लिच्छविकालको स्वर्णिम संसार
गौशालाको पश्चिम–उत्तर कुनामा अवस्थित छ, भण्डारखाल बगैंचा। काठमाडौं उपत्यकाको प्राचीन सम्पदा स्थल पशुपति क्षेत्रको जीवन्त साक्षी हो यो। लिच्छविकालिक इतिहासको यो अमूल्य निधि, जुन मध्यकालमा ‘लायकु’ दरबारको अभिन्न अंग थियो।
पशुपतिनाथ मन्दिरलगायत देवपाटनका प्रमुख मन्दिरहरूमा फूलमाला आपूर्ति गर्ने पवित्र उद्यानको रूपमा विख्यात थियो त्यो स्थल। करिब १३४ रोपनी क्षेत्रफलमा फैलिएको यो बगैंचा कुनै समय रंगीबिरंगी फूलहरू, हरियाली वनस्पति र चञ्चल राता बाँदरहरूको क्रीडास्थल थियो। तर, आज यो उद्यान उपेक्षा, अतिक्रमण र लापरबाहीको सिकार बनेर उजाड अवस्थामा छ।
प्राचीन वास्तुशास्त्रमा राजदरबारको परिकल्पनामा बगैंचा, उद्यान र भण्डागारलाई कार्यात्मक र सौन्दर्यात्मक दुवै दृष्टिकोणले महत्वपूर्ण मानिन्थ्यो। यी तत्वहरू राजदरबारको सौन्दर्य, सुरक्षा र आत्मनिर्भरताका प्रतीक थिए। बगैंचाले राजदरबारको सौन्दर्य वृद्धि गर्नुका साथै राजपरिवार र अतिथिहरूलाई विश्राम र मनोरञ्जनको वातावरण प्रदान गर्थे।
कहीँकहीँ बगैंचालाई ‘स्वर्गको प्रतीक’को रूपमा परिकल्पना गरिन्थ्यो। बगैंचामा फूल, फलफूलका रूख र जलाशयहरू राखिन्थे, जसले प्रकृतिसँगको सामञ्जस्यतालाई दर्शाउँथे। नेपालको सन्दर्भमा मल्ल र शाहकालिक दरबारहरूमा बगैंचालाई सांस्कृतिक र धार्मिक कार्यहरू जस्तै, पूजा वा उत्सवका लागि पनि प्रयोग गरिन्थ्यो।
लिच्छविकालदेखिको ऐतिहासिक महत्व : भण्डारखाल बगैंचाको इतिहास लिच्छविकाल वि.सं. ४००–९३७० सम्म जोडिन पुग्छ, जुन काठमाडौं उपत्यकाको सांस्कृतिक र धार्मिक केन्द्रको स्वर्णिम युग थियो। संस्कृतको ‘भण्डारगार’ शब्दबाट नेपालीमा ‘भण्डारखाल’ वा ‘भँडारखाल’ शब्द बनेको हो। यो उद्यान लिच्छविकालिक दरबारको भण्डारण वा बगैंचाको हिस्सा थियो भन्ने संकेत पाइन्छ।
पहिले एक राज्य र अर्को राज्यबीच बराबर आक्रमण–प्रत्याक्रमण भइरहने हुनाले यस्ता भण्डारखालमा खाल्डो खनेर जतनपूर्वक धनसम्पत्ति लुकाइने परम्परा उसबेला रहेको बताउने उल्लेखहरू संस्कृत साहित्यहरूमा पाइन्छन्।
भण्डारखाल बगैंचाको संक्षिप्त इतिवृत्ति : लिच्छविकाल, मध्यकाल, मल्लकालमा नेपालमा उद्यान वा बगैंचाहरूको स्थिति के कस्तो थियो वा हुन्थ्यो, त्यो बताउन सकिने आधारहरूको अभाव छ। शाहकालमा भने ठाउँठाउँमा बगैंचाको उल्लेख पाइन्छ। काठमाडौं खाल्डोमा रहेका मल्लकालिक दरबारहरूको अभिन्न अंग बनेर रहने गरेको भण्डारखालको प्राचीनता खोज्दै जाने हो भने माथि उल्लेख गरेजस्तो मध्यकाल वा त्यसभन्दा अगाडि पुग्न नसकिने होइन।
उहिले दरबारमा भण्डारखालको उपयोगिता दुई प्रकारले रहने गरेको थियो :– क. दरबारको सौन्दर्यीकरणका लागि। ख. धनसम्पत्तिलाई सुरक्षित गरेर राख्ने कार्यका लागि। यसले गर्दा पनि उहिले भण्डारखाल दरबारको अभिन्न अंग झैं बन्न पुगेको हुन्थ्यो। पशुपति क्षेत्रमा रहेको भण्डारखाल बगैंचा रहेको ठाउँ वरपर त्यस्तो कुनै प्राचीन दरबारको अवशेष झट्ट हेर्दा देखिँदैन।
तर खोजीपस्दै गयो भने यो पनि पुरानो दरबारको अभिन्न अंगभित्रैको बगैंचा हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन। गोपाल राजवंशावलीमा पाइने एउटा उल्लेख (३७ ख, ३९ ख, ४४ क पत्र)को आधारमा पशुपति क्षेत्रमा एउटा मध्यकालिक दरबार रहेको तथा आ–आफ्ना अलग राज्यमा राज्याभिषेक समारोह गरिन्थ्यो। तर, पनि पशुपति क्षेत्रमा रहेको मध्यकालिक दरबारमा पुन: राज्याभिषेक समारोह गर्नुपर्ने चलन थियो।
त्यसबेला यो कार्य चलनचल्तीमा रहेकाले त्यही दरबारसँग यो भण्डारखालको सम्बन्ध हुनु धेरै सम्भव छ। इतिहासकार डा. गौतमवज्र बज्राचार्यले त्यो दरबार पशुपति क्षेत्रको ‘एन्दल’मा रहेको अनुमान गरेका छन्। ने.सं. ७७८ (वि.सं. १७१५) ज्येष्ठ शुक्ल ८ बृहस्पतिबारको जयवागीश्वरी मन्दिर छेउको पाटीमा रहेको एउटा अभिलेखमा उल्लेख भएको सो नाम पछि कहीँ देखा पर्दैन।
अहिले जहाँ ‘पशुपतिनाथ अमालकोट कचहरी’ नामको कार्यालय रहेको छ। त्यही भवनमा तुलजा भवानी रहेको तथा उनको नित्य–नैमित्तिक पूजा–आजा अद्यापि हुने गरेको छ। पशुपति क्षेत्रमा हुने कतिपय पूजा–आजा, जात्रा–यात्रामा तुलजा भवानी रहेको त्यस भवनमा आई पशुपति क्षेत्रका प्रमुख मानिने ‘अमालीप्रमुख’ (आजभोलि पशुपति मन्दिरका मूलभट्ट) त्यहाँ आई संलग्न भई सम्पन्न गर्नुपर्ने राजकीय ढाँचाका परिपाटीहरूले मध्यकालिक राजाको शानशौकतलाई सम्झाउँछ।
यसकारण मध्यकालिक दरबार भन्नु नै त्यही ‘पशुपतिनाथ अमालकोट कचहरी’को भवन रहेको क्षेत्र हुनुपर्ने अनुमान गर्न गाह्रो पर्दैन। त्यस भवनको दक्षिणपट्टि ‘साकेव’ नामको गाई राख्ने ठाउँ, पश्चिम–दक्षिणपट्टि झन्डै १३४ रोपनी क्षेत्रफलमा फैलिएको भव्य बगैंचा, त्यस बगैंचामा कुनै कामकाज गर्न आवश्यक पर्दा ‘ब्याङ् मोही’ संलग्न हुनुपर्ने चलन तथा ‘ब्याङ् मोही’लाई अन्य कुनै किसिमको कर तिर्नु नपर्ने प्रचलनलाई हेर्दा पनि भण्डारखालको राजकीय महत्वलाई नै संकेत गरेको भान पर्छ। पहिलेको ‘साकेव’मा अहिले नेपाल वेद विद्याश्रम, पशुपतिक्षेत्र विकास कोष एवं देव उद्यान रहेको छ।
अर्को प्रसंगको पनि चर्चा गरौं। पशुपति क्षेत्रमा रहेको भण्डारखालदेखि दक्षिणपट्टि रहेको बत्तीसपुतली श्रीराममार्गस्थित एउटा घरको पर्खालको जग खन्ने क्रममा वि.सं. २०३७ मा लिच्छवि लिपिमा ‘राज्ञोमरदेवस्य’ लेखिएको पक्की इँट पाइएको थियो। भण्डारखाल र बत्तीसपुतलीको केही भाग उहिले एउटै सतहमा थियो। अमरदेव नामांकित इँटले पनि भण्डारखालको प्राचीनतालाई संकेत गर्दछ।
