डिजिटल नेपाल, समावेशी समाज

डिजिटल नेपाल, समावेशी समाज

डिजिटल नेपालको सपना त्यतिबेला मात्र सार्थक हुनेछ, जब प्रविधिको विकास समाजको हरेक तहलाई समेट्न सक्नेछ। प्रविधि आफैंमा सबल होइन, त्यो त केवल साधन हो। समाजलाई समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने दृष्टिकोण, नीति र कार्यान्वयन नै वास्तवमा प्रविधिको आत्मा हो।

५० वर्षअघिको नेपाल नियाल्दा, प्रविधि भन्ने शब्द आफैंमा सपना जस्तै लाग्थ्यो । रेडियो, ट्रान्सिस्टर, पंखा वा साइकलसम्म सीमित जीवनशैली थियो । ग्रामीण बस्तीहरूमा गुठी परम्परा, पँधेरो सरसफाइ, मेलापातजस्ता सहयोगी संस्कृतिले समुदायलाई एकताबद्ध बनाएको थियो । प्रविधिको उपयोग न्यून भए पनि सामाजिक सम्बन्ध बलियो थियो । व्यक्तिगतभन्दा  सामूहिक उत्तरदायित्वलाई प्राथमिकता दिइन्थ्यो । 

विद्यालय जान, स्वास्थ्य सेवा लिन वा कृषि कार्यालय पुग्नका लागि घण्टौं पैदल हिँड्नुपथ्र्यो । तर समाजमा एकअर्काप्रतिको भरोसा, आत्मीयता र सहभागिता गहिरो थियो । त्यो समयको नेपालमा प्रविधि शक्ति होइन, केवल सम्भावनाको संकेत थियो । टाढाको तारा जस्तै, जुन देखिन्थ्यो, तर छुन सकिँदैनथ्यो । त्यसैले आज जब हामी ‘डिजिटल नेपाल, समावेशी समाज’ को सपना देख्छौं, तब त्यो विगतले हामीलाई सम्झाउँछ कि प्रविधि त केवल साधन हो । समाजलाई समेट्ने सोच र संरचना नै त्यसको वास्तविक आत्मा हो ।

विश्वका विकसित तथा विकासशील देशहरू तीव्र गतिमा प्रविधिमैत्री बन्दै गइरहेका छन्् । नेपाल पनि यो प्रविधिक यात्रा पछ्याउँदै छ । केही दशक अघिसम्म सामान्य मोबाइल फोनलाई विलासिता ठान्ने समाजमा आज स्मार्टफोन हातहातमा पुगेको छ । इन्टरनेटको सञ्जाल गाउँगाउँसम्म विस्तार भइसकेको छ । सरकारी सेवा लिन लाइनमा बस्ने समय अब धेरैका लागि इतिहास बन्न थालेको छ ।

नेपाल सरकारले सन् २०१९ मा सार्वजनिक गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ले देशलाई आठ प्रमुख क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, व्यापार, पर्यटन, वित्त र शासनमा डिजिटल प्रविधिको माध्यमबाट रूपान्तरण गर्ने स्पष्ट खाका दिएको छ । २०८० सालको राष्ट्रिय तथ्यांकअनुसार, देशमा १० करोडभन्दा बढी मोबाइल सिम दर्ता छन् । ७० प्रतिशतभन्दा बढी जनसंख्या मोबाइल इन्टरनेटको पहुँचभित्र आइसकेको छ । यी तथ्यांकहरूले देखाउँछन् कि प्रविधिको विकास नेपालमा उत्साहजनक रूपमा अघि बढेको छ । प्रविधिले अब केवल दैनिक कामलाई सहज बनाउने माध्यममात्र होइन, शिक्षा, स्वास्थ्य सेवा, सूचनामा पहुँच तथा आर्थिक संलग्नताको ढोका खोल्ने शक्ति पनि बनिरहेको छ । तर प्रश्न उठ्छ, के यो प्रविधिको फड्को समान रूपमा सबै नेपालीका लागि लाभदायक बन्न सकेको छ

आज सहरमा बस्ने बालक अनलाइन कक्षामा सहभागी हुनसक्छ । स्मार्ट ट्याबमा होमवर्क गरिरहेको हुन्छ । तर गाउँका बालबालिका अझै पनि सामान्य कापीकलम जुटाउन संघर्ष गरिरहेकै छन् । कसैले क्यूआर कोड स्क्यान गरेर चिया पिउन सक्छ तर कैयौं वृद्धवृद्धा अझै एटीएम प्रयोग गर्न जान्दैनन् । शिक्षालयमा स्मार्ट बोर्ड जडान भइरहेका छन् तर कुनै विद्यालयमा अझै बिजुलीको स्थायी प्रबन्ध छैन ।

यसरी हेर्दा, प्रविधिले केहीलाई सुविधा दिएको छ भने केहीलाई झनै पछाडि धकेलेको देखिन्छ । डिजिटल पहुँचमा यस्तो असमानता हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ । के डिजिटल नेपाल साँच्चिकै समावेशी समाजतर्फ उन्मुख छ त डिजिटल नेपालको सपना तब मात्र सार्थक बन्न सक्छ, जब प्रविधिको पहुँच हरेक नेपाली नागरिकसम्म पुग्छ । जब प्रविधिले विभाजन होइन, समानता ल्याउँछ । अनि जब हाम्रा नीति, शिक्षा र सामाजिक चेतनाले प्रविधिलाई समाजमैत्री र समावेशी शक्तिको रूपमा स्थापित गर्न सक्छ ।

