अनादिदेखि वचन र व्यवहारमा दोहोरिँदै आएको एउटा कुरा हो– ‘प्रेम र युद्धमा जे पनि उचित हुन्छ ।’ कसैले कसैलाई मन पराउनु अपराध होइन । हो कुनै युगमा सम्भ्रान्त परिवारकी युवतीलाई निम्नवर्गीय युवकले मन परायो भने समाजले क्षम्य मान्दैनथ्यो । त्यसो त सम्भ्रान्त परिवारको युवकले निम्न वर्गकी युवतीसँग प्रेम गर्यो भने त्यस युवतीलाई डाँडा कटाउन बेर लाग्दैनथ्यो ।
यी दुवै अवस्थामा पीडित हुने या सजायभागी हुनपर्ने त युवतीले नै हो । त्यसैले हाम्रो समाजमा महिलालाई जहिले पनि पुरुषभन्दा सधैं पुछारको खुट्किलामै राखेर परीक्षण गरिन्छ । भलै युवतीको प्रतिभा, शिक्षा र सोच युवक समान होस् या त्योभन्दा माथि होस्, कुनै मूल्यांकन हुँदैन । र, आख्यान, काव्य, महाकाव्यजस्ता अधिकांश सिर्जनाका विधामा पनि यही कुरा दोहोरिन्छ । साहित्य भनेकै समाजको ऐना त हो नि ! समाजमा जे छ त्यही त देखिने हो साहित्यमा पनि । र त पुरुषकै आशक्ति बढी भए पनि दोषचाहिँ महिलामाथि नै खन्याइन्छ । ‘देवयानी’मा माधवी र देवयानी दुई मुख्य पात्र छन् । अर्की पात्र रेणु थोरै ठाउँमा देखा परे पनि महŒवपूर्ण भूमिका निर्वाह गरेकी छन् । माधवी र देवयानीको बीचमा उभिएको पात्र हो, आदित्य । जो अन्ततः विचराजस्तो हुन पुग्छ ।
‘देवयानी’को कथालाई सारांशमा भन्नुपर्दा, एक विवाहित पुरुष आदित्यको परिपक्व उमेरकी अविवाहित युवती देवयानीसँग प्रेम हुन्छ । आदित्य एउटा उच्चवर्गीय व्यावसायिक समूहदेखि आममानसमा समेत परिचित सफल वास्तुशिल्पीकार हुन्छ । अनि देवयानी यस्तो वास्तुशिल्पीको प्रारूप तयार गर्ने परिष्कृत डिजाइनर हुन्छे । आदित्य उमेरले केही पाको भए पनि उसको व्यक्तित्व र कृतित्वका कारण उसलाई मन पराउने युवतीको लामै लस्कर हुन्छ । देवयानीसँग काम विशेषले आदित्यको भेट हुन्छ तर भेटघाटको क्रम बढ्दै जाँदा यो काम आकर्षणमा बदलिन्छ अनि यस आकर्षणले दुवैलाई प्रेमको गहिरो तालमा डुबाइदिन्छ । युद्ध र प्रेम किन उस्तैलाग्छ भने दुवैमा परिणाम पहिल्यै सोचेर पाइला अघि सारिन्न ।
देवयानी, माधवी र आदित्यबीचको यो त्रिकोणीय सम्बन्धमा धेरैवटा उतार–चढाव देखा पर्छन् । कथा जतिजति अघि बढ्दै जान्छ, त्यतित्यति यसमा रोमाञ्चकता थपिँदै जान्छ । यसको अन्त्य के हुन्छ ? उपन्यासको घटनाक्रममा जस्तै पाठकको मनमा पनि यस रहस्यको मिठास बसिरहन्छ । माधवी संयमित र धीर देखिन्छिन्, देवयानी र आदित्य साहसी र अधीर । यो यिनका क्रियाकलापले आफैंंले पुष्टि गर्दै जान्छ । भनिन्छ, धेरै तीव्र गतिमा गाडी हाँक्यो भने दुर्घटनाको सम्भावना हुन्छ । आदित्य र देवयानीले हाँकेको यो गाडी पनि धेरै गतिमा हुइँकिँदा बीच बाटामो आएको अवरोधको खाल्डो तर्काउन असम्भव हुन्छ । अनि, दुर्घटना हुन्छ । यद्यपि यस दुर्घटनामा मानवीय क्षति त हुँदैन । तर सम्बन्ध भने गाडीको सिसाजस्तै फेरि कहिल्यै नजोडिने गरी चकनाचुर हुन्छ ।
