एक कृष्ण : सहस्र रहस्य

संस्कृति/समाज

एक कृष्ण : सहस्र रहस्य

सुदर्शन चक्र पनि हामीभित्रै छ। हामीभित्रका दुष्टता, अश्लीलता, व्यभिचारहरू शिशुपाल हुन्। सुदर्शन चक्रले भने हामीभित्रको आत्मचक्रलाई संकेत गर्छ। यो आफैंसँग गरिने आत्म साक्षात्कार पनि हो।

कृष्णका सतही कथा बुझ्नलाई अबको युगमा त्यति कठिन छैन। यसबारे लेखिएका अनेकौं पुस्तक छन्। श्रव्यात्मक, दृश्यात्मक सामग्रीहरू छन्। चलचित्रहरू छन्। वृत्तचित्रहरू छन्।

भगवान् श्रीकृष्ण के हुन् ? को हुन् ? : इन्टरनेटको युगमा हातेफोनबाटै युट्युबमा खोजे फेला पर्छन्, मथुराको कारागारमा जन्म, बाललीला, कालियादमन, पुतना, बृतासुर, बकासुर, अघासुर, कंश बध, वंशी बजाएर गाइै र गोपाललाई मुग्ध पारेको, रासलीला रचेको। सान्दिपनि ऋषिको आश्रममा अध्ययन गरेको, उनको कालको मुखमा पुगेको एकमात्र पुत्र फिर्ता ल्याएको, महाभारतमा सभामा आफ्ना दिव्य स्वरूप देखाएको, भारी सभामा सारी रूप धारण गरेर द्रौपदीको इज्जत जोगाएको, आफू त्रिलोकको स्वामी भएर पनि महाभारतको युद्धमा सारथिको भूमिका निभाएको पनि देख्न सकिन्छ।

यस्तै, युद्धका मैदानमा अर्जुनलाई आफ्नो विराट स्वरूपको दर्शन दिएर गीताको ज्ञान प्रदान गरी परिश्रमले द्वारका बसाएको, द्वारिका समुद्रमा डुबेको, मानव चोला छोडेर आफ्नो धाम गएको आदि दृश्यहरू देख्न पाइन्छ। त्यसैले कृष्णका कथा त्यति धेरै बुझाइरहनु आवश्यक छैन। कृष्णका मोटामोटी कथा बालक, वृद्ध, तरुण, युवा सबैलाई थाहा छ तर ‘कृष्ण चरित्र’भित्रका कथाका सांकेतिक अर्थ, रहस्य र कृष्ण तत्त्वको गुढार्थबारे भने प्रायः धेरै नै अलमलमा छन्।

सृष्टि पनि उनै, स्रष्टा पनि उनै ! : कृष्ण ! यो अढाइ अक्षरले बनेको नामले हामी सनातनी आर्यहरू माझ गहिरो सार्वभौमिक सम्बन्ध राख्छ जसको वर्णन गर्ने सामर्थ्य कसैमा पनि छैन। कृष्ण कहाँ छन् ? कसले पो देखेका छन् भनेर बहस गर्नु नै निरर्थक छ। उनलाई खोज्न कतै टाढा जानै पर्दैन। उनी हाम्रो वरिपरि नै छन्। कृष्ण कणकणमा छन्। रजरजमा छन्। सूक्ष्मभन्दा सूक्ष्ममा छन्। विराटभन्दा विराटमा छन्। हाम्रा हर्ष, खुसी र मुस्कुराहटमा छन्।

सृष्टि पनि उनी नै हुन्। स्रष्टा पनि उनी नै हुन्। नदीमा उनी कृष्णगण्डकी भएर प्रवाहित हुन्छन्। नगरमा कृष्णनगर भएर बस्छन्। प्राणीहरूमा उनी कृष्णसार भएर रनबन डुल्छन्। मानिसहरूमा कृष्णभक्त, कृष्णमणि, राधाकृष्ण, रामकृष्ण, कृष्णहरि भएर सम्बोधित हुन्छन्। जता हेरौं, उतै कृष्ण देखिन्छन्। हाम्रा लोकभाका मारुनी, सोरठी, धमारीमा मुरलीका स्वर भएर बज्छन्।

