पार्टी विभाजन गर्न खोज्नेहरूको सपना तुषारापात भयो : विष्णु पौडेल
बुटवल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको सपनामाथि तुषरापात भएको बताएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसीन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले निर्णय गरेको बताएका हुन्।
एमाले उपाध्यक्ष समेत रहेका पौडेलले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेको बताए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ छ।
‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन। सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ’,उनले भने,‘उहाँको सदस्यता स्थगित होइन, परित्याग हो। जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ।’
यस्तै पौडेलले चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको बताए। उनले देशलाई अस्थिर बनाइराख्ने तत्त्वहरूले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरू गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस !