कांग्रेसभित्र ऐठन परेको लोकतन्त्र

कांग्रेसभित्र ऐठन परेको लोकतन्त्र

केही थान नेतृत्वकर्ता वा केही हुल गुट, उपगुटको स्वार्थमा नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मर्न दिनुहुन्न ।

झन्डै एक शताब्दीको उकालो चढ्दै गरेको नेपाली कांग्रेस आफैंमा उन्नत लोकतन्त्रको एक विराट ‘फाँट’ हो । राजनीतिका बगरमा असरल्ल लोकतन्त्र र नागरिक अधिकारलाई त्यसको मूलबाटोमा ल्याउन कांग्रेसले जुन खालको ऐतिहासिक संघर्षका नेतृत्व गरेको छ, त्यो लोकतन्त्रको एउटा अद्भुत लडाइँ थियो । जो आफैंमा एउटा सिंगो इतिहासको दस्तावेज पनि हो । त्यसैले आज पनि नेपाली कांग्रेसभित्र लोकतन्त्रको उत्तिकै बखान हुन्छ, जहाँबाट यसको उत्पत्ति भएको थियो ।

हालैमात्र कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । यो भनेको पार्टीको १५औं महाधिवेशनको वर्ष पनि हो । नेतृत्वको इच्छाशक्तिमा कुनै तलमाथि नभए वा त्यस्तो कुनै बहानाबाजी नभएमा यही मंसिरमा १५औं महाधिवेशन हुनैपर्छ भन्नेमा दसौं लाख कार्यकर्ताको मतैक्य फेरिएको छैन । तर नेतृत्वले जुन प्रकारको छलछाम गर्न खोजिरहेको छ, त्यसलाई हेर्दा महाधिवेशन सर्ने हो कि डरले पनि यी लाखौं लोकतान्त्रिक मनलाई त्रसित पारेको छ । खै र, यो नेतृत्वमाथि प्रश्न हो । आशा गरौं, दसौं लाख कार्यकर्ताको मन वर्तमान नेतृत्वले भाँचिदिने पक्कै छैन ।

सन्दर्भ हो, नेपाली कांग्रेसको केन्द्रीय बैठकको । १४औं महाधिवेशनबाट जब नयाँ नेतृत्व चुनिएर आयो अनि पहिलो केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरियो । यो एउटा नयाँ प्रयोग थियो । तर त्यसलाई त्यसपछिका दिनमा फेरि बन्द गरियो । कांग्रेस देशको राष्ट्रियमात्रै होइन, पहिलो राजनीतिक दल पनि हो । सांसदको संख्याको हिसाबले जुनसुकै स्थान होस्, कांग्रेस एक ऐतिहासिक राजनीतिक पार्टी हो । देश, जनता र राष्ट्रियताप्रति गर्भ सिद्धान्तमै आफ्नो जिम्मेवारी बोकेर जन्मिएको पार्टी हो । लोकतन्त्रको असली पहरेदारमात्रै होइन, त्यसको मर्मविपरीत कुनै पनि सम्झौता नगर्ने एकमात्रै जिम्मेवार राजनीतिक दल हो कांग्रेस । दसौं लाख कार्यकर्तामार्फत करोडौं नेपालीको भावना जोडिएको पार्टी पनि हो यो । त्यसैले यो पार्टीभित्र के कस्ता छलफल हुन्छन्, को कति जिम्मेवार छ र आफ्नो लागिमात्रै होइन, पदका लागि मात्रै होइन जनता र राष्ट्रका लागि कुन चाहिँ नेताले कस्तो चिन्तन वा भावना व्यक्त गर्छन् भन्ने कुरा आमनागरिकले प्रत्यक्ष सुन्न, देख्न र महसुस गर्न सक्नुपर्छ । एउटा जिम्मेवार अनि लोकतान्त्रिक पार्टी भएका नाताले जनतासँग त्यत्ति अधिकार चाहिँ रहन्छ । त्यसको सम्मान गर्नुपर्छ ।

नेपाली राजनीतिमा लोकतन्त्रको परिभाषा जसरी नेपाली कांग्रेसको इतिहाससँगै लेखिएको छ, त्यसको रक्षाका निमित्ता अब नेतृत्वको प्रवृत्तिा फेरिन जरुरी छ। यो कुनै व्यक्ति, उसको विरासत अनि निगाहामा जन्मिएको पार्टी होइन।

