नारी अन्तरसंघर्षको ऐना

समीक्षा

नारी अन्तरसंघर्षको ऐना

अनादिदेखि वचन र व्यवहारमा दोहोरिँदै आएको एउटा कुरा हो– ‘प्रेम र युद्धमा जे पनि उचित हुन्छ ।’ कसैले कसैलाई मन पराउनु अपराध होइन । हो कुनै युगमा सम्भ्रान्त परिवारकी युवतीलाई निम्नवर्गीय युवकले मन परायो भने समाजले क्षम्य मान्दैनथ्यो । त्यसो त सम्भ्रान्त परिवारको युवकले निम्न वर्गकी युवतीसँग प्रेम गर्‍यो भने त्यस युवतीलाई डाँडा कटाउन बेर लाग्दैनथ्यो । 

यी दुवै अवस्थामा पीडित हुने या सजायभागी हुनपर्ने त युवतीले नै हो । त्यसैले हाम्रो समाजमा महिलालाई जहिले पनि पुरुषभन्दा सधैं पुछारको खुट्किलामै राखेर परीक्षण गरिन्छ । भलै युवतीको प्रतिभा, शिक्षा र सोच युवक समान होस् या त्योभन्दा माथि होस्, कुनै मूल्यांकन हुँदैन । र, आख्यान, काव्य, महाकाव्यजस्ता अधिकांश सिर्जनाका विधामा पनि यही कुरा दोहोरिन्छ । साहित्य भनेकै समाजको ऐना त हो नि ! समाजमा जे छ त्यही त देखिने हो साहित्यमा पनि । र त पुरुषकै आशक्ति बढी भए पनि दोषचाहिँ महिलामाथि नै खन्याइन्छ । ‘देवयानी’मा माधवी र देवयानी दुई मुख्य पात्र छन् । अर्की पात्र रेणु थोरै ठाउँमा देखा परे पनि महŒवपूर्ण भूमिका निर्वाह गरेकी छन् । माधवी र देवयानीको बीचमा उभिएको पात्र हो, आदित्य । जो अन्ततः विचराजस्तो हुन पुग्छ । 

‘देवयानी’को कथालाई सारांशमा भन्नुपर्दा, एक विवाहित पुरुष आदित्यको परिपक्व उमेरकी अविवाहित युवती देवयानीसँग प्रेम हुन्छ । आदित्य एउटा उच्चवर्गीय व्यावसायिक समूहदेखि आममानसमा समेत परिचित सफल वास्तुशिल्पीकार हुन्छ । अनि देवयानी यस्तो वास्तुशिल्पीको प्रारूप तयार गर्ने परिष्कृत डिजाइनर हुन्छे । आदित्य उमेरले केही पाको भए पनि उसको व्यक्तित्व र कृतित्वका कारण उसलाई मन पराउने युवतीको लामै लस्कर हुन्छ । देवयानीसँग काम विशेषले आदित्यको भेट हुन्छ तर भेटघाटको क्रम बढ्दै जाँदा यो काम आकर्षणमा बदलिन्छ अनि यस आकर्षणले दुवैलाई प्रेमको गहिरो तालमा डुबाइदिन्छ । युद्ध र प्रेम किन उस्तैलाग्छ भने दुवैमा परिणाम पहिल्यै सोचेर पाइला अघि सारिन्न । 

देवयानी, माधवी र आदित्यबीचको यो त्रिकोणीय सम्बन्धमा धेरैवटा उतार–चढाव देखा पर्छन् । कथा जतिजति अघि बढ्दै जान्छ, त्यतित्यति यसमा रोमाञ्चकता थपिँदै जान्छ । यसको अन्त्य के हुन्छ ? उपन्यासको घटनाक्रममा जस्तै पाठकको मनमा पनि यस रहस्यको मिठास बसिरहन्छ । माधवी संयमित र धीर देखिन्छिन्, देवयानी र आदित्य साहसी र अधीर । यो यिनका क्रियाकलापले आफैंंले पुष्टि गर्दै जान्छ । भनिन्छ, धेरै तीव्र गतिमा गाडी हाँक्यो भने दुर्घटनाको सम्भावना हुन्छ । आदित्य र देवयानीले हाँकेको यो गाडी पनि धेरै गतिमा हुइँकिँदा बीच बाटामो आएको अवरोधको खाल्डो तर्काउन असम्भव हुन्छ । अनि, दुर्घटना हुन्छ । यद्यपि यस दुर्घटनामा मानवीय क्षति त हुँदैन । तर सम्बन्ध भने गाडीको सिसाजस्तै फेरि कहिल्यै नजोडिने गरी चकनाचुर हुन्छ । 