लोकगायकहरूका स्वरहरूमा ‘कति बस्छौ गोपीको घेरामा, आउन कृष्ण दुःखीको डेरामा’, ‘हे कृष्ण साह्रै आपत्मा प¥यो मलाई’, ‘आउन कृष्ण मुरली बजाउँदै गीताको ज्ञान बाँड्नलाई’ भनेर गुञ्जिन्छन्। उनी सर्वव्यापी छन्। सर्वभुत छन्। सर्वज्ञ छन्। दृष्टि पनि उनी हुन् र द्रष्टा पनि उनी नै हुन्। यो संसारमा त्यस्तो के चिज छ ? जसको उत्पत्ति ईश्वरीय सत्ताद्वारा नभएको होस् ?

चैतन्य पनि कृष्ण, चेतना पनि कृष्ण : कृष्ण साधन पनि हुन्। साध्य पनि हुन्। कृष्ण बाटो पनि हुन् र गन्तव्य पनि हुन्। कृष्ण क्रोध पनि हुन्। क्षमा पनि हुन् तर तामसी क्रोध होइनन्, सात्विक क्रोध हुन्। अहिलेको संसारको विडम्बना नै यही छ– यहाँ सात्विक क्रोध दुर्लभ छ। तामसी क्रोध प्रचुर छ।

कृष्ण चैतन्य हुन्। चेतना हुन्। कर्तव्य हुन्। सहचार्य हुन्। हाम्रो व्यक्तित्वलाई गढ्ने महान् शिल्पकार हुन्। कृष्ण न्यायप्रियता हुन्। कृष्ण मोक्ष हुन्। जीवनमा आत्मतत्त्वको सबैभन्दा सटिक परिभाषा हुन्, कृष्ण। जसरी दूधलाई जमाएर दही बनाइन्छ। दहीलाई मथेर नौनी र त्यसलाई खारेर घिउ बनाइन्छ। त्यसरी नै हामीले जीवनमा अनेकौं हन्डर, हुरीसँग जुझ्दै आत्माको परिष्कृत स्वरूपमा पुग्छौं। त्यतिखेर अनायास हामीभित्र कृष्ण तत्त्वबोध हुन्छ।

कृष्ण शब्दका अनेकौं अर्थहरू छन्। कृष धातुबाट बनेको हो कृष्ण शब्द। कृष धातुको एउटा अर्थ हुन्छ, खेत जोत्नु। दोस्रो अर्थ हो, आकर्षित गर्नु। जसले प्रत्येकलाई तान्छ, आकर्षित गर्छ त्यो नै कृष्ण हो। कृष्णको अर्थ हो, विश्वको प्राण। विश्वको आत्मा। एउटा त्यस्तो तत्त्व जुन सबैमा स्वत्व भएर रहन्छ, त्यो नै कृष्ण तत्त्व हो। ‘कृष्ण छन् र म छु’ भन्ने भावनामा नै उनी समाहित छन्।

श्रीकृष्ण एक, नाम अनेक : चैतन्य कृष्ण नामबारे विभिन्न सन्तले विभिन्न व्याख्या गरेका छन्। ‘कृष्ण’ नामको ‘कू’ले कमलकान्त बुझाउँछ। ‘ऋ’ले राम, ‘ष’ले शेषनागमा शयन गरिरहेका विष्णु बुझाउँछ भने ‘ण’ले नरसिंह बुझाउँछ। जुन महामन्त्ररूपी शब्दमा यी पूर्णतत्त्व समाहित छ, तिनै कृष्ण हुन्।
श्रीकृष्ण तत्त्वको ज्ञान अत्यन्त दुर्लभ र कठिन छ। कृष्ण आरध्यमात्र नभएर एउटा विचार हुन्। संस्कार हुन्। जीवनसँग जोडिएका तादम्यता बसाल्ने व्यावहारिक कलाका अनौठा संग्रह हुन्, जहाँ आफूलाई बुझ्ने निरन्तर प्रकिया छ, त्यहाँ कृष्ण छन्। जहाँ आफ्ना गुणवत्ता उपस्थित छन्। त्यहाँ कृष्ण व्याप्त छन्। जहाँ सत्य छ। न्याय छ। आनन्द छ। त्यहाँ कृष्ण छन्।

