स्वास्थ्य संस्थामै सुलभ फार्मेसी
धनकुटा : जिल्लाको छथरजोरपाटी गाउँपालिका-१ मा रहेको हात्तीखर्क स्वास्थ्य चौकीले सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ। औषधि खरिदका लागि टाढाको बजार जानुपर्ने बाध्यता भएपछि स्वास्थ्य चौकीले फार्मेसी सञ्चालनमा ल्याएको हो।
सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि स्थानीयलाई सहुलियत र सहज रुपमा उपलब्ध गराउन फार्मेसी सञ्चालनमा ल्याइएको हात्तीखर्क स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्द लिम्बूले बताए।
सुलभ फार्मेसी सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीयलाई औषधि खरिदका लागि सिँधुवा तथा हिले बजार, धनकुटा बजारसम्म पुग्नुपर्ने बाध्यता हटेको छ।
हात्तीखर्क बजारभन्दा टाढा रहेको र एउटा औषधि ल्याउन धेरै खर्च गर्नुपर्ने समस्या देखिएपछि फार्मेसी स्थापना गरिएको छथरजोरपाटी गाउँपालिका-१ का वडाध्यक्ष समेत रहेका लिम्बुले बताए।
अब स्थानीयले सहुलियत तथा सहज तरिका औषधि उपभोग गर्न पाउने उनले बताए। फार्मेसी स्थापनाका लागि आर्थिक वर्ष २०७९/८० मा १ नम्बर वडा कार्यालयले ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
फार्मेसी सञ्चालन भएपछि चालु आर्थिक वर्षमा वडाबाटै थप १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पुँजी नमास्ने र स्थानीयलाई पनि सुविधा दिनेगरी हरेक वर्ष कोष वृद्धि गर्दै लैजाने उनले बताए।