११४औं अन्तर्राष्ट्रिय नारी दिवस : सामाजिक–आर्थिक योगदानमा नारी

११४औं अन्तर्राष्ट्रिय नारी दिवस : सामाजिक–आर्थिक योगदानमा नारी

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः। अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता निवास गर्दछन् र जहाँ नारीको पूजा हुँदैन, त्यहाँ गरिने समस्त श्रेष्ठ कर्म निष्फल हुन पुग्छ। शोचन्ति जामयो यत्र विनश्यत्याशु तत्कुलम्, न शोचन्ति तु यत्रैता वर्धते तद्धि सर्वदा। अर्थात् जुन कुल परिवारमा नारी कष्ट भोग्छन्, त्यो कुल परिवार शीघ्र नष्ट भएर जान्छ र जहाँ नारी प्रसन्न रहन्छन्, त्यो कुल परिवार सदैव उर्वर र समृद्ध रहन्छ। 

यी संस्कृतका श्लोकहरू मनुस्मृतिमा संग्रहित छन्। यी श्लोकहरू नारीप्रति समर्पित छन्। नारी अर्थात् प्रकृति, जगतको आधा अंग, देवी भगवती, आमा, दिदी–बहिनी, पुत्री, वा अन्य कुनै पनि स्त्रीप्रति प्रत्येक व्यक्तिले समादरको भाव राख्नुपर्ने आदर्श र आचरणको महत्व यी श्लोकहरूमा वर्णित छ। जहाँ नारीको सम्मान हुँदैन अथवा जहाँ नारीको जीवन कष्टकर हुन्छ, त्यहाँ कुनै पनि कामना पूर्ण हुँदैन र त्यस परिवारको पतन अवश्यंभावी हुन्छ। नारीलाई परापूर्वकालदेखि नै परिवार र समाजमा महत्वपूर्ण स्थान दिइएको छ। यसको प्रमाण हाम्रा धार्मिक ग्रन्थहरूमा पनि पाइन्छ। प्राचीन ग्रन्थहरूमा नारीहरूलाई देवीजस्तै पूजनीय मानिएको छ। 

सनातन धर्मग्रन्थहरू श्रुति र स्मृति गरी २ वर्गमा वर्गीकृत गरिएका छन्। श्रुतिको शाब्दिक अर्थ सुनिएका कुराहरू। अर्थात् ईश्वरको वाणी, जो प्राचीन कालमा ऋषि मुनिद्वारा सुनिएको थियो। चारवटै वेद श्रुति ग्रन्थको वर्गमा पर्दछन्। ती बाहेक सम्पूर्ण धर्मग्रन्थ स्मृति ग्रन्थ हुन्। स्मृतिको शाब्दिक अर्थ स्मरण हो। रामायण, महाभारत, गीता, पुराणहरू स्मृतिमाथि आधारित छन्। स्मृतिहरूमा शिक्षाप्रद कथा र नैतिक शिक्षाहरू छन्। स्मृतिहरूमा मनुस्मृति सर्वश्रेष्ठ ग्रन्थ हो। मनुस्मृतिमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद–विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूको विवेचना गरिएको छ, जो कि मानव मात्रको जीवनमा घटित हुन्छन्। मनु आदिपुरुष थिए र उनको यो रचना आदि शास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ–साथ देश, काल तथा जाति बन्धनले रहित छन्। 

मनुस्मृति भन्छ कि जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ। प्रत्येक परिवारमा देवीदेवताको वासको चाहना हुन्छ। देवीदेवता शुभता, शान्ति, समृद्धिका प्रतीक हुन्। देवीदेवताको सामिप्यको चाहना राख्ने हरेक परिवारले नारी सदस्यलाई पुरुष जत्तिकै महत्व दिनुपर्छ। विद्याकी देवी सरस्वती, धन–धान्य र समृद्धिकी देवी लक्ष्मी तथा शक्तिकी देवी महाकाली अखिल सनातन विश्वमा पुज्य छन्। स्वयं शिव जो सम्पूर्ण ब्रह्म हुन्, उनले पनि शक्तिको अनुपस्थितिमा शिव पनि ‘शव’ मात्र हो भनेका छन्। शिवको अर्धनारीश्वर स्वरूपले हरेक मानिस चाहे पुरुष होस् या नारी होस् एक मानवभित्र नारी र पुरुष दुवैको आवश्यकता हुन्छ भन्ने कुरा प्रतिबिम्बित गरेको छ। शिव पुराणका अनुसार भृंगी ऋषिले नारी अस्तित्वलाई स्वीकार गर्दैन थिए।

