त्यो बझाङ विद्रोह
राजा महेन्द्रले चीनको सहयोगमा अरनिको राजमार्ग अर्थात् काठमाडौं–कोदारी राजमार्ग निर्माण गर्ने काम सम्झौता गरेका थिए। लगत्तै छिमेकी भारतले नेपालमाथिको कूटनीतिक दबाब दियो। तर त्यसले काम नगरेपछि तात्कालीन नेपाली कांग्रेसलाई पैसा, हातहतियार, गोलीगठ्ठा दियो र पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बझाङ, बैतडीसम्म नेपालभित्रै सशस्त्र क्रान्ति मच्चाइदियो, भारतले।
भारतको उद्देश्य कोदारी राजमार्ग बन्न नदिनु थियो भने राजा महेन्द्रको पञ्चायती व्यवस्था ढाल्नु पनि थियो। सबैभन्दा ठुलो लडाइँ त चितवनको भरतपुर क्षेत्रमा भयो। कांग्रेसी नेता जगतप्रकाशजंग शाह लगायत पुलिसका इन्स्पेक्टरसहित केही मान्छे मरे। त्यस बखत नेपाल प्रहरी कांग्रेसीसँग लागेर नेपाली सेनाविरुद्ध लड्न थाल्यो। किनकि २००७ सालमा राणाशासनविरुद्ध लडेका कांग्रेसी लडाकुहरू नै नेपाल पुलिस बनेका थिए।
नेपाली कांग्रेसको उक्सावट र श्री ५ को सरकारको राज्य रजौटा उन्मुलन ऐनका कारणसमेत बझाङका राजा रामजंगबहादुर सिंहको नेतृत्वमा राजा महेन्द्रविरुद्ध विद्रोह भएको थियो। जसलाई नेपाली जनमानसमा ‘बझाङ काण्ड’ भनिन्छ। माथि लेखेअनुसार २०१७ सालमा श्री ५ महेन्द्रबाट राज्य रजौटा उल्मूलन ऐन लागू भयो। त्यसपछि कार्यकारी शक्ति लिएर श्री ५ को सरकारको मातहतमा बसेका राजाहरूलाई चोट पर्यो। ऐन अनुसार राजा रामजंगको शेखपछि बझाङमा कोही राजा हुन्थेन।
त्यसैले गोरखा राजवंश भन्दा धेरै पुरानो बझाङ राजवंश मासिन हुन्न भन्ने उनको अडान थियो। श्री ५ महेन्द्रबाट २०१७ पुस १ गते बहुदलीय व्यवस्था खारेज भएपछि नेपाली कांग्रेस त्यसबाट असन्तुष्ट भयो। उसले देशका चितवन, गुल्मी, नुवाकोट, पाँचथर इलाम, बझाङ आदि जिल्लामा विदेशी भाडाका मानिससमेत प्रयोग गरी सशस्त्र विद्रोह सञ्चालन गर्यो। यसमध्ये बझाङ विद्रोहका कारण निम्न थिए :–
(क) तत्कालीन बझाङका राजा रामजंगबहादुर सिंह भारत पिथौरागढमा बसी उतैको संगतमा हुने हुँदा राजा महेन्द्रका नीतिभन्दा उनी उतैको विचारधाराबाट बढी प्रेरित र प्रभावित थिए।
(ख) बझाङका राजा र जनता मिली विद्रोह मच्चाएमा आफ्नो स्वार्थ सिद्ध हुने देखेर नेपाली कांग्रेसको राजनीतिक समूहले पनि यस विद्रोहलाई उक्साएको थियो।
(ग) भारतले पनि नेपालको स्थायित्व खलबल्याउन बझांगी राजालाई उक्साई बझाङलगायत नेपालभरि मानिस र हतियारको गोप्य सहयोग दिँदै थियो। लड्ने सेना पनि भाडाका झिकाइएका थिए।
(घ) भारतमा रहेका नेपाली कांग्रेसका व्यक्ति तथा समूहले दृढ विचारका बझांगी राजा रामजंगबहादुर सिंहमा नेपाल र राजा महेन्द्रविरोधी भावना जगाइदिएका थिए।
(ङ) महाकाली पारीको पिथौरागढ भाडाका लडाकू भर्ती गर्न, तालिम गराउन, हतियार गोलीगठ्ठा जम्मा गर्न उपयुक्त स्थान थियो।