भगवान् विष्णुको आठौं अवतारको द्वापर युगमा जन्मिएका कृष्णलाई त्यतिकै त्यो युगका सर्वश्रेष्ठ पुरुष, युग पुरुष, युगान्धर र युगावातरको रूपमा स्थान दिइएको होइन। लोकमा कन्हैया, गोपाल, माधव, श्याम, द्वाराकेश, द्वारिकाधीश आदि अनेकौं नामबाट त्यतिकै चिनिएका होइनन्। आर्यवर्तमा सबैभन्दा अधिक मूर्ति कसैको छ भने कृष्णको मात्र छ। आज संसारमा सबैभन्दा बढी खोज कसैमाथि भइरहेछ भने त्यो उनीमाथि नै भइरहेछ।

चौध विद्या, चौसट्ठी कलाका पारंगत : सनातन धर्ममा सर्वोच्च स्थान छ। अनेकौ संकीर्णताका पर्खालबाट माथि उठेका असीम पुरुषार्थ र परमार्थले भरिएका अप्रतिम भगवान् हुन्, श्रीकृष्ण। भगवान् कृष्ण सोह्र आध्यात्मिक, चौध विद्या र चौसट्ठी सांसारिक कलाका पारंगत थिए। उनका समकालीन कृष्ण द्वापायन व्यासकृत श्रीमद्भागवतमा उनको ‘श्रीकला’, ‘कृतिकला’, ‘विद्याकला’, ‘विमलकला’, ‘कान्तिकला’, ‘योगशक्ति’, ‘निरक्षर विवेकशीलता’, ‘कर्मण्ड्यता’, ‘विनय’, ‘आधिपत्य’, ‘अनुग्रह क्षमता’, ‘वाणी’, ‘सम्मोहन कला’ आदि सोह्र कलाको वर्णन छ।

  • मनुष्यको रूपमा साक्षात नारायण यो जतिसमय रहे, त्यति समयसम्म उनले विनम्रताबाट सिद्घि, कठोर परिश्रम, समय अनुकूल नीति, सज्जनको उत्थान, दुष्टलाई दण्ड जस्ता मूलमन्त्रहरू सिकाइरहे। 
  • हामीले जीवनमा अनेकौं हन्डर, हुरीसँग जुझ्दै आत्माको परिष्कृत स्वरूपमा पुग्छौं। त्यतिखेर अनायास हामीभित्र कृष्ण तत्वबोध हुन्छ।

भक्तिरसामृत सिन्धुमा उनको चौसट्ठी गुणबारे वर्णन गरिएको छ। उनी त्यस्ता युगान्धर थिए जसले युद्धकै मैदानबाट संसारकै अद्भुत जीवन रहस्यले भरिएको गीताको ज्ञान प्रदान गरेका थिए। भागवत गीतादेखि संसारका ठूला ठूला वैज्ञानिक, लेखक अल्बर्ट आइन्स्टाइन, रोमां रोलाँ, हर्मन हेस्से, जेबिएस हाड्ले आदि पनि प्रभावित थिए। जस्तो अल्बर्ट आइन्स्टाइन भन्छन्, ‘जब मैले भागवत गीता पढें, बुझें– इश्वरले संसारको रचना कसरी गरे ? तब बाँकी सबैथोक बेकार लाग्न थाल्यो।’

विश्वको सबैभन्दा बढी भाषामा अनुवाद गरिएको ग्रन्थमध्ये एक हो, गीता। वेदको सार उपनिषद् हो भने उपनिषद्को सार गीता हो। वेद गाई हो भने उपनिषद् दुग्धधारा हो र त्यसलाई मथेर निकालिएको घिउ हो– गीता। गीता ज्ञानको त्यो महासागर हो जसमा जति डुबे पनि गहिराइ पत्ता लगाउन सकिन्न। जसमा अमूल्य खजानाहरूका भण्डारहरू छन्। यसभित्र राजयोग, हठ योग, भक्ति योग, विषाद योग, ज्ञान कर्म योग, राज योग, आत्मसंयम योग, सांख्य योग, सन्न्यास योग, ब्रह्म योग, विभूति योग, राजविद्याराज योग, मोक्ष योग आदिबारे गहन रूपमा व्याख्या गरिएको छ। भगवान्ले यो ज्ञान त्यतिखेर दिएका थिए, जतिखेर अर्जुन कुरु क्षेत्रको मैदानमा आफ्ना बन्धुबान्धव देखेर लड्न डराइरहेका थिए।

