राजनीतिमा जनमतको सम्मान

राजनीतिमा जनमतको सम्मान

२०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपाल औपचारिक रूपमै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको कुरा सर्वविदितै छ । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशिताको सिद्धान्तमा आधारित वर्तमान संविधान अग्रगामी र लोकतान्त्रिक भएको विषयमा कसैको दुईमत छैन ।

संविधान सभाले चयन गरेका जनप्रतिनिधिद्वारा लेखिएको संविधानमाथि खोट लगाउने प्रत्यक्ष आधार नभए पनि यसप्रति विरोधका स्वरहरू यदाकदा सुनिँदै आएका छन् । यो संविधान जारी भएलगत्तै मित्रराष्ट्र भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण देशले भोग्नु परेको हैरानी हामीले बिर्सेका छैनौं । छिमेकी मुलुक भारतले आजका मितिसम्म नेपालको संविधानलाई मान्यता दिएको छैन ।

आमजनताको गहिरो जनविश्वास र व्यावहारिक पक्षलाई मिहिन ढंगले नकेलाइकन केवल कोरा सैद्धान्तिक पक्षलाई मात्र मध्यनजर राखेर जारी गरिएको संविधानले जनअपेक्षा पूरा गर्न नसकेको तथ्य घामजत्तिकै छर्लंग छ । अनन्तकालदेखि सनातन हिन्दु संस्कारमा हुर्कंदै आएको नेपाली समाज बगरमा लडेको ढुंगालाई समेत देवताको रूपमा आदर सत्कार गर्छ भने वरपीपल, कुशजस्ता वनस्पति जगत्लाई भगवान् विष्णुको अर्को अंश मानेर सम्मान प्रकट गर्छन् । यसै सेरोफेरोमा सदियौंदेखि राजालाई पालनकर्ता भगवान् विष्णुको अवतारका रूपमा मानेर श्रद्धापूर्वक आदर गर्ने नेपाली संस्कार रामायण र महाभारतका गाथा पढेर अघाउँदैन ।

हिन्दुहरूको बाहुल्य रहेको हाम्रो समाजमा राजालाई सनातन घर्मका संरक्षक, सर्वमान्य धर्म र संस्कारका द्योतक साथै सबै पक्षको एकताको सूत्राधारका रूपमा हेरिँदै आएको छ । राजाले टेकेको पाउको धुलोको टीका शिरमा लगाउनेदेखि लिएर सोह्र श्राद्धमा आफ्ना दिवंगत पितृसँगै स्वर्गवासी राजालाई पनि जलदान र पिण्डदान गर्ने चलन हिन्दु समाजमा अझै विद्यमान छ । त्योभन्दा पनि हरेक हिन्दुले बिहान–बेलुकाको खाना खानुपूर्व औसानी हाल्ने बेलामा आफूले खाने खानाको केही अंश राजा र पृथ्वीका नाममा समर्पण गरेरमात्र पहिलो खाना खाने चलन पुरानै हो ।

राजाले हाम्रो भान्सामा चामल ल्याएर हालिदिने पनि होइन, हामीलाई दुःख पर्दा टारी दिने पनि होइन र पनि धेरै पहिलेदेखि हाम्रो मानसपटलमा संस्कारगत रूपमा टाँसिएको राजपरम्परा माथिको जरो हत्तपत्त छिनाल्न सकिन्न । यो विषय कुनै वंश परम्परा वा व्यक्ति विशेषलाई देवत्वकरण गर्न नभएर हाम्रो समाजमा विद्यमान जनविश्वासका आधारमा सप्रसंग उठाइएको मात्र हो । हिन्दुहरूको बाहुल्य रहेको नेपाल राष्ट्र बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक परम्परा भएको मुलुक हो । एकताको सूत्राधारका रूपमा परम्परादेखि नै नेपाली समाजमा नङ र मासुसरह भिज्दै आएको हिन्दु राजपरम्परालाई राजनीतिक आँखाले हेर्नुभन्दा यहाँ विद्यमान मूल्यमान्यता, धर्म, संस्कृति र जनविश्वासलाई आधार मान्नु वाञ्छनीय हुन्छ ।