देवपाटनमा लिच्छविकालका दरबारहरू रहेको हुन सक्ने संकेतस्वरूप तलेजुको स्थान रहेको ठाउँलाई अहिले पनि ‘लायकु’ (दरबार) भनिने, ‘देशोद्वारपूजा’, ‘उपाको वनेगु’का पुराना परम्पराहरू अहिलेसम्म चलनचल्तीमा रहेका छन्। यिनै पुराना प्रसंगहरूको केन्द्रबिन्दुमा ‘भण्डारखाल बगैंचा’ रहेको सन्दर्भले पनि भण्डारकालको प्राचीनताको झलक दिइरहेको कुरालाई बिर्सन सकिन्न।
वनदुर्गको रूपमा पशुपतिका जंगल : काठमाडौं खाल्डोमा रहेका कतिपय प्रसिद्ध देवस्थलहरू प्राय: ‘वनदुर्ग’को रूपमा देखिन्छन्। पशुपतिनाथ, स्वयम्भूनाथ, आदिनाथ (चोबहार), वज्रयोगिनी (गुंविहार) आदि देवस्थलहरू ‘वनदुर्ग’को रूपका महत्वपूर्ण स्थल थिए। वनदुर्ग केही उच्च डाँडामा रहेको हुन्थ्यो। पशुपतिनाथ मन्दिर त्यस्तो उच्च डाँडामा रहेको नभए पनि धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक दृष्टिकोणले महत्वपूर्ण तीर्थस्थल रहेको छ। सोही कारण सुरक्षाका दृष्टिाले पनि उहिलेदेखि नै वनदुर्गको वर्गीकरणमा पारेको देखिन्छ।
वनदुर्गको आफ्नै किसिमका विधि–निषेधहरू हुन्थे। मुख्यत: यहाँका रूखबिरुवा काट्न र भाँच्न पाइन्नथ्यो। त्यस्तो वनदुर्गभित्र व्यक्तिगत घर, खेतबारी हुन्नथ्यो। पशुपतिक्षेत्रका रूखबिरुवाहरू ऋषिमहर्षिको रूपमा पावन पशुपति क्षेत्रमा जन्म लिन आएका मानिने परम्पराले गर्दा यहाँको जंगल आजसम्म पनि केही सुरक्षित हुन सकेका हुन्। यद्यपि बेलाबेलामा यहाँको जंगललाई विनाश गर्ने किसिमका कामहरू नभएका होइनन्।
पुरातात्विक उत्खनन : वि.सं. २०३९ मा पुरातत्व विभाग र इटालियन पुरातत्वविद् जियोव्वानी भेरार्डीको टोली तथा वि.सं. २०७३ मा पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग र बेलायतको दुरहम विश्वविद्यालयको संयुक्त टोलीले भण्डारखाल बगैंचाको केही भागमा उत्खनन गरेको थियो। जतिबेला त्यहाँ छैटौं र सातौं शताब्दीताकाका लिच्छविकालिक पोखरी, संरचना र अवशेषहरू फेला परेका थिए। ती अवशेषहरूले भण्डारखाललाई पुरातात्विक दृष्टिकोणले मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि अमूल्य निधि बनाएको छ।
पशुपतिनाथको उद्यान : मध्यकालमा यो बगैंचा ‘लायकु’ दरबारको अभिन्न अंगको रूपमा रह्यो। पशुपतिनाथ मन्दिरमा चढाइने फूलमालाका लागि यहाँका रंगीबिरंगी फूलहरू प्रयोग हुन्थे। यही बगैंचाबाट हरेक दिन बिहान बाह्र माला तयार गरी मन्दिरहरूमा पुर्याउने परम्परा वि.सं. २०४९ सम्म निर्वाध रूपले चलेको थियो। गुराँस, सुनचाप, मडिल्लो, जमानीमान्द्रो, फित्तिफ्याँजस्ता फूल–बिरुवाले सजिएको यो उद्यानले मन्दिरका पूजाअर्चनालाई सुगन्धमय बनाउँथ्यो।
