केरुङ कटेर कैलाश
बिहानको ५ बजे नै हल्लिखल्ली मच्चिएको छ होटलमा। ६ देखि साढे ६ बजेसम्म चियानास्ता गर्ने र प्रस्थान गरिहाल्ने हिजोकै सूचना छ। त्यसै भएर त्यसै हल्लामाझ मिसिनु छ हामी पनि। हामी अर्थात् भाइ केशव र म। रसुवाको पल्लोछेउ टिमुरेजस्तो ऐकान्तिक बस्तीमा पनि ६, ७ तलाका होटल ! राम्रै रहेछ होटलको व्यवस्थापन पनि। कैलाश यात्रामा हिँडेका हामी ५५ यात्री र यात्रा दलका सदस्यहरूलाई समेत दुईदुई जनाका दरले कोठा व्यवस्थापन गर्न सक्यो, कैलाश होटलले।
हामी दुई भाइ तल लविमा ओर्लंदा अधिकांश यात्री ब्रेकफास्टको लाइनमा लागिसकेका थिए। हामी सबैलाई हतारो छ, चाइनिज चेकपोस्ट पुग्न। जति चाँडै जान सक्यो, त्यति नै लाइनमा अगाडि परिन्छ। दुई, तीन घण्टा लाग्न सक्छ भन्दैछन्, हाम्रा गाइडहरू। त्यसै भएर नेपालतर्फको अध्यागमन गएर पासपोर्टमा छाप लगाउने काम हिजै सकेका छौं हामीले।
एक एकवटा ह्यान्डब्याग छन्, हातमा। लगेज बोक्ने काम यात्रा व्यवस्थापकहरूको। १५ देखि २० मिनेट हिँड्नुपर्छ हामी चेकपोस्ट पुग्न। लामलस्कर छौं। अगाडि पछाडि पनि छन्, अन्य ट्राभल एजेन्सीहरूबाट कैलाश यात्रामा निस्केका यात्रुहरू।
बाटो कच्ची छ। बाटोको छेउछाउमा उभिएका छन्, चाइनाबाट आउने सामानको प्रतीक्षामा लामलस्कर ट्रकहरू। बाटैमुनि गडगडाएर उर्लिएको छ भोटेखोला। भोटबाट आएको खोला, भोटेखोला। यसै नामबाट बग्ने खोलाहरू धेरै छन् नेपालमा। तर ती खोलाहरू तलतल ओर्लिंदै जान्छन् र अर्काे ठूलो खोलामा मिसिएपछि त्यसै खोलाको नाममा विलय हुन्छन्।
हामी ७ बजेअघि नै पुगेर लाइनमा लगायौं झोलाहरू। तर ८ बजेसम्म उभिनुपर्छ हामीले चिनियाँद्वार खुल्ने प्रतीक्षामा। हाम्रो ८ बज्दा चाइनाको सवा १० हुन्छ, अनि खुल्छ उनीहरूको अफिस र उघ्रिन्छ पुलबीचको बार। यस कारण नेपालतर्फ गर्नुपर्ने चेकजाँच गरिसक्छौं हामीले आठ बजेसम्म।
देख्दै छु चाइनाको शान। दुई खोलाको दोभानभन्दा ठीक पारिपट्टि अत्याधुनिक चेकपोस्टको भवन ठिंग उभिएको छ। त्यतिमात्र हो र, लाइनै उभिएका छन् अलि साना कदका अरू चारवटा भवन। तर हाम्रोतर्फ एउटा जस्ताको छानामुनि चेकपोस्ट बसेको छ। निर्माणाधीन अवस्थामा छन् दुईवटा भवनहरू तर ती कहिलेसम्म बन्ने हुन् थाहा छैन। अनुहार हेर्दा लाग्छ, ती भवनहरूको निर्माण प्रारम्भ एक वा दुई वर्षअघि नै भएको हुनुपर्छ।
त्यस निर्माणाधीन भवनको स्वरूप हिजै अपराह्न हेरिसकेको छु। ‘रसुवागढी’को नामबाट विख्यात ऐतिहासिक गढी कहाँ छ र कुन अवस्थामा छ ? भन्ने प्रश्नको जवाफ गाइडहरूबाट पनि पाइएन। झोला टिमुरेस्थित होटल कैलाशमा थन्क्याएर भाइ केशव र अरू दुई, तीन जनाको साथमा त्यही निर्माणाधीन भवन समीप पुग्यौं। टिमुरे अध्यागमनका एक प्रहरी जवानले बताएअनुसार त्यो गढी त्यही निर्माणाधीन भवनको तल्लोपट्टि भोटेखोलाको किनारमा हुनुपथ्र्याे तर फनफनी रिँग्दा पनि नभेटेपछि झन्डै फर्किने अवस्थामा पुग्यौं। त्यसैबेला स्थानीय व्यक्तिको सहयोगमा हामी खोलाकिनारको गोरेटो बाटो पक्रेर त्यहाँसम्म पुग्न सफल भयौं।
गढीभित्र प्रवेश गर्दै भनें, बिचरा गढी ...!