पुस्तौंदेखि मानिँदै आएको संस्थालाई सांस्कृतिक वा आलंकारिक हिसाबले कुनै ठाउँ दिएर राखेको भए जनता पनि त्यति बेखुस हुने थिएनन् सायद । सदियौंदेखि कुनै न कुनै प्रकारको राजतन्त्रको नेतृत्वमा एकाकार हँुदै आएको नेपाली समाजको मनोवैज्ञानिक अवधारणा बुझ्न पनि गणतन्त्र वा राजतन्त्रको सबालमा जनमत बुझेको भए अहिलेको राजनीतिक खैलाबैलाको अन्त्य हुने थियो । राजतन्त्र र योसँग अभिन्न महŒव राख्ने हिन्दु धर्मको सबालमा जनमत लिएको भए ‘राजा आऊ, देश बचाऊ’को कचिंगल व्यहोर्नु पर्ने थिएन । तत्कालीन समयमा नेपालको राजनीतिक समस्या हल गर्न बाह्रबुँदे समाधानका विकल्पहरू लिएर सल्लाह गर्न दिल्ली जानु महामूर्खता थियो । विभिन्न हिन्दुविरोधी तŒवहरू र पश्चिमा जगत्को उक्साहटमा भएको नेपालको राजनीतिक परिवर्तनको पछाडि सार्क राष्ट्रमा चीनलाई ल्याउनुपर्छ भन्ने तत्कालीन राजाको अभिमत पनि एक हो ।

२०६२/६३ को आन्दोलनपश्चात आएको राजनीतिक उतारचढावको मात लागेर हठात गणतन्त्र घोषणा गर्दाको परिणाम ख्याल गरेको भए अहिले देखिएको राजनीतिक कित्ताकाटको अन्त्य उतिबेलै हुन्थ्यो । नेपालबाट राजसंस्थालाई विस्थापन गर्दा संविधानसभाको प्रतिनिधिमूलक निर्णयभन्दा जनस्तरीय अभिमत खोजी गरेको भए सुनमा सुगन्ध थपिने थियो । २०७२ सालको संविधान जारी गर्नुपहिले राजतन्त्र र हिन्दु धर्मबारे जनमत लिएको भए अहिले यो हुँडलो आउने थिएन । अहिले पनि केही बिग्रेको छैन । समय छँदै यी दुई विषयमा जनमत गराउँदा राम्रो हुन्छ । हाम्रोजस्तो सानो मुलुकका लागि संघीयताको खाँचो छैन भन्नेहरूको संख्या पनि थुप्रै भएकाले यो विषय पनि जनमतसंग्रहमा समावेश गराउँदा सबैको चित्त बुझ्छ । सरकारमा बसेकाहरू यो मार्ग रोज्न किन खोज्दैनन् ?   

नेपालमा ८१ प्रतिसतभन्दा बढी जनता सनातन हिन्दु धर्मका अनुयायी छन् । पूर्वीय आध्यात्मिक संस्कारलाई आत्मसात् गर्दै आएको हिमवत खण्डमा अवस्थित नेपालका ९० प्रतिशतभन्दा बढी जनताहरू ॐकार परिवारभित्र पर्छन् । शिख, बौद्ध, जैन आदि धर्मावलम्बी पनि ॐ तत्वभित्र आस्था राख्ने भएकाले हिन्दुत्व र यसमा ताŒिवक भिन्नता छैन । रामायण, महाभारतमा वर्णन गरिएका जस्ता पौराणिककालका आदर्श हिन्दु राजाहरू अहिलेको कलियुगमा नभेटिए पनि सनातनदेखि अनुसरण गर्दै आएको पुरानो संस्कारयुक्त मान्यताबाट आमनेपालीलाई टाढा राख्न त्यति सजिलो छैन ।

