सत्य निरूपण र न्यायको मूल्य

सत्य निरूपण र न्यायको मूल्य
सुन्नुहोस्

विस्तृत शान्ति सम्झौतापछि माओवादी विद्रोहले शान्तिको औपचारिक बाटो लिएको हो । तर, शान्तिप्रक्रिया त्यसयताको १९ वर्षमा पनि टुंगो लागेन । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग यसअघि पनि बने तर काम फत्ते गर्न सकेनन् ।

हालै सरकारले यी दुई आयोग नयाँ ऐनअनुसार गठन गरेको छ । पदाधिकारी नियुक्त भएर काम थालेका छन् । मुलुकमा २०५२ देखि चलेको सशस्त्र संघर्षमा थुप्रै गैरसैनिक नागरिकले ज्यान गुमाए, निहत्था नागरिकको गैरन्यायिक हत्या भयो, थुप्रै अंगभंग र बेपत्ता भए । त्यसैको निरूपण गर्ने संक्रमणकालीन न्यायको प्रक्रिया यति ढिला भयो कि न्यायका क्षेत्रमा प्रचलित भनाइ ढिला न्याय दिनु न्याय नदिनुसरह हो चरितार्थ भइसक्यो । यतिका ढिला भइसकेर अब पनि फेरि बियाँलो र बहानाबाजी भयो भनेचाहिँ द्वन्द्वकालका प्रभावितहरूलाई अन्यायमाथि अन्याय हुनेछ । तसर्थ, दुई आयोगमाथि गुरुत्वर दायित्व छ । 

न्यायका लागि गठन गरिनुपर्ने आयोगका पदाधिकारी चयनमै राजनीतिक खेल हुँदा ढिलाइ भयो । कतिपय मुद्दाहरूको निरूपणका विषयमा दलबीच मतैक्य हुन सकेन । जसरीतसरी आयोग गठन भएका छन् । अब राजनीतिभन्दा माथि उठेर विशुद्ध न्यायका आँखाबाट निष्पादनको काम पदाधिकारीले गरे भने सन्तोष मान्नैपर्ने हुन्छ । २०७१ सालमा यसअघि आयोग गठन भएपछि १ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोगहरूमा ६३ हजारभन्दा बढी उजुरी दर्ता पनि भए । न्याय निसाफको काममा भने सिन्को भाँचिएन । आर्थिक मूल्यभन्दा न्यायको मूल्य ठूलो हो । तर, त्यतिका पैसा पनि खर्च हुने र न्याय निसाफ पनि नहुने हुँदा ती आयोगको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो । 

नवगठित आयोगका नवनियुक्त पदाधिकारीले पहिलाका आयोगबाट सिक्नुपर्ने पाठ धेरै छन् । पदाधिकारीहरूबीच मतैक्य नभएर धेरै अल्झनहरू आएका थिए । द्वन्द्व प्रभावितहरूको विश्वास कसरी आर्जन गर्ने भन्ने मुख्य र निकै संवेदनशील चुनौती आयोगहरूलाई छ । विभिन्न मुद्दा र मामिलामा जोडिएका सम्भावित शीर्ष नेता वा पदाधिकारीका हकमा पनि दूधको दूध र पानीको पानी छुट्याउने र कारबाही गर्नुपर्ने भए त्यसैअनुसारको दण्ड सजायका लागि आयोगहरूले खुट्टा कमाउनुहुँदैन । यसका लागि आयोगले शीर्ष नेतृत्वहरूको दृढ इच्छाशक्तिको परख गर्नुपर्छ ।

राजनीति नेतृत्वमा सोहीअनुसारको प्रतिबद्धता पनि खाँचो छ । आयोगहरूले गरेका कामले मान्यता पाउने भनेको प्रभावितहरूको प्रतिक्रिया नै पहिलो हो, त्यस सँगसँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट पनि मान्यता पाउनुपर्छ । सोहीअनुसार काम गर्ने दायित्व आयोगहरूलाई छ । न्याय निसाफको केन्द्रमा पीडित हुनुपर्छ र सोहीअनुसारका काम कारबाही गर्न सक्दा आयोग सफल हुनेछन् । आयोग गठन केवल प्रक्रिया होइन । साँच्चीकै न्याय प्रत्याभूति गराई शान्तिप्रक्रियाको विधिवत् अन्त्य गर्नु हो । यसको दीर्घकालीन प्रभाव मुलुकमा रहिरनेछ । ऐनले निर्दिष्ट गरेका प्रावधानलाई अक्षरशः पालना गर्दै न्याय दिलाउनु नै आयोगहरूको कर्तव्य हो । अबको समय पनि पहिला झैं ढिलाइमा बित्नुहुँदैन । न्यायका लागि यति लामो समयको यातना आफैंमा चर्काे भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.