गढीको त्यति ठूलो चर्चा ! तर गढीले पाएको ऐतिहासिक ख्यातिको अवस्था यस्तो ? बहादुर नेपाली सेना र वीर राजाहरूले राखेको बिरासत ! राष्ट्र विस्तार गर्ने तत्कालीन राजाहरूको अठोट ! आफू मरे पनि राष्ट्रको शान बढाउनुपर्छ भन्ने दृढ आकांक्षा ! ज्यानको बाजी लगाएर भए पनि, अनेक चातुर्य प्रदर्शन गरेर भए पनि शत्रुपक्षलाई धुलो चटाउनुपर्छ भन्ने आत्मगर्जन। त्यही बहादुरीको स्मृति र प्रतीकको रूपमा रहेको ऐतिहासिक गढी अहिले नामेट हुने अवस्थामा छ। कस्तो विडम्बना !
चारैतिर जीर्ण पर्खाल छ, नाममात्रको गेट छ। जो कोही जान सक्ने र जेसुकै गर्न सक्ने सुरक्षाविहीन अवस्था छ। तलतिरबाट खोलाले खाला कि भन्ने सन्त्रास छ ! माथितिरबाट निर्माणाधीन भवनले अतिक्रमण गर्ला कि भन्ने भय पनि छ। पर्खालमा एउटा थोत्रो च्यातिएको झन्डा फरफराइरहेको छ। एक दुईवटा टुटेफुटेका शिलालेख छन्। शक्तिको प्रतीक मानिने अबीरले रंगिएको सानो भगवतीको मूर्ति छ। म गढी हेरेर उत्साहित भइनँ, मेरो शिर उँचो हुन सकेन। मेरो छाती गर्वले फुल्न सकेन। म निराश भएर फर्कें। हो, त्यही रसुवागढीको चर्चा हुँदै छ यसबेला पनि सहयात्रीमाझ। भन्दै छु, ‘चाइनिज चेकपोस्ट खुल्नुअघि नै इच्छा हुनेहरू जानुहोस् र हेर्नुहोस्, पुर्खाको विरासत !,
भोलि हेर्न पाइएला, नपाइएला !’
