बर्दी र बेल्ट : एक जीवन, अनेक रंग

बर्दी र बेल्ट : एक जीवन, अनेक रंग

पाल्पाको तानसेन । तानसेनको तेलघा गाउँ । हरियाली पाखा, मगमगाउँदो खेतबारी । बिहान–बेलुकी घण्टाघरबाट सुनिने घण्टीको आवाज । यही गाउँको सामान्य घरमा जन्मिएका थिए, खेमबहादुर क्षेत्री । उनका बुवा धनबहादुर क्षेत्री र आमा हुमीदेवी सामान्य किसान थिए । परिवार धनी थिएन, तर सपना धनी थियो ।

‘सानैदेखि मलाई पढाइमा त मन लाग्थ्यो, तर गीत–संगीत र खेलतिर अचम्मै तानिन्थें,’ क्षेत्री अहिले ती दिन सम्झँदै भन्छन् । गाउँमा खेल्ने मैदान खासै थिएन । अझ मार्सल आर्टमा खुलेर अभ्यास गर्नै नपाइने समय थियो । समाजले त्यसलाई कठोर, खतरनाक र अनावश्यक बुझ्थ्यो । तर कलिलो उमेरमै, सात–आठ वर्षको हुँदा, पाल्पामै गुरु निर्जय श्रेष्ठसँग उनले क्यु कोसिन कराते सिक्न थाले ।

लात हान्दा घुँडामा नीलडाम लाग्थ्यो, हात उठाउँदा काँध दुख्थ्यो, तर बालक खेमबहादुरको आत्मबल अडिग थियो । भन्छन्, ‘मलाई लाग्थ्यो, शरीर दुखे पो आत्मा बलियो हुन्छ । करातेका पहिलो चालहरूले मलाई आत्मविश्वास सिकाए ।’ 

उसु हुँदै तेक्वान्दोतर्फ
उच्च शिक्षा पढ्न उनी पोखरा पुगे । त्यहाँ उनले उसु खेलमार्फत आफ्नो अभ्यासलाई निरन्तरता दिए । तर उनको आत्माले अझ ठूलो, अझ अनुशासित र अझै विश्वव्यापी खेल खोज्दै थियो । त्यहीबेला काठमाडौं आएका उनले आईटीएफ तेक्वान्दोको पहिलो ब्याचमा भाग लिन पाए । नेपालमा यो खेल भर्खरभर्खर अभ्यास थालिएको समय थियो । उनी सेतो बेल्ट बाँधेर लाइनमा उभिए । 

‘तेक्वान्दो सुरु गर्दा मलाई लाग्यो– म फेरि नयाँ जन्मिएको छु । यो खेलमा अनुशासन, जीवन दर्शन र आत्मबलको अनौठो संयोजन छ,’ उनी भन्छन् । त्यस समयका प्रशिक्षक राजकुमार थापा र किसान बलालको छत्रछाया पाउनु उनको जीवनको अर्को मोड थियो ।

एक दुर्लभ अवसर
सन् २०००, काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । तेक्वान्दोका जन्मदाता जनरल चोई हङ ही स्वयं नेपाल आएका थिए । तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय सेमिनारमा खेमबहादुर पनि सहभागी भए । ८१ वर्ष उमेर नाघेका जनरलसँग प्रत्यक्ष प्रशिक्षण पाउनु क्षेत्रीका लागि जीवनकै अनुपम क्षण थियो ।

‘मैले उनलाई देख्दा लाग्यो– यो खेलमात्र होइन, यो त जीवन जिउने कला हो,’ क्षेत्री भावुक हुँदै सम्झन्छन् । दुई वर्षपछि जनरलको निधन भयो । त्यसैले त्यो भेट नै अन्तिम सावित भयो । तर क्षेत्रीको जीवनभरको प्रेरणा बनेर त्यो क्षण रहिरह्यो । कलर बेल्टकै क्रममा, सन् २००० मा धापासीस्थित सहेनसा होटलमा आयोजित प्रथम राष्ट्रिय आईटीएफ प्रतियोगितामा उनले गोल्ड मेडल जिते । 

‘त्यो मेरा लागि संकेत थियो, जसले सावित गरेको थियो– म सही बाटोमा छु,’ उनले स्मरण गरे । पढाइसँगै उनले प्रशिक्षण पनि दिन थाले । लाजिम्पाटको अनुपम बोर्डिङ र कीर्तिपुरको राराहिल बोर्डिङ स्कुलमा उनले नि:शुल्क प्रशिक्षण दिए । दर्ता नै नभएको खेलमा तालिम दिनु जोखिमपूर्ण थियो । तर 
खेमबहादुर पछि हटेनन् ।