केही समयअघि म आफैंले ‘लोकतन्त्रमाथि पर्दा’ शीर्षकमा आलेख लेखेको थिएँ । त्यो कांग्रेससँगै सम्बन्धित थियो । त्यसमा कांग्रेसको केन्द्रीय समितिको बैठकभित्र पत्रकारलाई पनि सामेल गराउनुपर्छ भनेको थिएँ । त्यो किनभने राष्ट्रियस्तरको राजनीतिक दलभित्र के, कस्ता छलफल हुन्छन् भन्ने कुरा आमजनताले थाहा पाउनुपर्छ भन्ने मान्यता मेरो थियो, छ र रहिरहनेछ । त्यो बेला अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । त्यसैले त्यो बेला प्रेसलाई प्रवेश दिनुपर्छ भन्ने मान्यता राख्थें । आज युग ‘एआई’को दुनियाँमा प्रवेश गरिसकेको छ । आजको नयाँ पुस्तालाई कसरी कांग्रेसको इतिहाससँग जोड्ने र भविष्यको यात्रा तय गर्ने ? भन्ने बहस चलिरहेका बेला हामीले सामाजिक सञ्जाल र नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई लत्याउँदै जानु भनेको फेरि उही पुरानो युगमा फर्किनु हो ।

अर्को कुरा, मैले किन त्यसो भनेको थिएँ भने नेताहरूमा अनेकखाले प्रवृत्ति देखिन्छ । बैठकभित्र पस्दै गर्दा पत्रकारले तेस्र्याएको माइकअघि एउटा कुरा बोल्ने, भित्र बैठकमा अर्कै कुरा बोल्ने अनि फेरि बैठकबाट बाहिरिएर उसका कुरा सुन्दा झन् अर्कै भइसकेको हुन्छ । एउटा भन्ने, अर्कै भन्ने अनि अझ अर्कै गर्ने नेताहरूको सनातन प्रवृत्ति परिवर्तन हुनुपर्छ भन्ने मान्यताका साथ पनि मैले त्यसो भनेको हुँ । आजका सन्दर्भमा पनि यो उत्तिकै सान्दर्भिक छ र भविष्यका लागि त अनिवार्य नै हुनेछ । अब युग यस्तो आइसकेको छ कि हामीले जतिसुकै लुकाउन खोजे पनि, जतिसुकै छलबाटो हिँड्न खोजे पनि कुनै न कुनै बेला, कहीँ न कतै जसरी भए पनि त्यो कुरा बाहिर आएरै छोड्न । यो जमानाले नै कसैलाई केही कुरा लुकाउन वा लुक्न छुट दिएको छैन ।

जसरी आज सामाजिक सञ्जालमा पोखिने अनि उच्छृंखलाको सिलसिला झाँगिँदै गएको छ । यो आफैंमा एक चुनौतीपूर्ण भविष्यको निम्तो पनि हो । व्यक्तिगतमात्रै होइन, गाली, घृणा र असहिष्णु संस्कार जुन प्रकारले बढ्दै छ, भोलिको नेतृत्वमा विकसित र स्थापित हुने प्रवृत्ति पनि त्यही नै हो । त्यसैले यसको प्रयोग सदुपयोग र दुरुपयोगका रूपमा पहिचान हुनुपर्छ । यो सन्दर्भ यहाँ किन जोड्न खोजिएको हो भने हालैमात्र कांग्रेसको केन्द्रीय बैठकमा हामीले देख्यौं कि वरिष्ठ नेतादेखि केन्द्रीय सदस्यहरूसम्म नेतृत्वका अघि निकै पोखिएर आफ्नो कुरा राखे । निकै मन माझामाझ भयो । त्यसलाई नेतृत्वले कुन रूपमा लियो वा लिएन, त्यो उसको कुरा हो । हामीले भन्नमात्रै के खोजेका हौं भने यो संस्कारलाई बचाइराख्नुपर्छ । तर नेतृत्वले त्यसलाई तत्कालै सम्बोधन गर्न सक्नुपर्छ । यसले गर्दा सार्वजनिकरूपमा जुनखालका घृणा र द्वेष फैलाउने प्रवृत्ति बढिरहेको छ, त्यसलाई रोक्न सकिन्छ ।

जे भने पनि जे गरे पनि बैठकमै कुरा राख्ने । बाहिर जथाभावी नपोखिने अनि त्यसलाई नेतृत्वले तत्काल कार्यान्वयनमा लैजाने । यसरी कार्यकर्ताको भावनालाई नेतृत्वले तत्काल सम्बोधन गर्न सकियो भने लोकतन्त्रको यो सुन्दर अभ्यासले हाम्रा बहस, छलफल र निष्कर्ष निकाल्ने तौरतरिका बदल्न सकिन्छ । आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ र प्रगाढ बनाउन सकिन्छ । तर जब नेतृत्वले त्यो भावना बुझ्न सक्दैन अनि कार्यकर्तामा निराशा बढ्न थाल्छ । त्यो सार्वजनिक रूपमा घृणा, द्वेष अनि आवेगका रूपमा पोखिन्छ । लोकतन्त्रका लागि यो सबैभन्दा खतरनाक प्रवृत्ति हो । तत्काल सम्बोधन नगर्दा वा नहुँदा नै आमकार्यकर्ता, शुभेच्छुक अनि भलो चिताउनेहरू सार्वजनिक रूपमा पोखिन्छन् भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ । त्यहीअनुसार यो मर्मलाई आत्मसात् गर्नुपर्छ ।

