कमाने श्रमिकहरूको क्रन्दन

समीक्षा

कमाने श्रमिकहरूको क्रन्दन

वस्तुपरक र यथार्थलाई टेकेर लेखिएको उपन्यासभित्र श्रमिकहरूको दुःख र पीडा, राजनीति चलखेल, आदिवासीको हक अधिकार, संस्कार र संस्कृति, मौलिक कथाहरू, ऐतिहासिक कथनदेखि रैथाने थातथलोसम्मको प्रस्तुतिले उपन्यास शक्तिशाली बनेको छ।

दुःख, पीडा र अभावको रङ कस्तो हुन्छ ? थाहा भए त अनेक रङ घोलेर इन्द्रेणीजस्तै साझा बनाउनुहुन्थ्यो। तर बर्सांैदेखि पुस्तान्तरण हुँदै आएको दुःखमाथि फेरि दुःख र पिर खप्टिँदै चियाको बुट्टामा भुन्डिरहेछ, एउटा जीवन। न त तल खस्छ, न त माथि नै जान सक्छ। र पनि साइरनको आवाजले झक्झकाउँदै बाँच्न सिकाउँछ। त्यै आशाको त्यान्द्रोमा अड्किएको घिटघिटोलाई साहित्यले उद्घार गरेर एउटा आख्यान जन्माएको छ। पहिला पनि कथा संग्रह १९८६ र फातसुङ उपन्यास लेखेर नेपाली साहित्य जगत्लाई ठूलो गुण लगाउनु भएका साहित्यकार छुदेन काविमोको मदन पुरस्कार विजेता उपन्यास ‘उरमाल’ नवीन कृति हो।

चिया कमानमा बज्ने साइरन मजदुरहरूको धड्कन हो, जो चलेन भने जीवन ठप्प हुन्छ। त्यसैले त्यो चर्को आवाजमा श्रमिकहरूको दैनिकी जोडिएको छ। बिहान उठ्नलाई न घडी चाहिन्छ न त भाले नै बास्नुपर्छ। साइरनको झङ्कारसँगै पुस्तौंदेखि एउटै नियममा बाँचिरहेछ, कमानेको हरियो जिन्दगी। एउटा श्रमिकले मालिकको कमान घाटामा नजाओस् र चिया पत्ती टिप्ने काम बन्द नहोस् भनी सोचिरहनुमा रोजीरोटी जोडिएको छ। सोमारी कमानमा पत्ती टिप्छ भने श्रीमान् बुधुवा खोलामा ढुंगा लोड अनलोड गर्ने मजदुरको रूपमा चित्रण गरिएको छ।

सोमारीलाई विवाह गर्नुअघि बुधुवाको एकतर्फी मायालाई लेखकले मिठो शैलीमा उतारेको पाइन्छ। उनलाई मनैदेखि चाहे पनि भन्न नसकेर छट्पटिन्छ। अन्त्यमा अरूको माध्यमबाट घरैमा पुग्छ र सोमारीको बावुले काम लगाएर परीक्षण गर्छ। बुधुवाले अत्याधिक काम गरेर आफू सफल भएको छोटो र रोचक प्रेम कहानी त्यहीँ टुंगिन्छ भने पाठकलाई जिज्ञासु बनाउँछ। उनीहरूबाट छोरी ऐतमरीको जन्म भएपछि त्यो परिवारमा उज्यालो छाउँछ, तर कमानको दुःख, पसिना आफ्नै काँधमा झुन्डिरहन्छ। सोमारीको नजिकको साथी, दिदी जे भने पनि सकिलासँग सरसल्लाह गरिरहन्छ। सोमारी र सकिलाले सन्तानलाई पत्ती टिपेको होइन, डटपेन चलाएको हेर्न चाहन्छ। 