यस्तो पवित्र कार्यले भण्डारखाललाई धार्मिक र सांस्कृतिक रूपमा अपरिहार्य बनाएको थियो। वि.सं. १९७४ अघि पशुपतिनाथ अमालकोट कचहरीले र त्यसपछि समरजंग कम्पनीले भण्डारखालको रेखदेख गरेको थियो। समरजंग कम्पनीको समयमा एक सुबेदारको नेतृत्वमा दुई हवल्दार, बीस सिपाही र छ मालीले यो बगैंचालाई हराभरा राख्थे। उनीहरूले नै यसलाई ‘शिव–पार्वती उद्यान’ नामकरण गरे, जसले पशुपतिनाथ र पार्वतीको पवित्रतासँग जोडिएको बगैंचाको महिमालाई झल्काउँछ।
त्यो समयमा बगैंचा फूलहरूको सुगन्ध, रूखहरूको हरियाली र चन्द्रमाजस्तै चम्कने पोखरीहरूले सजिएको थियो। यहाँका दुईवटा पोखरी बाह्रै महिना पानीले भरिएका हुन्थे, जसले एकातिर बगैंचालाई जीवन्त र आकर्षक बनाइरहेको हुन्थ्यो भने अर्कोतिर भूमिगत रूपले नजानिँदो प्रकारले वरपरको रूखबिरुवालाई सिञ्चित गरिरहेको हुन्थ्यो। स्याहारसम्भारको अभावमा अहिले ती दुई पोखरीको नामोनिसान नै झन्डैझन्डै विलुप्त भइसक्यो भने हुन्छ।
भण्डारखालको वानस्पतिक विविधता पनि उत्तिकै लोभलाग्दो थियो पहिले। यहाँ तराईको उष्ण जलवायुमा पाइने सिमल र हिमालको चिसोमा अग्लिने देबदार, गोब्रेसल्ला, काँडेसल्ला र गुराँसका बिरुवाहरू एकै ठाउँमा पाइन्थे। मडिल्लो, शिरीष, हाडेबयर, सुनचाप, काउलो, प्वाँले, वायुबिडङ, धुसर, वर, पीपल, लप्सी, समी, कागतेपाटे, मयल, सिलिंगे, काभ्रो, चिलाउने, पैंयू, सल्ला, धूपी, बकैनाजस्ता बिरुवाले बगैंचालाई जैविक विविधताको खजाना बनाएका थिए। यीमध्ये कतिपय आयुर्वेदीय महत्वका थिए भने कतिपय धार्मिक दृष्टिकोणले पवित्र मानिन्थे। रणबहादुर शाहको पालामा ‘ब्याङ’ (गुठी जग्गा कमाउने)हरूले करमुक्त रूपमा बगैंचाको स्याहार गर्थे, जसले यहाँको संरक्षणमा स्थानीय सहभागिताको उदाहरण प्रस्तुत गर्छ।
विनाशको कालखण्ड : भण्डारखालको सुनौलो युग समरजंग कम्पनीले रेखदेख छोडेपछि समाप्त भयो। बगैंचा बेवारिसे बन्यो, रूखहरू काटिए, फूलबिरुवा उजाडिए। वि.सं. २०२७ को दशैंमा तिब्बतबाट ल्याइएका चारपाँच हजार भेडाच्यांग्रालाई नेपाल खाद्य संस्थानले यहाँ राख्दा ससाना बिरुवा, झाडी र फूलहरू सलहले बाली नष्ट गरेजस्तै सखाप भए। भेडाच्यांग्राले ससाना झाडीहरू त विनास पारेपारे, ठुल्ठूला रूखका बोक्रा पनि कोतरेर विरूप तुल्याए, जसले ठूला रूखहरूलाई पनि सुक्न बाध्य बनायो।
सुबेदारको नेतृत्वमा दुई हवल्दार, बीस सिपाही र छ मालीले भण्डारखाल बगैंचालाई हराभरा राख्थे। उनीहरूले नै यसलाई ‘शिव–पार्वती उद्यान’ नामकरण गरे, जसले पशुपतिनाथ र पार्वतीको पवित्रतासँग जोडिएको बगैंचाको महिमालाई झल्काउँछ। यो समयमा बगैंचा फूलहरूको सुगन्ध, रूखहरूको हरियाली र चन्द्रमाजस्तै चम्कने पोखरीहरूले सजिएको थियो।
यसैकारण बगैंचाको स्याहार–सम्भारमा दिलोज्यान दिएर समर्पित पाले, माली एवं कामदारहरूको मनोबल घट्यो। केही वर्षपछि समरजंग बगैंचाको कामबाट हट्यो। पटक– पटकको राजनीतिक आन्दोलनको क्रममा पनि भण्डारखालको वनजंगल र रूखहरू काटिने, मासिने काम भए। पहिलेका अजंग अजंगका रूखहरू अहिले देख्न पाइन्न। पर्याप्त रेखदेख र पानीको अभावमा त्यस्ता रूखहरू कुनै सुके त कुनै ढले अनि कुनै काटिए, मासिए।
