राष्ट्रपति पौडेल र बेलायती राजकुमारबीच भेटवार्ता

राष्ट्रपति पौडेल र बेलायती राजकुमारबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताए। 'जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ। यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ,' राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी गराएका थिए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो। 

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए। उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे।

'नेपाल र बेलायतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रही आएको छ। महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु,' राष्ट्रपति पौडेलले भने। उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको कामना व्यक्त गरे।

नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित आजै काठमाडौं आइपुगेका हुन्। भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफी, नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए। त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे। उनले भ्रमणका क्रममा हिमालमा जलवायु परिवतर्नले पारेका असरबारे बुझ्न पाउने अपेक्षा व्यक्त गरे।

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय थप सान्दर्भिक हुने धारणा व्यक्त गरे। उनले ब्रिटिस सेनामा नेपालले भर्तीको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकको सम्बन्ध कोसेढुङ्गा रहेको उल्लेख गरे।

‘ब्रिटिस-गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी
राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा-ब्रिगेडका’ प्रमुख मेजर-जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे। राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस-गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए। 'ब्रिटिस-गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ,' राष्ट्रपति पौडेलले भने। 
उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.