एमाले मोरङको पदाधिकारीमा इतर पक्ष विजयी
विराटनगर : नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएको छ। पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार संस्थापन पक्षलाई पराजित गर्दै एमाले मोरङको पदाधिकारीमा इतर समूहको प्यानलै निर्वाचित भएको हो। अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले हराए।
राईले ४ सय ४६ मत पाएका छन् भने ओझा ४ सय ७ मतमा सीमित भए। राई र ओझा दुवै जना मोरङको सुन्दरहरैँचाका बासिन्दा हुन्। राई जिल्ला समन्वय समिति मोरङका प्रमुख र ओझा कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्य हुन्। उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन्। थापा विराटनगर र लिम्बु केराबारीका बासिन्दा हुन्। त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन्। थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मतमा सीमित भए।
उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भएका छन्। उनले ४ सय ९० मत ल्याए। वान्तवाका प्रतिस्पर्धी इर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए। महिला उपसचिवमा उषा झा निर्वाचित भइन्। उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन्।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो। नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भयो। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको जानकारी उनले दिए।
पार्टी कार्यालय पाञ्चालीमा बिहीबार दिउँसोबाट सुरु भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ। पदाधिकारीतर्फको मतगणना सकिए पनि सदस्यहरुको अन्तिम मतपरिणाम सार्वजनिक हुन समय लाग्ने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए। ५ पदाधिकारीसहित एमाले मोरङको जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुने छ।
एमाले मोरङमा इतर पक्षको नेतृत्व विनोद ढकालले गरिरहेका छन्। पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएपछि उनले एमालेभित्र अर्को समूहको नेतृत्व गरिरहेका हुन्। इतर पक्षलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको चर्चा छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरलाई भने संस्थापन समूह भनेर चिनिन्छ। पार्टीको जिल्ला नेतृत्वमा एकाएक इतर पक्ष आएपछि संस्थापन पक्ष कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ।
प्रतिक्रिया दिनुहोस !