उपन्यासको भाषा अत्यन्त सरल छ । यसले विद्वान्देखि सामान्य साक्षर पाठकसम्मलाई समान प्रभाव छाड्छ । पात्र र घटना यही समाजका उपज हुन्, त्यसैले यिनलाई हामी आफू वरिपरि नै घटित भएको आभास गर्न सक्छौं । चरित्र त समाजको ऐना हो, जहाँ लेखकले नजिकबाट देखाइदिएका छन् । जहाँसम्म उपन्यासकार चौधरीले ‘देवयानी’मा उठाएको नारी अन्तरसंघर्षको प्रसँग छ, त्यो आफैंंमा उदाहरणीय छ । यसमा महिलाको सीमान्त संयम पनि पाइन्छ र महिलाको सीमाहीन अधीरता पनि । यो लेखकीय सोचको वैशिष्ट्य शैली हो । प्रेमलाई प्राप्तिका लागि मात्र अंगीकार गर्नेको मनोदशा पनि अनुभूत गर्न पाइन्छ अनि प्रेमलाई कर्तव्यसँग पनि समाहित गर्दै निःस्वार्थ रूपमा अपनाउने त्यागको परिणामलाई पनि बुझ्न पाइन्छ । 

यो उपन्यास धेरै दृष्टिले पठनीय छ । जस्तो, पाँच दशकअघिको एक सम्भ्रान्त परिवारको अन्तर्य बुझ्न यसले सहयोग गर्छ । यो समाज जो अरू सारा नेपाली समाज र व्यवहारभन्दा पृथक् र पहुँचहीन थियो, त्यसभित्र कस्ताकस्ता सोचाइ र अवधारणाहरू तरंगित हुँदा रहेछन् भन्ने धेरै हदसम्म अनुभव र अध्ययन गर्न पाइन्छ । यो विशुद्ध प्रेमकथा हो तर यस प्रेमकथाभित्र सम्पन्न, शिक्षित, सम्भ्रान्त महिला र पुरुषबीचको अनौठो सम्बन्ध पनि प्रस्तुत गरेको छ, ‘देवयानी’ले । त्यसैले यस उपन्यासमा त्यस कालखण्डको महिला उद्यमशीलता, महिला सचेतना, महिला सशक्तीकरण र उदात्र महिला दृष्टिकोण पनि छर्लंगसँग अभिलेखबद्ध भएको छ । यस अर्थमा यो प्रेमकथाको धरातलमा उभिएको सम्भ्रान्त वर्गको चालचलन र व्यवहारलाई चिहाउने आँखीझ्याल पनि हो । यसमा उपन्यासकार चौधरीको गहिरो अनुभव र अध्ययन दुवै पाउन सकिन्छ । 

काव्य सिर्जनाबाट फड्को मारेर आख्यान साहित्यमा कलम चलाउँदा उपन्यासकारले बुनेका पात्र, चरित्र, कथ्य, घटना र प्रस्तुत शैलीले उनलाई सफल आख्यानकारका रूपमा स्थापित गरेको छ । यस मानेमा बसन्त चौधरीलाई यस फाँटमा पनि सफल अक्षरशिल्पीका रूपमा स्वीकार्न सकिन्छ । पाठकलाई सुरुदेखि अन्त्यसम्म आसन्न घटनाक्रमप्रति बढो खुल्दुली जगाउँदै उपन्यासकारले जसरी आरोह–अवरोहको यात्रा गराउँदै निष्कर्षमा पुर्‍याउँछन् । त्यहाँ पुगेर पाठकले ढुक्कको लामो सास फेर्छ, यही हो बसन्त चौधरीको ‘देवयानी’को उपलब्धि । र, यो कुरा नपढी पाठकले यसको आनन्द अनुभूति गर्नै सक्तैन । त्यसैले यो बसन्तको नयाँ सिर्जनात्मक उपलब्धि हो भन्न कन्जुस्याइँ गरिरहनु पर्दैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.