एकपटक महादेवको ज्ञानसभामा उनी उपस्थित भए। सभामा सप्तऋषिहरूले महादेव र पार्वतीको परिक्रमा गर्ने इच्छा व्यक्त गरे। महादेवको स्वीकृतिपछि उनीहरूले महादेव र पार्वती दुवैको परिक्रमा गरी आशीर्वाद प्राप्त गरे। तर ऋषि भृंगीले पार्वतीको परिक्रमा गर्न चाहेनन्, प्रभु ! तपाइँको मात्र परिक्रमा गर्ने भन्दै उनले महादेव र पार्वतीको मध्य बाटो बनाई महादेवको मात्र परिक्रमा गरे। दोस्रो खेपको परिक्रमा गर्नै लाग्दा महादेव र पार्वती संयुक्त भए। महादेव र पार्वती संयुक्त हुनासाथ ऋषि भृंगी पनि मनुष्यको रूप छाडी भृंगी किराको रूप लिएर महादेव र पार्वती संयुक्त भएको सान्ध्यस्थ हुँदै महादेवको परिक्रमा गरे।

परिक्रमापश्चात आशीर्वाद प्राप्तिको क्रममा पार्वतीले ऋषिलाई तिम्रो शरीर तिम्रो विचार झैं परिवर्तित होओस् भनी आशीर्वाद दिईन्। पार्वतीले यति भन्नासाथ ऋषिको देह शक्तिरहित भएर गयो। ऋषि भृंगीलाई शारीरिक अशक्तताको आभाष हुनासाथ पुरुष र नारीको परिपुरकताको अनुभव गरे र उनले क्षमायाचना गरे। यसै घटनामा महादेव र पार्वतीको अर्धनारीश्वर स्वरूप प्रत्यक्ष भएको हो। शक्ति भनेकै नारी हो। नारी शक्तिका सहस्रनाम छन्। त्रिदेवी, नवदुर्गा, दस महाविद्या, अष्टलक्ष्मी, चौंसठ योगिनी, शोडष मातृका, सप्त मातृका आदि। नारी शक्ति वर्णनातीत छ।

मनुस्मृतिको काल एवं प्रणेताको विषयमा अनेक मत प्रचलित छ। तर मेधातिथिले गरेको टीकाको रचनाकाल र समयको अनुमान काणे, बुहलर, र म्याक्समुलरले गरेका छन्। बुहलर र म्याक्समुलरले मेधातिथिको रचना ५७ वि.सं. र स्थान काश्मीर क्षेत्र अनुमान गरेका छन्। प्रोफेसर काणेले भरुचिले गरेको मनुस्मृतिको टीकालाई सबैभन्दा पुरानो ठान्दछन्। ओलिवेली र डेरेटले यस टीकाको समय वि.सं. ६००–६५० अनुमान गरेका छन्। बुहलरले एक स्थानमा मनुस्मृतिको समय १५०० ई.पू. भएको अनुमान गरेका छन्। नारीप्रतिको स्मृतीय धारणाले परिवार र समाजमा नारीको उजागर गर्दछ।

हिन्दू धर्ममा यशश्वी नारीको महान परम्परा रहेको छ। यहाँ जीवनको हरेक क्षेत्रमा वैदिक कालदेखि नै नारी पुरुषका समान अग्रणी रहेका छन्। उपनिषद् भन्दछ कि एउटै मूल तत्त्व द्विदल अन्नको दुबै दल झैं नारी र पुरुषको स्वरूपमा विभक्त भएका छन्। त्यसै सिद्धान्त उभेर दुबैलाई परस्पर अर्धांग मानिएको छ। महादेवको अर्धनारीश्वर स्वरूप पुजित हुनुको तात्पर्य नर–नारी समान महत्वका हुन् भन्ने हो। जीवनको प्रत्येक क्षेत्रमा विदुषी, दक्ष, प्रसिद्ध तथा सफल नारीहरूको अनन्त शृंखला छ। 