उपन्यासको भाषा अत्यन्त सरल छ । यसले विद्वान्देखि सामान्य साक्षर पाठकसम्मलाई समान प्रभाव छाड्छ । पात्र र घटना यही समाजका उपज हुन्, त्यसैले यिनलाई हामी आफू वरिपरि नै घटित भएको आभास गर्न सक्छौं । चरित्र त समाजको ऐना हो, जहाँ लेखकले नजिकबाट देखाइदिएका छन् । जहाँसम्म उपन्यासकार चौधरीले ‘देवयानी’मा उठाएको नारी अन्तरसंघर्षको प्रसँग छ, त्यो आफैंंमा उदाहरणीय छ । यसमा महिलाको सीमान्त संयम पनि पाइन्छ र महिलाको सीमाहीन अधीरता पनि । यो लेखकीय सोचको वैशिष्ट्य शैली हो । प्रेमलाई प्राप्तिका लागि मात्र अंगीकार गर्नेको मनोदशा पनि अनुभूत गर्न पाइन्छ अनि प्रेमलाई कर्तव्यसँग पनि समाहित गर्दै निःस्वार्थ रूपमा अपनाउने त्यागको परिणामलाई पनि बुझ्न पाइन्छ ।
यो उपन्यास धेरै दृष्टिले पठनीय छ । जस्तो, पाँच दशकअघिको एक सम्भ्रान्त परिवारको अन्तर्य बुझ्न यसले सहयोग गर्छ । यो समाज जो अरू सारा नेपाली समाज र व्यवहारभन्दा पृथक् र पहुँचहीन थियो, त्यसभित्र कस्ताकस्ता सोचाइ र अवधारणाहरू तरंगित हुँदा रहेछन् भन्ने धेरै हदसम्म अनुभव र अध्ययन गर्न पाइन्छ । यो विशुद्ध प्रेमकथा हो तर यस प्रेमकथाभित्र सम्पन्न, शिक्षित, सम्भ्रान्त महिला र पुरुषबीचको अनौठो सम्बन्ध पनि प्रस्तुत गरेको छ, ‘देवयानी’ले । त्यसैले यस उपन्यासमा त्यस कालखण्डको महिला उद्यमशीलता, महिला सचेतना, महिला सशक्तीकरण र उदात्र महिला दृष्टिकोण पनि छर्लंगसँग अभिलेखबद्ध भएको छ । यस अर्थमा यो प्रेमकथाको धरातलमा उभिएको सम्भ्रान्त वर्गको चालचलन र व्यवहारलाई चिहाउने आँखीझ्याल पनि हो । यसमा उपन्यासकार चौधरीको गहिरो अनुभव र अध्ययन दुवै पाउन सकिन्छ ।
काव्य सिर्जनाबाट फड्को मारेर आख्यान साहित्यमा कलम चलाउँदा उपन्यासकारले बुनेका पात्र, चरित्र, कथ्य, घटना र प्रस्तुत शैलीले उनलाई सफल आख्यानकारका रूपमा स्थापित गरेको छ । यस मानेमा बसन्त चौधरीलाई यस फाँटमा पनि सफल अक्षरशिल्पीका रूपमा स्वीकार्न सकिन्छ । पाठकलाई सुरुदेखि अन्त्यसम्म आसन्न घटनाक्रमप्रति बढो खुल्दुली जगाउँदै उपन्यासकारले जसरी आरोह–अवरोहको यात्रा गराउँदै निष्कर्षमा पुर्याउँछन् । त्यहाँ पुगेर पाठकले ढुक्कको लामो सास फेर्छ, यही हो बसन्त चौधरीको ‘देवयानी’को उपलब्धि । र, यो कुरा नपढी पाठकले यसको आनन्द अनुभूति गर्नै सक्तैन । त्यसैले यो बसन्तको नयाँ सिर्जनात्मक उपलब्धि हो भन्न कन्जुस्याइँ गरिरहनु पर्दैन ।
प्रतिक्रिया दिनुहोस !