महिला कर्मचारीलाई महिनावारी बिदा
बुटवल : लुम्बिनी प्रदेश सरकार मातहत कार्यरत महिला कर्मचारीहरूलाई प्रदेश सरकारले महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्था गरेको छ। हालै सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो।
प्रदेश सरकारले यो व्यवस्था नियमावली बनाएपछि मात्र पूर्णरूपमा लागू हुनेछ। ‘सरोकारावालाहरूसँग छलफल गरेर नियमावली बनाउने तयारी भइरहेको छ’, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी उपसचिव भविश्वर घिमिरेले भने, ‘लुम्बिनी प्रदेश सरकार मातहत कार्यरत करिब ८ सय जना महिला कर्मचारी यसबाट लाभान्वित हुनेछन्।’
घिमिरेका अनुसार लुम्बिनी प्रदेश सरकारअन्तर्गत महिला पुरुष गरी करिब ४ हजार ५ सय जना कर्मचारीहरू कार्यरत छन्। महिनावारी (रजस्वला) भएको बेला महिनामा कति दिन बिदा दिने भन्ने नियमावली तयार भइसकेपछि टुंगो लाग्ने घिमिरेले बताए। नियमावली तयार पार्नका लागि प्रदेश सचिव सुमख घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ।
नेपाल सरकारले सुत्केरी भएको बेला महिलाहरूलाई तीन महिनासम्म सुत्केरी बिदा दिने गरेको छ। आन्तरिक मामिला तथा कानुन समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक निमा गिरीले महिलालाई सुत्केरी बिदा ६ महिनासम्म दिनुपर्ने व्यवस्थाका लागि समेत आवाज उठाइरहेको प्रतिक्रिया दिइन्।
‘महिनावारी बिदा दिने व्यवस्थापछि कतिपयले नकारात्मक टिप्पणी गरेको देखियो’, गिरीले भनिन्, ‘कुनैबेला छोरीलाई पनि अंश दिनुपर्छ भन्दा मानिसहरू यसैगरी मजाकको विषय बनाउँथे। अहिले कतिपय मानिसहरू यसैगरी विरोधमा आएको देखियो।’ महिनावारी देख्नेलाई भन्दा भोग्नेलाई पीडा हुने विषय भएकाले यसलाई मजाकको विषय नबनाउन उनले सबैमा सुझाइन्।
प्रतिक्रिया दिनुहोस !