पर्व

मौलिकता गुमाउँदै मौलिक तिज

मौलिकता गुमाउँदै मौलिक तिज
सुन्नुहोस्

नेपालको सामाजिक,सांस्कृतिक जीवनमा तिज महत्वपूर्ण पर्वका रूपमा स्थापित छ । हरेक चाडपर्वले छुट्टाछुट्टै विशेषता बोकेर आएका हुन्छन् । चाडपर्वहरू मानव पुर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् । तिज नेपाली जनजीवनमा विशिष्ट मौलिकता बोकेको महत्वपूर्ण चाड हो ।

तिज कहिलेदेखि मान्न थालिएको हो भन्ने कुनै तथ्य प्रमाण नभए पनि यससँग धार्मिक, पौराणिक प्रसंग जोडिएका छन् । महिलाको चाड भनेर चिनिने तिजको रौनक अहिले झन् बढ्दै गएको छ । सहरदेखि गाउँसम्म, सडकदेखि सामाजिक सञ्जालसम्म तिज धुमधाम छाउने गर्छ । विशेषगरी साउन लागेपछि बजारमा राताम्य कपडाको चहलपहल, पूजा सामग्रीको खरिद, गीत–संगीतको माहोल र महिलाहरूमा देखापर्ने उमंगले तिज आगमनको संकेत गर्छ । तिज हिन्दु नारीको महान् चाड हो । हिन्दु नारीहरूले यस चाडलाई महत्वपूर्ण पर्वको रूपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरू तिजको निहुँले भए पनि माइत जाने र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान् शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तिज मनाउने परम्परा पुरानै हो ।

हरितालिका तिजको कथा भगवती पार्वतीसँग जोडिएको छ  । तिजमा भगवान् शिवको आराधना गर्नुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि मनाउँछन्  । हाम्रो वैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तिजको सम्बन्ध प्रकृतिसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामीप्यलाई यो चाडले आत्मसात् गरेको छ । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै दर्शनले ब्रह्मा मानेका छन् ।

आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो  । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । चेलीबेटीले गीतमार्फत आफ्ना बहहरू पोख्ने पर्व पनि हो तिज । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तिजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने परम्परागत चलन थियो । माइती आएर छोरीचेली माइतीको आँगनमा तिजका गीतमा छमछमी नाच्ने । दरखाने दिन घिउमा पकाएको परिकार बनाएर दरका रूपमा खाने । तिजका गीतहरूमार्फत नै पीडा, दुःख–दर्द, समाजका विसंगति र महिला अधिकारका आवाज समेटिन्थे ।

तर अहिले बिस्तारै चलन परिवर्तन हुँदै गएको छ । तिज दरका लागि माइतीहरू छोरीचेली लिन जाने चलन हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरीचेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । समाज बिस्तारै आधुनिकतातिर ढल्किदै छ । हिजोआज घिउमा पकाएको दरभन्दा माछा, मासुलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तिजको निराहार व्रत बस्ने चलन अहिले भने हराउँदै गएको छ । अहिले त एक महिनाअघिदेखि होटेल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसो गर्दा तिजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ ।

तिजमा मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने रमाइलो गर्ने नाच्ने गाउने चलन पुरानो नै हो । चेलीबेटीले गीतमार्फत आफ्ना बहहरू पोख्ने गर्थे । पहिलेका तिजका गीतमा दुःख वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दा भन्दै तिज गएको जस्ता कुराहरू मिसाएर गीतका शैली हालेर गाउने गर्थे । त्यो बेलाका गीतहरू धुरुधुरु रुने, रुवाउने शैलीमा गाइएका हुन्थे । अहिले आएर गीतलाई नयाँ ढंगबाट तिजका गीतहरू बजारमा ल्याइएको छ । तिज भन्नेबित्तिक्कै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा बिस्तारै हराउँदै गएको देख्न सकिन्छ । अहिले तिज गीतहरू बढी ‘मनोरञ्जनात्मक स्वरूपमा मात्र केन्द्रित छन् । गीतमा भड्किला भिडियो र अश्लीलतासम्म मिसिएको पाइन्छ । मौलिक धुन, भाका र सामाजिक सन्देश हराउँदै गएका छन् ।

तिज हिन्दु नारीले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड उच्छृंखलता र अश्लीलता भरिएका शब्द तथा भिडियो सार्वजनिक गर्दै डिजिटल प्लाटफर्ममा भ्युज बटुल्ने होडबाजीले मौलिक गीतहरू लोप भइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.