रति छ, लाग्छ– युवा आफैं चाहिँ निश्चयी छैन। यति भन्दाभन्दै पनि निश्चयी युवा नेतृत्व आजको खाँचो हो। ‘मन परेको केटो जेठाजु’ नहोस् भन्ने अपेक्षामात्र हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.