भण्डारखाल बगैंचालाई पूरै घेर्ने गरी रणबहादुर शाहको पालामा बनाइएको अग्लो पर्खालले बगैंचालाई सुरक्षित राखेको थियो। तर बेलाबेलामा हुने अतिक्रमणले त्यसको महत्वलाई चुनौती दिन्थ्यो। दक्षिणपट्टिका लिच्छविकालिक इनारहरू, जसमध्ये एउटा विशेष शैलीको थियो जो निजी कम्पाउण्डमा परिणत भयो। बेलाबेलामा भण्डारखाल बगैंचाको उत्तरतर्फको बस्तीबाट हुने गरेको अतिक्रमणले बगैंचाको रूखको जनघनत्व खुम्चिँदै गयो।
छँदाखाँदाका रूखबिरुवा एवं तिनका हाँगाबिँगाहरू काटिए। जसको कारण कुनै बेला सानोतिनो घनाजंगलकै स्वरूप ग्रहण गरेको भण्डारखाल पातलिँदै गयो। शहर–बजारको नजिकमा रहेको भए पनि पहिले निकै घना थियो। जंगलमा पसेपछि पन्ध्र–बीस फिट परको मानिसलाई पनि बाक्लो रूखबिरुवा, झाडी, लहरापातहरूका कारण देख्न मुस्किल पथ्र्याे।
अहिले त्यो अवस्था रहेन।
बाँदरहरूको दु:खान्त कथा : भण्डारखालको पहिचान राता बाँदरहरू पनि हुन्, जसले यहाँको प्राकृतिक सन्तुलनमा योगदान पुर्याउँथे। बिहान–बेलुका उदारमना दाताहरूले खुवाउने फलफूल, रोटी, गहुँ र चामलले बाँदरहरू बगैंचामै सन्तुष्ट रहन्थे। तर कहिलेकाहीँ हुने बन्द, हडताल र कोभिड–१९ को बेला खाद्य आपूर्ति बन्द हुँदा उनीहरू भोकप्यासले छट्पटाएर नजिकको गाउँबस्तीमा जान बाध्य हुन्थे।
हाल आठ महिनादेखि पशुपति क्षेत्र विकास कोषले बगैंचा बन्द गरेपछि बाँदरहरूको अवस्था निकै दयनीय बन्न पुगेको छ। पानी र खानाको अभावमा धेरै बाँदरहरू भोकले तडपिरहेका छन्। भोटु पाँडेले स्थापना गरेको ‘बाँदर गुठी’को जग्गा गुठी संस्थानले रैतानमा परिणत गरिदिएपछि बाँदरहरूका लागि नियमित आहारको व्यवस्था बन्द भएको निकै लामो समय बितिसक्यो। त्यसपश्चात् केही दयालु दाताहरूको उदार हृदयका कारण पशुपति क्षेत्रका बाँदरहरूले केही राहत पाइरहेका थिए। भण्डारखाल बगैंचाको मूल ढोकै बन्द गरिएपछि बाँदरहरूलाई त्यस्ता दाताहरूले खुवाउन सहज छैन।
भगवान् पशुपतिनाथको क्षेत्रमा पशुहरूको यस्तो बेहाल हुनु दु:खलाग्दो छ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदरहरूको भरणपोषणलाई के गर्ने हो ? अब गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ। अबका दिनमा बाँदरको सुरक्षा र खानपानमा कोषले नसघाए कसले सघाउने ? पशुपति क्षेत्रका बेवारिसे व्यक्ति, दु:खी, अनाथ एवं गाई, नन्दी, बाँदर, कुकुर, मलेवा, परेवाको अभिभावक भन्नु नै कोष हो र हुनुपर्छ। भगवान् श्रीपशुपतिनाथ सम्पूर्ण पशुहरू (दुई खुट्टे, चार खुट्टे)का मालिक अर्थात् स्वामी वा पति हुनुहुन्छ। यसैले यस क्षेत्रका पशुपक्षीहरू भोकभोकै रहनुहुन्न।
