सर्पले डसे नआत्तिऔं, उपचारमा लागिहालौं

सर्पले डसे नआत्तिऔं, उपचारमा लागिहालौं
सांकेतिक तस्बिर।

विषालु सर्पको टोकाइले पहिले तराईबासीलाई सताउँथ्यो। तर, अहिले पहाडतिर पनि विषालु सर्पले सताउन थालेको छ। जलवायु परिवर्तनका कारण पनि तराईका सर्पहरू पहाड मात्र होइन, काठमाडौं उपत्यकामा पनि पाइन थालेका छन्।  गोमन, करेतजस्ता विषालु सर्पहरू काठमाडौंका विभिन्न स्थानमा पाइन्छन्। काठमाडौं उपत्यकामा पनि सर्पको बिगबिगी बढेको छ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी आउने गरेका छन्। काठमाडौं उपत्यकामा २२ थरीका सर्प पाइने सर्पविज्ञ बताउँछन्। स्मरणीय छ, सन् २०१८ जुलाईमा गौरीशंकर संरक्षण क्षेत्रमा तराईमा पाइने किङ कोब्रा देखिएको थियो।

सबै विषालु सर्पले विष छोडेका हँुदैनन्। जसलाई ड्राई बाइट भन्ने गरिन्छ। टोकाइपछि व्यक्ति जति आतिन्छ, त्यति छिटो रक्तसञ्चारबाट विष फैलिन्छ। विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा हृदयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचे जस्तो हुने, टोकेको ठाउँँ वरपर सुन्निने, रक्तस्राव, निलो, फोका उठ्ने, संक्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छन्। 

विषालु सर्पले डसेमा आ“खा धमिलो हुने, आ“खाको ढकनी तल लत्रिने, थुक निल्न गाह्रो हुने, श्वास लिन गाह्रो, पेट दुख्ने, उल्टी आउने र रक्तस्राव हुने गर्दछ। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत वर्ष देशभर ६ हजार बढी सर्पदंशले घाइते भएका थिए। सर्पको टोकाइबाट नेपालमा  हुने मृत्युदर १० प्रतिशत छ।

लक्षणहरु कस्ता हुन्छन् ? 

सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ। केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ। दुख्छ। सुनिन्छ। रगत अलिक लामो समयसम्म आइरहन्छ। वाकवाकी लाग्छ। मुखबाट र्‍याल निक्लन्छ। डर, त्रासले उत्तेजित हुन्छ।ओंठ र मुख सुख्छ। तिर्खा लाग्छ। मुटुको धड्कन बढ्छ। आँखी भौं, परेला तल झर्छ। खान, निल्न समस्या देखिन्छ। बोल्दा जिब्रो लर्बराउँछ। हिँड्दा खुट्टा लड्खडाउँछ। समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छायाँ देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ। सास लिन समस्या हुन्छ। पक्षघात देखिन्छ। ३–६ घण्टापछि पिसाब रातो भएर आउँछ। तसर्थ, विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेसीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ। र, मृत्यु हुन्छ। तर, भाइपरको टोकाइमा छालाको रंग नीलो हुने, आँखाको नानी ठूलो हुने र विभिन्न रक्तस्राव हुन्छ। अति विषालु सर्पका रूपमा लिइने करेत, गोमन र भाइपर सर्पहरूले टोकेको मान्छेलाई तुरुन्त औषधी, उपचार गर्न नसकेको खण्डमा मृत्यु हुने सम्भावना अधिक हुन्छ। तर, व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त विषालु हुँदैन या  विष नपर्ने तथा परे पनि कम भएको पाइन्छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको एक अध्ययनअनुसार विषालु सर्पले टोकेमा पनि ३० प्रतिशतले मात्र विष छोड्छन्। र, ७० प्रतिशतको विष लाग्दैन। 

प्राथमिक उपचार के गर्ने ? 

टोकेको ठाउँमा चिह्न लगाई साबुनपानी वा पोटास पानीले  तत्काल पखाल्ने र कपडाले छोप्नुपर्छ। बिरामीलाई आस्वस्त पार्नुपर्छ। विषसँग लड्ने क्षमता बढाउन साहस-ढाडस दिनुपर्छ।  किनभने, ९० प्रतिशत बिरामी आत्तिएर मर्दछन्। त्रसित अवस्थामा मुटुको चाप बढी धड्कन बढ्दछ।  विष झन् बढी र छिटो फैलन्छ। होसमा भए प्रशस्त चिसो झोल पदार्थ, चिया, कफी, पानी, खान दिने तथा घाउवरिपरि बरफ चिसो पानी राख्ने गर्नुपर्दछ।

टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ । टोकेको ठाउँदेखि २—३  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँ“मा चौडा पट्टी(ब्यान्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औंला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनपर्दछ। सुनिएको स्तर प्रत्येक १५–१५ मिनेटमा छालामा चिह्न लगाउनुपर्दछ।

यदि, अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न ३ घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ।

कसरी जोगिने ? 

सर्तकता नअपनाउँदा गर्मी तथा वर्षायाममा तराईका जिल्लामा सर्पको टोकाइबाट करिब ४० हजार सर्वसाधारण पीडित हुने  गरेको पाइएको छ। नेपालमा सर्पको टोकाइबाट  १५० देखि २०० जनाले अकालमा जीवन गुमाउनु परिरहेको दुःखलाग्दो अवस्था छ। उपचार निःशुल्क उपलब्ध भएकाले मर्नेको संख्या ५ सय जनाबाट एक सयमा झरेको छ। तराईका २६ जिल्लामा गोमन, करेत, कोरल, कपरमाउथ, कपरहेड र भाइपर सर्पको टोकाइबाट ज्यान गएको पाइएको छ।  घरवरिपरि दुलो बन्द गर्नु पर्छ। अनावश्यक ठूला घाँस, खर, झाडी छन् भने फाँड्नुपर्छ। घरभित्र सीधा माछा खुला रूपमा राख्नुहुँदैन। रातिमा अधिकांश सर्पदंश हुने भएकाले सुत्ने बेलामा गेट, ढोका, बन्द गर्ने घरवरिपरि फिनेल वा मट्टीतेल छर्कने गर्नुपर्छ। झ्याल ढोकाहरूमा जाली लगाउने, राति हिँड्डुल गर्दा हातमा लौरो उज्यालोको प्रबन्ध गरी जुत्ता लगाएर हिँड्ने गर्नुपर्दछ। जमिन भुइँमा नसुत्ने, सुत्नपरे खुला ठाऊमा सुत्दा झुल लगाउनुपर्दछ। बाक्लो र अग्लो बुट लगाउने, टर्च लाइट प्रयोग गर्ने र लामो बाहुला भएका लुगा लगाउनुपर्दछ।

अन्त्यमा, घरबाहिर तथा भित्र सामान जथाभावी नराख्ने, मिलाउने, सर्प बस्न सक्ने सम्भाव्य स्थानमा जाँदा होसियारी अपनाउनपर्छ। विषालु सर्पले टोकेमा एक मात्र बच्ने उपाय तुरुन्तै अस्पताल लैजानु हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.