पापका कारण मन मैलिन्छ। त्यसबाट निवृत्ता हुन कर्मकाण्ड, उपासना र ज्ञानसाधनामा प्रवृत्ता हुनुपर्छ भन्ने वैदिक शास्त्रको उपदेश छ। जीवनको उमेर अवस्थाअनुसार मनका बारेमा एकपछि अर्को जिज्ञासा पैदा हुने रहेछ। यतिखेर मनमा उर्लिरहेको जिज्ञासा हो– मैलिएको मनलाई कसरी सफा गर्ने ? हुन त मनका बारेमा ज्ञानविज्ञानले प्रशस्त परिभाषा दिएका होलान्। अधिकतर सोधिने प्रश्नहरूको उत्तर पनि दिइएका होलान्। तिनलाई छिचोल्ने सामथ्र्य भएको भए सायद मनमा जिज्ञासा पैदा हुँदैनथियो होला।
मन र बुद्धिको पराक्रमबाट निसृत हुने सोचले नै जीवन कता सोझिएर हिँड्ने र कहाँ पुग्ने भन्ने निर्धारण हुन्छ। यही सोचलाई ‘भिजन’ भनिन्छ। यो दिमागको काम हो। सोचलाई मूर्तरूप दिन अठोट, संकल्प वा निर्णय चाहिन्छ। यो काम दिलले गर्दछ। यसलाई संक्षेपमा ‘डिसिजन’ भनिन्छ। त्यसपछि कार्यान्वयन प्रारम्भ हुन्छ। कार्यान्वयनको जिम्मा शरीरको हो। कार्यान्वयनलाई अथ्र्याउने शब्द ‘एक्सन’ हो। भिजन–डिसिजन–एक्सनको लय र तालबाट जीवन चल्ने गर्दछ।
मन मैलियो भने के होला ? मेरो बुझाइमा मन (माइन्ड) नै बुद्धि (इन्टलेक्ट) को घर हो। दूधमाथि तर लागेजस्तै बुद्धिमाथि विवेकको तह पनि हुन्छ। मन मैलो भयो भने बुद्धि प्रदूषित हुन्छ। विवेक ओझेल पर्छ। यसो हुँदा चिन्तन प्रणाली नकारात्मक हुन्छ। निराशा पैदा हुन्छ। निराशाले जीवनलाई अँध्यारोतर्फ धकेल्छ। निराशाको उग्ररूप चिन्ता हो। चिन्ता गर्नाले आयु क्षय हुन्छ। अत्यधिक चिन्ताले अन्त्यतर्फ दुरुत्साहन गर्छ।
अनुभवमा आधारित भएर भन्नुपर्दा जीवनका चार आयाम छन्। पहिलो सिक्ने (लर्निङ), दोस्रो प्रेम गर्ने (लभिङ), तेस्रो सेवा गर्ने (सर्भिङ) र चौथो कमाइ गर्ने (अर्निङ) हो। मानिस जन्मेपछि सबैभन्दा पहिला सिक्न थाल्छ। त्यसपछि माया गर्न थाल्छ। त्यसपछि सेवा गर्न थाल्छ। सेवाबाट कमाइ गर्छ।
यही ‘सिक्वेन्स’बाट जीवन चलेको हुन्छ।
जीवनको यो उमेरमा आइपुग्दा पनि सिक्न धेरै बाँकी भए जस्तो लाग्छ। त्यसैले ‘लाइफ इज लर्निङ’ भन्न अन्तःस्करणले घच्घच्याइरहन्छ। मानिस सामाजिक प्राणी भएर बाँच्न मायाप्रेम चाहिन्छ। त्यसकारण ‘लाइफ इज लभिङ’ हो। जीवन चलाउन समय, स्रोत, सीप र मिहिनेत सेवामा लगाउनु पर्दछ। अतः ‘लाइफ इज सर्भिङ’। यसरी मनको सोच, मुटुको छनोट र शरीरको कर्मबाट नगदी, जिन्सी, चल, अचल, इज्जत, प्रतिष्ठा जे प्राप्त हुन्छ, त्यसका आधारमा ‘लाइफ इज अर्निङ’ भन्न सकिन्छ।
