इलाको इहलीला

अबिच्युअरी

इलाको इहलीला

सञ्चार, निर्वाचन, न्याय, अधिकार, जनसम्पर्क र विकासको क्षेत्रमा चिरपरिचित नाम हो, इला शर्मा। जसले फरक–फरक भूमिकामा रहेर नेपाली समाजलाई योगदान दिइन्।

२०८२ असार २८ गते झमक्क साँझ पर्दै थियो । इला शर्मालाई छातीमा असहज महसुस भयो । हतारहतार अस्पताल पुर्‍याइयो । रातको ९ बज्दा नबज्दै धेरैजना स्तब्ध भए । शब्द श्रद्धाञ्जलिले सामाजिक सञ्जाल भरिन थाल्यो । हृदयघात (कार्डियाक अरेस्ट)का कारण अल्पायुमै निधन भएको थाहा पाउनेहरू स्तब्ध बने ।

सामाजिक सञ्जाल फेसबुकमा सञ्चारकर्मी अमृता लम्सालले लेखिन्, ‘साथीहरू म यहाँहरूलाई साह्रै दुःखद् तथा अप्रत्याशित खबर सेयर गर्न गइरहेकी छु । हामी सबैको प्रिय साथी इला शर्मालाई आज साँझ कार्डियाक अरेस्टको कारणबाट नर्भिक हस्पिटलमा गुमाएका छौं । जो निर्वाचन आयोगका पूर्वनिर्वाचन आयुक्त हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भोलि गरिनेछ । त्यसभन्दा अगाडि श्रद्धाञ्जलि अर्पण गर्न केही समय राखिनेछ । अरू कुरा नसोध्नु होला । म आफैं यो स्थिति आत्मसात् गर्न सकिरहेकी छैन ।’

लम्सालको स्टाटसलाई उद्धृत गर्दै समाचार पलभरमै चारैतिर फैलियो । एक दशकदेखि मधुमेह रोगसँग जुधिरहेकी थिइन्, इला । पाँच दिनअघि मात्रै उनले कुपण्डोलकै एक अस्पतालबाट स्वास्थ्य जाँच गराउँदा रिपोर्ट सामान्य आएको थियो । चिकित्सकहरूका अनुसार, उच्च रक्तचाप र मधुमेह एकसाथ देखिएको अवस्थामा हृदयघातको जोखिम बढ्छ ।

अन्ततः उनलाई मुटुले धोका दियो । धड्कन रोकियो । ५९ वर्ष नपुग्दै अस्ताइन् । भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जालकी संस्थापक संयोजक इलाको सम्झनामा काठमाडौंस्थित भारतीय राजदूतावासले एक शोकसभाको आयोजनासमेत गरेको थियो । ‘मानवतावादी व्यक्तित्वको अवशान भएको छ’, सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका श्याम गोयंका भन्छन्, ‘इलाको असामयिक मृत्युले शून्यता छोडेको छ जुन कहिल्यै र कसैले भर्न सक्दैन ।’

को हुन् इला ?       
सञ्चार, कानुन, न्याय, अधिकार, जनसम्पर्क र विकासको क्षेत्रमा चिरपरिचित नाम हो, इला शर्मा । पत्रकारिताको माध्यमबाट नेपाली समाजलाई योगदान दिइन् । निर्वाचन आयुक्तका रूपमा उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरिन् । निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा गरिन् । सरकारीमात्र होइन, निजी र सार्वजनिक क्षेत्रमा योगदान पुर्‍याइन् ।

उनी २०२३ कात्तिक ८ गते शुक्ल एकादशीमा जन्मेकी हुन् । माधवप्रसाद शर्मा रेग्मी र कृष्णकुमारी देवी (ठकुरी)को कोखबाट ज्येष्ठ सन्तानका रूपमा जन्मिएकी उनी तीन वर्षको छँदा बुवाको निधन भयो ।

null आमा कृष्णकुमारीसँग इला शर्मा । तस्बिर सौजन्य : सैव्या

आमाको एक्लो अभिभावकत्वमा हुर्किए दुई सन्तानहरू इला र सागर । शिक्षाको केन्द्र मानिने बनारस (काशी)मै शिक्षारम्भ गरिन् । संस्कृतमा शास्त्री गरिन् । ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी (बाम्स)को पढाइ बीचमै छोडिन् । किन त ? इलाका कुमार अपूर्भा (पप्पु मामा) भन्छन्, ‘बिरामीको सेवा गर्ने इच्छा भएरै डाक्टरी पढिन् । पढ्दै जाँदा शव चिर्ने र पोस्टमार्टम गर्ने कार्यमा रुचि जागेन । बीचैमा पढाइ स्थगित गरिन् ।’ इलालाई सार्थक र जीवन्त जीवन नै प्यारो लाग्थ्यो, मृत्युभन्दा ।

