किसानका पीडा
शिरमा फाटेको टोपी, तीन ठाउँमा टालेको पहिरन, भासिएका गाला अनि मलिन र निन्याउरो अनुहार ।’ यो हो दशकौंदेखि यो देशका पाठ्यपुस्तकहरूले किसानको परिचयमा आजसम्म पनि नमेटिने गरी हाम्रो मगजमा बनाइदिएको छाप । पाठ्यपुस्तकका पानाबाट हेपिन सुरु गरेको किसान जिन्दगी सरकारको बजेट, समाजको व्यवहार अनि व्यापारीको हरेक ढोकाबाट आज पनि उही मात्रा र घनत्वमा हेपिइनै राखेको छ ।
सातौं कृषि गणना, २०७८ को तथ्यांकअनुसार नेपालमा ४१ लाख ३० हजार ७ सय ८९ परिवार अर्थात् कुल परिवार संख्याको ६२ प्रतिशत अथवा कुल जनसंख्याको ६६.७ प्रतिशत कृषिमा आबद्ध छन् । अघिल्लो १० वर्षको तुलनामा ३ लाख ७ हजार हेक्टर कृषियोग्य जमिन घटे पनि किसान परिवारको संख्यामा भने यो ८ प्रतिशतले वृद्धि हो । त्यसमध्येमा पनि ७०.४ प्रतिशतले त आफ्नो आम्दानीको मुख्य स्रोत कृषि नै बनाएर त्यसैबाट आफ्नो दैनिक आवश्यकताहरू पूरा गरिरहेका छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा आज पनि करिब २५ प्रतिशत योगदान कृषि क्षेत्रकै रहेको छ । उपलब्ध ग्रामीण श्रम शक्तिको लगभग ६० प्रतिशतलाई कृषिले नै रोजगार उपलब्ध गराइरहेको छ ।
कृषिमा आधारित उद्योगहरूका लागि कच्चा पदार्थको ठूलो स्रोत यही क्षेत्र बनेको छ । त्यसमा पनि राज्यले कृषिलाई मुख्य प्राथमिकतामा राखेर त्यहाँभित्रका यावत् समस्याहरूलाई समाधान गरिदिने हो भने नेपालको समृद्धिमा अथाह सम्भावना बोकेको क्षेत्र कृषि नै हो भन्नेमा कुनै शंका छैन । तर विगतदेखि आजसम्म यो देशका हरेक सरकारको मुख्य प्राथमिकतामा कृषि किन पर्न नसकेको ? यहाँ हरेक दिन किसान पिल्सिरहँदा नेतृत्वलाई भने त्यसले किन छुन नसकेको ?
प्रत्येक साल जब घान, मकै, तोरी, आलुलगायतका बाली लगाउने समय आउँछ तब मलखाद तथा बिउबिजन पसल अघि आसे अनुहार लिएर दिनभर लाम बस्नुपर्ने किसान । खेतीपातीको सबै काम छोडी आफ्नै परिश्रमको मूल्य माग्न वर्षंैपिच्छे चिनी मिल अघि धर्ना बस्नुपर्ने पनि किसान । आफैंले उत्पादन गरेको फसलको मूल्य आफैंले तोक्न नपाउने पनि त्यही किसान । घाटा नै सहेर भए पनि वर्षौंदेखि बिचौलिया साहुलाई धनी बनाइदिइरहनु पर्ने पनि किसान नै । अनि के किसानले चाहिँ यो देशमा सबैतिरबाट सधैं हेपाइ खाइरहनुपर्ने ?
