एनआरएनए यूएईको बैठकमा दूतावासको आलोचनै आलोचना
दुबई : गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको कार्यसमिति बैठकमा अबुधावी दूतावासको सेवा प्रवाह ठीक नभएको भन्दै व्यापक आलोचना भएको छ ।
जुन १ तारिख आकतबार सम्पन्न एनआरएनए यूएईको बैठकमा दूतावासले श्रमिकको काम नगरेको, श्रमिकलाई दुर्व्यवहार गर्ने गरेको र स्थानीय प्रहरी लगाई पक्राउने भन्दै हप्काई दप्काई गर्ने गरेको भन्दै कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरूले दूतावासमा सामूहिक डेलिगेसन जाने निर्णय गरेका छन् ।
सल्लाहकार तथा जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमल्सिनाले यूएईमा मृत्यु भएका श्रमिकका परिवारले क्षतिपूर्ति बापतको ब्लडमनीको रकम नपाएको भन्दै दूतावासको कामकारबाही सन्तोषजनक नभएको बताए । ‘नेतृत्व मात्र असल भएर पनि नहुने रहेछ कर्मचारीले काम नगरे पछि,’ तिमिल्सिनाले भने । उपाध्यक्ष विष्णुलाल श्रेष्ठले दूतावासका कर्मचारीले सेवाग्राहीलाई स्थानीय प्रहरी लगाइदिने धम्की दिने गरेको गुनासो आफूले सुनेको बताए ।
सल्लाहकार तथा नेपाली जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनालले दूतावासका कर्मचारी शासक बन्न खोजेको भन्दै सेवक बन्न सुझाव दिनुपर्ने औंल्याए । मन परेका व्यवसायीलाई दूतावासकै गाडीमा सयर गराउने तर मन नपरेकालाई दूतावास छिर्नै प्रतिबन्ध लगाउनेसम्मको हर्कत दूतावासले गरेको प्रति उनले आपत्ति जनाए । ‘जुनसुकै कारणले नेपाली नागरिकलाई दूतावास छिर्न प्रतिबन्ध लगाउने दूतावासको हर्कत निन्दनीय छ’, खनालले भने । गत महिना नियोग उपप्रमुख रञ्जिता दाहालले स्थानीय दुईजना नेपाली व्यवसायीलाई केही दिन दूतावास छिर्न बन्देज लगाएकी थिइन् ।
चितवनका राजन सुवेदी आफ्नो कम्पनीले भनेअनुसारको सेवा, सुविधा नदिएको गुनासो पोख्न दूतावास पुगेका थिए । दूतावासका श्रम सहचारीलाई भेट्न अनेक प्रयास गर्दा पनि भेट नपाएपछि निराश भएर फर्केको सुवेदीले बताए । दूतावासका श्रम सरचारी पंकज शाह सहचारी भएर दूतावास आएको ६ महिनासम्म पनि गुमनाम रहेको सेवाग्राहीको आरोप छ ।
अघिल्ला श्रम सहचारीहरू श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्ने र श्रमिकहरूलाई कुनै समस्यामा परे आफैं फिल्डमा खटिने गरे पनि अहिलेका श्रम सहचारी शाह आईडल (भूमिगत) बसेको मञ्चका अध्यक्ष खनालले बताए । अर्का सल्लाकार तथा प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबुराम सापकोटाले दूतावासले कार्यशैली परिवबर्तन गर्नुपर्ने भन्दै श्रमिकमुखी दूतावास बनाउन आवश्यक रहेको बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटाले दूतावासले श्रमिकहरूको गुनासो सुन्ने नगरेको बताए । उल्टै ‘पत्रकारको नम्बर कसले दियो ? ’ भनेर कर्मचारी तिलबहादुर सुनारले श्रमिकहरूलाई केरकार गर्ने गरेको सापकोटाले बताए । दूतावासमा पासपोर्ट नवीकरण गर्न दैनिक सयौं सेवाग्राहीहरूको भिड लाग्ने गरेको छ । समस्यामा परेर सहयोगको याचनासहित दूतावास पुग्ने श्रमिकको संख्या पनि उत्तिकै हुन्छ । जुनसुकै समस्या बोकेर दूतावास पुग्ने श्रमिकहरूलाई स्थानीय कर्मचारी (पीआरओ) लाई देखाएर श्रमसँग सम्बन्धित कर्मचारी पन्छिने गरेको नाम उल्लेख नगर्ने सर्तमा एकजना एनआरएनए पधादिकारीले बताए । बैठकमा कार्यसमिति सदस्य सबैले दूतावासको कामकारबाहीबारे खुलेरै आलोचना गरेका थिए ।
महासचिव भुवन वाग्लेले नेपालीहरूको संख्या धेरै भए पनि सीमित स्रोत र साधनबीच कर्मचारीहरूले सेवा प्रवाह गरिरहेको हुनाले भने जस्तो सेवा प्रदान गर्न नसकेको हुनसक्ने बताए । एनआरएनए, यूएईका अध्यक्ष विकास शाहीले बैठकमा दूतावासको पछिल्लो भूमिकाबारे प्रश्न उठेको र दूतावाससँग छलफल गरी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्ने बताए । शाहीले दुबईमा कन्सुलेट अफिस खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले श्रमिकहरूले छिट्टै नै सहज सेवा पाउने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !