विविध

विविध
सांकेतिक तस्बिर।
सुन्नुहोस्

माननीय अर्थमन्त्रीज्यू,

तपाईं विद्यावारिधिधारी अर्थशास्त्री त होइन, खारिएका राजनीतिक नेता भएका नाताले म आसन्न २०८१/०८२ को बजेटप्रति निकै आशावादी छु। समृद्धिको कुनै विशेष सूत्र हुँदैन, यो साहस र योग्यतामा समिश्रित परिणति हो। अर्थमन्त्रीका रूपमा तपाईंको दोस्रो कार्यकाल : फड्किँदै अघि बढेका नेता एवं पटक–पटक जननिर्वाचित/परीक्षित व्यक्तित्व भएका नाताले तपाईं देशको गरिबीको निकट द्रष्टा हुनुहुन्छ। त्यसैले पनि म अलि बढी नै उत्साही छु, यसपालि तपाईंले समृद्धिको नयाँ परिकार पस्कनु हुनेछ कि ! 

बजेट राष्ट्रको ढुकढुकी हो, केवल आर्थिक अभ्यासको प्राविधिकता होइन। यो राष्ट्रका जटिलतम् समस्या समाधानका लागि अवधारणा र रणनीतिको दस्तावेज हो, जसमा स्रोतहरूको विनियोजन गर्दा न्याय र विवेकको प्रयोग गरिनुपर्छ। म हाम्रो राष्ट्रिय बजेटलाई विगतका राम्राहरूको जोडजाम, अपूर्ण अयोग्य वर्तमान र योजनाविहीन भविष्यका रूपमा पाउँछु। बजेट निर्माताहरूसँग सरकारको गति, दृष्टिकोण र मूल्यमान्यतालाई प्रतिबिम्बित गर्ने खुबी पाउँदिनँ। तिनीहरूसँग न निपुणता छ, न गुणवेत्ता। 

अर्थमन्त्रीज्यू, बजेट किन सधैं यति रुक्खा–सुक्खा हुन्छ ? बजेट बनाउनेहरू किन आम जनताका उत्साहका सारथि बन्न सक्दैनन् ? के यो सर्वसाधारणलाई जागृत गराउने सुन्दर अवसर होइन ? हो भने, तिनीहरू राष्ट्र रूपान्तरणमा किन गहन सिर्जनशील बन्न सक्दैनन् ?

म अर्थशास्त्रको कुनै ओहदामा छैन। तर, एउटा उद्यमी र नेपाली नागरिकका हैसियतमा आगामी बजेटका लागि सुझाव दिनबाट आफूलाई पन्छाउन सकिनँ। र, यो सातबुँदे विविध सुझाव दिएको छु। मलाई लाग्छ, हामी विविध परिस्थितिमा छौं र यी विविध सुझावहरू पक्कै सहयोगी हुनेछन्।

१. आशाको सञ्चार गर्नुहोस् 

सामाजिक निराशा आर्थिक निराशाभन्दा धेरै घातक हुन्छ। कृपया तपाईंका कार्यक्रमहरूमा आशा र उत्साहको प्रत्याभूति दिलाउनुस्। तपार्ईंका बजेटका हरेक विनियोजनमा आफैंलाई सोध्नुहोस्, ‘यसबाट कस्तो ऊर्जा मिल्छ ?’ 

२. युवालाई सम्बोधन गर्नुहोस् 

युवा र राष्ट्रिय बजेटका कार्यक्रमबीच ठूलो विच्छेदन पाइन्छ। यस्तो उच्चस्तरीय युवा विकास कार्यक्रम प्रस्तुत गर्नुहोस्, जसले दुई वर्षमा परिणाम दिन सकोस्। युवालाई देशमै अड्याउने मौलिक सोच ल्याउनुहोस्। युवा र नवउद्यमीलाई निरुत्साहित गर्ने विगतका परिपाटी सच्याउनुहोस्।

३. साहसी बन्नुस्

पहिला बसेका कतिपयहरू जस्तो अर्थमन्त्रीको कुर्सी कमजोर होइन। यो व्यक्तिको तागत र चमक देखाउने ठाउँ हो। अति राजनीतीकरणका कारण राष्ट्रिय स्रोतहरूको कर्मकाण्डी वितरणले विगतमा धेरै समस्या खडा गरेका छन्। त्यस्ताको निरन्तरता टुटाउन, बन्द गर्न र अकल्पनीय तर अत्यावश्यकमा केही नयाँ गर्न साहस देखाउनुस्। जनता त्यो पलको प्रतीक्षामा छन्। कार्यक्रमहरूलाई चुनावी नारा हुन दिनबाट रोक्नुस्।

४. उद्यमीलाई सद्भाव देखाउनुहोस् 

उद्योग धन्धाको ईष्र्या होइन, तिनलाई प्रवद्र्धन गर्नुस्। तिनीहरू राज्यका विभिन्न निकायका आक्रमणले धराशायी छन्। आर्थिक मन्दीका चपेटामा छन्। राष्ट्रिय राजस्वका विविध उपाय खोज्नुस्। कर सिक्काको एउटा पाटो हो, जब कि अर्को पाटो अनुदान र सहुलियत हो। 

व्यवसायीलाई करका नाममा प्रताडना नदिनुस्। बरु तिनीहरूलाई तिर्न र थप तिर्न सक्ने गरी आर्जन गर्न प्रेरित गर्नुस्। तपाईंका बजेटका प्रावधानमा तिनलाई सम्मान गर्नुहोस्।

५. शिक्षामा लगानी गर्नुस्

विद्यमान शैक्षिक संस्थाहरूलाई स्व–रूपान्तरणका लागि अवसर प्रदान गर्नुहोस्। शैक्षिक सुशासनको पहल गर्नुस्। दीर्घकालीन अनुत्पादक कार्यक्रमलाई भन्दा सुन्दर भविष्य निर्माण गर्ने कार्यक्रममा एकपटक लगानी गर्नुस्। शिक्षामा हामीले धेरै कुरा छुटाइरहेका छौं, जुन राष्ट्र समृद्धिको एकमात्र महत्त्वपूर्ण माध्यम बन्न सक्छ। 

६. डिजिटल रूपान्तरण

डिजिटलाइजेसन भ्रष्टाचारविरुद्ध आणविक हतियार हो– प्रहार गर्नुस्। महत्त्वाकांक्षी बन्नुहोस्। आफ्नो लक्ष्यमा पुग्न हिम्मत गर्नुहोस्। राष्ट्र निर्माणका लागि विश्वव्यापी सूचना प्रविधि कम्पनीहरू र दाताहरूलाई आह्वान गर्नुस्। सानो अंशमा नै किन नआओस्, त्यो समृद्धिको बीजारोपण हुनेछ।

७. अभिभावक बन्नुहोस्

नेपाललाई बचाउनुहोस्। हरेकको अभिभावक बन्नुस्। स्वार्थ समूहहरूलाई सुन्नुहोस् तर स्वतन्त्र परामर्शदाताहरूबाट भेरिफाई गर्नुहोस्। बजेटलाई समावेशी र सहभागितामूलक बनाउनुहोस्। प्रभाव समूहहरूलाई तपाईंका सम्भावित निर्णयहरूका पक्ष÷विपक्षमा विश्लेषण गर्न दिनुस्। गोप्य र आश्चर्यजनक बनाउने नाममा दुर्घटनामा नपार्नुस्। ‘बोल्ड’ बन्नुहोस्। किन र किन होइन भन्ने हरेक सरोकारवालाका भनाइलाई सम्बोधन गर्न तयार रहनुस्।

आठौं सुझाव, कृपया अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यास र तिनका प्रभावकारिताका साथसाथै हाम्रा कम्तीमा दुई दशकयताका कार्यक्रमहरूका प्रवृत्ति, कमजोरी, सशक्तता, व्यवधान आदिको अध्ययन विश्लेषण गर्न कम्तीमा एक दिन खपत गर्नुहोस्। राम्रो पाठकका नाताले म के भन्छु भने तपाईंका आर्थिक सल्लाहकारहरूबाट भन्दा त्यहाँबाट तपार्ईंले मार्गदर्शक खुराक पाउनुहुनेछ। 

यी सामान्य हुन्। तर, समायोजन गरिनुपर्ने विविध विषय अवश्य हुन्। यदि सामान्य नै छुटाइयो भने कुनै पनि वस्तु गुदीबिनाको बोक्रोजस्तो बन्न पुग्छ। समयले व्यक्तिलाई कुनै क्षण कुनै गतिलो गर्न अवसर दिन्छ– अहिले तपाईंलाई छ। समुन्नत नेपालको ‘आर्किटेक्ट’ बन्ने यो मौका नगुमाउनुस्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.