एउटा जिम्मेवार नेतृत्वको सही पहिचान पनि यही नै हो । प्रश्नबाट नभाग्ने अनि नतर्किने नेतृत्व नै सफल नेतृत्व हो । अनि सत्य बोल्न नडराउने र नेतृत्वका अघि लम्पसार परेर बाहिर छाती फुलाउँदै हिँड्ने कार्यकर्ताभन्दा नेतृत्वमाथि प्रश्नको जोखिम उठाउन सक्ने कार्यकर्ता नै नेपाली कांग्रेसको प्राण हो । जहाँ लोकतन्त्रको अक्सिजन भरिएको हुन्छ । अमेरिकाको ‘स्वतन्त्रता प्रतिमा’ अर्थात् स्ट्यायु अफ लिवर्टी । यसबारेमा जानकारी लगभग सबैलाई हुनुपर्छ । अमेरिका स्वतन्त्र राष्ट्र भएपछि त्यसको स्मरणमा एउटा टापुमा बनाइएको यो प्रतिमा विश्व स्वतन्त्रताको नै प्रतीक मानिन्छ । सामुद्रिक द्वीपको यो प्रतिमा एउटा पार्कमा अवस्थित छ । जसलाई ‘स्वतन्त्रताको बगैंचा’ पनि भनिन्छ । जहाँ हरेक मानव जाति निर्धक्क र स्वतन्त्रतापूर्वक बोल्न सक्छन् । अर्थात् जसका बारेमा मन जे कुरा लागेको छ, त्यो उसले त्यहाँ अभिव्यक्त गर्न सक्छ । त्यसबापत कुनै मानहानिको मुद्दा खेप्नु पर्दैन । त्यसको सजाय भोग्नु पर्दैन । अनि त्यसको दोष पनि बोक्नु पर्दैन ।

त्यस्तै, नेपाली कांग्रेस पनि लोकतन्त्रको पहरेदार, पहलकर्ता वा बाहकमात्रै होइन, त्यसको उन्नत र उच्चतम प्रयोग र कार्यान्वयनको एक संस्थागत राजनीतिक पार्टी पनि हो । जसरी यसले लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारका लडाइँहरू लडेर इतिहासका पानामा आफ्नो नाम दर्ज गरेको त्यसैगरी पार्टीभित्रकै लोकतन्त्रलाई जीवन्त राखिराख्न पनि जरुरी हुन्छ । बोलेकै वा नेतृत्वको आलोचना गरेकै भरमा कारबाही भोग्नुपर्ने जुनखाले प्रतिशोधको संस्कार नेपाली कांग्रेसभित्र मौलाउँदैछ, त्यसले पार्टी जीवनको आन्तरिक लोकतन्त्रलाई त मार्दै जानेछ । सँगै राष्ट्र, राष्ट्रियता र नागरिक अधिकारका पक्षमा यसका ऐतिहासिक कदमहरू पनि विस्तारै मेटिँदै जानेछन् ।

नेपाली राजनीतिमा लोकतन्त्रको परिभाषा जसरी नेपाली कांग्रेसको इतिहाससँगै लेखिएको छ, त्यसको रक्षाका निमित्त अब नेतृत्वको प्रवृत्ति फेरिन जरुरी छ । यो कुनै व्यक्ति, उसको विरासत अनि निगाहामा जन्मिएको पार्टी होइन । ‘मास बेस्ड’ नेपाली कांग्रेसको जन्मसिद्ध सिद्धान्त र आधारशिला पनि हो । त्यसैले केही थान नेतृत्वकर्ता वा केही हुल गुट, उपगुटको स्वार्थमा पार्टीको आन्तरिक लोकतन्त्रलाई मर्न दिनुहुन्न । नेपालको इतिहासमा नेपाली कांग्रेस सधैं ‘स्ट्याच्यु अफ लिवर्टी’ थियो । अर्थात् नेपाली कांग्रेस सधैं सबैभन्दा अग्लो र सग्लो लोकतन्त्रको प्रतिमूर्ति हो । यसलाई ढाल्ने प्रयास नगरौं ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.