चैतन्य महाप्रभु श्रीकृष्णका कथा : १८ अध्याय ७०० श्लोकमा विभक्त गीतामा सृष्टिको उत्पत्ति, जीव विकासको क्रम, हिन्दु सन्देशवाहकको क्रम, मानव उत्पत्ति, देवीदेउताको उपासना, प्रार्थना, यम–नियम, त्रिगुणको संकल्पना, राष्ट्र निर्माण, जीवन प्रबन्धन आदिबारे गहन विमर्श छ। योगहरूमा भने आत्माको अमरत्व, सगुण भावको प्रभाव, योगी माहात्माको आचरण, स्थितप्राज्ञ कसरी बन्ने, साधुसन्तको आचरण, कसरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने विश्लेषण छ।

चैतन्य महाप्रभु श्रीकृष्णबारे जति पनि कथाहरू लोकमा प्रचलित छन्, तिनीहरूका सतही अर्थ मात्र छैनन्। सांकेतिक, प्रतीकात्मक अर्थ पनि छन्। कथामा प्रयोग भएका वनस्पति, खोलानाला, पशुपक्षी, किटपतंग, जलचर, थलचर, उभयचर, शस्त्र–अस्त्र आदिलाई रूपक, यमक, बिम्ब, अलंकार आदिको रूपमा बुझ्नुपर्छ। उदाहरणका निम्ति कालिया दमनको कथालाई लिऔं। कृष्णले गोकुलवासीलाई दुःख दिने नागलाई दमन गरे भन्ने कथा पढ्न पाइन्छ। सिधा त हेर्दा बालक कृष्णले हजारौं फणा भएका शेषनागसँग कसरी लडे होला ? भन्ने प्रश्न उब्जिन्छ। यहाँ नाग रूपकको रूपमा प्रयोग भएको छ।

नाग बाहिरमात्र होइन, हामीभित्र पनि छ। जब हामीले हामीभित्रका क्रोध, अहंकार, ईष्र्यारूपी नागमाथि विजय हासिल गर्छौं, तब हामीले कृष्णतत्त्व प्राप्त गर्छौं। अर्काे कथा छ– इन्द्रको क्रोध स्वरूप बर्सिएको वर्षा रोक्न औंलाले गोवद्र्धन पर्वत उठाएको। प्रश्न उठ्न सक्छ– के औंलामा पनि गोवद्र्धन पर्वत उठाउन सकिन्छ र ? यसको पनि छुट्टै सांकेतिक र प्रतिकात्मक अर्थ छ। गोवद्र्धन ‘गो’ र ‘वद्र्धन’ दुई शब्दको समास भएर बनेको छ। गोवद्र्धनको अर्थ हुन्छ, गौवंशको वृद्धि गराउने काम। वैदिक सनातन धर्ममा गाईको ठूलो महत्त्व छ।

सय गाली सहेपछि सुदर्शन चक्र प्रहार गर्ने कृष्ण : ऋग्वेदमा भनिएको छ, गाई हाम्रो निम्ति आरोग्य र शौभाग्य लिएर आउँछिन्। ‘गावः विश्वस्य मातरम्’ भनिएको छ। भगवान् कृष्णको गौप्रेम अद्वितीय थियो। उनलाई गोपाल पनि भनिन्थ्यो। भगवान् कृष्णले औंलामा गोवद्र्धन पर्वत उठाए भन्नुको तात्पर्य हो, उनले गौवंशको रक्षा गरेर कृषि क्रान्तिलाई अगाडि बढाए। उनले वंशी बजाउँदा गाईबाच्छाहरू उनको वरिपरि झुम्मिन्थे। कान ठाडो पारेर बाँसुरीका धुन सुन्थे भन्ने कथालाई आज विज्ञानले पनि प्रमाणित गरेको छ।

