नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासमा सु्नुवाइ जारी छ।
आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। यसअघि सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश डा.कुमार चुडालको इजलासले पाण्डेलाई थुनामा राख्नुको कारण सोधेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय,गृह मन्त्रालय,काठमाडौं जिल्ला अदालत ,महान्यायाधिवक्ताको कार्यालय ,काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँ जिल्ला प्रहरी परिसर र सर्वोच्च अदालतलाई रिटमा विपक्षी बनाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे गत बैशाख २० गते पक्राउ परेका थिए। नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले बालकृष्ण खाँण,टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध खाँणसहित १६ जना उच्च अदालत पाटन पुगेका थिए। पछि खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएका थिए। पाण्डेसहित अन्यलाई भने कारागारमै पठाएको थियो।
प्रतिक्रिया दिनुहोस !