चाइनाको १० बज्यो। चेकपोस्ट अगाडि पक्की पुलबीचको बार खुल्यो। लाइनबद्ध हामीहरू एकएक गरेर भित्र छि¥यौं र चेकपोस्टको द्वारमा लाइन लाग्यौं। चाइनिजहरूको उपेक्षापूर्ण हेराइ छ हामीप्रति, क्रूर व्यवहार छ हामीप्रति ! माया, प्रेम र सहयोगको लेसमात्र पनि देखिँदैन उनीहरूको व्यवहारमा। उनीहरू बुद्धि र विवेक प्रयोग गर्दैनन्, मात्र आदेश पालना गर्छन्। सवालजवाफ हुँदैन उनीहरूसँग। उनीहरू बोले भने बोले बोले। जे बोले, त्यो अकाट्य भयो। दलाई लामाको नाम वा फोटो मोबाइलमा देखियो वा आस्था प्रकट गरियो भने क्षमा हुँदैन, फर्कनुबाहेक अर्काे विकल्प रहँदैन।
स्वास्थ्यबारे त्यत्तिकै कडा नियम ! हाम्रो समूहकी एउटी महिलाको तापक्रम सामान्यभन्दा उच्च देखिएछ, क्वारेन्टाइनमा राखिहाल्यो। महिलाको हालत खराब ! यात्रा टोलीका सदस्यहरूलाई चिन्ता ! तर यो अन्योलको अवस्था धेरैबेर रहेन। उनी १५÷२० मिनेट हिँडेर आउँदा सामान्य ज्वरांश बढेको रहेछ, पछि सामान्यीकरण भयो र उनीले मुक्ति पाइन्।
झन्डै दुई घण्टा लगाएर हामी चेकपोस्टबाट बाहिरियौं। टन्टलापुर छ घाम, खुल्ला छ भूमि, बस्ने ठाउँ देखिँदैन। नेपालका बस यता आउन सक्तैनन्। अबको यात्राका लागि तोकिएका बस कता होलान् ! बताउने कोही छैन। हाम्रा यात्रा व्यवस्थापकहरू चेकपोस्टभित्रै छन्। बाहिर निस्केकाहरू भौतारिरह्यौं धेरैबेर।
देख्दै छु, चिनियाँहरूको चहलपहल छ। शान र गर्वले उभिएका र हिँडिरहेका लाग्दैछन्। सीमापारि र सीमावारिको स्थिति अध्ययन गर्छु, उता दरिद्र, गरिब र अल्छीहरूको बास छ, यता ठीक उल्टो। यिनीहरू तिब्बेतियनजस्ता पनि लाग्दैनन्। हान जातिको बोलवाला छ तिब्बतमा पनि। दलाई लामाका भक्तहरूलाई गुम्बाहरूमा छिराइसक्यो चीनले। हान जातिलाई फिजाइसक्यो तिब्बतमा। न रहे बाँस, न बजे बाँसुरी।
सबैको सकुशल आगमन भएपछि। चिनियाँ ट्राभल एजेन्सीको तर्फबाट एजेन्सी प्रमुख र चिनियाँ गाइडले हामीलाई खादा ओढाए। हामी तीनवटा बसमा सवार भयौं र चीनको भूमिमा कुद्न थाल्यौं। सम्झें, सीमापारिको नेपाल र सीमावारिको चीन ! त्यो बाटो, त्यो बस र त्यो बसको गति। यो बाटो, यो बस र यो बसको गति ! खोला किनारको बाटो भए पनि पिच गरेको स्निग्ध, स्वच्छ र सुरम्य छ। अगाडि बसे पनि पछाडि बसे पनि बसको बगाइमा मानिसको हल्लाइ र उफ्राइ छैन।
तर बाटो चाहिँ खोलाको किनारैबाट किन बनाइएको होला भन्ने कुरामा सोचमग्न छु। चिनियाँहरू खोलाको किनारैकिनार बाटो बनाउन खप्पिस छन्। नेपालको पृथ्वी राजपथ हेरेर ५० वर्षअघि अचम्मित भएको थिएँ। तर त्रिशूली किनारैकिनार बनाइएको त्यो बाटो नदीको जल सतहभन्दा निकै माथिबाट बनाइएको छ तर अहिले म जुन बाटोमा गुडिरहेको छु, त्यो त्यस्तो छैन। भोटेखोला, नजिकैबाट साउने बाढीको रूप लिएर यौवनमत्त भई अन्धाधुन्ध उर्लिरहेको छ। हामी त्यस उर्लाइलाई चुनौती दिँदै उसको मुहान पहिल्याउँदै छौं।
खोलावारि चाइना, खोलापारि नेपाल भएर कुदिरहेकै बेला हाम्री महिला गाइड कल्पना कोइराला भन्न थालिन्, ‘हेर्नुस् चिनियाँहरू नेपालतिर भाग्लान् भनेर सीसी क्यामेरा फिट गरेको।’ हामीले हे¥यौं, साँच्चिकै रहेछ। तर जब एउटा खोला पारिपट्टिबाट ओर्लेर भोटेखोलामा मिसियो, त्यसपछि भने हामीले नेपाली भूमि देख्न पाएनौं। करिब ५÷६ किलोमिटर खोलालाई पछ्याएपछि उकालो लाग्यौं। घुम्ती र कुइँनेटाहरू चुम्दै केरुङ अभिमुख हुँदै गर्दा बाटोको स्वरूप देखेर म दंग पर्दैछु। पहिरो खस्ला भनेर कति सावधानी अपनाएका चिनियाँहरू। ढुंगा खस्ने सम्भावना भएको ठाउँमा तारजाली लगाएका छन्, पहिरो खस्ला कि भन्ने ठाउँमा पर्खाल लगाएका छन् र ढलान गर्नुपर्ने ठाउँमा तेर्सा ठाडा पिलरको सहायताबाट पहाडै अड्याएका छन्। यस्तो दूरदर्शिता भए पो बाटोले चिरस्थायित्व पाउँथ्यो।