सैनिक जीवन र अनुशासनको संगम
२०५८ पुस २ गते । खेमबहादुर क्षेत्री नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टका रूपमा भर्ना भए । सैनिक जीवन अनुशासन, कठिन तालिम र राष्ट्रप्रतिको समर्पणले भरिएको थियो । तर जतिसुकै जिम्मेवारीले थिचे पनि उनले खेललाई त्यागेनन् ।

‘मलाई लाग्थ्यो– राष्ट्र रक्षा र आत्मरक्षा अलग कुरा होइनन् । दुवैको मूलजरो आत्मबल नै हो,’ उनी भन्छन् । सेनामा प्रवेश गरेपछि उनले क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं डान प्राप्त गरे । अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्री र कोचको भूमिकामा समेत सक्रिय भए । त्यसबेला सेनाभित्र तेक्वान्दो अभ्यास गरिन्थ्यो, तर औपचारिक रूपमा प्रवेश गरेको थिएन । खेमबहादुरले त्यसलाई सैनिक जीवनमै सुरु गर्ने साहसिक निर्णय गरे ।

केही वर्षपछि उनले एउटा कुरा प्रस्ट बुझ्दै गए– सेना जस्तै कठोर र अनुशासित संस्थामा पनि नयाँपन, रचनात्मकता र खेल–संस्कृति भिœयाउन सकिन्छ । तर त्यो सजिलो थिएन । त्यस बेला सेनामा वल्र्ड तेक्वान्दो फेडरेसन मोडलमा मात्रै तेक्वान्दो अभ्यास हुन्थ्यो । फेडरेसनलाई भने औपचारिक मान्यता थिएन । उनलाई लाग्थ्यो– आईटीएफमा रहेको अनुशासन, आत्मरक्षा र प्रतिस्पर्धात्मक शैली सैनिक जीवनसँग झन् नजिक छ ।

२०६४ सालमा उनले श्री सूर्यदल गण, सूर्यविनायक ब्यारेकमा सैनिकहरूलाई पहिलोपटक आईटीएफ तेक्वान्दो अभ्यास सुरु गराए । त्यसपछि अन्य पल्टनहरूमा पनि यो खेल विस्तार हुँदै गयो । अहिले त्रिभुवन आर्मी क्लबअन्तर्गत आईटीएफ टोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै निरन्तर स्वर्ण जितिरहेको छ ।

पहिलो स्वर्ण, पहिलो गर्व
नेपालमा आईटीएफ तेक्वान्दो सुरु गर्दा उनलाई धेरैले शंका गरे, ‘यो मोडल त हाम्रो सैनिक प्रणालीसँग मेल खाँदैन ।’ तर उनी डगमगाएनन् । सन् २०१८ मा काठमाडौंमा आयोजित छैटौँ आईटीएफ साउथ एसिएयन च्याम्पियनसिप उनका लागि निर्णायक सावित भयो । भेटरान क्याटेगोरीको फाइनल खेलमा उनले भारतलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।

‘स्वर्ण पदक पाउँदा म खुसीमात्र भइनँ, गर्वले आँखाभरि आँसु आयो । त्यो मेरो व्यक्तिगत उपलब्धि होइन, सैनिक जीवनमा आईटीएफ प्रवेश गराएको संघर्षको प्रतिफल थियो,’ उनी सम्झन्छन् । सेनाले सहभागिता जनाएका सातौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अन्य सबै राष्ट्रिय प्रतियोगितामा आईटीएफ टोली एकछत्र च्याम्पियन बन्न थाल्यो ।

त्रिभुवन आर्मी क्लबभित्र पनि उनले आईटीएफ मात्र होइन, अन्य खेलहरूको जिम्मेवारी लिए । नयाँ खेलाडी तयार गर्न, अनुशासन सिकाउन र मनोबल बढाउन उनी सधैं अगाडि रहे । र त उनी केवल खेलाडी भएनन् । प्रशिक्षक बने, निर्णायक पनि । अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा उनले सेनाभित्र र बाहिर हजारौं खेलाडीलाई प्रशिक्षण दिए । अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा उनले प्रतिस्पर्धामा न्यायपूर्ण भूमिका निर्वाह गरे । उनको विश्वास स्पष्ट छ, ‘खेलाडीलाई जिताउनु मात्र ठूलो कुरा होइन, न्यायसंगत वातावरण सिर्जना गर्नु अझ चुनौतीपूर्ण कुरा हो ।’ 