बहुसंख्यक नेपालीहरू हिन्दु धर्म र राजतन्त्रात्मक संस्कारलाई एकअर्काका परिपूरकका रूपमा हेर्ने भएकाले जनताको यो रुझानलाई सबैले आत्मसात् गर्नै पर्छ । यस सबालमा निर्णय दिनुपर्दा जनप्रतिनिधिद्वारा नभएर जनता स्वयंको निर्णय लिनु राम्रो हुन्छ । गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई मूल आधार मानेको संविधानको सारवस्तुप्रति जनताको मन त्यति प्रफुल्ल नभएको आभास पहिले पनि थियो र अहिले पनि छ । २०४६ सालअघिको सक्रिय राजतन्त्रात्मक प्रणालीलाई विस्थापित गरेर गरेर आएको २०४७ पछिको संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र विधिको शासन प्रणालीलाई त्यतिखेरका राजनीतिक दलहरूले बिनासर्त स्विकारेका थिए । माओवादीजस्ता केही उग्रवामपन्थी विचारधाराका व्यक्तिबाहेक अन्य समुदायका मानिसहरू अझै यो विचारधारामा सहमत छन् ।

धेरै पहिलेदेखि गोपालवंश, किराँत, लिच्छवि आदि गरिएका राजाहरूले शासन गर्दै आएकोमा १८२५ सालमा पृथ्वीनारायण शाहले यसअघिका बाइसे–चौबिसे नामले परिचित स–साना राष्ट्रहरूलाई एकीकरण गरेपश्चातमात्र वर्तमान नेपालको उदय भएको हो । १८७२ मंसिर १९ गते ब्रिटिस राज्यसँग सुगौली सन्धि गर्नुपर्दा तत्कालीन नेपालले आफ्नो एकतिहाइ जमिन गुमाउनु परेको तीतो यथार्थ हामी सबैलाई थहा छ । श्री ५ गीर्वाण वीरविक्रम शाहदेवको पालामा भएको यो सन्धिपश्चात् नेपालको भौगोलिक अखण्डामा तात्विक असर परेको छैन । १८२५ देखि १९०३ सम्मको शाहवंशीय शासनकालमा राज्य विस्तार र अन्य चाँजोपाँजोमै समय व्यतित भएको कुरामा इतिहास साक्षी छ ।

त्यसलगत्तै १९०३ सालदेखि २००७ सालसम्मको १०४ वर्षे जहानियाँ राणा शासनकालमा शाहवंशीय राजाहरूको अधिकार शून्य थियो । २००७ सालदेखि २०१९ सम्मको अन्तरिम अवधिमा राजनीतिक उतारचढावबाहेक विकास निर्माणका देखाउन लायक खासै गजबका काम भएनन् । २०४६ सम्मको शाहवंशीय शासन कालमा जति मात्रामा देश उन्नतिको काम भयो, त्यही नै शाहवंशका राजाहरूको काम मान्नुपर्छ । २०४७ सालदेखि २०६५ जेठ १५ सम्मको बहुदलीय शासन प्रणलीमा राजा संवैधानिक भएर बस्न बाध्य भएका राजतन्त्रले आफ्नो उपलब्धि देखाउन सक्ने कुरै भएन । त्यसपछि नेपाल गणतन्त्रको युगमा प्रवेश ग¥यो । गणतन्त्रसँगै धर्म निरपेक्षता र संघीयता पनि साथै आएकोमा कतै खुसी कतै बेखुसीका लहरहरू उतिबेलैदेखि गुञ्जिँदै आएका हुन् ।

गोपाल, किराँत, लिच्छवि वंश, मल्ल राजाहरूजस्ता धेरै राज परम्परा व्यहोर्दै आएको नेपाली समाजमा  राजतन्त्रको छिनोफानो जनमत संग्रहबाट मात्र गर्न सकिन्छ । अन्यथा, गणतन्त्र र राजतन्त्रको तँछाडमछाड अनन्तसम्म चलिरहन्छ । नेपालमा राजनीतिक स्थायित्व, धार्मिक सहिष्णुता, मितव्ययिता र परस्पर मेलमिलापका लागि राजतन्त्र, धर्मनिरपेक्षता र संघीयताको सबालमा बालिग समूहबाट जनमत लिनैपर्छ ।

गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशिताको सिद्घान्तमा आधारित वर्तमान संविधान अग्रगामी र लोकतान्त्रिक भएको विषयमा कसैको दुईमत छैन। संविधानसभाले चयन गरेका जनप्रतिनिधिद्वारा लेखिएको संविधानमाथि खोट लगाउने प्रत्यक्ष आधार नभए पनि यसप्रति विरोधका स्वरहरू यदाकदा सुनिँदै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.