बिर्सनै गाह्रो भयो ‘माननीय सदस्यहरू’

धनगढी : नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुवास नेम्बाङलाई संविधानसभाको नेतृत्वकर्ताका रूपमा मात्रै बुझ्न नहुने बताएका छन्। नेम्बाङ बहुप्रतिभाका धनी भएकाले उनको निधनले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति पुगेको पौडेलले बताए।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै पौडेलले यस्तो बताएका हुन्। ‘नेम्बाङ संविधानसभाका नेतृत्वकर्ता हुनुहुन्थ्यो, उहाँमा जस्तोसुकै असहज परिस्थितिको सामना शालीनतापूर्वक गर्ने सामथ्र्य थियो। फरक फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो’, पौडेलले भने।
उनले सुवास नेम्बाङसँगका अन्तरंग कुराहरू उल्लेख गर्दै उनको निधनले एमालेभित्र मात्रै नभइ देशले नै कुशल नेतृत्व गुमाएको जिकिर गरे। श्रद्धाञ्जली सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पनि सहभागिता थियो। ‘नेम्बाङले सभामुख हुँदा राजनीतिक पक्षपात कहिले पनि देखाउनु भएन। उहाँका कर्मले अहिले नेम्बाङ जनजनको मनमा बस्नु भएको छ’, मुख्यमन्त्री शाहले भने।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले भावुक हँुदै भने, ‘मलाई उहाँको तस्बिर हेर्दा कतै ‘माननीय सदस्यहरू’ भनिहाल्नु हुन्छ की जस्तै भइरहेको छ। उहाँको तस्बिर हेर्दा, कतै बोलि हाल्नु पो हुन्छ की भन्ने लागि रहेको छ। यो सत्य हो, उहाँले भौतिक शरीर छोडेर जानुभयो, तर उहाँ हामी माझमै हुनुहुन्छ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले नेम्बाङ जस्तो शालीन सभामुख अब कहिल्लै नपाइने बताए। ‘उहाँ संविधानसभाको नेतृत्वकर्ता मात्रै होइन, एक शालीन र सभ्य राजनीतिकर्मी हो। उहाँको मनमा कहिल्लै कसैप्रति रिसराग देखिएन, त्यसैले देशले नेम्बाङको कमी कालान्तरसम्म महसुस गरिरहने छ।’
प्रतिक्रिया दिनुहोस !