पढाइमा लगन थियो । मनमा केही गर्नुपर्छ भन्ने अठोट । बनारसको हरिश्चन्द्र महाविद्यालयबाट एलएलबी गर्दा विश्वविद्यालयकै टपर भइन् । सोही महाविद्यालयमा अंग्रेजी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरिन् । अध्ययनको आयाम विस्तार गर्दै नेपाल र बेलायतका विभिन्न विश्वविद्यालयमा भर्ना भइन् । विभिन्न शैक्षिक उपाधि हासिल गरिन् । त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरिन् । युनिभर्सिटी अफ हल यूकेबाट पनि इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डेभलपमेन्टमा एलएलएम सकाइन् । भीजे युनिभर्सिटी ब्रसेल्सबाट मानवअधिकार कानुनमा विद्यावारिधि गर्दागर्दै निर्वाचन आयोगमा आयुक्त भइन् ।

भारतको गुडगाउँस्थित प्रतिष्ठित आईआईएलएम विश्वविद्यालय प्राध्यापकको रूपमा अध्यापन गराइन् । ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेस्टमेन्ट ल र इन्टरनेसनल ह्युमन राइट्स उनको प्राध्यापनको विषय थियो । काठमाडौंमा उनको कर्पोरेट ल फर्म थियो, लेक्स सिनर्जी, नेपाल । जहाँबाट वकालती अभ्यास गर्थिन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सल्लाहकारका रूपमा काम गरिन् । विश्व व्यापार संगठन (डब्लूटीओ) र डब्लूटीओअन्तर्गत घरेलु कानुनको मस्यौदामा संलग्न रहिन् । यूएनडीपीका परियोजनामा पनि सल्लाहकार रहिन् । एक्सन एड नेपालमा टिम लिडरको रूपमा कार्य गरिन् ।

इन्टरनेसनल ल एसोसिएस्न नेपाल शाखाकी संस्थापक उपाध्यक्ष हुन्, उनी । फुड फस्र्ट इन्फर्मेसन एक्सन नेटवर्क (फियान), नेपालको संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी बोर्डमा रहेर सेवा गरिन् उनले । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) को कार्यकारी समितिको बोर्डमा रहेर एक दशकभन्दा बढी समयसम्म सेवा गरिन् ।

नबिल बैंक लिमिटेडमा स्वतन्त्र निर्देशकको रूपमा पनि काम गरिन् । सिटिजन बैंक इन्टरनेसनलमा सञ्चालक समिति सदस्य भइन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल इन्टर नेसनल एडभोकेसी नेटवर्कमा पनि आबद्ध थिइन् । संयुक्त राष्ट्रसंघ, मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकास मुद्दाहरू र सन्धिका सवालमा उनी नेपालको तर्फबाट संलग्न रहिन् ।

गैरसरकारी संस्थाहरूका लागि रणनीति र कार्य योजनाहरूका सन्दर्भमा पनि उनको महत्त्वपूर्ण भूमिका रह्यो । संस्कृत, अंग्रेजी र नेपाली भाषाप्रति लगाव थियो । भाषागत शुद्धतामा जोड दिन्थिन् । नेपाली, हिन्दी र अंग्रेजी भाषामा पोख्त थिइन्, उनी । उर्दु भाषाको पनि ज्ञान थियो । दुई छोरीलाई सुझाव दिन्थिन्, ‘भाषामा पकड भएन भने धेरैथोक गुमाउने छौ ।’

