व्यक्तिगत पहिचानको अनधिकृत प्रयोगमार्फत ठग्ने प्रयास, अन्तरदेशीय गिरोहका ३ जना पक्राउ

व्यक्तिगत पहिचानको अनधिकृत प्रयोगमार्फत ठग्ने प्रयास, अन्तरदेशीय गिरोहका ३ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : व्यक्तिगत पहिचानको अनधिकृत प्रयोगमार्फत सर्वसाधारणलाई ठग्ने प्रयास गरिरहेको अन्तरदेशीय संगठित गिरोहलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा दुई जना बंगलादेशी नागरिक र एक जना नेपाली युवती छन्। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बंगलादेश पल्लाबी ढाकाका ४९ वर्षीय महमद महबुर हुसेन, बंगलादेश सीतागन्ज घर भइ काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानवीर हुसेन र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ वर्षीया सुनीता खत्रीलाई पक्राउ गरिएको हो। 

गैरकानुनी क्रियाकलाप भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। गिरोहका एक जना फरार छन्। फरार रहेका बंगलादेशी नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। गिरोहमा अरु पनि संलग्न रहेको आशंकामा अनुसन्धानको दायरालाई फराकिलो पारिएको एसपी कार्कीले बताए। 

उनका अनुसार बंगलादेशी नागरिकको गिरोहले नेपाली युवतीको प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूले सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिलाई निःस्वार्थ पैसा वितरण गरेका थिए। आफूहरू परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट आएको भन्दै उनीहरुले प्रलोभनमा पारेर व्यक्ति-व्यक्तिलाई निःस्वार्थ आर्थिक सहयोग गर्ने गरेको पाइएको एसपी कार्की बताउँछन्। 

‘३० जनाभन्दा बढी व्यक्तिलाई पैसा वितरण गरेको देखिन्छ। एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म दिएको पाइयो,’ उनले भने, ‘रकम उपलब्ध गराएपछि सर्वसाधारणको फोटो र नागरिकताको प्रतिलिपि लैजाने गरेको खुलेको छ। व्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी त्यसको दुरूपयोग गर्दै अनधिकृत रूपमा ठग्न खोजेको देखिन्छ।’ कार्कीका अनुसार सर्वसाधारणको फोटो र नागरिकताको प्रतिलिपि लगेर अनधिकृत हिसाबले ई-सेवा र खल्तीलगायतका ‘डिजिटल वाल्लेट’ खाता खोलेर अनलाइन माध्यमबाट ठगी गर्न खोजेको खुल्यो। 

‘त्यत्तिकै पैसा पाएपछि सर्वसाधारणले पनि सहज हिसाबले फोटो र नागरिकताको प्रतिलिपि उपलब्ध गराएको पाइयो। २-३ दिनयता सित्तैमा पैसो वितरण गर्न थालेको देखेर शंका लागेपछि केही व्यक्तिहरुले चैं कम्पनीको आधिकारिकता खोजी गरेछन्,’ उनले भने, ‘त्यसपछि पैसा वितरण गर्नेहरु तर्सिएछन्। स्थानीयले दिएको सूचनाका आधारमा गिरोहका नाइकेसहितलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।’ ‘गरिब, दुःखी र असहायलाई आर्थिक सहयोग गर्न आएका हौं’ भनेर पैसा बाँड्न थालिएपछि विश्वासमा परेका सर्वसाधारणले सहज हिसाबले फोटो तथा नागरिकताको प्रतिलिपि दिएको र त्यसको दुरुपयोग गर्दै गिरोहले गैरकानुनी ढंगबाट ‘डिजिटल वाल्लेट’ खाता खोल्ने गरेको पाइएको उनको भनाइ छ। 

व्यक्तिगत पहिचानको अनधिकृत प्रयोग गरेर खोलिएको ‘डिजिटल वाल्लेट’ खातामार्फत ठगीको प्रयास गरिएको कार्की बताउँछन्। उनका अनुसार खत्रीलाई मंगलबार सुन्दरहरैँचा-८ बाट पक्राउ गरिएको हो। त्यहाँबाट फरार बनेका ३ जना बंगलादेशी नागरिकमध्ये २ जनालाई भने प्रहरीले सुन्दरहरैँचा-४ बलियाबाट पक्राउ गरेको थियो।
पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल प्रहरीले बरामद गरेको छ। तानवीर बंगलादेशी नागरिक हुन्। 

काठमाडौंमा बसेर उनी गार्मेन्टको काम गर्दै आएको खुलेको छ। तर, उनले तानवीर मिया दर्जीको नाममा नेपाली नागरिकतासमेत लिएको देखिएको प्रहरीको भनाइ छ। 

तानवीरले कसरी नेपाली नागरिकता पाएभन्ने बारेमा पनि प्रहरीले अनुसन्धान गर्ने भएको छ। पक्राउ परेको गिरोहविरुद्ध ठगी उद्योगअन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी कार्कीले दिए। उनका अनुसार अनलाइनमार्फत ठगी गरेर आर्थिक अपराध गर्ने उदेश्य गिरोहको रहेको देखिन्छ। यस सम्बन्धमा बेलबारीका इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.