विज्ञानसम्बन्धी जर्नलहरूमा एउटा तथ्य प्रकाशित भएको छ, ‘गाईलाई संगीत सुनायो भने गाईले अत्यधिक दूध दिन्छ।’ शिशुपाललाई सुदर्शन चक्र प्रहार गरेर बध गरेको कथालाई पनि प्रतीकात्मक रूपमा बुझ्न सकिन्छ। कृष्णले सय गाली सहे, त्यसपछि उनले सुदर्शन चक्र प्रहार गरेर अन्त गरिदिए।शिशुपाल पनि हामीभित्रै छ। सुदर्शन चक्र पनि हामीभित्रै छ। हामीभित्रका दुष्टता, अश्लीलता, व्यभिचारहरू शिशुपाल हुज्।

सुदर्शन चक्रले भने हामीभित्रको आत्मचक्रलाई संकेत गर्छ। यो आफैंसँग गरिने आत्म साक्षात्कार पनि हो। सुदर्शन ‘सु’ र ‘दर्शन’ शब्द मिलेर बनेको छ। सु भनेको असल र दर्शन भनेको दृष्टिकोण हो। जब हामीभित्र खराब दृष्टिकोण अन्त भएर असल दृष्टिकोण बन्न थाल्छ तब हामीले सुदर्शन प्राप्त गर्छौं र हामीभित्रका शिशुपाल तहसनहस भएर सकिन्छ। हामी परमानन्दका गन्तव्यतिर लाग्न थाल्छौं।

महाभारतका महानायक कृष्णको जीवन सूत्र : श्रीकृष्णले माता यशोदालाई मुखमा सारा ब्रह्माण्ड देखाएको, सान्दिपिनी ऋषिका छोरालाई यमराजको मुखबाट फिर्ता ल्याएको, मथुराकी कुप्री कुब्जलाई लक्षणबाटै ठीक गरेको, जयद्रथ बधको समयमा समयअगावै सूर्यास्त गरेको, अभिमन्युको गर्भमा हुर्किरहेको परिक्षितलाई पुनः जीवित गराएको लगायतका अद्भुत चमत्कार कथाहरूमा पनि छुट्टै प्रतीकात्मक, बिम्बात्मक, रूपकीय अर्थ, वैज्ञानिक रहस्यहरू लुकेका छन्।

परमात्मा विष्णुको साक्षात् स्वरूप श्रीकृष्णको अविर्भाव मानिसलाई मनुष्यताबारे सिकाउनलाई मनुष्यको रूपमा भएको थियो। उनको समुच्चा जीवन संकट, संघर्ष र चुनौतीका कथा थिए। उनको जन्म कंशको कारागारमा भयो। अनेकौं कठिनाइ झेल्दै गोकुल पुगे। बाल्यकालमा पुतनालगायतका अनेकौं दुष्ट तत्त्वका प्रताडना भोगे। उनका यी कथाहरूले यही सिकाउँछन्, संसार रणभूमि हो। जीवन महाभारत हो।

महाभारतका महानायक कृष्णको जीवन सूत्र लक्ष्यसिद्धिको अचुक मन्त्र हो। कृष्णको जीवन प्रेमको पर्याय हो। मित्रताको पर्याय हो। उनले जीवनभर प्रेमका बाँसुरी बजाए। उनी मातापिता, साथीसंगी, गोपीगोपिनी, पशुपक्षी, कीटपतंग, सबैलाई प्रेम गर्छन्। उनले यसमार्फत सिकाउँछन्, निश्चल प्रेम मात्र त्यस्तो चिज हो जसले हरेक क्षण मानिसलाई सुखले भरिदिन्छ।

श्रीकृष्णले सिकाइरहे, ‘मित्रता चिनिने संकटमा हो।’ : दिनबन्धु, दिनानाथ श्रीकृष्ण सबैका मित्र हुन् तर उनको जीवनमा तीन मित्र अर्जुन, उद्धव, सुदामाका मित्रता लोकप्रसिद्व छ। उद्धव तरुण अवस्था, अर्जुन द्रौपदीको स्वयंवरदेखि अन्तिम साससम्मका, सुदामा गुरुकुलका मित्र थिए। उनको मित्रताबारे भागवत कथा साक्षी छ, गुरुकुलमा सुदामाका मुठ्ठीभर अन्नलाई कृतज्ञतापूर्वक सम्झना राखे।