रिपोर्टिङदेखि सम्पादकीयसम्म

विवाह भएको एक वर्षपछि नै उनी सञ्चारकर्मीको करिअर रोजिन् । नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिने कोर्स गरिन् । इन्टर्नसिपमा गएकी थिइन्, सरकारी अंग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ । सोही दैनिकमा २०४५ सालमा उपसम्पादक (सब एडिटर)का रूपमा प्रवेश गरिन् । त्यो बेला राइजिङ नेपालमा थिए, सुमिता राई र सीमा शर्मा । त्यसमा थपिइन्, इला । तीनै जना सेलिब्रेटी झैं थिए । तत्कालीन सहकर्मी सीमा भन्छिन्, ‘इलाले राजनीतिक रिपोर्टिङदेखि डेस्कमा पनि काम गर्थिन् । सम्पादकीय पनि लेखेको याद छ ।’ तत्कालीन सम्पादक श्याम केसीले सम्पादकीय लेख्न हौस्याउँथे ।

उनी बोल्ड थिइन् । त्यो बेला उनी गाडी हाँकेरै कार्यालय पुग्थिन् । संस्कृत, अंग्रेजी र नेपाली भाषामा दक्खल थियोे । भाषिक शुद्धतामा सजग थिइन् । डेस्कको जिम्मेवारी पाउँदा उनमा कुनै दम्भ थिएन । कनिष्ठलाई समानभाव र वरिष्ठसँग सम्मानभाव थियो । ‘ सिनियर, समकक्षि र जुनियरसँग पनि समभाव राख्ने, सहजताका साथ प्रस्तुत हुने,’ अर्का सहकर्मी प्रकाश रिमाल सम्झन्छन्, ‘फरक विचारको सम्मान गर्ने उदार सोचकी धनी ।’

दिउँसो होस् वा राति कुनै पनि समयमा महिलाले काम गर्न सक्ने धारणा सम्पादकसमक्ष राख्थिन् । प्राप्त जिम्मेवारी सफलतापूर्वक बहन गर्नेमा उहाँ संवेदनशील थिइन् । इलाले झन्डै १३ वर्ष राइजिङ नेपालमै बिताइन् । ‘रिपोर्टिङका क्रममा जाँदा सान्दर्भिक प्रश्न निर्भीक ढंगले गर्नुहुन्थ्यो’, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला भन्छन्, ‘जब निर्वाचन आयुक्त हुनुभयो, त्यो बेला पत्रकारहरू किन प्रश्न गर्दैनन् ? भन्दै अनौपचारिक कुराकानीमा सुनाउनु हुन्थ्यो । जेनेरेसन ग्याप हो कि ! भन्ने हाम्रो अनुमान हुन्थ्यो ।’ इला निर्भीक थिइन् । तर, पछिल्लो समय प्रश्न हराएको पत्रकारिताप्रति उनी चिन्तित थिइन् ।

इलाको सेकेन्ड इनिंग
२०५७ असार १९ । मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । जाजरकोटको पाँचकटियामा तत्कालीन विद्रोही माओवादीले आक्रमण गर्‍यो । इलाका श्रीमान् इन्स्पेक्टर नवराज शर्मा पौडेलसहित १३ प्रहरीको घटनास्थलमा लड्दालड्दै प्राणपखेरु उड्यो ।

‘बारुदमाथि उड्दा’ पुस्तकमा लेखक क्याप्टेन रामे˘वर थापाले पाँचकटिया घटनाको स्मरण गर्दै लेखेका छन्, ‘चारैतिरको मुख्य नाका भएकाले होस पुर्‍याएर बस्नुहोला भन्दै म फर्किएको थिएँ । निरीक्षक शर्मा पौडेलको मनोदशा देखेर प्रहरीको उच्च नेतृत्वसँग उनलाई फिर्ता बोलाएर अर्को व्यक्ति पठाइनु उपयुक्त हुने सुझाव नदिएको होइन । तर, उच्च तहकाले परिस्थितिको गाम्र्भीय नबुझेर हो वा अन्य केही कारण, मेरो सुझाव कार्यान्वयन गरेनन् ।’

इलाले २०४४ सालमा लगनगाँठो कसेकी थिइन् । श्रीमान् गुमाउँदा छोरीहरूको उमेर ९ र ७ वर्ष थियो । सचि र साहिव्यालाई एकल अभिभावकत्वमा हुर्काइन् । बढाइन् । पढाइन् । कान्छी छोरी साहिव्या इलाको पुच्छर झैं थिइन् । आमासँगै निर्वाचन आयोग पनि पुगेकी थिइन् । थकित आमा घर आउँदा उनी बेलाबखत खुट्टा मिचिदिन्थिन् । निर्वाचन आयुक्तमा नियुक्त भएपछि उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘यहाँसम्म आइपुग्नुमा ईश्वर र आमालाई जश दिन्छु ।’ इला तीन वर्षको हुँदा बुवा दिवंगत भएका थिए । लगनगाँठो कसेको १३ वर्षमै एकल जीवन बिताउन बाध्य थिइन्, इला । निर्वाचन आयुक्त भएपछि नयाँ मोड आयो ।