सडक र प्रकृतिबीचको यो तादात्म्य देखेर लाग्यो, चीनबाट सिक्नुपर्ने धेरै कुरा रहेछन्। जैविक विविधता र नैसर्गिक सुन्दरता मानव जीवनका अभिन्न अंग रहेछन्। उच्च प्रविधियुक्त सडक वा पर्यावरणमैत्री सडक निर्माण भनेका विकासलाई चिरस्थायित्व दिने तŒव रहेछन्। केहीबेर जंगलका घुम्तीहरू काट्दै माथि उक्लेपछि डम्म बसेको कृषि उपज भूमि भेटियो। त्यहाँ केही घरहरू र एउटा चेकिङपोस्ट पनि रहेछ। चिनियाँहरूका चेकिङपोस्ट त कति हो कति ! रसुवागढी–केरुङ बीचको ३५ किलोमिटरभित्रै चारपाँचवटा चेकिङपोस्ट। फेरि एक जनाले मात्र चेकिङ गरेर कहाँ हुँदोरहेछ र ! एकपछि अर्काे र अर्काेपछि अर्काेले दोहो¥याई तेह¥याई चेकिङ गर्नुपर्ने ! विश्वासको संकट हो कि कुन्नि के हो ?
कतै अंग्रेजी नाम छ कि भनेर दृष्टि दौडाएँ। अँ..., एउटा होटलको बोर्डमा देखियो, चाङ भिलेज। चीन सरकारको नीति नै रहेछ, तिब्बती भूमिमा चिनियाँ भाषा र तिब्बेतियन भाषामा मात्र नामहरू लेख्ने। तर होटलवालाहरूले आफ्नो व्यापारिक प्रयोजनका लागि अंग्रेजी भाषामा पनि लेख्दा रहेछन्। यात्रा अवधिभरको अनुभवले यही सिकायो।
बायाँ पास दिएर दाहिनेबाट चल्ने गाडीहरूले सुरुमा त मलाई भ्रमित पारेका थिए। अगाडिबाट आएको गाडीले किन यस्तो गल्ती गर्दै छ भन्ने प्रश्न उब्जाएको थियो मभित्र, तर म आफैं सावधान भएँ र १५ वर्षअघिको चीनयात्रा सम्झें।
बाटोमा धेरैजसो सानाठूला ट्रकहरूको संख्या बढी देखिन्थ्यो। ल्हासाबाट सामान ढुवानी गरेर सिगात्से– साँगा हुँदै नेपाल ताकेर आएका ट्रकहरू होलान् ! एउटा ट्रकले मेरो दृष्टि आकर्षित गरेको थियो, चेग्वेभाराको फोटो देखेर। वास्तवमा चेग्वेभारा एक देशका मात्र नेता थिएनन्, तीन, चार देशका नेता थिए। समग्रमा उनी विश्वकै नेता थिए। उनी अर्जेन्टिनामा जन्मिए, क्युवाको समाजवादी क्रान्तिमा होमिए। क्रान्ति सफल भएपछि उनी त्यहाँका गभर्नर र मन्त्री पनि भए। त्यसपछि उनी कंगो पुगे तर त्यहाँ उनी सफल हुन सकेनन्। अन्तत: उनी बोलिभिया पुगे। अमेरिकाको तारो बनेका चेग्वेभारा सीआईएद्वारा बोलिभियाको जंगलमा मारिए। ४७ वर्षसम्म उनको शव कहाँ छ थाहा लागेन। एक जना बोलिभियाली सैनिकले रहस्योद्घाटन गरिदिएपछि उनको शव क्युवा लगेर समाधीस्थ गरियो।
हो, उनले तल्लो वर्गको हकहित र स्वतन्त्रताका लागि लडे। एउटा देशमा जन्मे, अर्काे देशमा राजनीति सुरु गरे, अर्काे देशमा प्रजातन्त्रको पक्षमा आन्दोलन चर्काए। अर्काे देशमा पक्राउ परे र षड्यन्त्रपूर्ण ढंगले मारिए। ती नेतालाई चिनियाँहरूले पनि मान्दा रहेछन्। ट्रकमा बरु चीनका उच्चस्तरीय नेताहरूका फोटा देखिएनन्, चेग्वेभराका फोटाहरू अरू ट्रकहरूमा पनि देखिए। एउटा ट्रकमा त चिनियाँ झण्डा च्यातिएको अवस्थामा पनि देखियो। राष्ट्रप्रति गर्व गर्ने र नीति नियमका कट्टर हिमायती चिनियाँ अधिकारीहरूको ध्यान पनि किन आकर्षित नभएको होला भन्ने खुल्दुली लाग्यो मनमा ?
गाइडको भनाइअनुसार १७ सय मिटरबाट उकालो लागेका हामीहरू २८ सय मिटरको अग्लो घाँटीमा पुगेर २७ सय उचाइमा बसेको केरुङ उपत्यकातिर ओल्र्याैं। चारैतिर धुपी र सल्लाहरूले सुशोभित पहाडको बीचमा डम्म बसेको केरुङ साँच्चैको सुन्दर देखियो। सुदूर दक्षिणमा दुई हिमचुचुरा पनि देखिए तर ती नेपालका हुन् कि चीनका ? कसैबाट ठोस उत्तर आएन।
हिमालसँग अनिभिज्ञ हाम्रा गाइड भन्दै थिए, केरुङ हिमाल। तर ‘रोपेम्बा’ हिमाल भनिँदो रहेछ, तिब्बेतियन भाषामा। ६ हजार मिटर अग्लो छ रे त्यो हिमाल ! हामी केरुङ बजारमा ओर्लेर होटल केरुङभित्र छि¥यौं। समय दिउँसोको साढे दुई बजेको थियो। चर्काे चेकिङका कारण ३५ किलोमिटर बाटो पार गर्न साढे दुई घण्टा लागेछ। खाना खाएपछि हामी स्वतन्त्र भयौं। होटलमा नै बसिरहने हो कि ! बजारमा किनमेल गर्ने हो कि ! निष्फिक्री घुम्ने हो कि ! केरुङमाथिको गाउँमा गएर आदिवासी चिनियाँहरूको जनजीवन बुझ्ने हो ? आफ्नो खुसी। तर म सम्मिलित भएको एउटा समूह नवनिर्माण हुँदै गरेको र विस्तारको योजनामा रहेको केरुङ सहरको अवलोकनमा लाग्यो। फराकिला छन् सडक, सुन्दर छन् घरहरू तर मानिस देखिँदैनन्, किन होला ?
मेरो प्रश्नको जवाफ काम खोज्ने सिलसिलामा केरुङ पुगेकी रसुवाकी महिलाले दिइन्, ‘यिनीहरू दिनभर घरभित्रै बसेर काम गर्छन्। घर–घरबाटै यिनीहरूले अफिस चलाउँछन्। जब रात पर्छ, अँध्यारो हुन्छ, अनि बजारतिर निस्कन्छन्। घुम्छन्, रेस्टुराँ छिर्छन्, खाना खान्छन् र रात्रि क्लबमा पसेर मनोरञ्जन गर्छन्।’
हामी पसलहरूमा पनि पस्छौं, सामानको मूल्य सोध्छौं। त्यहाँ चिनियाँ मात्र छैनन् व्यापारीहरू, नेपाली व्यापारीहरू पनि छन् तर चिनियाँहरूको तुलनामा निकै कम छन्। उनीहरूले असन, इन्द्रचोक वा महाबौद्धबाट सामानहरू ल्याउँछन् र बिक्री गर्छन्। ती सामानहरू किन्ने हामीलाई आवश्यकता भएन। जहाँसम्म चिनियाँ सामानको कुरा छ, ती अति महँगा !
ल्हासा, सिगात्से, सागाहुँदै झन्डै डेढ हजार किलोमिटर यात्रा गरेर आएका सामान किन महँगा नहोऊन् ! यस कारण पनि हाम्रा लागि केरुङ बजार किनमेल गर्ने ठाउँ रहेनछ भन्ने लाग्यो। तर पनि सुन्दै थिएँ, त्यहाँ एउटा हाम्रो भृकुटीमण्डप जस्तै खुल्ला बजार पनि छ रे ! अत्यधिक बार्गेनिङ हुने भएकाले नेपालीले राखिदिएको नाम चोरबजार। त्यतातिर गएनौं।
घुम्दै ‘पार्क मोनास्ट्री’ गयौं। त्यो भृकुटीको मन्दिर रहेछ। कसैले भृकुटीले स्थापना गरेको सरस्वतीको मन्दिरभन्दा रहेछन्। कसैले सरस्वतीस्वरूपा भृकुटीकै मन्दिर भन्दा रहेछन्। जेसुकै भए पनि अंशुबर्माकी छोरी भनिने ती भृकुटीको विवाह तिब्बती राजा स्रङचङ गम्पोसँग भयो र यही बाटो हुँदै उनी ल्हासा दरबार पुगिन्। ‘हरिततारा’ उपनामले चिनिने ती नारी नेपालकी राजकुमारी थिइन् र नेपाल–तिब्बतबीच सम्बन्ध सेतु निर्माण गर्नका लागि अंशुबर्माले खेलेको यो कूटनीति थियो। त्यसै भएर त भनिन्छ नि अंशुबर्माको पालामा कैलाश–मानसरोवर नेपाल सरहदभित्र थियो। अहिले पनि त्यो भूमि नेपालभित्रै हुँदो हो त हामीले राहदानी प्रयोग गर्नुपर्ने थिएन, चिनियाँहरूको हप्कीदप्की र सास्ती खानुपर्ने थिएन। घुम्दै थियौं, पूर्वमन्त्री मीनेन्द्र रिजाल भेटिए। अभिवादन आदानप्रदान भयो। उनले भने, ‘देउवा (नेका सभापति) को बुद्धि फिर्छ कि भनेर कैलाश जान लागेको !’ हाँसो भयो एकछिन। ‘देउवाको बुद्धि फिरेर मात्र देश उँभो लाग्ला र ? भ्रष्ट नेताहरू सबैको बुद्धि सप्रोस् भन्ने वरदान माग्नु प¥यो।’ हाम्रो समूहका केही साथीले भने। फेरि पनि हाँस्यौं र बिदा भयौं। उनी आफ्नै यात्रा समूहमा मिसिए।
होटलतर्फ फर्किंदै गर्दा बाटोछेउमा बसेर गफ गरिरहेका केही नेपाली युवाले बोलेको कुरा मेरा कानमा टक्करायो, ‘देख्यौ उता बाबुराम भट्टराई !’ उनीहरू मेरो अनुहार देखेर भ्रमित भएका थिए। यस्तो भ्रम अरूलाई पनि भएको छ र बारम्बार भेटिइरहेपछि मेटिएको छ। कसैले मलाई ढाँटेको भनेका छन्। ढाँटेको भन्नेहरूले मलाई एकपटक मात्र भेटेका छन् र भ्रम पालिरहेका छन्। यदाकदा डर पनि लाग्ने गर्छ, बाबुराममाथि रिस गर्नेहरूले रिस पोख्ने काम निहत्था र निर्दाेष रामप्रसाद माथि नगरून्। होटल समीप हुँदै गर्दा म के निष्कर्षमा पुगें भने केरुङमा चाइना आधारकार्ड लिएका खासगरी रसुवा र नुवाकोटका नेपालीहरूका होटल र पसलहरू प्रशस्तै रहेछन् तर भाडा महँगो र बिक्री कम हुने हुँदा तुलनात्मक रूपमा नेपालीहरू बढी पीडामा रहेछन्। होटल वा पसलहरूमा काम गर्नेहरूको तलब पनि १५ देखि २५ को हाराहारीमा रहेछ। अझ दु:खलाग्दो कुरा त होटल, रेस्टुराँ र डान्सबारहरूमा नेपाली केटीहरूलाई बढी प्रयोग गरिँदो रहेछ। चतुर चिनियाँले सोझा नेपालीलाई बढी हेप्ने, अविश्वास र प्रतिस्पर्धाको वातावरण सिर्जना गरेर व्यापारमा पनि पछि पार्ने प्रवृत्तिले पनि बास गरेको रहेछ।
