उच्च अध्यात्म नै साहित्य

अनुभूति

उच्च अध्यात्म नै साहित्य

मौनले संगीत फुटाउँछ, मौनले साहित्य फुराउँछ, मौनले एउटा अदृश्य शक्ति दिन्छ

सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ।।

श्रीमद्भगवद्गीता अध्याय १४ श्लोक ५ मा श्रीकृष्ण भन्नुहुन्छ, ‘हे अर्जुन ! देहभित्र बस्ने आत्मा अव्यय छ, तापनि प्रकृतिबाट उत्पन्न सत्य, रज र तम यी तीन गुणहरूले अविनाशी आत्मालाई शरीरमा बाँधिदिन्छन् ।’

यसरी नै हामी संसारमा आएपछि भगवान् कृष्णले गीतामा भन्नु भएजस्तै संसार ईश्वरसँग समाहित छ । अर्थात् संसार ईश्वरद्वारा रचित ईश्वरकै एउटा सिर्जना हो, फूल हो । जब हामी संसारमा जन्म लिन्छौं, तब हामीले पहिला त संसारमा कसरी रहने हो ? संसारको नियम के छ ? प्रकृतिको नियम के छ ? पवनको नियम के छ ? वायुको आभास कस्तो छ भन्ने थाहा पाउँछौं । चिसो छ भने बाक्ला लुगा लगाउँछौं । त्यसैगरी तातो छ भने पातला कपडा प्रयोग गर्छौं । साहित्यमा पनि सहित आत्मसात् गर्छौं ।

हामी नेपाली अहिले विश्वको कुनाकुनामा छरिएर बसेका छौं । हामी जुन देशमा बसेका छौं, त्यस देशको नियम र कानुन पालन गरेर बसेका छौं । जुन दिन हामीले त्यो देशको नियम र कानुन तोड्छौं, नियम कानुनसहित मिल्न सक्दैनौं त्यस दिन हामीलाई त्यो देशले नियमअनुसार दण्ड दिन्छ । कतिलाई त त्यस्ता देशहरूले निकालेर आफ्नै देशमा फिर्ता पनि पठाइदिएको छ । यही संसारको नियम हो र नियति पनि । त्यसैलाई बुझेर लेख्न सक्नु साहित्य हो । त्यो साहित्य र जीवन दुवै उत्कृष्ट हुन्छ ।

यस्तैगरी, प्रकृतिको पनि आआफ्नै नियम छ, कानुन छ । हरेक प्राणी यो नियम पालन नगरी बस्नै सक्दैन । वास्तवमा भन्ने हो भने यो संसारमा बस्ने सुन्दर अवसर प्रकृतिले नै हामीलाई दिएकी हुन् । हामी एकैक्षण अध्यात्मलाई नियालौं । आँखा चिम्लेर आफूलाई हेरौं र आफ्नो वरपरको पर्यावरण, हावा, लतिका, रूख, वन, जंगल, पवन, लहरा, पहरा, छहरा, सूर्य, आकाश, जून, तारा केहीले पनि धर्म छोडेको छैन । धर्म छोडेको छ भने केवल मानवले धर्म छोडेको छ । के मानव पृथ्वीमा सुख भोग्न मात्र आएको हो त ? के हामी यो संसारमा सुखसुविधाले लिप्त हुन अर्थात् मनोमानी गर्न यो धरतीमा जन्मेका हौं  त ?

मानव आफूले सोचेको कुरा पायो भने प्रसन्न मुद्रामा देखिन्छ तर अलिकति पनि आफ्नो इच्छाविपरीत केही भयो भने दुःखी हुने, हरेस खाने र क्रूद्ध भएर मनोमालिन्य गर्ने निहुमा हत्या या आत्महत्यासमेत थाल्छ । के यसैको नाम जीवन हो त ? के यो जगत्लाई मान्य हुन्छ ? यस्तो आभास राजनीति, प्रशासन, समाजसेवा, शिक्षा, व्यापार, विकास, स्वास्थ्य र सञ्चार तथा अध्यात्म गुरुकुलका साथै धर्ममा पनि व्यापक देखिँदै आएको छ । के यो कलिको व्याप्त रूप हो त ? कि यो नै हाम्रो नियति हो ? यसलाई रोक्न हामीले के गर्नुपर्छ ? यो आजको मानव समुदायमा अहम् प्रश्न बनेर तेर्सिएको छ ।
जबजब असाध्यै गर्मी हुन थाल्छ, चिसोले ठिहिरो चल्न थाल्छ, हिमपात चारैतिर पर्दछ, त्यो पनि केही समयका लागि हो, हामीलाई थाहा छ । त्यसैगरी चारैतिर दृष्टिपात हुन थाल्छ, तब हामीलाई राम्रो लाग्दैन । यो त प्रकृतिको नियम हो । हामी प्रकृतिले दिएको ऋतुसँग नियमसँग रमाउन सिक्नुपर्छ । हामी धेरैभन्दा धेरै धन–सम्पत्ति कमाउन, जंगल फाँड्न, नदी दूषित गराउन प्राकृतिक चिज विनाश गर्न उद्यत् छौं । अधिकभन्दा अधिक सुख भोग्न, भौतिक साधन जोड्न र आनन्द लिन, ऐसआराम गर्न व्यस्त छौं ।

