रुपन्देहीका दूध किसानहरूले मागे कृषिमन्त्रीको राजीनामा
बुटवल : दूध किसानहरूको मागप्रति नेपाल सरकारले बेवास्ता गरेको भन्दै बुटवलका किसानहरूले कृषिमन्त्रीको राजीनामा माग गरेका छन्। बिहीबार बुटवलको राजमार्ग चौराहमा भेला भएका रुपन्देहीका दूध किसानहरूले मन्त्रीको राजीनामा र एक घण्टा चक्काजाम गरेका थिए।
आफूहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि कोणसभा गरिएको रुपन्देही दूध उत्पादक सहकारी संघका उपाध्यक्ष खिमलाल पाण्डेले जानकारी दिए। नेपाली किसानहरूले उत्पादन गरेको दूध खरिदमा राज्यले वेवास्ता गरेको र विचौलिया हाबी हुँदै जान थालेकाले त्यसलाई रोक्न माग गर्दै किसानहरू आन्दोलनमा उत्रिएका हुन्।
उपाध्यक्ष पाण्डेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म देशभर १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दूध विदेशबाट नेपाल आयात भएको छ। विभिन्न ४५ वटा देशबाट उक्त रकम बराबरको दूध नेपाल भित्रिएको पाण्डेले जानकारी दिए।
उनका अनुसार रुपन्देही जिल्लाका किसानहरूले दुग्ध विकास संस्थानले चालु आर्थिक वर्षको तीन महिनाको मात्र १० करोड रुपैयाँको दूधको रकम भुक्तानी गरेको छैन्। रुपन्देही दूध उत्पादक सहकारी संघमा २५ वटा दूध सहकारीहरू आवद्ध रहेको पाण्डेले बताए। ‘विदेशको अस्वस्थ दूध बिक्रीमा विचौलियाहरूसँग सरकार मिलेको छ’,पाण्डेले भने,‘नेपाली किसानको दूध खरिद गर्न र भुक्तानी दिन सरकारले वेवास्ता गरेको छ।’
प्रतिक्रिया दिनुहोस !