नेपालमा चक्रवात ‘फेनजल’को आंशिक प्रभाव, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपात
काठमाडौं : नेपाल पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी मौसम बुलेटिनमा देशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु/ कुहिरो लागेको र अन्य स्थानमा मौसम सफा रहेको उल्लेख छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा हिमपातको सम्भावना रहेको स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
सोमबार कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबारबाट देशभर मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।