अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन्। गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताए।
उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए। कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे। उनले दुई तिहाईको बलमा कांग्रेस-एमालेमात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादीलगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे।
कोइरालाले राजनीतिमा सहकार्यका साथ अघि बढ्न गिरिजाप्रसाद कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने बताए। त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरी आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए। संघीय सांसद, प्रदेश सांसद, मन्त्रिमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने बताए।
उनले अहिलको अवस्थामा गिरिजाप्रसाद कोइरालाबाट सिक्ने कुरा धेरै रहेको बताए। त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताइन्। अहिले एमालेले देश हाकिरहेको र कांग्रेस छाँयामा परेको उनले बताइन्। कोइरालाले अब हुने पार्टीको सभापति शेखर कोइराला नै भएको जिकिर गरिन्।
प्रतिक्रिया दिनुहोस !