म असल मानिसलाई बाहेक
चिन्दिनँ यस बेला कसैलाई
मैले भगवान् भेटिसकें
दुःखीको नाममा देखाउँदैछु
एउटा संसार आफ्नो नाममा
झूट नबोल्ने मान्छे
नबोल्ने सहिदहरू सालिकमा
चुपचाप बस्ने मूर्तिहरू छन् मन्दिरमा
मिथ्यावादीले हानेका
ढुंगाहरू सडकमा छन्
आएका छन् सहर जित्नेहरू सडकमा
मलाई जित्नेहरू शब्दमा
मैले युद्ध लड्न पर्दैन यस बेला
अर्जुन लड्दैछ मेरो युद्ध
कृष्ण प्रवेश गर्दैछ कुरु क्षेत्र
मेरै प्रेमले हराएको स्वर्ग
कुन बेला थाहा पायो
सुनाएको छैन कसैलाई भगवान्ले
हटेको छैन देशबाट लुम्बिनी
कसैले धुलो फाले पनि
बदनाम नामले हेरेर मलाई
जहर फाले पनि शहरमा
बागमतीको किनारबाट
हटेको छैन पशुपति मेरी छोरीले
उनको निधारमा सिन्दूर राख्ने ठाउँ
मेटेकी छैन
मेरो छोराले एक्लो राखेको छैन संसार
उभिएको जमिनबाट
आवाज उठाउँछु ढुंगाबाट मरेको छैन
मौन मात्र भएको हो पशुपति
पर्यो भने गर्छु आत्मसमर्पण
तेत्तिसकोटी देवतासामु
आवाज भन्दैछ सत्य बोल्नहरू माफ नमाग ।
प्रतिक्रिया दिनुहोस !