भन्सार विभागको तथ्यांकअनुसार, नेपालले गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिना सम्ममा पशुचौपायामात्र ५९ करोड ६४ लाख ५० हजार रुपैयाँबराबरको आयात गरेको छ । अण्डा, प्राकृतिक मह र ६ वर्षअघि नै आत्मनिर्भर भएको भनी घोषणा गरिएको दुग्धजन्य पदार्थ १ अर्ब ३५ करोड २६ लाखको भित्र्याएको छ । ३५ अर्ब ८५ करोड ८७ लाख ६६ हजार बराबरको त नेपालभित्रै उत्पादन गर्न सकिने र भइरहेको सब्जी, खानयोग्य जरा तथा कन्दमूल (ट्युबर) आयात गरेको छ । २३ अर्ब ४९ करोड ८० लाख ७३ हजार मूल्यबराबरको फलफूल तथा कट्याङकुटुङ्ग (नट्स) आयात गरेको छ । २७ अर्ब ७५ करोड ७२ लाख ७६ हजारको त मलमात्र भित्र्याएको छ । त्यस्तै यो ११ महिनाको अवधिमा नेपालले ५७ अर्ब ५९ करोड ६० लाख ६५ हजार मूल्यबराबरको धान, मकै, गहुँलगायतका अनाज आयात गरेको छ । तर दुःखको कुरा यहाँ भने भरपर्दो सिँचाइ सुविधा नपाएकै कारण बर्सेनि लाखौं किसानहरूले उमारिसकेको धानको बिउसमेत रोप्न पाउँदैनन् ।
यी त भए केही प्रतिनिधि वस्तुको तथ्यांक । यीबाहेक पनि त्यस्ता धेरै कृषि उत्पादनहरू छन् जुन यसबीच नेपाल भित्रिएका छन् । अथवा भनौं नेपालको बजार आयातीत तरकारी, फलफूल तथा अनाजले नै भरिएका छन् । तर विडम्बना, एकातिर यसरी बर्सेनि खर्बौंको कृषि उपज नेपाल भित्रिरहेका छन् भने अर्कातिर यहाँका उत्पादनहरू बजार नपाएर बारीमै कुहिरहेका छन् । यदि बजार पाइहाले पनि ९० प्रतिशतभन्दा बढी साना किसानले त बिचौलियाको बिगबिगीका कारण उत्पादन गर्दा लागेको लागतसमेत पाउँदैनन् । आखिर हामी कस्तो नीति बनाइरहेका छौं, जुन नीतिले स्वदेशी माटोमा उत्पादन गर्नुुभन्दा विदेशी बाटोबाट आयात गर्न सजिलो देखोस् ।
भू–धरातलका दृष्टिले नेपाललाई दक्षिणबाट उत्तरतर्फ हेर्दै जाने हो भने यहाँ समुद्री सतहबाट ५९ देखि ८ हजार ८ सय ४८.८६ मिटरसम्मको उचाइ केवल १ सय ९३ किमिको औसत दूरीभित्र भेटिन्छ । जहाँ उपोष्ण, न्यानो समशीतोष्ण, शीतोष्ण, लेकाली र टुन्ड्रा गरी पाँच प्रकारका हावापानी पाइन्छन् । यति कम दूरीको भूगोलभित्र मौसमको यो तहको विविधता प्राप्त गर्नु विश्वमै एक दुर्लभ र कृषिका दृष्टिले आफैंमा अद्भुत तथा अपार सम्भावना हो । यो यस्तो विशेष क्षेत्र हो, जहाँ लगभग संसारका सबैजसो स्थानको हावापानी पाउन सकिन्छ । यो माटो औषधि फल्ने भूमि हो । यहाँ उम्रिने हरेक बुटाका पात, डाँक्ला र जरामा औषधीय गुण छ । यहाँका रैथाने अन्न, तेलहन, दलहन, तरकारी तथा फलफूल सबैमा कुनै न कुनै रोग निको पार्ने रसायन छ । जस्को पुष्टि आयुर्वेदले मात्र होइन आजको आधुनिक औषधि विज्ञानले समेत गर्दै लगेको छ । यति बहुगुणी रैथाने बालीलाई आजका दिनसम्म पनि उन्नत र हाइब्रिड जातिका बिउबिजनबाट विस्थापन हुन नदिई कसैले जोगाइराखेको छ भने ती आम साना किसान नै हुन् । अनि यहाँ सबैभन्दा पीडित र दुःखी कोही छ भने पनि ती यिनै किसान हुन् । जसको न राज्य संयन्त्रमा कुनै पहुँच छ न कुनै संगठित शक्ति । न त यिनलाई बैंकले पत्यार्उछ न बिमा कम्पनीले । यो विषयमा राज्य कहिले गम्भीर बन्ने ?
कुनै पनि देशका लागि ६६.७ प्रतिशत जनता भनेको गेम चेन्जर अर्थात् परिस्थिति उल्ट्याउन सक्ने शक्ति हो । नेपालको हकमा यो गेम चेन्जर किसान शक्ति हो । यति ठूलो जनशक्तिको सीप र सामथ्र्यलाई समयमै चिनेर त्यसको सही उपयोगद्वारा पुँजीमा रूपान्तरण गर्न सक्ने हो भने यो देश बन्ने कुरा एकादेशको कथामा सीमित हुने छैन । हाम्रै पालामा हामी हाम्रो समृद्धिको कथा लेख्न सक्नेछौं । तर अझै पनि यो शक्तिलाई बेवास्ता र निरुत्साहित गरिरहने हो भने हाम्रो उत्पादन र अर्थतन्त्र दुवै धराशायी हुन समय लाग्ने छैन ।
प्रतिक्रिया दिनुहोस !