रेशम चौधरीलाई प्रचण्डले भने- तपाईँको पार्टीलाई माओवादीमा समाहित गराउनुस्

रेशम चौधरीलाई प्रचण्डले भने- तपाईँको पार्टीलाई माओवादीमा समाहित गराउनुस्
सुन्नुहोस्

कैलाली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन्। कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्‍घाटन गर्दै उनले जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए। 

'अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ। भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं,' उनले भने। 

जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको उनले बताए। ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्त्वपूर्ण थियो। तर, अब समाजवादी क्रान्तिमा यसमा महत्त्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो। हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ,' उनल भने।

हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने सम्भावना नरहेको स्पष्ट गर्दै उनले थारु समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरूले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण भूमिका निर्वाह गरेको बताए। जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उल्लेख गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमा थारू समुदायले ऐतिहासिक बलिदानी गरेको बताए। 

थारु मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारू आयोगको व्यवस्था, थारूलाई मधेसी क्लष्टरबाट छुट्याउने, थारू समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थारू समुदायका लागि लड्ने शक्ति माओवादी नै नभएकाले अरुको भ्रममा नपर्न आग्रह गरे।

‘थारू समुदायमा जागरण ल्याउनेदेखि अधिकार सुनिश्चित गर्नेसम्म माओवादीले नै नेतृत्व गरेको हो। अब माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर थारू समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैदाने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भने। थारू समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रूपान्तरणको दिशामा अघि बढेकाले थारू समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे। 

टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारूको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगिएको बताए। उनले विगतमा माओवादीमा रहेर हालः अन्य दलमा पुगेका थारू अगुवाहरूलाई पनि मूल घरमै फर्केर थारू अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गरे। 

पहिलेको तुलनामा जिल्लामा कमैया कम्लरी प्रथा कम भए पनि पहुँचवालाहरूले अहिले पनि कमलरी राख्ने गरेको उल्लेख गर्दै उनले सामन्तवादको अवशेषको रूपमा रहेको यो प्रथालाई पूरै उन्मुलन गर्न थारू समुदायबाटै सशक्त संघर्ष आवश्यक रहेको बताए। दाङका स्वर्गद्वारी गुठी पीडित किसानलाई न्याय दिन आफ्नो नेतृत्वको सरकारले विधेयक मस्यौदा प्रक्रिया अघि बढाएकै बेला सरकार परिवर्तन भएकाले यो प्रक्रिया रोकिएको र हालः यसलाई अघि बढाउनुको साटो सरकारले किसानमाथि दमन प्रक्रिया सुरु गरेको आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले आफूले केही दिनअघि संसदको विशेष सम्बोधनबाट पनि आग्रह गरेको र यसमा हुने सडक संघर्षमा पार्टीको सहयो रहने प्रतिबद्धता व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.