पशुपति क्षेत्रमा भएको भण्डारखाल बगैंचा र वि.सं. १९०३ मा जंगबहादुर राणालाई सर्वेसर्वा बनाउन सहयोगी भूमिका खेलेको भण्डारखाल बगैंचाबीचको सम्बन्धमा कहिलेकाहीँ मानिस अलमलिने गरेको पाइन्छ। वि.सं. १९०३ को घटना घटेको भण्डारखाल बगैंचा पशुपतिक्षेत्रको नभई हनुमानढोका दरबार क्षेत्रको हो।
पशुपति क्षेत्र विकास कोषको भूमिका : कोषले स्थापनाको झन्डै तीस वर्षपछि भण्डारखाल बगैंचाको संरक्षणमा वि.सं. २०७३ मा वरिपरि बगैंचा घुम्न मिल्नेगरी आकर्षक ढंगले प्रस्तर फलकयुक्त पैदलमार्ग, टिकट काउन्टर र सुविधासम्पन्न शौचालय निर्माण गरेको थियो। त्यो पहलले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउने र कोषको आम्दानी बढाउने लक्ष्य राखेको थियो। तर वि.सं. २०७४ पछि कोषको बेवास्ताले यो प्रयास ओझेलमा पर्यो।
हाल बगैंचा पूर्णरूपले बन्द छ र कुनै स्पष्ट कारणबिना यो अवस्था लम्बिँदै गइरहेको छ। भण्डारखाल बगैंचा सर्वसाधारणका लागि खुला हुँदा स्थानीय जनसमुदाय, स्वदेशी–विदेशी तीर्थयात्री एवं पर्यटकहरूका लागि पनि मन परेको गन्तव्य बन्न गएको थियो। बिहानदेखि बेलुकासम्म स्थानीय हजारौं विद्यार्थी, युवकयुवती, प्रौढ एवं हिँडडुल गर्न सक्ने र ज्येष्ठ नागरिकहरू स्वच्छ हावा पाउने आशाले घुम्न जाने ठाउँ भण्डारखाल बगैंचा बनेको थियो।
अहिले मूल ढोकामै भोटेताल्चा लगाएर घुम्न, डुल्न निषेध गरेपछि पैदल हिँड्ने र स्वास्थ्यलाभ गर्ने अवसरबाट ती सबै वञ्चित हुन पुगेका छन्। हुँदाहुँदा अहिले गएर त यो बगैंचा आत्महत्या गर्ने स्थलको रूपमा पो परिणत हुँदै गएको छ, जुन दुर्भाग्यपूर्ण छ। यो एकदमै गम्भीर विषय छ। मानिसहरूको आवत–जावत बन्द गरिएपछि एकान्तको फाइदा उठाउँदै त्यहाँ गई आत्महत्या गर्नेहरूलाई प्रोत्साहन त मिलिरहेको होइन ? विचारणीय छ। भण्डारखाल बगैंचा बन्द गरिएयताको अवधिमै पनि तीन÷चार जनाले त्यहाँ आत्महत्या गरिसकेका छन् भन्ने सुनिन्छ। यसतर्फ सरोकारवालाको ध्यान गम्भीर ढंगले आकर्षित हुनपर्छ।
भण्डारखालको गौरवशाली इतिहास र सम्भावनालाई पुनर्जन्म दिने जिम्मेवारी कसको हो ? वर्तमानमा भण्डारखाल बगैंचा पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका कारण यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वलाई जोगाड गर्ने, संरक्षण, सम्वद्र्धन गर्ने प्रमुख जिम्मेवारी उसैको हुनुपर्ने हो। तर कोषको उदासीनताका कारण नै आज यो बेवारिसे झैं बन्न पुगेको देख्दा अत्यन्त दु:ख लागेको छ।
संरक्षणका लागि प्रस्तावित उपायहरू : भण्डारखाल बगैंचालाई पुनर्जन्म दिन तत्काल उचित कदम चाल्नुपर्ने अवस्था आइसकेको छ। सके कोष आफैंले व्यवस्थित रूपले सञ्चालन गर्ने हो। सकिँदैन भने कोषले भण्डारखाल बगैंचालाई बन्द गर्नुको सट्टा ‘भण्डारखाल उद्यान संरक्षण समिति’ गठन गरी स्थानीय बासिन्दा, पर्यावरणविद् र संस्कृतिप्रेमीहरूलाई संलग्न गराइ कसरी हुन्छ व्यवस्थित रूपले भण्डारखाल बगैंचाको संरक्षण, संवर्धन र प्रवर्धन गर्नु जरुरी छ।
