साउदीमा मनाइयो पृथ्वी जयन्ती

साउदी : साउदी अरेबियामा पनि पृथ्वी जयन्ती मनाइएको छ। पानस साउदी अरेबियाको आयोजनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती मनाइएको छ।
साउदीको बथा र जुबेल शहरमा आयोजना गरिएको कार्यक्रममा उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। प्रतिकुल समयलाई मध्यनजर गर्दै समारोहमा उपस्थित वक्ताहरूले नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान र उनको जीवनी बारे उल्लेख गरेका थिए।
उपस्थित वक्ताहरुले राष्ट्रनिर्मातालाई राज्यले सोहीअनुसारको सम्मान दिन चुकेको भन्दै पृथ्वीनारायण शाहको जन्म जयन्तीमा राज्यले सार्वजनिक बिदा तथा हरेक क्षेत्रमा शालिक बनाउनु पर्नेमा जोड दिनुको साथै राष्ट्रप्रेमले भरिएको पृथ्वीनारायण शाहको हरेक दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक र मननयोग्य रहेकाले कुनै पनि वादका नाममा इतिहासलाई कसैले फेरबदल गर्न नमिल्ने धारणा समेत राखेका थिए।
साथै इतिहासलाई सम्झँदै पृथ्वीनारायण शाहको फोटो सम्झना स्वरूप हरेक नेपालीको घर घरमा हुनुपर्ने र इतिहासलाई सम्झनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा पानस साउदी अध्यक्ष कुवेर हुमागाईं तथा रियाद क्षेत्रीय अध्यक्ष अमर सापकोटा ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै अबदेखि हरेक वर्ष साउदी अरबमा पृथ्वी जयन्ती मनाइने उद्घोष समेत गरेका छन्। साथै राप्रपा जहिले पनि विचारमा केन्द्रित हुने र राष्ट्रको हितमा सदैव लाग्ने बताए।
प्रतिक्रिया दिनुहोस !