आफू द्वारिकाधीश बनेपछि कनिका बहुतै प्रेमपूर्वक ग्रहण गरे। हर्षका आँसु बगाएर, धनधान्यले पूर्ण गराएर मित्रताको ऋण चुकाए। ज्ञानको अहंकारमा डुबेका उद्धवलाई प्रेमको पाठ सिकाउन गोपीहरूको सामु पठाए। अर्जुनको अनन्य प्रेमको भार चुकाउनलाई इन्द्रसँग भिडे। खाण्डव बनलाई जल्न दिए। शान्तिको दूत भएर कौरवको सभामा पुगे। मैत्रीको खातिर आफू त्रिलोकको स्वामी भएर पनि महाभारतको युद्धमा मित्रको सारथि बने।

कर्मपथबाट विचलित हुन लागेको थाहा पाएपछि गीताको उपदेश दिए। विजयपछि मित्रमा अहंकारको भाव नजागोस् भनेर अनुगिता सुनाए। उनले जीवनभर सिकाइरहे, मित्रता चिनिने संकटमा हो। संकटमा मित्रलाई सहयोग गरौं। दिग्भ्रमित भएको बेला मार्गदर्शन गराऔं तर त्यो स्वार्थरहित निस्वार्थ होस्। त्यसमा अलिकति पनि कर्ताभावको छनक नदेखियोस्।

चीरहरण हुँदा चीर बढाएर अद्भुत चमत्कार : श्रीमद्भागवतका कथाहरूमा श्रीकृष्णको नारी जातिप्रतिको इज्जत र सम्मान अग्रस्थानमा छ। कथाअनुसार उनकै माध्यमबाट द्रौपदी, राधा, रुकमणि, सत्यभामा अदि हजारौं महिलाले मोक्ष प्राप्त गर्छन्। श्रीमद्भागवतको कथा रासपञ्चाध्यीमा श्रीकृष्ण निर्मल प्रेमका निम्ति गोपीप्रति कृतज्ञता ज्ञापन गर्छन्। जन्मदात्री देवकीसँगै पालनपोषण गर्ने यशोदाको असीम कृपाको पलपल मुक्तकण्ठले बखान गर्छन्। भीमसेनलाई प्रेरित गरेर महिलाहरूलाई बन्दी बनाएर राख्ने जरासन्धको बध गराउँछन्।कारागारबाट मुक्त गराउँछन्।

भारी सभामा द्रौपदीको चीरहरण हुँदा चीर बढाएर अद्भुत चमत्कार गर्छन्। द्रौपदीको इज्जत जोगाउँछन्। पुत्रशोकमा डुबेकी सान्दिपिनी ऋषि पत्नी र गुरुमाताको हराएको पुत्रका निम्ति कालसँग पौंठेजोरी खेल्छन् र हराएको पुत्र फिर्ता ल्याएर गुरुमाताको आत्मालाई तृप्त पार्छन्। क्रोधित गान्धारीको श्रापलाई सहर्ष शिरोधार्य गर्छन्। अनेकौं दृष्टान्तमार्फत उनी सिकाइरहन्छन्, जुन समाजमा नारी जातिको इज्जत र सम्मान हुन्छ, त्यो समाज सधैं प्रगतिको दिशामा अगाडि बढिरहन्छ।

अन्त्यमा, मनुष्यको रूपमा साक्षात नारायण यो जतिसमय रहे, त्यति समयसम्म उनले विनम्रताबाट सिद्धि, कठोर परिश्रम, समय अनुकूल नीति, सज्जनको उत्थान, दुष्टलाई दण्ड जस्ता मूलमन्त्रहरू सिकाइरहे। कृष्ण तत्त्व प्राप्तिको निम्ति कुनै मनीष हुनु जरुरी छैन। कुनै विद्वता पाउनु जरुरी छैन। हामीभित्र शुद्ध चेतना विकसित हुनुपर्छ। कृष्णको खोज स्वत्वको खोज हो। जय श्रीकृष्ण।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.