दोस्रो, साप्ताहिक, मासिक वा वार्षिक सदस्यता शुल्क लागू गरेर यहाँ घुम्न आउनेहरूका लागि शौचालय, पिउने पानी, बस्ने मेचहरू ठाउँठाउँमा राखेर नियमित सरसफाइको माध्यमबाट मानिसलाई आउन प्रेरित गरी आम्दानीको स्रोत जुटाउन सकिन्छ। जसले सरसफाइ, सुरक्षा र बोटबिरुवाको स्याहार–सुसारमा समेत योगदान पुर्याउन सहयोग गर्ने हुन्छ।
तेस्रो, यहाँ भएका लिच्छविकालिक अवशेष स्वरूपका भग्नावशेषहरूलाई संरक्षण गरी पोखरीको पुनरोद्धारद्वारा पुरातात्विक बगैंचाको रूपमा विकास गरे स्वदेशी र विदेशी पर्यटक आकर्षित हुन सक्छन्। स्थानीयका लागि बिहान ५ बजेदेखि ७ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म गरेर जम्मा ४ घण्टा नि:शुल्क प्रवेश गर्ने व्यवस्था गरिदिए उनीहरू खुसी हुने थिए। यस प्रकारले भण्डारखालको संरक्षण, संवर्धनका लागि जतिसक्दो चाँडो पहल गर्नु नितान्त जरुरी भइसकेको छ।
‘माल पाएर पनि चाल नपाएको’ अवस्थालाई अन्त्य गरी भण्डारखाललाई फेरि हरियाली र जीवन्त बनाउन सबै सरोकारवाला एकजुट हुनुपर्छ। यो बगैंचा हाम्रो विगतको गौरव र भविष्यको समृद्धिको सेतु हो। ढोका थुनेर होइन, खोलेर संरक्षण, संवर्धन र प्रवर्धनको पहल जरुरी छ। यसलाई योजनाबद्ध ढंगले संरक्षण, संवर्धन र प्रवर्धन गर्नुपर्छ।
भण्डारखाल बगैंचाभित्र वि.सं. २०७३ सालमा बनेको प्रस्तर फलकयुक्त ३ किलोमिटर लामो एवं फराकिलो पैदलमार्गले स्वस्थ जीवनशैली अपनाउनेहरूलाई हिँडडुल गर्न निकै आकर्षित गरिरहेको थियो। काठमाडौंको धुलोधुँवाबाट राहत पाउन यो बगैंचा स्थानीयवासीका लागि फोक्सोतुल्य छ। स्थानीय विद्यालय र समुदायलाई बगैंचाको संरक्षण, सम्वद्र्धन एवं प्रवर्धनमा संलग्न गराएर प्रकृति र वातावरणप्रति जागरूकता फैलाउन सकिन्छ।
पुरातात्विक र पर्यावरणीय सम्भावना : भण्डारखालको पुरातात्विक महत्वलाई अरू उजागर गर्न उत्खननबाट प्राप्त अवशेषहरूलाई संरक्षित गरी त्यसलाई हेर्न पाउने र पोखरीमा घुम्न पाउने व्यवस्था गर्न सके कति राम्रो हुन्थ्यो ! यहाँस्थित लिच्छविकालिक पोखरी र संरचनालाई पुनर्निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। यसले काठमाडौंको पर्यटन उद्योगलाई नयाँ उचाइ दिन मद्दत गर्ने निश्चित छ।
बगैंचाको जैविक विविधतालाई जोगाउन नयाँ बिरुवा रोप्ने, पुराना रूखहरूको स्याहार गर्ने र पोखरीहरू पुनर्जन्म दिने अभियानलाई युद्धस्तरमा अगाडि बढाएर भण्डारखाल बगैंचालाई पुन: जीवन्तता दिन सकिन्छ। पुर्खाहरूले त्यत्रो विरासत छोडिदिएका छन्, आज हामी त्यसलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्न सक्तैनौं भने भावी पुस्ताले के भन्ला ?