नारीहरूको चेतनास्तरलाई उठाउन र कमानको पिँजडाबाट मुक्ति दिलाउन सकिलाको चरित्रले मजदुरहरूको सेवा सुविधा र हक अधिकार बारे कुरा उठाउने गर्छ। ब्रिटिसले आदिवासीलाई सपना देखाउँथे भने नेपालीलाई ‘चियाको बुट्टामा सुन फल्छ’ भन्ने ऊ बेलाको वस्तुतथ्यतालाई उजागर गरेको छ। दिनभर चारो खोज्यो, बेलुकी गुँडमा फर्किने कमानेहरूको चरा जिन्दगीलाई उपन्यासकारले मिठोशैलीमा उनेको छ। चियाको बुट्टामा दिनचर्या बितिरहँदा सोमारीको हितैसी दैं पात्राको मृत्यु हुनुको कारण बलात्कार, हात्ती आतंक वा प्रेसरले। तर दिनदुःखीको बोलिदिने कोही नहुने आशय प्रकट गरिएको सन्देशले ठूलो महत्व राख्छ।

बिस्ने र माईको प्रेम विवाह होस् या कुनै संवादमा, या त व्यवहार र विवाहको प्रसंगमा नेपाली र आदिवासीबीच अन्तरद्वन्द्व गराउँदै लाँदा उत्कण्ठाको डोरी पनि तन्किँदै जान्छ। सकिलाको छोरी नुरसाङलाई थापा सरले सुनाएको कर्‍याङकुरुङको कथाले एउटी आमाको सन्देशलाई बोकेर अहिले पनि किसानहरूलाई खेती लाउने शकुन जुराएको मन छुने कथानक प्रस्तुतिभित्र मौलिक लोककथा भेटिन्छ। सोमारी दोजिया हुँदा पनि पत्ती नटिपी सुखै पाउँदैन। चियाको गाछीमा गाँस बटुलिरहेकै बेला व्याथाले च्याप्छ। गोदाम घरको गेट नपुग्दै छोरा जन्माएपछि सबै श्रमिक छक्क परे भने पाठकलाई पनि पढ्दापढ्दै सोच्न बाध्य बनाउँछ। नवजात शिशुलाई पोको पार्ने केही नभेटेपछि फ्याँकिराखेको पुरानो धोक्रो टिपेर टक्टकाउँदै मालती काकीले भनी, ‘यो सोमारीकै उरमाल हो, यसैमा नानी पोको पारे हुन्छ’ पृ. ९५।

सोमारीले कमानमा छोरा जन्माएकै दिनदेखि कमान पनि बन्द हुँदै गयो। मजदुरहरूको एउटै आशा र भरोसाको केन्द्र थियो कमानको फ्याक्ट्री। सबैले सोध्न थाले, कमान कहिले खुल्छ ? ‘भगवान् जानून्’ भन्दै खाली पेट लिएर आसैआसमा बाँच्नु परेको मार्मिक कथावस्तुभित्र गाँसबाससँगै सास जोडिएको छ। बन्द भएको कमानमा झार जंगल बढेर वन्यजन्तुले दुःख दिन थाल्छ। सोमारीको कल्कलाउँदो छोरा ऐतवालाई चितुवाले मारिदियो। त्यसपछिको कथागत विषयवस्तुले उपन्यासलाई सघन र पाठकलाई उत्सुकता जगाउँछ। काखको छोरा गुमाउनु अनि काम बन्द भएर रासन नपाउँदाको अवस्थामा सोमारीको घरभित्र भोका पेटहरू सल्बलाएको कथा–व्यथालाई कलात्मक ढंगले बुनिएको छ। त्यो लेखनकलाले गज्जबले छोयो र ती पात्रहरूलाई मात्र होइन, लेखकलाई पनि बेस्सरी सम्झें। 

