सेतो सुनाखरी—
रुखको टुप्पामा, कापमा, हाँगाहरूमा
परपर पाखा भित्ताहरूमा, भिरमा
किन प्रायः
अप्ठ्यारा ठाउँहरूमा ?
सेतो सुनाखरी—
भन्छन्, ‘परजीवी’ फूल होस् तर
होइन ! माटोमा उम्रिएको—
रुखमा उम्रिएको फूल हो,
धराभित्रबाट
उछिट्टिँदै आएको चट्टाने भिरमाथि
उम्रिएको फूल हो,
बिना बनावट— आफैं सजिएको
शान्त— क्लान्त फूल हो
अस्तित्वको प्रश्नमा झुन्डिएको,
जो फुल्न दिए फुल्छ
रुखले, पाखाभित्ताले, भिरले,
बाँदर जस्तै मान्छेले
तर लामो पर्खाइपछि,
सेतो सुनाखरी,
नयाँ वर्षको रौनक,
नयाँ संकल्पको टुसा,
नयाँ आशाको उडान,
झरिजान्छ कत्ति छिटो !
मरिजान्छ कत्ति छिटो !
-हरिश अधिकारी
प्रतिक्रिया दिनुहोस !