सातौं डानसम्मको यात्रा
तेक्वान्दोमा ह्वाइट बेल्टबाट सुरु गरेको यात्राले उनलाई सातौं डानसम्म पुर्‍याइसकेको छ । झन्डै तीन दशक लामो साधनापछि आज उनी नेपालका थोरै सातौं डानसम्म पुगेका खेलाडीमध्ये एक हुन् । तर उनको यात्रा त्यसमै रोकिएको छैन । ‘म अझै विद्यार्थी हुँ । तेक्वान्दोले मलाई प्रत्येक दिन नयाँ कुरा सिकाउँछ,’ उनी भन्छन् । अब उनको नजर इटालीमा केन्द्रित छ । यही अक्टोबर २ देखि १२ सम्म, इटालीमा २३औं आईटीएफ वल्र्ड च्याम्पियनसिप हुँदैछ । त्यहाँ उनी नेपालको झण्डा बोकेर भिड्ने तयारीमा छन् । ‘यो मेरो जीवनकै ठूलो परीक्षा हुनेछ । तीन दशक लामो साधना, अनुशासन र श्रमलाई म त्यहाँ देखाउन चाहन्छु । म केवल पदकका लागि होइन, नेपाललाई गौरव दिलाउन चाहन्छु,’, उनी दृढतापूर्वक भन्छन् ।

पढाइ : निरन्तरको यात्रा
झन्डै दुई दशक लामो सैनिक जीवनपछि खेमबहादुरले केही समयअघि स्वेच्छिक अवकाश लिए । अनुशासन, राष्ट्रप्रतिको समर्पण र सैनिक बर्दीको गौरव उनले गर्वका साथ बोके । तर, जीवनले उनलाई अर्को यात्रा दिन चाहिरहेको थियो– शिक्षा, समाजसेवा र मानव अधिकारको संसार ।

‘बर्दी फुकाले पनि अनुशासन मसँगै छ । सैनिक जीवनले दिएको शिक्षा अहिले पनि मेरो प्रत्येक कामको मेरुदण्ड बनेको छ,’ उनी भन्छन् । तेक्वान्दोका लागि निरन्तर अभ्यास जस्तै, शिक्षाप्रति उनको अभिरुचि कहिल्यै कम भएन । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र राजनीतिक शास्त्रमा मास्टर डिग्री गरे । पूर्वाञ्चल विश्वविद्यालयबाट मानव अधिकारमा अर्को मास्टर पूरा गरे । र अन्तत: संस्कृत विश्वविद्यालयबाट २०७९ मा मानव अधिकार विषयमै पीएचडी गरेर डक्टरको उपाधि पाए ।‘खेलले मलाई अनुशासन सिकायो, पढाइले विचार । जब दुवै मिल्छन्, जीवन अर्थपूर्ण हुँदो रहेछ’, उनी मुस्कुराउँदै भन्छन् । अहिले उनी कानुनी पेसामा सक्रिय छन् । मानव अधिकारसँग सम्बन्धित मुद्दामा वकालत गर्छन् । लेख लेख्छन् । र, मिडियामा आफ्ना विचार राख्छन् ।

फिटनेसको फरक संसार
खेल र स्वास्थ्यप्रति उनको मोह सेनाबाहिर आएपछि झन् गहिरियो । काठमाडौंको वाल्मीकि विद्यापीठमा उनले योग तथा प्राकृतिक चिकित्सा विषयमा प्रोफिसिएन्सी सर्टिफिकेट तह बराबरको शिक्षा पाए । त्यसपछि योग र प्राकृतिक साधनामा संलग्न हुँदै अनेक मानिसलाई अभ्यास गराउन थाले । यही क्रममा उनले इन्टरनेसनल सर्टिफाइड फिटनेस ट्रेनरको तालिम पार गरे । ‘आज म यो प्रमाणपत्र लिएर अन्तर्राष्ट्रिय स्तरमा पनि फिटनेस अभ्यास सिकाउन सक्ने बनेको छु । यो मेरालागि गर्वको कुरा हो,’ उनी भन्छन् ।

गीत–संगीत : अर्को खुबी
खेमबहादुर खेलाडीमात्र होइनन्, कलाकार पनि हुन् । बाल्यकालदेखि नै विद्यालय–कलेजमा हुने संगीत प्रतियोगितामा सहभागी हुन्थे । मादल, हार्मोनियम, बाँसुरी र सारंगी बजाउन उनी माहिर छन् । २०६० सालमा उनले पहिलोपटक आफैंले गाएको गीत म्युजिक नेपालमार्फत रेकर्ड गराए । त्यस गीतमा राजेश थापाको संगीत थियो । उनले संगीतकार सुरेश गैरेको पहिलो एल्बममा पनि आफ्नै संगीत दिन पाए । पछि, गीतकार दिनेश थपलियाको शब्द र विशाल निरौलाको संगीतमा, गायिका अञ्जु पन्तसँग गाएको गीत २०८१ सालमा सार्वजनिक भयो । हालसालै छायांकन भइरहेको चलचित्र ‘परी’ को टाइटल गीतमा उनले रचना रिमालसँग स्वर दिएका छन् । उनको कथा अनुशासन, आत्मबल र निरन्तर साधनाको कथा हो । आज उनी गर्वसाथ भन्छन्, ‘तेक्वान्दो मेरो जीवनको मेरुदण्ड हो । यसले मलाई मात्र होइन, मेरो राष्ट्रलाई पनि आत्मबल दिएको छ ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.