जिन्दगीको सेकेन्ड इनिङमा भेटिए, भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त डा. एसवाई कुरेशी । डा. कुरेशी भारतका १७औं प्रमुख निर्वाचन आयुक्त (२०१०—२०१२) हुन् । सन् २०१५ मा मेक्सिकोमा भएको एक कन्फ्रेन्समा नेपालको आयुक्तको रूपमा इला र भारतको पूर्वप्रमुख निर्वाचन आयुक्तका रूपमा डा. कुरेशीको सहभागिता थियो । त्यहीँ आपसमा परिचय भयो । त्यसपछि दोस्रो भेट दिल्लीमा भयो । सम्बन्धविच्छेद गरिसकेका डा. कुरेशीको एकल जीवन बिताइरहेकी इलासँगको भेटले हार्दिकता बढायो । यद्यपि, स्वतन्त्र जीवन बिताइरहेका दुवैजनाको विवाहको कुनै योजना थिएन । युनिक रिलेसनसिप अघि बढ्दै गयो । 

इलाको सम्पादन कलाबाट डा. कुरेशी प्रभावित थिए । उनको पुस्तक इलाले सम्पादन गर्थिन् । इलाको सम्पादनपछि मात्र डा. कुरेशीले पुस्तक प्रकाशन गर्थे । इला पेन्टर पनि थिइन् । डा. कुरसीका लागि पेन्टिङसमेत गरेकी थिइन् । अन्ततः मेड फर इच अदर भन्दै गुडगाउँस्थित सिभिल कोर्टमा अदालती विवाह गरे । जसको धेरैले प्रशंसा गरे । असार १८ गतेदेखि डा. कुरेशी र इला काठमाडौंमै थिए । १५ दिनसम्म उनीहरूको मीठामीठा कुराकानी गरिरहे । असार २७ गते डा. कुरेशीलाई नयाँदिल्ली जानुपर्ने भयो । तीन दिनपछि इला पनि उपचारका लागि नयाँदिल्ली जाने तयारीमा थिइन् । बिडम्बना, भोलिपल्टै अर्थात् शनिबार इलाको हृदयघात (कार्डियाक अरेस्ट) भयो ।

खुला स्वभाव, प्रस्ट विचार
इलाको बौद्धिक क्षमता र व्यक्तित्वबाट नोना कोइराला र गिरिजाप्रसाद कोइराला प्रभावित थिए । छोरीलाई झैं स्नेह गर्थे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले उनको योग्यता र क्षमतालाई नजिकबाट नियालिरहेका थिए । आफ्नै प्रधानमन्त्रीत्वकालमा इलालाई निर्वाचन आयोगको आयुक्त बनाउन चाहेका थिए । तर, उमेर ४३ वर्षकी इला उमेरकै कारण वञ्चित भइन् । उमेरकै कारण निर्वाचन आयुक्त हुनबाट रोकिनु परेपछि उनको आँखामा आँसु देखिएको भाइ सागर स्मरण गर्छन् । बेल्जियममा मानवअधिकार कानुनमा विद्यावारिधि गर्न गएकी इलाको व्यक्तित्वको बारेमा गिरिजाप्रसादले भाइ सुशीललाई जानकारी दिएका थिए ।

प्रधानमन्त्री सुशीलकै कार्यकालमा निर्वाचन आयुक्तमा सिफारिस भइन् । संवैधानिक निकाय निर्वाचन आयोगमा (२०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म) आयुक्त नियुक्त हुँदा गर्वानुभूति गरिन् । उनले ६ वर्ष निर्वाचन आयोगमा बिताइन्, आयुक्त र कार्यवाहक प्रमुख आयुक्तका रूपमा ।

कार्यकालको समीक्षा खुलारूपमै गर्थिन् । तत्कालीन माओवादी र एमाले एकीकृत भएपछि दल दर्ता गर्ने बेला नेपाल कम्युनिस्ट पार्टी नेकपा राख्ने निधो भयो । उक्त नामको दल पहिल्यै निर्वाचन आयोगमा दर्ता भइसकेको भन्दै ऋषि कट्टेलले आयोगमा निवेदन दिए । आयोगले उनको निवेदन खारेज गर्‍यो । उक्त सहमतिमा इलाले हस्ताक्षर गरे पनि सार्वजनिक रूपमा भनेकी थिइन्, ‘कट्टेलको पार्टीलाई अन्याय चाहिँ अलिकति भएकै हो । हामीले उदार दृष्टिकोण लिन सक्थ्यौं, हामीले नलिएकै हो ।’