कालक्रममा राजनीतिक व्यवस्थाहरूमा परिवर्तन आएसँगै एघारौं शताब्दीतिर नारी जगतको अस्तित्वमा पनि असर पर्‍यो। नारीको स्वतन्त्रता खोसियो, शिक्षा पाउने अधिकार पनि खोसियो। नारीलाई देश र समाजप्रतिको कर्तव्यबाट पनि वञ्चित गरियो। तर पछिल्लो स्वतन्त्रता आन्दोलनहरूको सफलतासँगै नारीको अस्तित्वमा पुनः सकारात्मक परिवर्तन भयो। सिंगो समाजसँगै नारीले पनि आफ्नो स्वरूपलाई चिने। नारी अस्तित्वको पुनःस्थापनाका लागि सबै तर्फ प्रयत्न सुरु भयो। आज नारीहरू शिक्षा प्रणाली, विज्ञान, सैनिक सेवा, चिकित्सा कला, राजनीति सबै क्षेत्रमा पुरुषसँग काँधमा काँध मिलाएर अघि बढिरहेका छन्। उनीहरू पुरुषसँग काँधमा काँध मिलाएर हिँड्न सक्षम भएका छन्।

हुनत कतिपय सामाजिक–आर्थिक कारणले हरेक क्षेत्रमा पुरुष अघि र नारी पछि परेका अवस्थाहरू पनि विद्यमान छन्। तर कतिपय क्षेत्रमा नारी पुरुषभन्दा अघि रहेको अवस्था पनि छ। संस्कृति, जाति, समुदाय वा परिवार जुनसुकै पृष्ठभूमिमा हेरियोस्, पुरुष र नारीप्रतिको दृष्टिकोणमा भने खासै अन्तर छैन। नारीलाई घरको चौहद्दीमा सीमित गरिएको, उसको लागि शिक्षाको द्वार बन्द गरिएको जस्ता तर्क अहिले पनि नगरिएको होइन, तर ती परिस्थितिजन्य कुराहरू मात्र हुन्, विभेदका विषय होइनन्।

त्यसैले नारीलाई अघि बढ्ने सवाल जतिखेर पनि उठेको होस् पुरुषले त्यसको विरोध कहिल्यै गरेनन्, बल्कि होस्टेमा हैस्से गर्ने काम नै गरेका छन्। बेहुलीलाई सुसज्जित डोलीमा पुरुषहरूले काँधमा बोकेर भित्र्याउने चलन थियो। समय कालक्रममा डोलीको स्थान गाडीले लियो तर नारीप्रतिको सम्मान भावमा कुनै अन्तर आएको छैन। हिन्दू धर्ममा आरम्भदेखि नै पुरुषसमान नारीलाई पनि मोक्षको मार्ग प्रशस्त गरिएको छ, जुन अन्य कुनै पनि धर्ममा देखिएको छैन। भ्रूण हत्याको कुरा पनि उठाइन्छ तर अपराधविशेष घटनाको रूपमा, सामाजिक अवस्थाको रूपमा होइन। सामाजिक, सामुदायिक, सांस्कृतिक, धार्मिक दृष्टिकोणमा ती कुरा पहिले र अहिले पनि अवाञ्छित नै छ।

