देश अब कता ?

देश अब कता ?
सुन्नुहोस्

देशको धरातल आज आँसु र रगतले भिजेको छ । देश संकटको चपेटामा छ । जनताले शान्तिपूर्ण रूपमा उठाएको आवाजलाई दबाउन राज्यले गोली चलायो, अनि त्यो गोली कलिला छातीमा घुसेर धेरै विद्यार्थीहरूको ज्यान लियो । आमाको काख रित्तियो, बुबाको काँध भारी बनायो, युवा पुस्ताको सपना अधुरै टुटायो । भोलिको भविष्य बोकेर हिँडिरहेका तिनै जेन–जीहरूको बलिदानसँगै, राष्ट्र एउटा ठूलो प्रश्नमाथि आइपुगेको छ । युवाले उठाएको विद्रोहले मुलुकलाई एकातिर आँसु र रगतले भिजाएको छ भने अर्कोतिर परिवर्तनप्रतिको आशा पनि जगाइदिएको छ ।

संसद् भवनदेखि सिंहदरबार र सर्वोच्च अदालतसम्म आगोले पोलिएका छन् । इतिहासका प्रतीकहरू खरानी भइरहेका छन् । तर, राजनीतिक नेतृत्व अझै पद र शक्तिको खेलमै रमाइरहेका छन् । संसद् विघटन गर्ने कि नगर्ने भन्ने विवाद, अन्तरिम सरकार कसले चलाउने भन्ने रस्साकस्सी, अनि प्रधानमन्त्री कसलाई बनाउने भन्ने चर्चाले मुलुकलाई अल्झाइरहेको छ । तर देशलाई अल्झाउने होइन, निकास दिने समय हो यो । नेपालको सामाजिक, सांस्कृतिक स्वाभिमान र अभिमान सकिएको छ । २३ गते सडकमा पोतिएका रगतले मुटु चँुडिएका प्रत्येक नेपालीको मनलाई २४ गते सिंहदरबारमा दन्केको आगाको फिलंगोले पोलेको छ ।

देशलाई अब युवा नेतृत्व चाहिन्छ । रगत बगाएर पनि जेन–जीले देखाएको जागरणले प्रमाणित गरेको छ, उनीहरू डराउँदैनन् । यही पुस्तालाई अब राज्य सञ्चालनको मूलधारमा ल्याउन सकिएन भने बलिदान व्यर्थ हुनेछ । भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता घोषणा गर्नैपर्छ । दशकांैदेखि जरा गाडेको भ्रष्टाचार नै असमानता, अन्याय र अस्थिरताको जरो हो । सम्पत्ति शुद्धीकरण, ठेक्कापट्टा, पद व्यापार, नातावाद–सबै विरुद्ध कठोर कदम चाल्न सक्ने संरचनाबिना परिवर्तन सम्भव छैन । जनताको आस्था पुनःस्थापना अनिवार्य छ । संसद् होस् वा अदालत, कार्यपालिका होस् वा राजनीतिक दल सबै संस्थामाथि जनताको विश्वास हराएको छ । यो विश्वास फिर्ता ल्याउन राजनीतिक सौदाबाजी होइन, पारदर्शिता र जवाफदेहिताको नयाँ संस्कार स्थापित गर्नुपर्छ । अब संविधानमा व्यापक पुनरावलोकन, युवा पुस्ताको प्रतिनिधित्व, र स्थानीय आत्मनिर्भरता बलियो बनाउने खाकाले मात्र भविष्य सुरक्षित गर्न सक्छ ।

युवाहरूको बलिदानले एउटा स्पष्ट सन्देश दिएको छ— यो मुलुक अब पुरानै ढर्रामा चल्न सक्दैन । जनतालाई गोली हान्ने, आन्दोलनलाई दमन गर्ने, पद र स्वार्थका लागि संविधान र कानुनसँग खेलवाड गर्ने दिनको अन्त्य गर्नुपर्ने छ । अब देश कता जानुपर्छ ? संसद्, सिंहदरबार वा सर्वोच्च अदालत सबै संस्थामाथि जनताको विश्वास धराशायी भएको छ । देशका पुरातात्विक महत्वका संरचनाहरू जलेर खरानी हुनु केवल भौतिक क्षति मात्र होइन, विश्वास टुक्रिएको दर्पण हो । यो दर्पणलाई फेरि जोड्ने उपाय भनेको पारदर्शिता, जवाफदेहिता र राजनीतिक संस्कृतिको पुनर्जागरण हो । जनतामाथि गोली चलाउने राज्यलाई अब जनताले विश्वास गर्दैन । यो विश्वास फर्काउन नेतृत्वले आँसु पुछ्ने होइन, आफ्नै गल्ती स्वीकार गरेर नयाँ बाटो रोज्नुपर्ने हुन्छ ।

जेन–जीले उठाएको मागभन्दा फरक निर्णय गर्न थप समय र बहसका लागि अहिले समय छैन । तर जेन–जीहरू नै विवाद गर्न लागेपछि देश कठिन मोडमा छ । अहिलेको संसद् र राजनीतिक दलहरूले आफ्नो वैधता गुमाएको देखिन्छ । केही दलका सांसदहरूले राजीनामा समेत गरिसकेको अवस्था छ । दुई ठूला लोकतान्त्रिक भनिएका दलको राजनीतिक परिधि र घेरा निक्कै साँघुरो छ । अस्तित्व संकटबाट बच्न यस विषयमा उनीहरू समेत खुला हुनुपर्ने देखिन्छ । यही कारण दुई ठूला दल र जनताबीच निकै दूरी बढेको थियो ।

जेन–जी पुस्तासँग पुराना दलहरू जोडिन सकेनन् । समाजमा रहेको विद्यमान उकुसमुकुसबारे राजनीतिक दलका युवा नेता, केही संसद्, मिडिया, नागरिक समाज लगायतले औपचारिक र अनौपचारिक फोरममा आवाज उठाएका थिए । दम्भी चरित्रका नेता केपी ओली र उनका सत्ता साझेदार शेरबहादुर देउवाले परिस्थितिको सही आँकलन गर्न नसक्दा उनीहरू आफैं र आफ्नो पार्टीलाई क्षणभरमै समाप्त गरिदियो । उनीहरूको राजनीति यात्रा नै विश्राम हुने गरी युवाहरूले विद्रोह गरे । देउवामाथि आक्रोशित भिडको स्थिति राजनीतिक हिसाबमा यो दुर्भाग्यपूर्ण अवस्था हो । 

जेन–जीको आन्दोलनले अहिलेका राजनीतिक दल र नेताको विकल्प खोजेको स्पष्ट देखिन्छ । दलहरूको निर्णय गर्ने ठाउँमा युवाको राजनीतिक सहभागिता नहुनुलगायत कारण युवा विद्रोहमा उत्रेको अनुमान लगाउन सकिन्छ । अब, दलहरूले नयाँ पुस्ता नसमेट्ने हो भने ती दलहरूलाई नै समाप्तिको बाटोमा पुर्‍याउने निश्चित भइसकेको छ । संविधानका नमिलेका बँुदाहरू परिमार्जन गरेर अगाडि बढ्नुपर्छ । पुराना पद र नेताहरूले सत्ता छाडेको ५ दिन नबित्दै फेरि सलबलाउनु परिवर्तनको संकेत होइन । जेन–जीसँगै कि त युवाहरूको नेतृत्वमा नयाँ दल बन्नुपर्छ वा पुराना दलहरू नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ । यो बाध्यात्मक अवस्था जेन–जीको आन्दोलनले स्थापित गरिदिएको छ । एजेन्डाका रूपमा केही महत्वपूर्ण विषयहरू उठान भएका छन् ।

निवर्तमान सरकार र संसद्ले आफ्नो वैधता गुमाइसकेका कारण नयाँ निर्वाचन हुनुपर्ने, देशभर ठूलो धनजन क्षति गराउन संलग्नहरूमाथि छानबिन गर्न समिति बनाउनुपर्ने, नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाइनुपर्ने लगायत धेरै विषय बहसमा छन् । जेन–जी आन्दोलनले निम्त्याएको भयंकर पीडा र पुरातात्विक विनाशसँगै एउटा सुनौलो राजनीतिक परिर्वतनको अवसर पनि दिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.