७३ जिल्लामा फैलियो डेंगु

७३ जिल्लामा फैलियो डेंगु

काठमाडौं : वर्षायामको सुरुवात सँगै मुलुकभर डेंगु संक्रमणको जोखिम बढेको छ। पछिल्लो ६ महिनाभित्र मुलुकका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेकका जिल्लामा संक्रमण देखिएको छ। मुलुकका सातैवटा प्रदेशमा कुल १ हजार ५ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

‘आम जनसमुदाय सजग हुनुपर्ने खाँचो छ,’ डा. बुढाथोकी भन्छन्, ‘राजनीतिक दल, दलका भ्रातृ एवं भगिनी संगठन र युवा कार्यकर्ताहरू पनि सहरबजारमा सरसफाइ अभियानमा खटिन अपिल गर्दछौं।’ विगतका वर्षमा असोज/कात्तिक महिनामा ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको थियो। संक्रमणको ‘पिक सिजन’ आउन लागेकाले अन्य जिल्लामा पनि संक्रमण विस्तार हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

बढी संक्रमण बागमती प्रदेशमा

प्रदेशगत रूपमा सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा पाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, बागमती प्रदेशमा ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामा २० जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ। 

गण्डकीमा उच्च संक्रमण

गण्डकी प्रदेशमा दिनैपिच्छे संक्रमण बढ्न थालेको छ। पछिल्लो एक सातामा २३ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म यो प्रदेशमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लुम्बिनीमा संक्रमण तीव्र
लुम्बिनी प्रदेशमा संक्रमणदर तीव्र देखिएको छ। पछिल्लो एक सातामा १६ जनामा संक्रमण पुष्टि भएको छ। यस प्रदेशमा हालसम्म २ सय ४७ जनामा संक्रमण भइसकेको छ।

कोशीमा संक्रमणको जोखिम उस्तै
कोशी प्रदेशमा पनि संक्रमणको जोखिम बढेको छ। पछिल्लो सात दिनमा चार जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै यस प्रदेशमा हालसम्म ३०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

मधेस र सुदूरपश्चिममा न्यून संक्रमण
अन्य प्रदेशको तुलनामा मधेस र सुदूरपश्चिम प्रदेशमा संक्रमण न्यून रहेको छ। पछिल्लो एक सातामा यी मधेस प्रदेशमा २ जना सुदूरपश्चिम प्रदेशमा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यो वर्ष सुदूरपश्चिममा २ सय ८४ जना र मधेस प्रदेशमा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

कर्णाली प्रदेशमा पनि संक्रमण 
कर्णाली प्रदेशमा हालसम्म ३२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामा नयाँ संक्रमित फेला परेको छैन। कर्णालीका डोल्पा र हुम्ला जिल्लामा संक्रमण पुष्टि भएको छैन।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, गत वर्षभन्दा यो वर्ष डेंगु संक्रमणदर ५० प्रतिशत न्यून देखिए पनि चुनौती कायमै रहेको बताउँछन्। 


डेंगु संक्रमण गराउने लामखुट्टेका अण्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि  कार्यान्वयनमा ढिलाइ हुँदा जोखिम झन् बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा ५ सयदेखि एक हजार संक्रमित फुल पार्छ। यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने हजारौं लामखुट्टे उत्पादन हुन्छन्।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी विगतका वर्ष झैं यस वर्ष पनि डेंगु संक्रमणमा स्थानीय, प्रदेश र संघीय सरकार चुकेको बताउँछन्। ‘विगतमा तराईमा मात्र सताउने डेंगु विस्तारै पहाडी र हिमाली जिल्लामा समेत पुगिसक्यो। तै पनि प्रतिनिधिसभामा कुनै पनि सांसदले डेंगुविरुद्ध आवाज उठाएका छैनन्। तीनै तहका सरकारले पनि डेंगुविरुद्ध जनचेतनासमेत जगाउन सकेका छैनन्,’ डा. मरासिनी भन्छन्, ‘डेंगु नियन्त्रणमा तीनै तहका सरकारले चुकेकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् छ।’ मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुन सक्ने र मृत्युदर १ देखि २ प्रतिशत रहेको छ। डा.बुढाथोकी भन्छन्, ‘गर्भवती, बालबालिकाहरू, दीर्घ बिरामी, ज्येष्ठ नागरिक, दोहोरिएर संक्रमण भएको व्यक्तिमा जटिल समस्या आउन सक्छ।’

वरिष्ठ जनस्वास्थ्यविद् डा. मरासिनीका अनुसार डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नु नै रोकथामको प्रभावकारी उपाय हो। डेंगु भाइरसबाट संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। त्यसैले लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाउनुपर्छ। ती ठाउँहरूलाई नष्ट गर्नुपर्छ। एक अध्ययनअनुसार ६० प्रतिशत डेंगु वृद्धि हुनुको मुख्य कारण टायरभित्र संकलित जमेको पानीलाई लिइएको छ।

विशेषगरी सहरी क्षेत्रमा टायरलाई चाङ लगाएर राख्ने गरिएको छ। ‘लामखुट्टेलाई फुल पार्ने र लार्भा हुर्कनका लागि टायर उपयुक्त वातावरण बनेको छ। त्यसैले घर वरिपरि टायर, गमला, ड्रम, बाल्टिन वा अन्य कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.मरासिनी भन्छन्, ‘सधैं झुल टाँगेर सुत्ने बानी बसाल्नुपर्छ। खेतबारीमा काम गर्न जाँदा लामो बाहुला भएको लुगा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ। घरको झ्याल ढोकामा जाली हाल्नुपर्छ। सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मल्हमको पनि प्रयोग गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.