प्राचीन सभ्यताको थलो
मूलतः कर्णाली र यसका सहायक नदीहरूद्वारा सिञ्चित हिमालदेखि तराईसम्मका जाड, खस र अन्य विभिन्न जातका मानिस रहेको क्षेत्रलाई कर्णाली प्रदेशका रूपमा लिइएको छ। यो प्रदेश नागराजालगायतका खस सम्राट्हरूद्वारा शासित विशाल सिञ्जा साम्राज्यको केन्द्रका रूपमा रहेकाले खस संस्कृतिको प्रभाव क्षेत्रको व्यापकता तथा वर्तमान नेपालका सात प्रदेशमध्ये एक हो।
कर्णाली प्रस्रवण क्षेत्र प्राचीन सभ्यताको थलोका रूपमा चर्चित रहँदै आएको छ। यस सन्दर्भमा यसै क्षेत्रमा रहेको सिञ्जा साम्राज्यको खारी प्रदेशमा रहेका मानसरोवर र कैलाश पर्वत हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरूका आस्थाका केन्द्रका रूपमा रहेका, पुराणले कैलाशलाई शिव र पार्वतीको बासस्थलको संज्ञा दिएको, त्यसरी नै बौद्ध धर्मावलम्बीहरूमा कैलाश पर्वतमा बुद्धका पादुका चिह्नहरू भएको विश्वास छ। प्राकृतिक दृष्टिले पनि ती स्थान सुन्दर र पवित्र रहेको भन्ने धारणा अभिव्यक्त हुँदै आएको पाइन्छ।
यसरी नै कर्णाली प्रस्रवण क्षेत्र बहुसंस्कृतिको संगम स्थल, खस संस्कृतिको केन्द्र र नेपाली भाषाको जन्मस्थलका रूपमा परिचित छ। कर्णाली प्रस्रवण क्षेत्रको लोकसंस्कृतिका अन्य आयामका रूपमा त्यहाँ विद्यमान लोकविश्वास र रीतिरिवाज, मौखिक परम्परा, कलाकौशल र भौतिक संस्कृति छ। लोक रीतिरिवाजका रूपमा रहेका त्यहाँका संस्कार कर्म, प्रथा, चाडबाड, मेलाजात्रा, कामधन्दा, वेशभूषा र खानपानका विषयमा वर्णन गर्दै तिनमा कैयन् स्थानीय विशेषता पाइने जनाउ पनि यसमा दिइएको छ।
कर्णाली प्रस्रवण क्षेत्रमा सुदीर्घ मौखिक परम्परा रहेको र त्यसमा डेउडा, सैरेलो, झारी, सिङारु, सजना, बिरहा आदिजस्ता लोकगीत, भारत, कर्खा, धमारी, चैत, चाँचडी आदिजस्ता लोकगाथा, विभिन्न प्रकारका लोककथा तथा अनेक उखान, टुक्का, पहेली (गाउँ खाने कथा), खिस्सा, मन्त्र आदि पाइन्छन्। लोक कलाकौशलका रूपमा त्यहाँ डेउडा, सिङारु, गर्रा, पैंसरी, हुड्केलो, मारुनी, बर्कीमार आदि प्रदर्शनकारी कला एकातिर र अर्कातिर जिउती, पुरैनी आदि भित्ते चित्र तथा वनस्पति, ढुंगा, माटो, धातु आदिबाट निर्मित सामग्रीमा झल्किने विशिष्ट कला उल्लेख्य छ।
कर्णाली प्रस्रवण क्षेत्रको लोकजीवनसँग सम्बद्ध भौतिक संस्कृतिका रूपमा काँक्रेविहार, लाटीकोइली, पादुका, सिरीथान, नाभीथान, चन्दननाथ, कनका सुन्दरी, त्रिपुरासुन्दरी, खार्पुनाथ, खैराबाङ, ठाकुरद्वारा, बैजनाथ आदिका प्राचीन मन्दिर र त्यहाँका मूर्ति, भुर्ती, रावतकोट र लम्जीका देवल, रलिङ गुम्बा, हल्जी गुम्बा, ताघबाई गुम्बा आदि र त्यहाँका बौद्ध मूर्ति चर्चित छन्। यिनका अतिरिक्त कोतगढी, बयलकाँडा गढी, कीर्तिखम्भ लगायतका अनेक शिलालेख, ताम्रपत्र, कनकपत्र, किसिम किसिमका घर, दरबार, यन्त्र, औजार, बाजा र पोसाक पनि यस क्षेत्रका भौतिक सम्पदाका परिचायक रहेको तथ्य कसैबाट छिपेको छैन।
समग्रमा, कर्णाली प्रस्रवण क्षेत्र लोकसंस्कृतिका दृष्टिले प्राचीन इतिहास भएको त्यस्तो महत्त्वपूर्ण क्षेत्रका रूपमा छ। जहाँ खसानको संस्कृतिसँग जडानको मात्र होइन, मगरात र अवधको संस्कृति पनि मिसिएको छ। जहाँ एउटै देवस्थलमा हिन्दु र बौद्ध मूर्तिहरू रहेका छन्। जहाँका मुसलमानहरू अरूसँगको डेउडाको प्रतिस्पर्धामा विजयको पगरी पहिरन्छन्। जहाँको संस्कृति त्यो शिव संस्कृतिबाट अनुप्रेरित छ। जहाँ थरीथरी गणका फरक स्वभावका अनेक प्राणी मिलेर बसेका छन्। विद्वान्हरूले यहाँको संस्कृतिलाई सृष्टिको मुहान भन्नुको तात्पर्य यसैबाट खुल्दैन र ?
प्रतिक्रिया दिनुहोस !