मनुस्मृति आचार–संहिताको विश्वकोश हो, मनुस्मृतिमा बारह अध्याय तथा दुई हजार पाँच सय श्लोकहरू छन्, जसमा सृष्टिको उत्पत्ति, संस्कार, नित्य र नैमित्तिक कर्म, आश्रमधर्म, वर्णधर्म, राजधर्म तथा प्रायश्चित आदि विषयहरूको उल्लेख छ। जगतको उत्पत्ति, संस्कारविधि; व्रतचर्या, उपचार, स्नान, विवाहलक्षण, महायज्ञ, श्राद्धकल्प, वृत्तिलक्षण, स्नातक व्रत, भक्ष्याभक्ष्य, शौच, अशुद्धि, स्त्रीधर्म, वानप्रस्थ, मोक्ष, संन्यास, राजधर्म, कार्यविनिर्णय, साक्षिप्रश्नविधान, स्त्रीपुंसधर्म, विभाग धर्म, धूत, कंटकशोधन, वैश्यशूद्रोपचार, संकीर्णजाति, आपद्धर्म, प्रायश्चित्त, संसारगति, कर्म, कर्मगुणदोष, देशजाति, कुलधर्म, निश्रेयस अध्यायहरूमा उल्लेखित वाक्यहरू कालजयी छन्। यसरी जीवन र जगतका सम्पूर्ण विषयहरूमा आवश्यक र उपयुक्त आदर्श र आचरणको वर्णन गरिएको मनुस्मृतिमा वर्णित उपरोक्त कथन कि नारी सम्मानको पात्र हो, एक शाश्वत सत्य हो।
मनुस्मृतिमात्र होइन, सारा धर्मग्रन्थ नारीको सम्मानमा समर्पित छ। देवीका नाममा स्वयं पनि देवी पुराणको रचना भएको छ। सनातनधर्मीले देवीलाई आराध्य मानेर उनको उपासनामा जीवन व्यतीत गर्दछन्। कालक्रममा अज्ञानताका कारण नारी विरुद्ध कतिपय विसंगतिहरू उत्पन्न भए तर ती विसंगतिहरू ज्ञानोदयका साथ धराशयी हुँदै गए तर नारीप्रतिको श्रद्धाको भाव समाजमा अटूट रूपमा रहँदै आएको छ।

सनातन धर्मको अनुकरण अन्य धर्मग्रन्थमा पनि गरिएको छ। यद्यपि ती धर्मावलम्बीहरू अन्धविश्वास र अज्ञानताका कारण नारी विरोधी सामाजिक व्यवस्थाका सिकार पनि भएका देखिन्छन्। इस्लाम धर्ममा पनि नारीलाई उच्च स्थान प्रदान गरिएको छ। नारीलाई जीवनको हरेक क्षेत्रमा महत्व दिइएको छ। कुरआनमा स्पष्ट भनिएको छ कि आमाप्रति कृतज्ञ हुनुको मतलब अल्लाहप्रति कृतज्ञ हुनु हो। कुरआनमा भनिएको छ– “हामीले मानिसलाई उसको आमा–बाबुको मामिलामा सतर्क गराएका छौं– तिम्रो आमाले थकित भएर पनि तिमीलाई आफ्नो गर्भमा राख्यो। दुई वर्ष त तिमीलाई उसको दूध छोड्नमा नै लाग्यो। तिमी मप्रति कृतज्ञ होऊ र आफ्नो आमा–बाबुप्रति पनि। किनभने अन्ततः तिमीलाई मतिर नै आउनु छ।”

कुरआनले यो पनि भनेको छ कि आमा–बाबुसित राम्रो व्यवहार गर। उनीहरू वृद्ध हुँदा उनीहरूको उपेक्षा नगर, बल्कि उनीहरूका साथ शिष्टतापूर्वक व्यवहार गर भन्दै यसरी प्रार्थना गर्न भनिएको छ, “मेरो खुदा ! जसरी उनीहरूले बालकालमा मेरो पालनपोषण गरे, तिमी पनि उनीहरूमाथि त्यसैगरी दया गर।” हदीसमा लेखिएको छ कि मातापिताको अवज्ञाको मतलब अल्लाहको अवज्ञा गर्नु हो। हुनत इस्लाम समाज उसको धार्मिक व्यवस्थाले जे जसो भने पनि सामाजिक, आर्थिक, राजनीतिक व्यवहारमा नारीप्रति अनुदार नै देखिन्छ, जस्तै नारीलाई घरको चौहद्दीमा सीमित राख्नु, नारीलाई व्यक्तित्वहीन र पराधीन मान्नु, बच्चा पैदा गर्ने यन्त्र र भोग्या ठान्नु यस्ता सामग्रीको रूपमा हेरिन थालियो।

