नेपालको सामाजिक,सांस्कृतिक जीवनमा तिज महत्वपूर्ण पर्वका रूपमा स्थापित छ । हरेक चाडपर्वले छुट्टाछुट्टै विशेषता बोकेर आएका हुन्छन् । चाडपर्वहरू मानव पुर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् । तिज नेपाली जनजीवनमा विशिष्ट मौलिकता बोकेको महत्वपूर्ण चाड हो ।
तिज कहिलेदेखि मान्न थालिएको हो भन्ने कुनै तथ्य प्रमाण नभए पनि यससँग धार्मिक, पौराणिक प्रसंग जोडिएका छन् । महिलाको चाड भनेर चिनिने तिजको रौनक अहिले झन् बढ्दै गएको छ । सहरदेखि गाउँसम्म, सडकदेखि सामाजिक सञ्जालसम्म तिज धुमधाम छाउने गर्छ । विशेषगरी साउन लागेपछि बजारमा राताम्य कपडाको चहलपहल, पूजा सामग्रीको खरिद, गीत–संगीतको माहोल र महिलाहरूमा देखापर्ने उमंगले तिज आगमनको संकेत गर्छ । तिज हिन्दु नारीको महान् चाड हो । हिन्दु नारीहरूले यस चाडलाई महत्वपूर्ण पर्वको रूपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरू तिजको निहुँले भए पनि माइत जाने र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान् शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तिज मनाउने परम्परा पुरानै हो ।
हरितालिका तिजको कथा भगवती पार्वतीसँग जोडिएको छ । तिजमा भगवान् शिवको आराधना गर्नुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि मनाउँछन् । हाम्रो वैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तिजको सम्बन्ध प्रकृतिसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामीप्यलाई यो चाडले आत्मसात् गरेको छ । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै दर्शनले ब्रह्मा मानेका छन् ।
आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । चेलीबेटीले गीतमार्फत आफ्ना बहहरू पोख्ने पर्व पनि हो तिज । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तिजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने परम्परागत चलन थियो । माइती आएर छोरीचेली माइतीको आँगनमा तिजका गीतमा छमछमी नाच्ने । दरखाने दिन घिउमा पकाएको परिकार बनाएर दरका रूपमा खाने । तिजका गीतहरूमार्फत नै पीडा, दुःख–दर्द, समाजका विसंगति र महिला अधिकारका आवाज समेटिन्थे ।
तर अहिले बिस्तारै चलन परिवर्तन हुँदै गएको छ । तिज दरका लागि माइतीहरू छोरीचेली लिन जाने चलन हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरीचेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । समाज बिस्तारै आधुनिकतातिर ढल्किदै छ । हिजोआज घिउमा पकाएको दरभन्दा माछा, मासुलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तिजको निराहार व्रत बस्ने चलन अहिले भने हराउँदै गएको छ । अहिले त एक महिनाअघिदेखि होटेल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसो गर्दा तिजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ ।
तिजमा मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने रमाइलो गर्ने नाच्ने गाउने चलन पुरानो नै हो । चेलीबेटीले गीतमार्फत आफ्ना बहहरू पोख्ने गर्थे । पहिलेका तिजका गीतमा दुःख वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दा भन्दै तिज गएको जस्ता कुराहरू मिसाएर गीतका शैली हालेर गाउने गर्थे । त्यो बेलाका गीतहरू धुरुधुरु रुने, रुवाउने शैलीमा गाइएका हुन्थे । अहिले आएर गीतलाई नयाँ ढंगबाट तिजका गीतहरू बजारमा ल्याइएको छ । तिज भन्नेबित्तिक्कै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा बिस्तारै हराउँदै गएको देख्न सकिन्छ । अहिले तिज गीतहरू बढी ‘मनोरञ्जनात्मक स्वरूपमा मात्र केन्द्रित छन् । गीतमा भड्किला भिडियो र अश्लीलतासम्म मिसिएको पाइन्छ । मौलिक धुन, भाका र सामाजिक सन्देश हराउँदै गएका छन् ।
तिज हिन्दु नारीले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड उच्छृंखलता र अश्लीलता भरिएका शब्द तथा भिडियो सार्वजनिक गर्दै डिजिटल प्लाटफर्ममा भ्युज बटुल्ने होडबाजीले मौलिक गीतहरू लोप भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !