जनप्रतिनिधिहरू जनताको सेवाप्रदायकको रूपमा प्रस्तुत हुनुपर्छ : देउवा
महोत्तरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवाप्रदायकको रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्। शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा बजारीकरण गर्नेदेखि नवप्रवर्तनात्मक क्षेत्रको पहिचान गरेर आर्थिकरूपमा सम्पन्न नगर बनाउन सकिने बताए।
'सडक, बिजुली, खानेपानी, सिचाईलगायतका क्षेत्रको विस्तारमा नगर, प्रदेश सरकार र केन्द्र सरकारले सहकार्य गरेर अघि बढ्नुपर्छ,' उनले भने। उर्वर भूमिको अधिकतम उपयोग गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने कार्यमा नगर पालिकाले थप योजना बनाएर अघि बढे स्थानीय तहलाई समुन्नत बनाउन सकिने उनको भनाइ छ।
स्थानीय सरकारले प्रत्यक्ष जनतासँग काम गर्ने भएकाले समग्र सरकारको मूल्यांकन स्थानीय सरकारको काम कारबाहीबाटै हुने सभापति देउवाले बताए। 'जनताको हरेक समस्यामा साथ साथ हुने सरकार भनेको नै स्थानीय सरकार हो। मेयर उपमेयर, वडाध्यक्षहरूले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ। उद्घाटन भएको नयाँ प्रशासकीय भवनले मनराशिसवा नगरवासीहरुले पाउने सेवाहरू थप सहज बनाउन सहयोग पुग्ने छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !