हिमाली पहिरो पूर्वानुमानमा एआई !

हिमाली पहिरो पूर्वानुमानमा एआई !

नेपालजस्तो पर्वतीय भूगोल भएको मुलुकमा वर्षायामसँगै पहिरोको समस्या सुरु भइहाल्छ । सामान्य रूपमा दोहोरिने प्राकृतिक विपद् बनेको छ यो । विशेषगरी लवाङ, सोलुखुम्बु, सिन्धुपाल्चोक र गिरीबगरजस्ता उच्च जोखिमयुक्त पहाडी जिल्लामा हरेक वर्ष अवैज्ञानिक सडक निर्माण, डढेलो, अवैध वन कटान र अत्यधिक वर्षाका कारण ठूला पहिरोहरू गइरहन्छन् । यस्ता प्राकृतिक प्रकोपले सयौं परिवार विस्थापित हुने, जनधनको ठूलो क्षति हुने र स्थानीय पूर्वाधारहरू नष्ट हुने अवस्था छ । जलवायु परिवर्तनका असरहरूसँगै यस्ता जोखिम अझै बढ्न सक्ने देखिएकाले दीर्घकालीन समाधानका उपायहरू खोज्नु अपरिहार्य भएको छ ।

यस्तो अवस्थामा आधुनिक प्रविधिको प्रयोग, विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), एक नयाँ आशाको संकेत बनेको छ । एआई प्रणालीहरूले स्याटलाइट इमेज, भौगोलिक सूचना प्रणाली (जीआईएस), मौसम पूर्वानुमान तथ्यांक र भूतपूर्व घटनाको विश्लेषणमार्फत जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गर्न सक्छन् । यी प्रविधिले समयमै चेतावनी प्रदान गरेर पहिरोबाट हुने सम्भावित क्षति कम गर्न सघाउन सक्छन् । अब नेपालको भौगोलिक विशेषता र स्रोतहरूको उपयोग गर्दै यस्ता स्मार्ट प्रणालीहरूको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । यही प्रविधिमार्फत नेपालले पहिरो जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण फड्को मार्न सक्छ ।

आजको प्रविधि युगमा विश्वका धेरै मुलुकले पहिरोको जोखिम पूर्वानुमान गर्न कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गरिरहेका छन् । जापानमा भूकम्प र पहिरोसँग सम्बन्धित चेतावनी प्रणालीमा राडार, मौसमसम्बन्धी तथ्यांक र एआई आधारित एल्गोरिदम प्रयोग गरिन्छ । यी प्रविधिहरूको सहयोगले पहिरोको सम्भावना समयमै थाहा पाउन सकिन्छ र प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल जानकारी दिइन्छ । स्विटजरल्यान्डमा पनि अत्यधिक वर्षा, हिमपात पग्लने प्रक्रिया र भू–चाललाई निरन्तर ट्र्याक गरेर ‘रिअल टाइम’मा पहिरोको जोखिम मूल्यांकन गरिन्छ । यस्ता प्रविधिले जोखिम क्षेत्रमा मानवीय र भौतिक क्षति न्यून गर्न ठूलो योगदान पु‍र्‍याएका छन् । यसैगरी, अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगल डढेलोपछि हुने पहिरोको निगरानी (यलआईडीएआर) प्रविधि, ड्रोन र एआई प्रणालीबाट गरिन्छ ।

यी प्रविधिहरूले पहिरोको सम्भाव्यता नक्सा बनाउन, जोखिमको स्तर मापन गर्न र सटिक चेतावनी दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यस्ता वैश्विक अभ्यासहरू नेपालजस्तो भौगोलिक विविधता भएको देशमा पनि प्रयोग गर्न सकिन्छ । तर, नेपालको भू–परिवेश, स्रोतसाधन र स्थानीय समुदायको पहुँचलाई ध्यानमा राखी यस्ता प्रणालीहरूलाई परिमार्जन गरेर लागू गर्नुपर्छ । जसले दीर्घकालीन रूपमा सुरक्षित र दिगो पहिरो व्यवस्थापनमा मद्दत पुर्‍याउनेछ ।

नेपालका हिमाली तथा पहाडी क्षेत्रहरू पहिरोको दृष्टिकोणले अत्यन्त संवेदनशील छन् । यस समस्याको समाधानका लागि पछिल्लो समयमा प्रविधिको सहयोगमा उल्लेखनीय पहलहरू हुँदै आएका छन् । पहिलो, त्रिभुवन विश्वविद्यालयमा एक अनुसन्धान टोलीले (टीसीएन) नामक एआई मोडेल प्रयोग गरेर पहिरो पूर्वानुमान गर्ने प्रयोग गरेका छन् । यस मोडेलले विगतको वर्षा, हिउँ पग्लिने गति, पानीको बहाव र भू–बनावटजस्ता तथ्यांकहरूलाई प्रयोग गरी भविष्यमा पहिरो हुनसक्ने सम्भावनाहरूको सटिक अनुमान गर्न सक्छ । यो मोडेल अन्य प्रसिद्ध प्रविधिहरू जस्तै यलएसटीएम र एसभीआरको तुलनामा अझ राम्रो नतिजा दिन सफल भएको छ । वैज्ञानिकहरूले यसमार्फत आरएमएसई ०.०२३ र एमएई ०.०११ जस्ता प्रभावकारी परिणाम प्राप्त गरेका छन् । जसले नेपालमा एआई आधारित पूर्वानुमान प्रणालीको सम्भावनालाई थप सशक्त बनाएको छ ।

दोस्रोतर्फ, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनले पनि पहिरो पूर्वानुमानमा व्यावहारिक प्रयोग गर्दै आएको छ । पूजा लामिछानेको नेतृत्वमा बनेको यस संस्थाको टोलीले स्याटेलाइट तस्बिर, विगतका पहिरो तथ्यांक, मौसमसम्बन्धी डाटा र भू–भौगोलिक जानकारीलाई एउटै एआई मोडेलमा एकीकृत गर्दै ‘प्याच स्तरको’ अर्थात् सानो क्षेत्रको पहिरो जोखिम विश्लेषण गर्ने प्रविधि विकास गरिरहेको छ । भविष्यमा यो प्रविधि मोबाइल एपमार्फत नागरिक सहभागितासहित प्रयोगमा ल्याइने योजना छ । जसमा स्थानीय बासिन्दाले आफ्नो क्षेत्रको तस्बिर पठाएर तिनीहरूले त्यहाँ पहिरोको जोखिमबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । नेपाल सरकारको खानी तथा भूगर्भ विभागले पनि जर्मन सरकारको सहकार्यमा पोखरा र सिन्धु बस्तीमा पहिरो चेतावनी प्रणाली विकासको काम अघि बढाएको छ । विभागले यलआईडीएआर, ड्रोन, जीआईएस र एआई प्रविधिको समायोजनमार्फत वर्षा–सीमा निर्धारण गरेर कति पानी परेपछि पहिरो जाने जोखिम हुन्छ भन्ने यकिन जानकारी दिन सक्ने प्रणाली बनाउने तयारी गरेको छ । यसले स्थानीय सरकारहरूलाई समयमै सूचना प्रदान गरेर जनधनको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

नेपालका हिमाली क्षेत्रहरूमा कृत्रिम बुद्धिमत्तामार्फत पहिरो पूर्वानुमान प्रणाली प्रयोग गर्दा केही महत्त्वपूर्ण चुनौतीहरू देखा परेका छन् । पहिलो र सबैभन्दा ठूलो समस्या हो,  तथ्यांकको अभाव । अधिकांश दुर्गम हिमाली जिल्लामा स्थायी मौसम मापन स्टेसनहरू छैनन्, जसले गर्दा समयअनुसारको सटिक तथ्यांक संकलन सम्भव हुँदैन । यद्यपि स्याटेलाइट तस्बिर र दूरवर्ती सेन्सरहरूमार्फत केही हदसम्म तथ्यांक संकलन भइरहे पनि ती तथ्यांक यथार्थ स्थान र परिस्थितिअनुसार सधैं भरपर्दो नहुन सक्छन् । पहिरोको जोखिम सटिक रूपमा अनुमान गर्न विगतको वातावरणीय तथ्यांक अनिवार्य हुन्छ, जुन अहिले धेरै क्षेत्रमा अभावमा छ ।

दोस्रो चुनौती हो, प्राविधिक जनशक्तिको कमी । एआई प्रविधि प्रयोग गर्न प्राविधिक विज्ञता, तालिम प्राप्त जनशक्ति र आवश्यक पूर्वाधारको आवश्यकता हुन्छ । नेपालमा अझै पनि मेसिन लर्निङ, डाटा साइन्स र भू–स्थानिक विश्लेषणजस्ता क्षेत्रमा सीमित मात्रामा दक्ष जनशक्ति उपलब्ध छन् । यस किसिमको अभावले प्रविधिको प्रयोगलाई दायरा र प्रभावकारिता दुवैमा असर पुर्‍याएको छ ।

तेस्रो र महत्त्वपूर्ण चुनौती भनेको सर्वसाधारणमा प्रविधिको पहुँचको सीमितता हो । ग्रामीण र पहाडी क्षेत्रमा इन्टरनेट सुविधा, भाषा बुझ्ने क्षमता तथा प्रविधिसँगको परिचय कमजोर हुँदा पूर्वानुमान प्रणाली वा मोबाइल एप प्रयोग गरेर समयमै चेतावनी दिन कठिन हुन्छ । यस कारण, प्रविधि विकास भए पनि त्यसको प्रत्यक्ष लाभ समुदायसम्म पुर्‍याउन अझै समय लाग्ने देखिन्छ ।

हाल देखिएका चुनौतीका बाबजुद नेपालमा एआईको प्रयोग गरेर पहिरो पूर्वानुमान गर्ने क्षेत्रमा आशाजनक सम्भावना जगाउन सकिन्छ । पहिलो सम्भावना हो, एकीकृत चेतावनी प्रणालीको विकास । टीसीएन, यलआईडीएआर प्रविधि, मोबाइल–सेन्सर र स्याटलाइट डाटालाई एउटै प्लेटफर्ममा समेटेर ‘रियल–टाइम’मा चेतावनी दिने स्मार्ट प्रणाली बनाउनुपर्ने समय आएको छ जुन अब धेरै टाढाको कुरो होइन । यस्तो प्रणालीले बाढी, भारी वर्षा, जमिनको चाल र हिउँ पग्लनेजस्ता घटकहरूलाई मूल्यांकन गरेर पहिरोको जोखिमबारे समयमै अनुमान गर्नसक्छ ।

सामुदायिक सचेतना र सहभागिता पनि भविष्यको पहिरो जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय सरकार, रेडियो स्टेसन तथा मोबाइल नेटवर्कमार्फत एसएमएस वा सूचना प्रसारण गरी जनतालाई सजग गराउन सकिन्छ । साथै, नागरिक विज्ञानको प्रयोग गरेर स्थानीय बासिन्दालाई डेटा संकलन र निगरानीको प्रक्रियामा समावेश गरिने हो भने सूचना प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्न सक्छ ।

अन्ततः, सस्तो र पहुँचयोग्य प्रविधिको विकास, जसमा नेपाली भाषामा आधारित एप, ग्रामीणमैत्री युजर इन्टरफेस र कम–मूल्यको स्मार्ट सेन्सर प्रयोग हुन्छ, ले सबै वर्गका जनतासम्म यो सेवा पुर्‍याउन सक्नेछ । यस्तो समग्र प्रयासले हिमाली नेपाललाई पहिरो जोखिम न्यूनीकरणको दिशामा सुरक्षित भविष्यतर्फ अग्रसर गराउनेछ ।

नेपालको हिमाली भू–भाग भौगोलिक रूपमा अत्यन्तै संवेदनशील क्षेत्र हो जहाँ वर्षेनी पहिरोका घटनाहरूले जनधनको क्षति पुर्‍याइरहेका छन् । यस्तो प्राकृतिक जोखिमलाई पूर्णरूपमा नियन्त्रण गर्नु असम्भव भए पनि यसको प्रभावलाई न्यून पार्न आधुनिक प्रविधि र अनुसन्धानले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विशेषगरी, एआई आधारित प्रविधिहरूले अब पहिरो पूर्वानुमान, जोखिम मूल्यांकन र आपत्कालीन पूर्वतयारीमा उल्लेखनीय सम्भावना देखाएका छन् । टीसीएनजस्ता डिप लर्निङ मोडेलहरू पहिरो घटनाका संकेतहरूलाई पहिल्यै पहिचान गर्न प्रयोग गर्न सकिन्छ । जीआईएस र यलआईडीएआर प्रविधिहरू भू–प्राकृतिक तथ्यांकलाई विश्लेषण गरेर उच्च जोखिम भएका क्षेत्रहरू छुट्ट्याउन सहयोग गर्छन् । उपग्रह चित्र र मोबाइल एपमार्फत् स्थानीय स्तरमै सूचना संकलन र सचेतना विस्तार गर्न सकिन्छ । यी सबै प्रविधिलाई मिलाएर प्रारम्भिक चेतावनी प्रणाली निर्माण गर्न सकिन्छ जसले जनजीवनलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।

तर, प्रविधिमात्र पर्याप्त हुँदैन । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, अनुसन्धान संस्थाहरू र सबैभन्दा महत्त्वपूर्ण स्थानीय समुदायबीच सहकार्य आवश्यक हुन्छ । जब सबै सरोकारवालाबीच सहकार्य र सूचना साझेदारी हुन्छ । तबमात्र दीर्घकालीन समाधान सम्भव हुन्छ । यसरी हेर्दा, एआईको सहायताले अब नेपालका हिमाली क्षेत्रहरूमा सुरक्षित बस्ती निर्माण, स्मार्ट व्यवस्थापन र आपदासम्बन्धी प्रतिरोधात्मक क्षमता विकास गर्ने मार्ग स्पष्ट भइसकेको छ । यो प्रविधि–आधारित हस्तक्षेपले केवल मानवीय क्षतिमात्र घटाउँदैन बरु दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि योगदान पु‍र्‍याउँछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.