व्यवसाय टिकाउन बुटवलमा रात्रीकालीन बजारको माग

व्यवसाय टिकाउन बुटवलमा रात्रीकालीन बजारको माग

बुटवल : बुटवलको मुख्य मुख्य क्षेत्रमा रात्रीकालीन होटल व्यवसाय सञ्चालन गर्नका लागि यस क्षेत्रका होटल व्यवसायीहरूले माग गरेका छन्। दिनप्रतिदिन व्यवसाय सुनसान बन्दै जान थालेपछि नयाँ सोचका साथ रात्रीकालीन व्यवसाय सञ्चालनको माग गरिएको हो। 

बुटवलको कालिकापथ, अमंरपथ र ट्राफिकचोक क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गर्नका लागि सरकारसँग माग राखिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए। ‘मानिसहरू दिउँसभरको कामको थकानले रातमा खाना सहितको मनोरञ्जनमा भुल्न चाहन्छन्’,भण्डारीले भने,‘यस क्षेत्रको पर्यटकीय प्रवर्द्धनका लागि पनि हामीले यस्तो माग गरेका हौँ।’ 

उनले साना ठूला गरी बुटवल क्षेत्रमा करिव सात सय वटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेको जानकारी दिए। रुपन्देही जिल्लाभर १ हजार २ सय ३ वटा होटलहरू सञ्चालनमा छन्। बुटवल क्षेत्रको आर्थिक चलायमान बनाउनका लागि पनि रात्रिकालीन बजारले विशेष भूमिका खेल्ने भण्डारी सुनाउँछन्। ‘तीन दिनसम्म चलेको सडक खाना महोत्सवमा पनि यसबारेमा सरोकारवालाहरूसँग बहस, छलफल गरिएको छ’,भण्डारीले भने,‘सबै क्षेत्रबाट सकरात्मक सुझाव आएको छ। हामी केही समयभित्र यसलाई कार्यान्वयनमा लैजाने गरी अघि बढिरहेका छौँ।’ 

उनले अब नयाँ सोँच र अवधारणाबाट व्यवसाय सञ्चालन नगरे बढ्दो बेरोजगारी समस्या झन जटिल बन्दै जाने धारणा राखे। रात्रिकालीन बजार सञ्चालन गर्नका लागि उनले राज्यलाई सुरक्षाको व्यवस्थापन मिलाइदिन आग्रह समेत गरे। बजार सञ्चालन हुने बजार क्षेत्रमा सडक लाइट र सीसी क्यामरा जडानका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरिएको उनले बताए। 

तीन दिनसम्म सञ्चालन भएको सडक खाना महोत्सवमा सवै क्षेत्रबाट रात्रिकालीन बजार सञ्चालनको आवश्यकता व्यवसायीहरूबाट आएको उनको भनाइ छ। सडक खाना महोत्सवमा करिब चार करोडको आर्थिक कारोबार भएको थियो।  होटल व्यवसाय दिनमा भन्दा रातिको समयमा धेरै चल्ने यस क्षेत्रका व्यवसायीहरू अनुभव सुनाउँछन्। विभिन्न कला संस्कृति प्रदर्शनसहित आन्तरिक एवं बाह्य पर्यटकहरूलाई लोभ्याउने र भुलाउने गरी बजार सञ्चालन गर्ने योजना होटल व्यवसायीहरूको छ। 

सडक खाना महोत्सवको स्वाद लिन चितवनको सौराह, पोखरा, काठमाडौं लगायतका शहरमा पुग्ने बुटवलका पर्यटकहरू विगत पाँच वर्षदेखि बुटवलमै रमाउने गरेका छन्। अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले हरेक वर्ष सडक खाना महोत्सव सञ्चालन गर्छ। 

व्यवसायीहरूबाट रातिमा होटल व्यवसाय चलाउन पाउनुपर्ने माग आएको र सम्बोधनका लागि विभिन्न प्रयास भइरहेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। ‘कालिकापथ क्षेत्रमा लाइटको व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ’,उनले भने,‘क्रमशः अमंरपथ र ट्राफिकचोकमा पनि व्यवस्थापन गरेर रात्रीकालीन बजार सुरु हुन्छ।’ 

उनले उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा साथ दिने समेत प्रतिवद्धता समेत जनाए। तर, रातिमा कसरी होटल सञ्चालन गर्ने भन्ने बारेमा ठोस योजनासहित आउन उनले व्यवसायीहरूलाई आग्रह गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.