कार्यकालमा सबैभन्दा ठूलो पश्चाताप ३३ प्रतिशत महिला नपु‍र्‍याई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दर्ता गर्नु परेको विषय थियो इलाको । उनको प्रष्टोक्ति थियो, ‘निर्णय गर्दा हामी कहीं चुकेका छौं भने ३३ प्रतिशत महिला संख्या नपुर्‍याई दल दर्ता गर्‍र्यौं । त्यहीँ हो हामी चुकेको ।’ चित्त नबुझेको अर्काे निर्णय थियो, ‘भरतपुर महानगरपालिकामा पुनः निर्वाचन । भरतपुरमा स्थानीय निर्वाचनमा मतगणताको अन्तिम चरणतिर पुग्दा मतपत्र च्यातियो । नेकपा एमालेका तत्कालीन उम्मेदवार देवी ज्ञवालीले मतगणनामा माओवादी केन्द्रकी रेणु दाहालभन्दा अग्रता लिए ।

त्यहीबेला माओवादी कार्यकर्ताले मतपत्र च्यातिदिए । रेणु नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । माओवादीलाई नेपाली कांग्रेसले सघाएको थियो । इलाको भनाइ थियो, ‘आयोगको आँखाबाट हेर्ने हो भने मतपत्र च्यात्नुभन्दा ठूलो जघन्य अपराध अरू केही हुँदैन ।’ भरतपुरका निर्वाचन अधिकृतले दफा तोकेर पत्र लेखेपछि त्यसमै टेकेर आफूहरूले निर्णय गरेको उनले प्रष्ट्याएकी थिइन् ।

पुनः मतदान हुँदा रेणु दाहाल निर्वाचित भइन् । लोकतन्त्र र निर्वाचनलाई परिपूरकका रूपमा लिन्थिन्, उनी । लोकतन्त्र पक्षधरहरू निर्वाचन प्रक्रियाबाट बाहिर जान्छौं भनी घुर्क्याउनु जायज नहुने उनको तर्क थियो । चुनावको विरोध र बहिष्कार गर्नु गलत भएको उनको सार्वजनिक अभिव्यक्ति हुन्थ्यो । २०७५ सालमा डा. अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्तबाट अवकाश पाए । त्यसपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रूपमा इलाको काँधमा कार्यभार आयो ।

६ वर्षे कार्यकालमा कतिपय प्रसंगमा उनलाई विवादमा तानियो । उनले बीबीसी नेपाली सेवासँग भनेकी थिइन्, ‘भूकम्पपछि बस्नका लागि घर नभएर म ३० हजारको डेरामा बस्थें । आयोगले १८ हजार रुपैयाँ भाडा दिन्थ्यो । मेरो घर हुँदाहुँदै भाडा लिएको भनेर जुन घरको कुरा भएको थियो, त्यो त मेरो देवरको घर हो ।’

अधिकार कार्यान्वयमा अविचलित

निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेकी थिइन् । राजनीतिक दल दर्तासम्बन्धी कानुन २०७४ को दफा १५(४) ले दर्ता गर्दा दलका सबै तहका समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुनै पर्ने व्यवस्था छ । त्यसको मस्यौदाकार हुन्, इला । मुलुकमा झन्डै ५० प्रतिशत महिला मतदाता छन् । आफूले मत दिन लागेको दलले ३३ प्रतिशत महिलालाई ठाउँ दिएका छन् कि छैनन् ? यसमा विचार पुर्‍याउन उनी आग्रह गर्थिन् ।

महिला अधिकार एवं वातावरणीय अधिकारदेखि जनावरको अधिकारसम्ममा उनी दक्खल राख्थिन् । उनको प्रिय जनावर बिरालो र कुकुर हुन् । एक पटक बिरालो हराउँदा उनी लामो समयसम्म पिरोलिएकी थिइन् । खोज्दै धेरै स्थान चहारिन् । विज्ञापन समेत गरिन । यो हो उनको जनावर प्रतिको अगाध स्नेहको दृष्टान्त । उनी चौपायाको हक अधिकारकोलागि पनि दूरदर्शि योजना थिए, तर अल्पायुमै ज्यान गएका कारण सबै अधुरै रहे । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी 