बुधुवाजस्ता अरू कुल्ली मजदुरहरू प्रतिनिधि पात्र मात्र हुन्। राजनीति गर्नेहरूले कसरी प्रयोग गर्छ भन्ने दृष्टान्तलाई भोटको समयमा गरेको व्यवहारले देखाएको छ। यता कमानको कोठीमा बस्ने साहेबहरूले सानी कुमारीसँग गरेको यौन शोषणको पर्दाफास गरेको छ। सोमारी र बुधुवाको परिवारमा अनेक बज्रपात परिरहन्छ। छोरा ऐतवालाई चितुवाले मारेपछि क्षतिपूर्ति पाउने आशामा बिट, रेन्ज अफिस, फरेस्ट हुँदै विभागसम्म धाउन लगाइरहन्छ। कहिले फरेस्टको भन्ने त, कहिले चिया कम्पनीले जिम्मा लिने हो, भन्दै हैरान मात्र दिँदैन, भएभरको सबै सकेर झन् कंगाल हुन्छ– बुधुवाको परिवार।

कुनै उपाय नचलेपछि बुधुवा जुरेनसँग भुटान गएर दैनिक ज्याला गरी परिवारको सास बचाएको प्रसंगमा पहुँच नहुने गरिबहरूको यथार्थलाई चित्रित गरेको छ। शिवराजको असफल प्रेमको उदाहरणले पनि जीवनलाई सहज बनाउन सक्छ भन्ने शिवराजको विद्रोही चेतनालाई श्रमिकहरूको पक्षमा खन्याएर उपन्यासलाई झन् खँदिलो बनाएको छ। दलबहादुर सहयोगी र बोल्न सक्ने भएको कारण नेताको स्वभावमा बदलिँदै गएपछि भन्छ, ‘चिया बगानको मालिक भनेको साँप हो, जस्तो दूध दिए पनि टोक्छै, टोक्छ’ पृ. १८६।

कोठीमा बस्ने साहेबहरूले आफ्नै भूमिमा आफैंमाथि अधिकार जमाएर भोकभोकै राखेको विषयलाई उठाएको छ। आदिवासीले आफ्नो गाँस बास र अधिकार खोज्दा सबै समातिए, घिमिरे बडा जेल परेर फेरि निस्के। प्रतिवाद गर्दा छिरिङ वाङ्दीलाई समाउन खोजेको उदाहरणले बुधुवाको चेतनामा तरंग भरिँदै जान्छ। हराउँदै गएका बुधुवाको आशाहरू फेरि दलबहादुर, घिमिरे बडा र थापा सरलाई सम्झेर जीवित हुन्छ। समय र परिस्थितिले दलबहादुरलाई नेताको कित्तातिर उभ्याउँछ। विभिन्न पार्टी, संगठनहरू जुर्मराउन थालेपछि मेला जात्राको बहिष्कारदेखि गाडीको नं. डब्लुबीबाट जिएल राख्ने, भेट्दा जय गोर्खा भन्ने अभियानहरू चल्न थाल्यो। उता कमान सञ्चालक, केन्द्र, राजनीति पाटीका नेता र संगठनका प्रतिनिधिहरूले आदिवासी श्रमिक र सोझा युवाहरूलाई प्रयोग गरेर लुटिरहेको, सायद लेखकले देखेर बुझेको अनुभव होला।

उपन्यास ‘उरमाल’भित्र दार्जिलिङ, डुबर्स, सिक्किम र भुटानको सीमावर्ती क्षेत्रमा श्रमिकहरूले भोगेका कष्टकर जीवन मात्र छैनन्, नेपाली र आदिवासीबीच फाटो ल्याउने, जातजातिलाई विभाजित गर्ने र राजनीति दाउपेचलाई मजाले चित्रण गरिएको छ। करमको बोटको महिमा र भ्रम अनि धर्मेशले छोरा र छोरी बनाएको काल्पनिक कथादेखि आदिवासीलाई उचाल्ने, पछार्ने, कतै लोभ्याउने र घेराबन्दीमा पारिराख्ने यो उपन्यासको दरिलो पाटो हो। चियाको उत्पत्तिबारे छोटो उल्लेख भेटिन्छ भने बिस्नेको समूहले छत्तीस नम्बरको गोलाइमा पैसा लुटेको इतिहास पनि स्मरण गराउँछ।

