वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका-७ घर भई ललितपुर महानगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषा धनुषाधाम नगरपालिका-७ घर भई काठमाडौं-७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं -१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन्।
धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रुपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका-१५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका-७ बाट तथा चन्द्रलाई काठमाडौं महानगरालिका-१२ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।