सोच्न बाध्य भएँ, बहादुर र इमान्दार भनेर कहलिएका हामीहरू अल्छी र स्वार्थी हुँदै गएको कारण नै विश्वको नजरबाट गिर्दै गएका छौं। लिच्छवि र मल्लकालमा जस्तो इलम र उद्योग हामीसँग रहेनन्। बढ्दै जानु त कता हो कता, भएका कुटिर उद्योग र कारखानाहरू पनि बन्द हुँदै गए। हामी मालिक हुन छाडेर दास हुने प्रवृत्तिमा लाग्यौं। दोस्रो विश्वयुद्ध र त्यसपछि त नेपाली युवाहरू चुरोट र जाँडरक्सीको लतमा लागे। नारीहरू पैसामा बेचिन थाले। नेपालीको शान, मान र इज्जत घुलिसात् हुँदै गयो। हामी स्वाभिमानमा बाँच्न नसक्ने भयौं।
म बेलुका डिनर खाएर शयन कक्षमा पुगेपछि पनि मलाई झट्ट निद्रा लागेन। निद्राको प्रतीक्षामा नेपालको इतिहास पल्टाउने कोसिस गरें। परापूर्वकालदेखि नुन, सुन र तिब्बतमा उत्पादन हुने अन्य सामानसँग नेपालमा उत्पादित सामान वस्तु विनिमयको आधारमा वा नगदमा आदानप्रदान गर्ने नाका, केरुङ। १८४६ सालको नेपाल–तिब्बत युद्धमा नेपालको कब्जामा आएको र त्यसको तीन वर्षपछि नै तिब्बतको अधीनमा गएको सहर केरुङ। वर्तमान समयमा भने रसुवावासीका लागि सामाजिक र सांस्कृतिक सम्बन्ध स्थापना गर्ने र रोजगारी प्राप्त गर्ने केन्द्रस्थल बनेको रहेछ।
विगत सम्झेर आँखा अरू चनाखा भए, ५० वर्षअघि चीन कहाँ थियो र अहिले कहाँ पुगिसक्यो ? सम्झना छ, तिब्बतियनहरू, जसलाई हामी भोटे भन्थ्यौं। पहाडी गाउँबस्तीमा आउने गर्थे, जिम्मु, कालो नुन, शिलाजित, औषधीय जडीबुटी र औषधीय तेलहरू बेचेर अन्नको जोहो गर्थे। आज चीनले नागरिकताको आधारमा सीमावर्ती रसुवावासीलाई परिचयपत्र (चाइना पास) दिएर तिब्बत व्यापार गर्ने सुविधा उपलब्ध गराएको छ। कसैलाई रोजगारी दिएको छ। लाग्छ, नेपाल, चीनको प्रमुख बजार हुन्थ्यो भने सायद चीनले केरुङको पहाड छेडेर रसुवागढी निकाल्थ्यो। ८, १० किलोमिटरमा सीमित गथ्र्याे। सिगात्सेबाट सागा र सागाबाट केरुङ हुँदै रेलवेलाइन काठमाडौं जोड्थ्यो र भने जति सामान उपलब्ध गराउँथ्यो। तर भ्रष्ट र कामचोर नेपालीसँग उनीहरूलाई विश्वास छैन। नेपाली नेताहरूले सपना बाँड्छन् र भोट किन्छन्। तर चिनियाँहरू सपनालाई विपनामा परिणत गरेर समृद्धि हासिल गर्छन्, जुन कुरा समयले देखाइसकेको छ।
नेपालमा पानीजहाजको कार्यालय खोल्ने नेता अहिले पनि भन्दैछन्, ‘ककनी र गल्छीरोड सुकाएर अब टोखा–थान्सिङ सुरुङ निर्माण गर्छु र चाइनालाई रसुवागढी–केरुङबीचको पहाड छेड्न लगाएर काठमाडौं–केरुङको दूरी दुई घण्टामा सीमित गर्छु।’ मनमा कुराहरू खेल्दै थिए, कुन्नि कुन बेला निदाएछु।
प्रतिक्रिया दिनुहोस !