यो बझाङ विद्रोह रोक्न र राज्य रजौटा उन्मुलन ऐन लागु गर्न राजा महेन्द्रबाट बझाङका राजकुमार ओमजंगबहादुर सिंहलाई छोरी दिने प्रस्ताव पनि पठाए। ओमजंगले मानेका थिए तर उनका पिता राजा रामजंगले सो प्रस्ताब मानेनन्। गोर्खाली राजासँग बझाङे राजा लड्न तयार रहेको खबर गरे। अनि त्यो सैनिक कारबाहीमा भाग लिए। जुन कुरा उनै श्रीनाथ गणका पुराना सैनिकहरूबाटै सुनेको हो।
बझांगी राजा रामजंगका छोरा युवराज ओमजंगबहादुर सिंह त्रिचन्द्र कलेजमा पढेका शिक्षित र जोसिला युवक थिए। राजाराम पिथौरागढमैै बसी विद्रोहको तारतम्य मिलाउँदै रहे। उनको निर्देशनमा राजकुमार ओमजंगले बझांगी जनसमर्थन जुटाउने कार्य गर्दै नेपाल सरकारविरुद्ध हतियार उठाई विद्रोहको नेतृत्व गर्ने निधो गरे। श्री ५ को सरकारले बझाङ राजासँग वार्ताबाट समस्या समाधान गर्न पटक–पटक प्रयास गरेको थियो। केही सीप नलागेपछि विद्रोह दमनको कारबाही गरियो।
विद्रोह नियन्त्रणको कारबाही ः युवराज ओम जंगबहादुर सिंह नेतृत्वको विद्रोहलाई बेलैमा निमिट्यान्न नपारे समस्या बढ्दै जाने बुझेर श्री ५ को सरकारले उक्त विद्रोह सैनिक कारबाहीमार्फत दमन गर्ने निर्णय २०१८ भदौमा गर्यो। सोका लागि नेपालगञ्जमा हेडक्वाटर्स भएको श्रीनाथ गणलाई आदेश भयो। उक्त गणका गुल्महरू धनगढी, डोटी, हुम्ला र बैतडीमा तैनाथ थिए। गणपति प्रमुख–सेनानी वीरेन्द्रप्रसाद शाह (पछि सहायक रथी) थिए।
उप–सेनानी केशरबहादुर गड्तौलाले कमाण्ड गरेको बैतडीस्थित गुल्मलाई सुरुमा अगाडि बढाइयो। त्यसपछि सह–सेनानी रोहितविक्रम राणाले कमाण्ड गरेको डोटीस्थित गुल्मलाई पनि रवाना गराइयो। वर्षात्को महिना भदौमा कारबाहीका लागि अघि बढेका गुल्महरू बझाङको थलारा भन्ने स्थानमा जम्मा भए। उपसेनानी पछि सहायक रथी केशरबहादुर गड्तौलासँग पहिला पटक नम्बर २ बाहिनी अड्डा हिले, धनकुटामा र पछि उहाँको निवासमा लेखकले २०६६ असोज ३ गते लिएको अन्तर्वार्ता अनुसार सेनाले आफ्नो उपस्थिति देखाई वरपरका इलाकाहरूमा गस्ती गरिरहेको अवस्थामा पहिलो आक्रमण विद्रोहीबाटै भयो।
झन्डै दुई घण्टासम्म छिट्फुट गोली हानाहान भयो, आखिर विद्रोहीहरू भागे। सेनातर्फ कुनै क्षति भएन। विद्रोहीतर्फ दुईजना मारिए। ३०३ राइफल चार नाल र केही भरुवा बन्दुक सेनाले बरामद गर्योे। सेनाले आफ्नो गतिविधि अझ बढाउँदै लग्यो। तर बझांगेले पहिला फायर गरे कि नेपाली सेनाले पहिला गरे भन्ने कुरामा हालसम्म प्रकाशित इतिहास र लेखहरूमा एकरूपता देखिन्न।
यसै सिलसिलामा भागेका विद्रोहीहरू थलाराको जंगलमा लुकी बसेका छन् भन्ने सूचनाको आधारमा सेनाले उक्त स्थानलाई घेरामा पारी खोजतलास र विद्रोहीलाई बढार्ने कारबाही गर्दा विद्रोहीहरू हतियार फाली भागाभाग गरे। केही हातहतियार र गोलीगठ्ठा फेला पार्यो। समातिएका विद्रोहीहरूको भनाइ अनुसार ५५ जना तालिमप्राप्त विद्रोहीहरूलाई प्रतिव्यक्ति ५०० रुपैयाँ दिई भारतबाट ल्याइएको बुझियो। महाकाली नदीमा पुल नभएकाले कम्मरमा तुम्बालगाई भाडाका विद्रोहीहरू नदी तरी नेपाल पसेको उनीहरूले बताए। गुदी अर्थात् गिद्रा फालेर सुकेका लौकाका सग्लो बोक्रालाई तुम्बा भनिन्छ।
सैनिक खोजतलासको कारबाही दार्चुलाको रसकोट इलाकामा हुँदै थियो। त्रिविविका उपकुलपति रामचन्द्रबहादुर सिंह, जर्नेल लक्ष्मण चन्द्र, जर्नेल रघुचन्द्र, जर्नेल शशीचन्द्र, जर्नेल कमलेशबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्रबहादुर सिंहलगायतको घर यही रसकोट हो। विद्रोही नाइके युवराज ओमजंग फेला परेका वा मारिएका थिएनन्। सेनाको कारबाहीबाट बच्न उनी लेकतिर भागेका थिए।
बरु अप्ठ्यारो जमिन र बाक्लो हिउँ भएको स्थानमा पुगेकाले भाग्ने ठाउँ नपाई पुनः फर्केर रसकोटतर्फ आउँदा ओमजंगको टोलीसँग सेनाको जम्काभेट भयो। ओमजंगले आफ्नो राईफलबाट सेनातर्फ फायर गर्न खोज्दा सेनाले पहिल्यै फायर गरी ओमजंगलाई तुरुन्त मारिदियो। विद्रोहीहरू फेरि भागाभाग गरे। यस घट्नाको विवरण सन् १९६२ सेप्टेम्बर २९ तारिखको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले पनि प्रकाशित गरेको छ।
बझाङ विद्रोहको र राजकुमार ओमजंगबहादुरको मृत्युका बारेमा फरक फरक लेखाइ र बोलाइ पनि भेटिन्छन्। लेखकले दिएको विवरण कारबाहीमा भाग लिएका सेनासँग लिएको अन्तर्वार्ता भएको बारेमा अगाडि नै लेखिसकेको छ। २०१८ साल महाअष्टमीको दिनको उक्त घटना काबुमा आइसकेको हुँदा सेनाको दुवै गुल्म आआफनो स्थानमा फक्र्याे। बैतडी आइपुग्नु अगावै महाकाली अञ्चलाधीस र स्थानीय जनता सहित १ दिन वरको बाटोसम्म पुगी विद्रोही दमन गरी फर्केका फौजलाई स्वागत गर्न पुगेका थिए।
बैतडीको उक्त गुल्मलाई धनगढी पुग्ने आदेश भयो। विद्रोद दमन गर्न सफल भएकाले र प्रधानसेनापतिले धनगढीमा श्रीनाथ गणका निम्नालिखित अधिकृत, पदिक, विल्लादार र सिपाहीहरूलाई पुरस्कृत गर्नुभयो :–
(क) उपसेनानी केशरबहादुर गड्तौला सहसेनानीमा बढावा र नेपाल तारद्वारा विभूषित
(ख) सुबेदार गणेशबहादुर– नेपाल तारा पाँचौं
(ग) जमदार तिलकबहादुर कार्की– नेपाल तारा पाँचौं
(घ) प्रबब्ध हुद्दा शेरबहादुर– जमदारमा बढुवा
(ङ) अमलदार हर्कबहादुर– नगद पुरस्कार
(च) अमलदार शेरबहादुर– हुद्दामा बढुवा
(छ) प्यूठ वीरबहादुर– अमलदारमा बढुवा
(ज) प्यूठ तिलकबहादुर– अमलदार बढुवा
(झ) सिपाही भीमबहादुर (ओमजंगलाई मार्ने)– प्यूठमा बढुवा र नगद पुरस्कार
(ञ) सिपाही कृष्णबहादुर– नगद पुरस्कार
(ट) सिपाही नरबहादुर– नगद पुरस्कार
(ठ) सिपाही रामशरण थापा– नगद पुरस्कार
(ड) सिपाही ललितबहादुर– नगद पुरस्कार
२०४३ सालमा उक्त गण पूर्वको इटहरी ब्यारेकमा छँदा लेखक सहायक सेनानी भई मदर युनिटमा हाजिर हुँदा उक्त सैनिक कारबाहीमा भाग लिने पुराना सैनिकसँगको अन्तर्वार्तामा आधारित छ यो लेख। श्रीनाथ गण नेपाली सेनाको सबैभन्दा जेष्ठ गण हो। यो कारबाहीका कमान्डर पहिला लप्टन साब र पछि सहायक रथी केशरबहादुर गड्तौला जर्साब सोही बखत नम्बर २ बाहिनी हिलेको बाहिनीपति हुँदा उहाँबाट धेरै कुरा जानकारी भएको थियो।
प्रतिक्रिया दिनुहोस !