भविष्यलाई नियाल्दा, सन् २०५० सम्म नेपालमा डिजिटल सेवा प्रणाली झनै विकसित र व्यापक हुने आशा गर्न सकिन्छ । कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सरकारी सेवा वितरण, स्मार्ट कृषि प्रणाली, डिजिटल शिक्षाको विस्तार, रोबोटिक स्वास्थ्य सेवा र गाउँगाउँसम्म इन्टरनेटको पहुँचले जनताको जीवनशैलीमा गुणात्मक परिवर्तन ल्याउनेछ । यी प्रविधिक उन्नतिहरूले उत्पादन सेवा र जीवनस्तरमा क्रान्ति ल्याउन सक्नेछ । तर यिनको प्रभाव सबै नागरिकमा बराबरी रूपले पर्नेछ कि फेरि पनि केही वर्ग वा भूगोलमै सीमित हुनेछ भन्ने प्रश्न अझै स्पष्ट छैन ।

यदि हामीले आजैबाट प्रविधिको विकासलाई समावेशी बनाएनौं भने डिजिटल नेपालले सामाजिक विभाजन झन् गहिरो बनाउन सक्छ । डिजिटल खाडल, प्रविधिको भाषा, साक्षरता, पहुँच र प्रयोगको असमानता र साइबर सुरक्षाजस्ता मुद्दाहरू थप चुनौती बन्न सक्छन् । प्रविधिको अत्यधिक निर्भरता सामाजिक सम्बन्धमा पनि असर पार्न सक्छ, जहाँ मानवीय आत्मीयताभन्दा बढी मेसिनिक सञ्जाल हावी हुन्छ । यस्तो परिवेशमा डिजिटल रूपान्तरणले समाजको आत्मालाई कमजोर बनाउने सम्भावना रहन्छ । यदि सोच, दृष्टिकोण र नीतिहरू संवेदनशील छैनन् भने त यो झनै हुन्छ ।

नेपालमा प्रविधि विस्तारको क्रमसँगै स्थानीय तहहरूले पनि समावेशितामा ध्यान दिन थालेका उदाहरण देखिन थालेका छन् । जस्तै, ललितपुर महानगरपालिकाले नगरवासीहरूलाई अनलाइन माध्यमबाट घरजग्गा कर भुक्तानी, नागरिकता प्रतिलिपि निवेदन तथा सामाजिक सुरक्षा भत्ता जानकारी प्रणालीजस्ता सेवा सञ्चालन गरिसकेको छ । यसले वृद्ध, अपांगता भएका व्यक्तिहरू तथा कामकाजी नागरिकलाई सहज पहुँचमा सेवा प्रदान गर्न ठूलो भूमिका खेलेको छ ।

अर्कोतर्फ, अन्तर्राष्ट्रिय अभ्यासको दृष्टिले हेर्दा भारतको ‘डिजिटल इन्डिया’ कार्यक्रमअन्तर्गत ग्राम पञ्चायतहरूमा वाइफाइ र डिजिटल साक्षरताको तालिम सञ्चालन गरेर ग्रामीण डिजिटल पहुँचमा ठूलो फड्को मारेको पाइन्छ । यस्तै, बंगलादेशमा एक्सेस टु इन्फर्मेसन कार्यक्रमले सबै सरकारी सेवा मोबाइल एपमार्फत उपलब्ध गराउने काम गरिरहेको छ । यस्ता अभ्यासहरूबाट सिकेर नेपालले पनि स्थानीय स्तरमै समावेशी डिजिटल अभियानहरूलाई प्रोत्साहन गर्न सक्छ । 

यसैले अबको बाटो स्पष्ट छ– प्रविधिको विकास केवल प्राविधिक विषय होइन, यो सामाजिक न्याय, समानता र समावेशिताको राजनीतिक–सांस्कृतिक विषय पनि हो । त्यसका लागि निम्न उपायहरू महत्वपूर्ण छन् ।
—    डिजिटल साक्षरताको व्यापक अभियान सञ्चालन गर्नुपर्छ, जहाँ महिला, वृद्ध, अपांगता भएका व्यक्तिहरू र ग्रामीण समुदायलाई प्राथमिकता दिइन्छ ।
—    स्थानीय भाषा र सन्दर्भअनुसार मोबाइल एप, सरकारी सेवा र सिकाइ सामग्री तयार गर्न आवश्यक छ, ताकि प्रविधिको पहुँच सबैमा समान होस् ।
—    गाउँ–नगरका विद्यालयहरूमा डिजिटल पूर्वाधार स्थापना गरेर शिक्षामा समतामूलक अवसर सिर्जना गर्नुपर्छ ।
—    प्रविधिको पहुँच र उपयोगलाई मानव अधिकारको रूपमा स्वीकार गर्दै डिजिटल पहुँचलाई नागरिकताको अभिन्न अंग बनाउनुपर्छ ।
—    साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल नैतिकतासम्बन्धी स्पष्ट नीति र व्यावहारिक कार्यक्रम अनिवार्य छन् ।
अन्ततः डिजिटल नेपालको सपना त्यतिबेला मात्र सार्थक हुनेछ, जब प्रविधिको विकास समाजको हरेक तहलाई समेट्न सक्नेछ । प्रविधि आफैंमा सबल होइन, त्यो त केवल साधन हो । समाजलाई समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने दृष्टिकोण, नीति र कार्यान्वयन नै वास्तवमा प्रविधिको आत्मा हो । हिजो टाढा देखिने प्रविधि आज हाम्रो हातमा आएको छ । अब त्यसलाई हामी सबैका लागि उपयोगी, समावेशी र सहायक कसरी बनाउने भन्ने जिम्मेवारी हामी सबैको काँधमा छ । त्यो जिम्मेवारी निभाउने हो भने ‘डिजिटल नेपाल, समावेशी समाज’ केवल नारा होइन, हाम्रो साझा यथार्थ बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.