हिजोआज मानव सांसारिकताको उपभोग गर्नु महँगोभन्दा महँगो साधनको प्रयोग गर्नुलाई सुखको पराकाष्ठा सोच्छ । उनीहरूका निम्ति विलासी वस्तुहरू उपभोग गरेर नयाँनयाँ संशाधन फेर्दै हरेक क्षण हरेक पल सुख पाउनु नै जीवनको पर्यायवाची शब्द भइसकेको छ । म, मेरो आलिशान भवन, मेरी सुन्दरी पत्नी, मेरो छोरा, मेरो सम्पत्ति, मेरो पद, मेरो पैसा, मेरो पावर, मेरो शान, मेरो शौकत, मेरो उपाधि र मेरो मान, मेरो मर्यादा, मेरो सम्मान, मेरो पुर्खा, मेरो जग्गाजमिन, मेरो बल, मेरो तागत भन्दै आफ्नै बखान गर्दै मै ठूलो, मै जान्ने, मै सुन्ने यस्तैयस्तै फलामेबार, फलामे साङ्ला, सुनको पिँजडाभित्र आफैंलाई कैदीको रूपमा जीवन व्यतीत गर्दै छ ।

खास भन्ने हो भने मानिस संसारभित्र नयाँनयाँ प्रविधिको कैदी जीवन व्यतित गर्दै छ । अहिले नयाँनयाँ सोच र नयाँनयाँ विचार लिएर व्यस्त जीवन भोगिरहेका मानिससँग संसारका नयाँनयाँ साधन पैसा र पावरबाहेक जीवन जगत् र अध्यात्म तथा आफ्नो धर्म काम र कर्तव्यसँग जोडिएको प्रकृतिको बारेमा सोच्ने फुर्सदै छैन । हिजोआज मान्छेलाई नयाँ प्रविधि उपभोग कसरी गर्ने, पैसा कसरी कमाउने भन्ने सोचका अतिरिक्त ज्ञान, योग, ध्यान, चेतना र मानवताको अस्तित्वमा गहिरो अनुसन्धान गर्ने फुर्सदै भएन ।

अन्ततोगत्वा हरेक मानवले एक न एक दिन यो संसारलाई यत्तिकै छोडेर जान पर्छ । यो संसारमा अजम्बरी कोही पनि छैन । यो संसारलाई  कसैले मुठीमा कैद गरेर राख्न सक्दैन । हजारौं हजार वर्षदेखि  इतिहास साक्षी छ कि यो संसारलाई साम, दाम, दण्ड र भेदले मुठीमा बन्द गर्छु भन्ने पद, पैसा, पावर र बलको शंखघोष गर्नेहरू अन्त्यमा प्राण छोड्ने बेलामा आफ्नो मुठी खोलेर परलोक गएका छन् ।

जीवन र जगत्को वास्तविक उपभोग गर्दै आनन्द कसरी लिने र जीवनको रहस्य के हो भन्ने कुरा जान्नु आवश्यक भइसक्यो । इतिहासमा जुनजुन मानवले मुठी बाँध्ने प्रयत्न गर्‍यो, उसले अन्त्यमा मुठी बाँधेको बाँध्यै भयो । तर एउटा स्वतन्त्र तथा आध्यात्मिक व्यक्तिले जस्तै बुद्ध भगवान्, माता सीता, पाणिनि, व्यास, राजा जनक, भगवान् राम र कृष्ण, महात्मा गान्धी, नेल्सन मण्डेलाजस्ता व्यक्तित्वले यो संसारलाई राम्रोसँग जानेर स्वयं आफ्नो इन्द्रियलाई वशमा राखी जीवन जितेर गए । त्यसैले त हामी हरेक पटक उनीहरूकै उदाहरण दिन्छौं । उनीहरूले यो संसारलाई चिनेर विवेकको सही पहिचान गरेर आफ्नो इज्जत प्रतिष्ठा कायम गरिरहे । त्यसको विपरीत हरेक कुरामा मुठी कस्नेहरू संसारमा त रहे । तर संसारको भएर सर्वत्र भएर रहन सकेनन् ।

संसारको कुनै पनि प्राकृतिक वस्तु हाम्रो आनन्दको आधार आफैं हुँदैन । प्राकृतिक वस्तुलाई आनन्दमय बनाउन आफैं एक पटक प्रकृति भएर हेर्नुपर्छ । संसारका सम्पूर्ण निर्जीव वस्तुलाई सजीव बनाएर आत्मसात् गर्न सक्नुपर्छ अनि मात्र प्रकृतिका हरेक तह र तप्कासँग आनन्दानुभूति हुन थाल्छ । यसरी नै हरेक परिस्थितिसँग हामी जीवनलाई एउटा मनोरम खेल जस्तै हाँस्दै खेल्दै जीवन बितेको पत्तै हुँदैन ।

