९० वर्षमा आँखाको ज्योति फर्किएपछि हर्ष

९० वर्षमा आँखाको ज्योति फर्किएपछि हर्ष
टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णस्थित आँखा शिविरबाट मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीहरूको चेकजाँच गर्दै चिकित्सक। तस्बिर : प्रदीपचन्द्र राई
सुन्नुहोस्

भोजपुर : टेम्केमैयुङ गाउँपालिका-२, छिनामखुका मच्छिन्द्र बहादुर राईले ९० वर्षको उमेरमा पुनः नयाँ ज्योति पाएका छन्। 

वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ। विगत लामो समयदेखि मच्छिन्द्रलाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो। तर मोतियाविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा अझै संसार हेर्ने इच्छा जागेको छ।

‘मेरा लागि यो दोस्रो जन्म हो, दीर्घकालदेखि अँध्यारो लाग्ने यो संसारलाई हेर्नै नपाई अस्ताउँछु कि झैँ लाग्थ्यो’ उनले हर्षिलो हुँदै सुनाए, ‘अब अझै यो रंगिन संसार हेर्न पाउने भएँ, खुशी साट्न पाएँ’ मच्छिन्द्र जस्तै भोजपुरका दुर्गम ग्रामीण भेगका नागरिकहरू घर आँगनमै निःशुल्क आँखाको उपचार पाउँदा हर्षित बनेका छन्। समय र खर्चको जोहोविनै आँखाको उपचार र शल्यक्रिया पाएपछि उनीहरूमा पुनः संसार नियाल्ने सपना पूरा भएको छ।

मच्छिन्द्र जस्तै लामो समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णका ८७ वर्षिय भीम बहादुर श्रेष्ठ चकित छन्। गाउँपालिकाको केन्द्र अन्नपूर्णस्थित अन्नपूर्ण बागधन रणदिप राई माविमा आयोजित दक्ष चिकित्सकबाट उत्कृष्ट निःशुल्क आँखाको शल्यक्रिया हुने खबर पाए। शल्यक्रियापछि पाएको नयाँ ज्योतिले उनलाई अत्यन्त हर्षित तुल्यायो। उनले भने, ‘संसार देख्नु नै मेरा लागि ठूलो वरदान हो, यो भन्दा जिन्दगीमा ठूलो खुशीको क्षण आएको छैन, वर्षौदेखि आँखामा पट्टि लगाएको झैँ लाग्थ्यो तर अब यो सास्ती पुरै हट्यो।’

गाउँघरमै ठूला अस्पतालको उपचार पाउनु सर्वसाधारणका लागि राम्रो अवसर भएको गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले बताइन्। ‘ग्रामीणस्तरका नागरिकलाई ठुला अस्पताल जाँदा आइपर्ने महंगो खर्च र सास्ती यो शिविरले कम गरेको छ।’ उनले भनिन्, ‘गाउँमै निःशुल्क ठूला उपचार पाउनु हाम्रो लागि पनि ठुलो अवसर हो।’

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना र गाउँपालिकाको प्रायोजनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरले वर्षौदेखि आँखाको समस्या झेलिरहेका र आर्थिक अभावका कारण उपचारबाट बञ्चित सर्वसाधारणलाई सेवा दिइरहेको छ। 

सिबिएम ग्लोबल विराटनगर, आँखा अस्पताल विराटनगर रानीको प्राविधिक सहयोगमा गाउँपालिकाको ९ वटै वडाबाट आएका १३ सय जना बिरामीको जाँच र उपचार गरिएको छ। जसमा ५४ जनाको सफल मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। 

विशेषगरि विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरि भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्र रोग विशेषज्ञ डा. युगान्तिका खत्रीले बताइन्। उनले भनिन्, ‘भोजपुरका ग्रामीण विपन्न र असक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामीण भेगका वर्षौदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ।’  

वर्षौदेखि आँखाको समस्याले ग्रसित दुर्गम ग्रामीण भेगका विपन्न समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको केन्द्र प्रमुख विजय तामाङले बताए। ‘हामीले ग्रामीणस्तरबाट बिरामीहरूको छनोट गरेर उपचार थाल्यौँ। आर्थिक अवस्थाले उपचार खर्च धान्न नसकेका बिरामीलाई विशेष प्राथमिकता दिनकै लागि शिविर सञ्चालन गरेका हौँ,’ उनले भने, ‘आगामी दिनमा पनि जिल्लाभरका अन्य ग्रामीण भेगमा यसरी नै उपचार सेवाबाट वञ्चित अन्य बिरामीको शल्यक्रिया गर्ने लक्ष्य छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.