यो सन्दर्भबाट पनि मनको भूमिका अग्रपंक्तिमा रहन्छ।
भगवान् विष्णुका चार हातमा रहेका शंख, चक्र, गदा, पद्मले जीवन सञ्चालनको चार महŒवपूर्ण पक्ष बताएका छन्। चक्र समयको प्रतीक हो। शंखले गति जनाउँछ। पद्मले चेतनाको अर्थ दिन्छ। र गदाले क्रियाको संकेत गर्दछ। यहाँ पनि चेतना (बुद्धि) महŒवपूर्ण स्तम्भको रूपमा देखा पर्छ। चेतनाको
बास मनमा हुने भएकाले फेरि पनि मनको लय र ताल समय, गति र क्रियासँग मिल्नुपर्छ भन्ने स्पष्ट हुन आउँछ।
समाजशास्त्रका पिता अगस्ट कोम्टेले नियन्त्रणका कारणले नै मानिस मनुष्य हुन्छ भनेका छन्। यसलाई कसरी बुझौं भने मनको चञ्चलता र ज्ञानेन्द्रिय (आँखा, जिब्रो, नाक, कान र छाला)को उक्साहटले रूप, रस, गन्ध, ध्वनि र स्पर्शको आश्वादनमा दौडने स्वभाव मानिस र पशुपन्छीमा समान हुन्छ। तर मानिसको हकमा मनुष्य बन्ने प्रक्रिया छ। पशुपन्छीमा त्यस प्रकारको रूपान्तरण सम्भव छैन।
मनको चञ्चलता र ज्ञानेन्द्रियको उक्साहटले कहाँ पुर्याउँछ भन्ने दृष्टान्त यहाँ जोड्न चाहन्छु। अग्नि ज्वालाको रूप देखेर मोहित हुने प्राणी पुतली हो। पुतलीले जहाँ अग्नि ज्वाला देख्छ, त्यहीं हाम फाल्छ। अग्निमा भष्म भएर उसको जीवन समाप्त हुन्छ। अतः पुतलीका लागि आँखा काल हो। माछाले सामुन्नेमा बस्तु देख्नेबित्तिकै उसको जिब्रो रसाइहाल्छ र झ्वाप्पै टोक्न पुग्छ। फलस्वरूप माछा बल्छीमा पर्छ। यसरी माछाका लागि जिब्रो काल हो। भँमरालाई गन्ध मन पर्छ। जताबाट गन्ध आयो उतै पुग्छ। यही कारण गुहुु वा गोबरमा डुबेर उसको जीवन सकिन्छ। अतः नाक भमराको काल हो।
मृगले जंगलमा जताबाट आवाज आयो, उतै पछ्याउने गर्दछ। सिकारीले मृग आकर्षित गर्न आवाज दिन्छन्। मृग आवाज पछ्याउँदै जान्छ र सिकारीको फन्दामा पर्छ। यसरी मृगका लागि कान काल हो। हात्ती अजंगको हुन्छ। तर यो प्राणी स्पर्शमा बसिभूत हुन्छ। त्यसैले माहुतेको अधिनमा पर्छ। अतः छाला हात्तीको कमजोरी हो। यी दृष्टान्तबाट के शिक्षा लिन सकिन्छ भने मनसँग एकएक ज्ञानेन्द्रीय सक्रिय हुँदा त त्यो हालत हुन्छ भने मानिस त पाँचैवटा ज्ञानेन्द्रीय सक्रिय हुने प्राणी हो। त्यसैले यिनको उक्साहटबाट मनलाई जोगाउनु पर्दछ। अर्थात्, मनउपर बुद्धि र विवेकको नियन्त्रण राख्नु पर्दछ। अन्यथा, मन प्रदूषित हुन्छ, बुद्धि भ्रष्ट हुन्छ।
- मन मैलियो भने के होला ? मेरो बुझाइमा मन (माइन्ड) नै बुद्धि (इन्टलेक्ट) को घर हो। दूधमाथि तर लागेजस्तै बुद्घिमाथि विवेकको तह पनि हुन्छ। मन मैलो भयो भने बुद्घि प्रदूषित हुन्छ। विवेक ओझेल पर्छ।
- मनको चञ्चलता र ज्ञानेन्द्रियको उक्साहटले कहाँ पुर्याउँछ भन्ने दृष्टान्त यहाँ जोड्न चाहन्छु। पुतलीले जहाँ अग्नि ज्वाला देख्छ, त्यहीं हाम फाल्छ। अतः पुतलीका लागि आँखा काल हो। सामुन्नेमा बस्तु देख्नेबित्तिकै जिब्रो रसाइहाल्ने माछा बल्छीमा पर्छ। भँमरा जताबाट गन्ध आयो उतै पुग्छ र गोबरमा डुबेर उसको जीवन सकिन्छ। अतः नाक भमराको काल हो।
पूर्वीय दर्शनले जीवनलाई धर्म, अर्थ, काम र मोक्षको मार्गमा हिँडाउन उपदेश दिएका छन्। धर्म र मोक्षको लक्ष्मण रेखाभित्र रहेर अर्थ र कामको लक्ष्य पूरा गर्ने पूर्वीय दर्शनको जीवन पथलाई अगस्ट कोम्टेले भनेको नियन्त्रणको औजारको रूपमा अथ्र्याउन सकिन्छ। त्यसैले, पूर्वीय दर्शनको उपदेश र पश्चिमा विद्वान्को परिभाषा समान निष्कर्ष अर्थात् मनको सकारात्मक नियन्त्रणमा अभिमुख छन् भन्न सकिन्छ।
मनको सकारात्मक नियन्त्रण हुँदा मात्र बुद्धिले सिर्जनशील काम गर्छ भन्नेमा माथिका सन्दर्भबाट स्पष्ट भइसकेको छ। धर्मशास्त्रले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यलार्ई छवटा महावैरी (महाशत्रु)को रूपमा औंल्याएका छन्। तिनलाई चिन्न र चिर्न सक्नुपर्छ। चिन्न नसक्दा नै हामी चिप्लने गर्दछौं। र, मन मैलने गर्दछ। उल्लेखित षड्वैरीको संगतमा पर्दा के नतिजा प्राप्त हुन्छ ? त्यसबारेमा पनि थोरै समीक्षा गरौं। पहिलो कामको कुरा गरौं। यसलाई कामवासना भन्दा आशय स्पष्ट हुन्छ। कलियुगमा धन आर्जन र कामसुखकै पछाडि दुनियाँ दौडने शास्त्रहरूले पूर्वानुमान गरेका छन्। रंगढंग पनि त्यस्तै खालको प्रतीत हुन्छ। अत्यधिक कामवासनाले धर्मको सीमा नाध्न उद्यत् बनाउँछ। ओज र तेज नष्ट हुन्छ। दोस्रो, क्रोध (रिस) हो। क्रोध पैदा हुनासाथ बुद्धिले काम गर्न छोड्छ। बुद्धिको निष्क्रियता हुनु पतनको लक्षण हो। तेस्रो, लोभ हो। लोभले इमान खाइदिन्छ। इमान नभएको मानिस घुस्याहा हुन्छ। घुस्याहा मानिसले इन्साफ मार्दछ। समाजमा अन्याय फैलने कारण लोभी मानिसको बिगबिगीबाट हुन्छ।
चौथो, मोह हो। कुनै चिजप्रति आशक्ति बढ्नु मोहको लक्षण हो। आशक्तिले मनलाई गलत मार्गतर्फ अभिमुख गराउँछ। गर्न नहुने काम गर्न अग्रसर बनाउँछ। पाँचौं, वैरी मद हो। मदको अर्थ हो, अहंकार वा घमण्ड। अहंकारले क्लेस पैदा गर्दछ। घमण्ड गर्नाले रावणको जस्तै गति हुन्छ। छैठौं हो, मात्सर्य। मात्सयको अर्थ हो, ईष्र्या। ईष्र्याले मर्यादा उल्लंघन गर्छ। सम्बन्ध विषाक्त बनाउँछ। नकारात्मक भाव पैदा गर्छ। यी ६ प्रकारका दुर्गुण व्यष्ठित भएका मानिसको चरित्र खत्तम हुन्छ। मति र गति पनि नरकगामी हुन्छ।