तर ती सामाजिक अव्यवस्थाका खिलाफ इस्लामी मुलुकहरूमा तीन तलाक, हवाला, शिक्षा, खिजाब आदि जसले नारी अस्तित्वलाई संकुचित तुल्याउँछ, नारी आन्दोलन चर्किँदै आएको छ र ती आन्दोलन पुरुष जगतबाट समर्थन पाइरहेकै छ। क्रिश्चिएनिटीको जुन मान्यताहरूको विरोधमा युरोपीय नारी मुक्ति आन्दोलन वीरतापूर्वक खडा भयो, ती मान्यताहरू हिन्दू धर्म, बौद्ध धर्म तथा विश्वका सबै धर्ममा कुनै पनि समयमा थिएन। यहाँसम्म कि यहूदी र इस्लाममा पनि यस्तो मान्यता थिएन। यद्यपि नारीमाथि अनेक प्रतिबन्ध इस्लाममा छन् तर यस्तो भयंकर मान्यता त्यहाँ कहिले पनि भएन।

क्रिश्चिएनिटीको मान्यता के छ भने पुरुष नै ईश्वरको प्रतिरूप हो। पुरुष नै समस्त सृष्टिको मालिक हो। पुरुषले नारीलाई दबाएर र आज्ञाकारिणी बनाएर राखोस् तथा उसबाट खूबै आनन्द प्राप्त गरोस्। ईश्वरले संसारमा पहिलो पुरुष ‘एडम’ को एन्कल (खुट्टाको जोर्नी, गोलीगाँठो) बाट पहिलो स्त्री ‘ईव’ बनायो, जो पुरुषको मनोरञ्जनका लागि बनाइयो। यस प्रकार स्त्री (ईव) पुरुषपछिको रचना हो। स्त्री पुरुषको केवल एक अंश हो, जो पुरुषको मन–बहलाउनको लागि बनेको हो।

नर–नारीको परस्पर स्वैच्छिक र उल्लासपूर्ण मिलनलाई क्रिश्चिएनिटीले ‘मूल पाप’ को संज्ञा दिएको छ। यस्तो पापको लागि पुरुषलाई शैतानको कथनमा स्त्रीले फकाएको मानिन्छ। त्यसैले स्त्री शैतानको छोरी हो भनिन्छ। नारीले पुरुषलाई सम्मोहित गरेर ‘मूल पाप’ अर्थात कामभाव अर्थात ‘शैतानियत’को जालमा फसाउँछ भनी मानिन्छ। अर्थात स्त्री सम्मोहक (सेडयूसर) हो। ‘मूल पाप’ गर्ने कार्यमा पुरुषलाई तत्पर गर्न स्त्रीले अनुचित आचरण गर्दछ, त्यस कारण ऊ ‘एडल्टरेस’ हो, ‘एडल्टरी’ को दोषी हो। पुरुषलाई सम्मोहित गर्ने अर्थमा ऊ जादूगरनी हो। पुरुषलाई सम्मोहित गर्नु खराब काम हो, त्यसैले ऊ खराब जादूगरनी हो। अतः डायन (बोक्सी) हो। स्त्रीलाई यातना दिनु पुण्य कार्य हो।

शैतान ईश्वरको प्रतिस्पर्धी हो। ईश्वर र शैतानबीच निरन्तर युध्द चलिरहेको हुन्छ। जीससका पादरी (समूह) लगातार शैतानको साम्राज्यविरुद्ध संघर्षरत रहन्छ, ताकि अन्ततः ईश्वरको जीत होस्। शैतान ईश्वरको शत्रु हो। शैतानविरुद्ध युद्ध गर्नु र युद्धमा सबै प्रकारको उपाय अपनाउनु हरेक आस्थावान क्रिश्चिएनको कर्तव्य (रेलिजियस डयूटी) हो। नारीलाई, गैरइसाई सबै पुरुषलाई तथा यस धरतीलाई आफ्नो अधीन दबाएर राख्नु, आज्ञाकारी र वशवर्ती बनाएर राख्नु हरेक आस्थावान इसाई पुरुषको कर्तव्य हो र यो कर्तव्य उसले बुद्धि र बलले हर सम्भव तथा अधिकतम उपयोग गरेर गर्नुपर्छ।

यस्ता मूलभूत मान्यताहरूको कारणले गर्दा क्रिश्चिएनिटीमा ‘क्रिश्चियन स्त्री’लाई अनेकौं शताब्दिसम्म पुरुषको शत्रु र शैतानकी छोरी तथा शैतानको उपकरण मानियो। नर–नारी मिलनलाई ‘मूल पाप’ भनिएकै कारणले विवाह पनि त्यहाँं ‘पाप’ नै मानियो। यद्यपि चर्चको नियन्त्रणमा वैवाहिक जीवन व्यतीत गर्दा भने अपेक्षाकृत ‘न्यूनतम पाप’ मानियो। तापनि विवाहित स्त्रीलाई मूलतः ‘अपवित्र’ नै मानियो। पवित्र स्त्री केवल ‘नन’ लाई मानियो, जो पादरीहरूको आज्ञाकारिताको शपथ लिएर चर्चमा बस्दथे। ‘नन’हरूले हठयोगिनी झैं कठोर शारीरिक तप गर्नु पर्थ्यो। पादरी ‘सेलिबेट’ अर्थात अविवाहित हुन्छन्, ‘सेलिबेट’ पादरी ‘नन्स’का साथ उसको सम्मोहनको कारणले प्रायः काम सम्बन्ध बनाई रहन्थे तर त्यसको लागि दोषी भने ‘सेडयूसर’ ‘नन’लाई नै मानिन्थ्यो।

क्रिश्चिएनिटीको उपर्युक्त पाँचवटै मूल मान्यतासँगै जोडिएको एक महत्वपूर्ण छैटौं मान्यता यो थियो कि स्त्रीले यद्यपि पुरुषलाई फकाएर ‘मूल पाप’ गर्न लगाउँछ, अतः ईश्वरले ‘ईव’ लाई शापित गर्‍यो। यसै शापमा मासिक धर्म, प्रसव पीड़ा, गर्भ धारण तथा पुरुषको अधीनतामा वास जस्ता दण्ड समावेश छ। त्यहाँ कुल सातवटा शापद्वारा स्त्री शापित छ। कुनै पनि भूलका लागि उसलाई एक स्वस्थ पुरुषको अंगूष्ठाको मोटाई जत्तिको कोर्राले दसदेखि पचास कोर्रा हान्नु क्रिश्चियन पुरुषको सहज अधिकार र कर्तव्य हुन्थ्यो। अपराध गम्भीर भएमा सय वा त्यसभन्दा बढी कोर्राको मार पर्थ्यो।

क्रिश्चिएनिटीमा मातृत्व पनि एक अभिशाप नै थियो। स्त्रीले गर्भधारण गर्नु ईश्वरद्वारा उसलाई दण्डित गरिएको परिणाम मानिन्थ्यो। सन्तान पनि ‘मूल पाप’ को परिणाम भएकाले वस्तुतः धरतीमाथि पापकै प्रसार भएको मानिन्थ्यो। केवल चर्चलाई समर्पित गरेमा व्यक्ति त्यस ‘पाप’को भारबाट यस कारणले मुक्त हुन सक्ने मानिन्थ्यो कि त्यसो गरेर ऊ उस जीससको शरणमा जान्छ, जसले सूलीमाथि चढेर एडम र ईव तथा उसको समस्त सन्तानहरूद्वारा गरिने मूल पापको प्रायश्चित पहिले नै सबैको तर्फबाट गरेका छन्।

क्रिश्चिएनिटीका यी सातवटै धारणा एकल छन्। संसारको कुनै पनि अन्य सभ्यता वा धर्मले यीमध्ये एउटै पनि धारणा स्वीकार गर्दैन। यी केवल क्रिश्चिएनिटीमा मात्र मान्य आस्था हुन्। यस्ता मान्यताका कारण पाँच सय वर्षसम्म सदाचारिणी क्रिश्चियन नारीमाथि थिचोमिचो गरियो, मारियो, जलाइयो, बलपूर्वक डुबाइयो, तेलको कराहीमा उमालियो, घोडाको पुच्छरमा बाँधेर घिसारियो। ‘क्रिश्चियन स्त्री’ माथिको त्यस्तो अत्याचार कुनै अशिक्षित वा असामाजिक तत्वले गरेका थिएनन्, अपितु सर्वाधिक शिक्षित, संगठित र प्रभुताशाली क्रिश्चियन भद्रजन भनाउँदाले गर्ने गरेका थिए। 