इलासँगको हरेक भेटले बेग्लै चेत दिने अनुभव बाँडेकी छन् । उनले लेखेकी छन्, ‘महिलाबिनाको लोकतन्त्र लोकतन्त्र नै होइन । मैले चिनेको इला शर्मा यिनै हुन् ।’

निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको २०८२ असार २८ गते भएको असामयिक निधनले मलाई अत्यन्तै दुःखी बनाएको छ । शर्माले निर्वाचन आयुक्तका रूपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै पुर्‍याएको योगदान स्मरणीय रहिरहनेछ । साथै, पत्रकारिताका माध्यमबाट नेपाली समाजलाई पुर्‍याएको योगदान भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास लिएको छु । उहाँको निधनबाट मुलुकले एक असल सामाजिक अगुवा गुमाएको महसुस गरेको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु । साथै, दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो 
समवेदना व्यक्त गर्दछु ।
रामचन्द्र पौडेल, राष्ट्रपति

निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत भएकी छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु । साथै यस अकल्पनीय दुःखमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपाली पत्रकारिता र महिला सशक्तीकरणका क्षेत्रमा समेत सक्रिय एक असल साथी गुमाउनुपर्दा अत्यन्तै पीडाबोध भएको छ । यहाँको योगदान मेरो मानसपटलमा सदा रहिरहनेछ ।
डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री

नेपालको पूर्वनिर्वाचन आयुक्त एवं हाम्रा पूर्वप्रमुख निर्वाचन आयुक्त एस वाई कुरेशीकी पत्नी इला शर्माको आकस्मिक निधन भएको भर्खरै थाहा पाएँ । दुःख महसुस भएको छ । उनको आत्मालाई भगवान्ले शान्ति प्रदान गरून् । मेरो हार्दिक समवेदना डा. एसवाई कुरेशी ।
ममता बनर्जी, अध्यक्ष तृणमूल कांग्रेस पार्टी तथा मुख्यमन्त्री, पश्चिम बंगाल

अचानक छोडेर जाने प्रिय साथीलाई बिदाइ गर्दा स्तब्ध छु । पछिल्लो समय हामी भेटघाट गरेका थिएनौं । तर, जब हामी भेट्थ्यौं, समय बितेको पत्तै हुँदैनथ्यो । उनी गहिरो माया गर्थिन्, जीव, जनावर र जीवनप्रति । प्रिय साथी, तिम्रो सम्झना रहिरहनेछ ।
बन्दना राणा, सदस्य, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीड)

असार १८ गते बुधबार एनिमल नेपालको कार्यक्रममा केही व्यक्तिगत कुराहरू पनि हामीले गर्‍यौं । तर हृदयघातका कारण अकस्मात तिमी यो संसारमा नरहेको कुराले स्तब्ध बनायो । यो अति चाँडै भयो । धेरै गाह्रो भइरहेको भन्न पनि— हार्दिक श्रद्धाञ्जलि ।
बबिता बस्नेत, सञ्चारकर्मी

इला दिज्जु ! जनावरहरूका लागि हाम्रा धेरै योजना थिए । तिमीले छोडेर गयौ । तिम्रो सम्झनामा लड्न, उद्धार गर्न, हस्तक्षेप गर्ने कार्य हामी जारी राख्नेछौं । शब्दहरूले तिम्रो सुन्दर व्यक्तित्वको वर्णन गर्न सक्दैन । तिमीलाई सधैं सम्झिरहनेछु, इला दिज्जु । सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना ।
प्रमदा शाह, पशु अधिकारकर्मी

अभिभावक प्रिय दिदी ईला शर्मालाई गुमाएँ । दुई सन्तान हुर्काउने एकल आमाको रूपमा  संघर्षमय रह्यो जीवन । उहाँको असामयिक निधन एक गहिरो क्षति हो । शब्दले व्यक्त गर्न सक्दिन । आत्माले शान्ति पाओस् ।  प्रियजनहरूलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् । सम्झनामा सधैंभरि रहनु हुनेछ ।
मोहना अन्सारी, पूर्वसदस्य , राष्ट्रिय मानवअधिकार आयोग


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.