यस्तो जीवन न कसैको छली जुवाजस्तै जित हुन्छ, न शकुनिको पासाजस्तै विषाक्त हुन पुग्छ । जीवन कृष्णको लीलाजस्तै संसार एउटा लीला जसरी हरेक साँझ, हरेक बिहान, सपनाजस्तै रमाइलो खेल हेरेर बितिहाल्छ । जीवन एउटा नाटकको कलाकारले जस्तै हामी अफ्नो भूमिका निर्वहन गरेर हाँस्दै, मुस्कुराउँदै इहलीला समाप्त गर्दछौं ।

वास्तवमा अध्यात्मले एकछिनका लागि भने पनि यो संसारबाट यथार्थको दुनियाँ देखाउने प्रयत्न गर्छ र हाम्रो मनस्थितिमा धेरै ठूलो परिवर्तनको आँधी–हुरी ल्याइदिन्छ । यो व्यस्त संसारको सबैभन्दा छोटो रूप शरीर नै हो । तर यो हाम्रा लागि सर्वशक्तिमान् हो । जुन क्षण हामी शान्त, अस्थिर र एकान्त मुद्रामा पलेँटी कसेर ध्यानमा बस्छौं, त्यतिबेला हाम्रोभित्रको आत्मा हामीसँग उपस्थित हुन्छ, ठीक त्यसैबेला हामी संसारमा रहेर पनि संसारमा हुन्नौं । हामी आफ्नो हदबाट बेहदमा पुग्न थाल्छौं ।

वास्तवमा यो नै हाम्रो अद्वितीय क्षण हो । यो क्षण हाम्रो आत्मसाक्षात्कारको स्वर्णिम बिहानीको सूर्यको किरणको उषा कालजस्तै मनोरम पल हो । यो यस्तो पल हो, जुन पल आफूभित्रको सूक्ष्म किरणहरूको रङ गन्ने प्रयत्न मात्र पनि हाम्रा लागि ज्ञानको मार्ग हुन सक्छ । जसलाई हाम्रो आँखाले देख्न सक्दैन, कानले सुन्न सक्दैन, ज्ञानले पढ्न सक्दैन, इन्द्रियको वशभन्दा पर धेरै परको कुरा हो । केवल महसुस गर्न सकिने अदृश्य शक्ति । यस्तो शक्तिको उपस्थिति यो संसारमा रहेर पनि ईश्वरसँग प्रश्न गर्ने सामथ्र्य राख्ने एउटा अद्भुत शक्तिको पल हो ।

यस्तो शक्तिलाई कुनै पनि देश, काल, परिस्थिति, वायु, आकाश, जल, थल, शासन–प्रशासन, कानुनले जान्न, सुन्न र बुझ्नै सक्दैन । मौन बस्नु पनि एउटा साधना हो । मौनले संगीत फुटाउँछ, मौनले साहित्य फुराउँछ, मौनले एउटा अदृश्य शक्ति दिन्छ । हामी यो संसारमा हुँदा प्राप्त हुने अद्भुत अनुभव साधना पनि मौनबाटै प्राप्त हुन्छ । मौनताको आवाज सबैभन्दा शक्तिशाली हुन्छ ।  भगवान बुद्धले ज्ञान यसरी नै प्राप्त गर्नुभयो ।

संसार यस्ता ज्ञानी र तपस्वीहरूको रहस्यले भरिएको छ । संसारभरि रहने प्राणी, वनस्पति, समाज, राज्य, प्रकृति र वातावरणलाई आत्मसात् गर्दा बुद्धत्व प्राप्त हुन्छ । सिमोन द बोउबारले बाबा आमा घरपरिवारबाट बाहिर सडकमा निस्केर रिसर्च गरिन्, कतिको भनाइ खाइन्, बाबाआमाको कुरा मानिनन् । तब एउटा संसारले पत्याउने ‘द सेकेन्ड सेक्स’ भन्ने पुस्तक लेखिन् । त्यस्तै तसलिमा नसरिन ‘लज्जा’ लेख्दा देशनिकाला भइन् । फाँसीको सजाय सुनाइयो । यिनका सत्कार्यले  आजसम्म जीवित छन्, स्मरणीय छन् ।

अन्त्यमा, जीवनमा सर्वत्र रहनसहित अर्थात् सबैको मनमा रहन आफ्नो मनलाई दृढ र निष्ठासँग सरल जीवन रहस्यको लालसा प्राप्त गर्नु नै मनुष्यको सच्चा भाव हो । अध्यात्म ज्ञान सम्पूर्ण प्राणीप्रति सद्भाव राख्दै पृथ्वी सबै प्राणीको घर हो र सम्पूर्ण सजीव तथा निर्जीव प्राणी सिंगो परिवार हो भन्ने भावना र  निष्ठा राख्दै संसारमा सबैसँग मिलेर रहनु जीवन साहित हुनु हो भने लेख्नु साहित्य हो ! अध्यात्म हो ! जीवन हो र यो नै आजको हरेक मानवको आवश्यकता हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.