क्रिश्चिएन नारीमा पनि आत्मा हुन्छ, यो १७औं शताब्दीको आरम्भसम्म चर्चद्वारा मान्य थिएन। नारीको स्वतन्त्र व्यक्तित्व त २०औं शताब्दीमा मान्य भयो। सन् १९२९ मा इंग्लैंडको अदालतले मान्यो कि नारी पनि ‘परसन’ हो। नारीमा पनि आत्मा हुन्छ, यो कुरा यूरोपका विभिन्न देशहरूमा २०औं शताब्दीमा आएर मान्य भयो। २०औं शताब्दीमा नारीलाई वयस्क मताधिकार त्यहाँ पहिलो पटक प्राप्त भएको हो। १८औं शताब्दीसम्म नारीलाई बाइबल पढ़ने अधिकारसम्म मान्य थिएन। नारीलाई डायन भनेर उनीहरूलाई लाखौंको संख्यामा १४औंदेखि १८औं शताब्दीसम्म जिउँदै जलाइयो र यातना दिएर मारियो। स्पेन, इटली, पुर्तगाल, हालैंड, इंग्लैंड, फ्रांस, जर्मनी, स्विट्जरल्यान्ड आदि सबै देशमा यस्तो कुकृत्य चलिरह्यो। 

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा यो आलेख कोर्दै गर्दा यी कुराहरूको उत्खनन किन गरिनु सान्दर्भिक लाग्यो भने यी नै सबै भयंकर मान्यताहरूको विरोधमा यूरोपमा नारी मुक्ति आन्दोलन चल्यो र आज त्यसैको परिणामस्वरूप विश्वले एक सय चौधौँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदैछ। शताब्दिऔं पुरानो नारी विरोधी मान्यताका खिलाफ चलेको त्यो नारी आन्दोलनले नै उनीहरूलाई पुरुष समतुल्य मान्यो। आन्दोलनले आफूभित्र पुरुष झैं आत्मा र बुध्दिमानी रहेको र ‘नन’ बन्नु भन्दा पत्नी, प्रेमिका र आमा बन्नु तथा स्वाधीन नारी बन्नुलाई बढी महत्व दियो।

नारी आन्दोलनकै परिणाम हो कि मातृत्व स्वाधीन व्यक्तित्वमा बाधा प्रतीत भएकै कारणले स्त्रीत्वले बढी महत्व पायो। बाइबल पढ्न नपाउने समाजमा जागरुक नारी बौध्दिक र विदुषी बनेर प्रकट भए, विद्याको हरेक क्षेत्रमा अग्रणी बने। क्रिश्चियन स्त्रीलाई पुरुषलाई फकाउने भनिन्थ्यो, त्यसैले नारी मुक्तिको एक महत्वपूर्ण अंग शृंगारहीनता या सज्जाहीनता कायम भयो। कामलाई ‘मूल पाप’ मानिने प्रतिक्रियामा काम सम्बन्धलाई स्वतन्त्र व्यक्तित्वको लक्षण मान्न थालियो। समलिंगी सम्बन्ध राष्ट्रिय निर्वाचनको मुद्दा बन्नुको पछाडि पनि यी नै कारण हुन्। समग्रमा भन्दा आन्दोलनकै परिणाम हो कि त्यसले नारीवादकै स्थापना गरी नारी अधिकारको व्याख्या गर्‍यो।

नारीवाद, सामाजिक–राजनैतिक आन्दोलनको एक किसिम हो, जो राजनीतिक, आर्थिक, व्यक्तिगत, सामाजिक र लैंगिक समानतालाई परिभाषित गर्ने, स्थापित गर्ने र प्राप्त गर्ने लक्ष्यलाई साझा गर्दछ। यसमा नारीको लागि पुरुष समान शैक्षिक र पेसागत अवसर स्थापित गर्नु पनि समावेश छ। नारीवादी सिद्धान्तको उद्देश्य लैंगिक असमानताको प्रकृति एवं कारण तथा त्यसको फलस्वरूप उत्पन्न हुने लैंगिक विभेदको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तमाथि यसको असरको व्याख्या गर्नु हो। नारी विचारसम्बन्धी राजनैतिक प्रचारको जोड प्रजनन सम्बन्धी अधिकार, घरेलू हिंसा, मातृत्व अवकास, समान ज्याला सम्बन्धी अधिकार, यौन उत्पीडन, विभेद एवं यौन हिंसामाथि रहँदै आएको छ।

नारी विचार सम्बन्धी आदर्शको मूल कथ्य यही रहन्छ कि कानूनी अधिकारको आधार लिंग नबनोस् भन्ने हो। आधुनिक नारीवादी विचारको मुख्य आलोचना सदैव यही रहेको छ कि यसको सिद्धान्त एवं दर्शन मुख्य रूपले पश्चिमी मान्यतामाथि आधारित छ। हुनत नारीवादी विचार हरेक देश एवं भौगोलिक सीमामा आफ्नै स्तरमा सक्रिय रहन्छ। हरेक क्षेत्रका नारीवादी विचारको आफ्नो खास समस्या हुन्छन्। नारीवादलाई अर्थपूर्ण बनाउन अन्तर्राष्ट्रिय नारी दिवस मनाइने प्रचलन प्रारम्भ भयो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले सन् १९०९ फरबरी २८ मा सर्वप्रथम नारी दिवसको आयोजना गर्‍यो।

सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगन सम्मेलनले यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गर्‍यो। त्यस समय यसको प्रमुख ध्येय नारीहरूलाई मताअधिकार दिनु थियो, त्यस समय नारीहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन। सन् १९१७ मा रसियाका नारीहरूले, नारी दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले नारीहरूलाई वोट दिने अधिकार दियो। त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। यी दुई क्यालेण्डरमा केही फरक छ। जुलियन क्यालेन्डर अनुसार सन् १९१७ को फरबरीको अन्तिम आइतबार २३ फरबरीमा पर्थ्यो जब कि ग्रेगेरियन क्यालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च नारी दिवसको रूपमा मनाइन थालियो। 

परापूर्वकालदेखि चलिआएको यो प्रचलनले प्रथाको रूप लिएको छ। भारतमा एकातिर नारीलाई सम्मान दिन देवीका रूपमा पूजा गर्ने चलन छ, तर यहाँ नारीको पूजा गरेर मात्रै देशको विकासको हरेक आवश्यकता पूरा हुन्छ भन्ने होइन। देशमा हरेक क्षेत्रमा नारीको योगदान महत्वपूर्ण छ। नारीलाई हरेक क्षेत्रमा सशक्त बनाउनुपर्छ। तब मात्र देशको विकासको सही आधार बन्नेछ। वर्तमान समयमा नारी अधिकार, नारी सशक्तीकरण र लैंगिक समानता नारी दिवसका विषयवस्तुहरू बनेका छन्। परिर्वतनको संघारमा रहेका समस्त नेपाली नारीलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना। 

नारी दिवसजस्तै विश्वमा पुरुष दिवस पनि मनाइन्छ। नारी र पुरुष दिवसमा फरक के छ भने, यो नारी दिवस झैं लोकप्रिय छैन। हरेक वर्ष १९ नोभेम्बरमा मनाउने पुरुष दिवसको आशय नारीलाई सम्मान गर्नुको अर्थ पुरुषको अवहेलना गर्ने होइन भन्ने हो। पुरुष दिवस पुरुषको स्वास्थ्य कल्याणको क्षेत्रमा सुधार गर्न मानिसहरूलाई सक्षम पार्ने आवश्यकतामा केन्द्रित छ। विश्वभरी नै पुरुषको वर्चश्व कायम रहेको प्रतीत हुन्छ। यसको अर्थ पुरुष पनि पीडित छैनन् भन्ने होइन। पुरुषका पनि केही यस्ता समस्या छन्, जसमा पुरुषले जीवन पर्यन्त जुधिरहनुपर्छ। त्यसैले यी झमेला र पीडातर्फ सबैको ध्यान केन्द्रित गर्न पुरुष दिवस मनाउन जरुरी मानिएको हो।

एक तथ्यांक अनुसार विश्वमा सय वटा आत्महत्या घटनामा पुरुषको संख्या ७६ देखिने गर्दछ। यस्तै घरबारबिहीन पुरुष र नारीमध्ये पुरुषको अनुपात ८२ छ। घरेलु हिंसा घटनामा पुरुष पीडितको अनुपात ४६ छ। त्यसैले नारी हिंसाका जस्तै पुरुषका समस्या उजागर गर्नका लागि नारी दिवससँगै विश्वमा पुरुष दिवस पनि मनाउन सुरु गरिएको हो।

झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.