आदिवासी गाउँमा तीन छोराहरू एउटै समयमा जन्मेपछि छोरालाई फरकफरक सोम्रा नाम दिएको ऐतिहासिक मिथकको उद्घाटन गरेको छ भने लालझमेला ठाउँ स्थापित हुन्छ। यस्ता ऐतिहासिक कथनहरूले ठाउँठाउँमा जोड्नु नै उपन्यासको सौन्दर्य हो। डुबर्स नामको उत्पत्ति र त्यो मुकाममा बस्ने भुइँमान्छेहरूको जनजीविकालाई जस्ताको तस्तै उतार्नु नै उपन्यासकार छुदेन काविमोको सुन्दर पक्ष हो।

बुधुवा र दलबहादुर, आदिवासी र नेपाली, पाटी र संगठन, श्रमिक र मालिक सबैलाई राजनीतिले विभाजित गराउँदै लान्छ। धनुकाँड सहितको जुलुस आएपछि दलबहादुरले त्यो विशाल जुलुसमा बुधुवा पनि भएको आशंका गर्छ। डुबर्समा बसोबास गर्ने आदिवासीको मुद्दालाई उठाएको छ भने त्यस क्षेत्रमा दिलमान थामीले राम्रै काम गरे पनि युरोपियनको झोले भएको कारण आन्दोलनले उसको घर ध्वास्त पारेको प्रसंगभित्र बाहिरी हस्तक्षेपलाई उदांगो पारेको छ। तीन वर्षपछि कमानमा काम खुले पनि बिरामी सकिला पत्ती टिप्नलाई जान सक्दैन।

हात मुख जोड्न अत्तिनै धौधौ पर्छ। छोरी नुरसाङले पढाइ छोडेर पत्ती टिप्न जाने निधो गर्दै गर्दा आमाले पढ्दै गरेको छोरीसँग गरेको हृदयविरादक संवादले कटक्क मन खान्छ। सकिलाले छोरीलाई कुनै पनि हालतमा पत्ती टिप्ने बनाउन चाहन्न, तर खाली पेटको सवाल छ, बिरामी आमालाई दबाई किन्नु छ। नुरसाङ भित्तामा झुन्डिरहेको पुरानो उरमाल बोकेर कमानतिर लाग्छ, पत्ती टिप्न। आमाको सपना कतै बिलाए, फेरि छोरीको जीवनमा साइरन बज्न थालेको कथानक शृंखलाले गरिबीको पराकाष्ठालाई छर्लंग उतारेको छ।

डा. इन्द्रबहादुर राईको झल्को दिने छुदेनको लेखनशैली सरल र सरस छ। वस्तुपरक र यथार्थलाई टेकेर लेखिएको उपन्यासभित्र श्रमिकहरूको दुःख र पीडा, राजनीति चलखेल, आदिवासीको हक अधिकार, संस्कार र संस्कृति, मौलिक कथाहरू, ऐतिहासिक कथनदेखि रैथाने थातथलोसम्मको प्रस्तुतिले उपन्यास शक्तिशाली बनेको छ। उपन्यासकारको मिहिन अध्ययन र खोजमूलक लेखनी, ‘उरमाल’को बलियो खाँबो हो। प्रतीक र विम्बहरूको प्रयोगले कथानक विषयवस्तुमा मिठास भरिएको छ भने गौण र सहायक पात्र–पात्राहरू धेरै छन्। आदि खण्डको कतिपय कथात्मक प्रसंगहरू अघिपछि भएर औपन्यासिक संरचनामा विचलन आउन खोजे पनि अन्तिम खण्डको विभिन्न प्रसंगले लयमा फर्काएको छ। भूमिपुत्र आदिवासी र कमानमा काम गर्ने श्रमिकहरूको बुलन्द आवाज हो ‘उरमाल’।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.