पशुपति क्षेत्रमा भएको भण्डारखाल बगैंचा र वि.सं. १९०३ मा जंगबहादुर राणालाई सर्वेसर्वा बनाउन सहयोगी भूमिका खेलेको भण्डारखाल बगैंचाबीचको सम्बन्धमा कहिलेकाहीँ मानिस अलमलिने गरेको पाइन्छ। वि.सं. १९०३ को घटना घटेको भण्डारखाल बगैंचा पशुपतिक्षेत्रको नभई हनुमानढोका दरबार क्षेत्रको हो। हनुमानढोका दरबार क्षेत्रमा रहेको भण्डारखाल क्षेत्र प्रारम्भमा निकै ठूलो थियो। वि.सं. १९९० को महाभूकम्पपछि आधुनिकतातर्फ मोडिने क्रममा त्यहाँ जुद्धसडक (न्यूरोड) बन्यो, भूगोलपार्क बन्यो। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको भवनसमेत त्यही भण्डारखाल बगैंचा क्षेत्रमा बन्न पुग्यो।
जुद्धशमशेरको सालिकको पूर्वाेत्तर कुनामा रहेको भगवती मन्दिर र त्यहीँ रहेको विशालबजार क्षेत्र पनि भण्डारखाल क्षेत्रकै जग्गाभित्र पर्दथ्यो। नयाँ सडक निर्माणको क्रममा महांकालदेखि इन्द्रचोकसम्म दुवैतर्फ घरहरू महाभूकम्पपछि नै बनेका हुन्। त्यसबेला रु. एक लाखसम्म खर्च गर्न सक्ने तात्कालिक प्रजाहरूलाई घरनिर्माण गर्न दिने व्यवस्था गरिएको थियो। यस क्रममा पछि गएर हनुमानढोका दरबारको ‘भण्डारखाल’ दरबारभित्र रहेको जलशायी नारायण भएको पोखरी र त्यसको वरपर रहेको सीमित क्षेत्रमा संकुचित हुन पुग्यो। यसप्रकार वि.सं. १९९० अघिको भण्डारखालको भूदृश्य (ल्यान्डस्केप) र त्यसपछिको ल्यान्डस्केपमा आनका तान फरक भइसकेको छ।
उपसंहार : पशुपति क्षेत्रस्थित भण्डारखाल बगैंचा काठमाडौंको सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय सम्पदा हो। यसको संरक्षणले लिच्छविकालिक इतिहासलाई जीवन्त राख्नुका साथै स्थानीय बासिन्दाको स्वास्थ्य र पर्यटन उद्योगलाई टेवा पुर्याउँछ। ढोका थुनेर होइन, खोलेर संरक्षण, संवर्धन र प्रवर्धनको पहल जरुरी छ। ‘माल पाएर पनि चाल नपाएको’ अवस्थालाई अन्त्य गरी भण्डारखाललाई फेरि हरियाली र जीवन्त बनाउन सबै सरोकारवाला एकजुट हुनुपर्छ। यो बगैंचा हाम्रो विगतको गौरव र भविष्यको समृद्धिको सेतु हो। यसलाई योजनाबद्ध ढंगले संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न पछि पर्न हुने बेलै छैन। यस विषयमा सम्बन्धित सरोकारवालाको छिटोभन्दा छिटो ध्यानदृष्टि जानु जरुरी छ।
प्रतिक्रिया दिनुहोस !