डा. गौतम विश्व स्वास्थ्य संगठन सल्लाहकार समितिको उपाध्यक्षमा नियुक्त
लन्डन : बेलायतमा कार्यरत जनस्वास्थ्यविद् डा. ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सल्लाहकार समिति (एड्भाजरी कमिटी)मा उपाध्यक्ष नियुक्त भएका छन्। स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा सल्लाह दिने डब्लुएचओ प्राविधिक सल्लाहकार समितिमा उनी उपाध्यक्ष नियुक्त भएका हुन्।
समितिमा विभिन्न १५ मुलुकबाट १६ जना विज्ञलाई सल्लाहकारका रूपमा नियुक्त गरिएको छ। उनीहरू जनस्वास्थ्य, मनोविज्ञान, मानवशास्त्र, अर्थशास्त्र लगायतका विभिन्न सामाजिक तथा व्यवहारगत विज्ञान क्षेत्रका अनुभवी तथा दक्ष विज्ञहरू हुन्। संसारभरका विभिन्न ७१ मुलुकबाट प्राप्त ३ सय ४० आवेदनबाट विज्ञता र दक्षताका आधारमा १६ जना सल्लाहकार नियुक्त गरिएको संगठनले जनाएको छ।
डा गौतम उपाध्यक्ष नियुक्त भएको यो प्राविधिक सल्लाहकार समितिले इन्डिपेन्डेन्ट रुपमा विश्व स्वास्थ्य संगठनलाई सल्लाह दिने गर्छ। समितिले स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा विश्व स्वास्थ्य संगठनको प्रतिवद्धता कार्यान्वयन गर्न तथा योजना र कार्यक्रमहरूको प्रभावकारिता बढाउन नीतिगत सल्लाहका साथै वैज्ञानिक तथा प्राविधिक सल्लाह उपलब्ध गराउँछ ।
आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिमा नियुक्त हुने उपाध्यक्ष डा गौतम नै एक्ला नेपाली विज्ञ हुन्। बेलायतमा रहेर जनस्वास्थ्यका क्षेत्रमा कार्यरत उनले जनस्वास्थ्यका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा २२ वर्षभन्दा लामो अनुभव बटुलेका छन्। हाल उनी वाटर एड यूकेको हाइजिन लिडका रूपमा कार्यरत छन्।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट पिएचडी गरेका डा गौतमले बंगलादेशबाट पब्लिक हेल्थ र नेपालको त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातकोत्तर पूरा गरेका छन्। उनले बेलायत र युरोपस्थित केही विश्वविद्यालयमा अतिथि लेक्चररका रूपमा समेत काम गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !