श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं (फोटो फिचर)
इजरायल : प्रवासमा रहेका प्राय नेपालीहरूको एउटै अनुभूति छ, देशबाट टाढा भए पनि परम्परा टाढा छैन। देशभित्र जेनजी आन्दोलनले अस्थिरता बढाएको छ, बाढीपहिरो र प्राकृतिक प्रकोपले जनधनको ठूलो क्षति पुर्याएरहेको छ। दुई वर्षदेखि इजरायलमा हमासको कब्जामा रहेका नेपाली युवा बिपिन जोशीको पीडाले सम्पूर्ण नेपाली हृदयलाई पोलिरहेको छ। तर, यी सबै वेदना र चिन्ताका बीच पनि इजरायलमा रहेका नेपालीहरूले आफ्नो महान पर्व दशैंलाई श्रद्धा, संस्कार र आत्मीयताका साथ मनाए।
देशमा बेचैनी र विदेशमा सम्झनाको बीचमा पनि दशैंले परदेशी नेपालीहरूलाई परिवार र आफ्नो माटोसँग फेरि जोडिदिएको छ। यहाँका नेपालीहरूले टीका जमरा लगाउँदै, मान्यजनको आशीर्वाद लिँदै, देश र परिवारको शान्ति र सुखको कामना गर्दै पर्व मनाए। केही घण्टाका लागि भए पनि उनीहरूले घरदेशको दुःख भुलेर खुसी बाँडे, तर अनुहारमा हाँसो भए पनि मनभित्रको पीडा सबैमा साझा थियो।
दशैंले सधैंजस्तो यसपालि पनि सन्देश दियो, पर्व केवल रातो टीका र हरियो जमराको मात्र होइन। यो सम्बन्ध, माया र सहनशीलताको प्रतीक हो। यसले परिवारलाई एक बनाउँछ नै, टाढा रहेका साथीभाइबीच आत्मीयता र भाइचाराको बन्धन बलियो बनाउँछ। यही कारण इजरायलमा रहेका नेपालीहरूका सामूहिक भेटघाट र पारिवारिक टीका कार्यक्रममा आत्मीयता र आपसी माया झल्किएको थियो।
यहाँका सामाजिक संस्थाहरू झापाली समाज इजरायल लगायतका संघसंस्थाहरूले सामूहिक टीका कार्यक्रम र सांस्कृतिक भेटघाट आयोजना गरे। कतिपयले साथीलाई दाजुभाइ र दिदीबहिनीझैं मानेर टीका लगाए, परिकार बनाए, गीत गाउँदै, नाच्दै एकअर्कासँग देशको कुरा बाँडे, आत्मियता साटे, दुःख सुख पोखे।

यस वर्ष गैरआवासीय नेपाली संघ इजरायल र नेपाल राजदूतावास इजरायलले औपचारिक टीका-जमरा कार्यक्रम आयोजना नगरे पनि अनौपचारिकरूपमा इजरायलका लागि महामहिम राजदूत धनप्रसाद पण्डितको हातबाट केही नेपालीहरूले आशीर्वाद ग्रहण गर्न पुगेका थिए।
सबैको एउटै मनोकामना थियो भवानी दुर्गा माताले देशमा चाँडै शान्ति छरुन्, दुई वर्षबाट हमासको बन्धकमा रहेका नेपाली युवा बिपिन जोशीको चाँडै रिहाइ होस् र नेपालमा पुनः स्थायित्व र आशाको बिहान फर्कियोस्।

यसपटक दशैंको मुख्य दिन अर्थात् टीकाको दिन बिहीबार इजरायलको यम किपुर (शोक तथा आत्मशुद्धिको दिवस) परेको थियो। त्यस दिन यहाँका सबै बजार, यातायात र सार्वजनिक सेवा पूर्णरूपमा बन्द भएकाले होम केयरमा काम गर्ने नेपालीहरूले दशैंको मुख्य उत्सव टीकाको भोलिपल्ट अर्थात् शुक्रबार र शनिबार मनाए भने वृद्धा आश्रम एउटै कार्यक्षेत्रमा काम गर्ने नेपालीहरूले टीकाकै दिन दशैं मनाए। उनीहरूले आफ्ना साथीहरूबीच जमघट गर्दै, टीका लगाउँदै, देश र परिवारको सम्झनामा रमाइलो गरे।

पछिल्लो समय नेपाल सरकार र इजरायल सरकारबीच भएको जिटुजी, कृषि क्षेत्रमा पढाई र कार्य गर्न आउने सम्झौता बमोजिम नेपालीहरू आउने क्रम बढेसँगै इजरायलमा नेपालीहरूको यस खाले कार्यक्रम, पर्व अथवा अन्य विशेषा कार्यहरूमा उपस्थित बाक्लिन थालेको छ। हप्तौं र महिनौं कामको थकानका बीच हुने भेला र भेटघाटले परिवार साथमा नहुँदाको पीडासँगै कामको थकान मेटाउने मनोवैज्ञानिक असरबाट मुक्त हुन सहयोग गर्छ। इजरायलमा नेपाली र नेपालीभाषीहरू लगभग १० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ।






प्रतिक्रिया दिनुहोस !