अब लागौं, मनको स्नानतर्फ। स्नानबाट मनलाई निर्मल बनाउने कुरामा पूर्वीय दर्शनले विभिन्न उपाय सुझाएका छन्। कर्ममा त्रुटि, मनको चञ्चलता र अज्ञानताबाट पाप सञ्चित हुन्छ। त्यही पापका कारण मन मैलिन्छ। त्यसबाट निवृत्त हुन कर्मकाण्ड, उपासना र ज्ञानसाधनामा प्रवृत्त हुनुपर्छ भन्ने वैदिक शास्त्रको उपदेश छ।
योग बासिष्टमा एक सान्दर्भिक संस्कृत श्लोक छ, जो यस प्रकार छ– ‘सन्तोषः परमो लाभः सत्संगः परमं धनम्। विचारः परमं ज्ञानं शमस्च परमं सुखम्।’ अर्थ– सन्तोषबाट सर्वोच्च लाभ, सत्संगबाट सर्वाधिक धन, विचारबाट गहिरो ज्ञान र शमबाट परम सुख प्राप्त हुन्छ। यहाँ शम भन्नाले अहंकार आदिलाई शमन अर्थात् शान्त राख्ने भनिएको हो। यो मार्गदर्शन सरल र व्यावहारिक देखिन्छ। वास्तवमा सन्तोष स्वभाव, नियमित सत्संग, विचारशील दैनिकी र मनको चञ्चलता तथा अहंकारलाई शान्त (शमन) गर्ने अभ्यासबाट मनको स्नान हुन्छ।
यसैगरी, लोकमा प्रचलित विश्वासले पनि मनको स्नान गराउँदछन्। जस्तो ऐन कानुनले झुटो बोल्न दिँदैन, ज्ञान र सीपले भयभीत हुन दिँदैन, आध्यात्मले लोभ गर्न दिँदैन, सत्यले कमजोर हुन दिँदैन, प्रेमले ईष्र्या गर्न दिँदैन, विश्वासले दुःखी हुन दिँदैन, कर्मले असफल हुन दिँदैन। यस्ता लोकनीतिउपर विश्वास गर्नाले पनि मनको मैलो पखाल्न सहयोग पुग्छ।
मनको स्नान उपरका उल्लेखित विचार प्रसंगहरू जन्मदिनका अवसरमा मनको शुद्धीकरण गर्ने हेतुले स्मरण गरिएका हुन्। यो सन्दर्भ एउटा संयोगसँग जोडिएको छ। भदौ २१ गते पंक्तिकारको जन्म दिन। यस दिनमा धर्ती देखाउने आमाप्रति धन्य छु। चरणबन्दना गर्छु। जीवनको बाटो देखाउने ‘बा’प्रति कृतज्ञ छु। उहाँ स्मृतिमा मात्र हुनुहुन्छ। श्रद्धासुमन अर्पण गर्दछु। विवाहित भएपछि श्रीमतीले पनि जन्मदिनलाई विशेष बनाउन भूमिका निभाउँछिन्। उनीप्रति स्नेहभाव प्रकट गर्दछु।
अहिले त साथमा छोराबुहारी र नातिनातिनी पनि छन्। उनीहरूले जन्मदिनलाई उत्सवमय बनाइदिन्छन्। आज त्यही उमंग, उत्साह र रोमाञ्चको भावमा मग्न छु। मान्यजन तथा आत्मीयहरूका शुभआशीर्वाद तथा शुभकामनाले पनि पुलकित भइरहन्छु। यति मात्रले पनि मनको स्नान भएर शान्त, सन्तुष्ट र खुसीको दिव्यानुभूति भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !