काँपेका हातबाट शब्दहरू अर्पण गर्दैछु। लाग्छ– लेखिएको छ, देशको कुनै कालखण्डको यौटा तर सशक्त इतिहास।
पत्रकार बन्नुअघि म एक अभियन्ता थिएँ। सडकमा नारा लगाउने, हस्ताक्षर अभियान चलाउने र शान्तिपूर्ण प्रदर्शन गर्नेजस्ता थुप्रै क्रियाकलाप गरियो ऊबेला। आयातित पुस्तकमा लागेको भन्सार हटाउने, जलवायु संकटकाल घोषणा गराउन युवाहरूलाई सडकमा उतार्ने, उखु किसानका मुद्दाको आवाज बन्ने, माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउने।
यी सब मेरो यात्राका पानाहरू हुन्। आन्दोलन मेरो आत्मामा गढेको छ। पत्रकारितामा लागेपछि चाहिँ कलमलाई निष्पक्षतामा बाँधें। मेरो नैतिकताले पनि सडकमा आउन दिएन। तर मभित्रको अभियन्ता कहिल्यै मरेन। खैर, मलाई पत्रकार बनाउन पनि मेरो अभियन्ता जीवनले ठूलो भूमिका खेलेको छ।
जेन–जी आन्दोलनको भूकम्पले राजधानीलाई हल्लाउँदा, मेरो कलम समाचार टिप्न व्यस्त थियो तर हृदय भने सडकमा नारा लगाइरहेको थियो। म आफू पनि जेन–जी। न त मलाई सरकार र नेताका काम चित्त बुझेको। जेन–जी आन्दोलनको अग्रपंक्तिमा प्रायः मेरा साथी थिए। म जुन आन्दोलनमा पनि भन्थें— ‘पेसागत बाध्यताले म तिमीहरूको छेउमा उभिन सक्दिनँ तर मेरो मन तिमीहरूसँगै छ।’
सामाजिक सञ्जालमा जेन–जी आन्दोलनको बारेमा धेरै चर्चा चलेको थियो तर कसैले पनि आन्दोलनले यो रूप लेला भन्ने सोचेको थिएन। पहिलो दिन, भदौ २३ गते। मेरो जिम्मेवारी डेक्समा भएकाले म घरमै बसेर अनलाइनबाट आन्दोलन हेर्दै थिएँ र मेरा फोटो पत्रकार साथीहरूसँग फोटो माग्दै थिएँ।
माइतीघरबाट बानेश्वर आउँदासम्म सबै ठीकै देखिन्थ्यो तर एकाएक परिस्थिति बदिलयो। लाइभमा हेर्दा अश्रुग्यासको धुवाँले आकाश धुम्म देखिन थाल्यो। सडकमा ढुंगा र रगत मिसिएका भिडियोहरू देखिन थाले। प्रहरीको बर्बरता तिनै युवामाथि पोखिँदै थियो, जसको आवाजमा परिवर्तनको तृष्णा थियो।
प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको खबर आउन थाले। मलाई घरबाट रिपोर्टिङ गर्न मनले दिएन। करिब ३ बजे ठिमीबाट मोटरसाइकल लिएर नयाँबानेश्वरतिर हानिएँ। कौशलटारमा प्रहरीले बाटो छेकेको थियो। परिचयपत्र देखाउँदै अघि बढें। जडीबुटीमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भइरहेको थियो। मैले त्यो दृश्य फोनबाट कैद गरें। यो सबै छिचोल्दै तीनकुने पुगें। त्यहाँ पनि भिडन्त। त्यहाँको फोटो पनि खिचें। अश्रुग्यासले आँखा पोल्न थालिसकेको थियो। मोटरसाइकल मीनभवनमै राखेर संसद् भवनतर्फ दौडिएँ। दृश्य कहालीलाग्दो थियो। जताततै रगत। मुठभेड जारी थियो। प्रहरीका लागि गोली मट्यांग्रा र बन्दुक गुलेली जस्तै भए।
ताकीताकी गोली चलाइयो। पछि सञ्जाल हेर्दा पो थाहा भयो, घरका कौसीबाट निसाना बनाएका रहेछन् तिनले। कलेज ड्रेसमा लड्खडिएको एउटा जेन–जीमा मैले आफ्नै अतीत देखें। कहिले प्रहरी दमनले थिचिएको, कहिले नारा लगाउँदै ढलेको।
त्यहाँ केही प्रदर्शनकारीहरूको बाइट लिएर तीनकुनेस्थित अन्नपूर्ण एक्सप्रेसको कार्यालय कर्पोरेट टावर–१ फर्किएँ। गत चैतको राजावादी आन्दोलनमा तोडफोड र आगजनीको सिकार भएकाले पनि होला, अफिस वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। समाचार कक्षमा बसेर समाचार लेखें।
शीर्षक बन्यो : दिउँसै मच्चिएको नरसंहार। नबनोस् पनि कसरी ? जब पहिलो दिनमै १९ जनाको राज्यद्वारा हत्या भएछ। राति ९ बजेतिर म घर फर्कंन अफिसबाट निस्किएँ। सडकमा अझै तनाव थियो। भीडले पत्रकारलाई पनि शत्रु ठानेको थियो। त्यो रात घर फर्कंदासम्म मेरो काँधमा मात्र झोला थिएन, डरको भारी पनि थियो।
हजुरबुवा क्यान्सर रोगी हुनुहुन्छ। हरेक तीन हप्तामा किमो लगाउनु पर्छ। भदौ २४, आन्दोलनको दोस्रो दिन बिहान ७ बजे नै म मोटरसाइकलमा नेपाल प्रहरी अस्पताल पुगें। ट्याक्सीमा मामा र बुवा पनि अस्पताल आइपुग्नु भयो। संसद् भवन अगाडि ढुंगामुढा र अश्रुग्यासको घामपानी सुरु भइसकेको थियो। अझै पनि यो आन्दोलनले यत्रो रूप लिन्छ भन्ने कसैको कल्पनामा थिएन।
समाचारहरू आउन थाले— प्रदर्शनकारीहरूले नेताहरूको घरमा आगजनी सुरु गरे है। सुरुमा त मलाई यो कुरा पत्याउनै गाह्रो भयो तर विस्तारै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पती घरमै कुटिएको भिडियोहरू आउन थाले। हेर्दाहेर्दै अस्पताल पनि घाइते प्रहरीले भरिन थाले। घाइते लिन गएको एम्बुलेन्स फर्किंदा आगजनीसहित फर्किन्थ्यो। आकस्मिक कक्षमा अत्तालिएको भीड, असिनाजस्तो बर्सिरहेको रगत, आफन्तको चिच्याहट र प्रहरीको करुण चीत्कारले युद्धक्षेत्र सम्झाइरहेको थियो। हेर्दाहेर्दै अस्पतालका स्वास्थ्यकर्मीहरूले डरले पोसाक खोलेर साधारण कपडामा काम गर्न थाले।
उनीहरूलाई थाहा थियो— पोसाकमै रहे आन्दोलनकारीको आक्रोश अस्पतालभित्रै पस्न सक्छ। अस्पताल नजिकै राष्ट्रपति भवन थियो। म त्यतैतिर लागें। सुरुमा नेपाली सेनाको बाक्लो सुरक्षा थियो। ढाल, बन्दुक, बख्तरबन्द गाडी र अनुशासनमा उभिएका फौज। शीतल निवासलाई सेनाले घेरेर राखेको थियो। तर केही घण्टामै उनीहरू पछि हटे। र भीडले ढोका भत्कायो। भित्र पसेको भीडलाई देख्दा मलाई लाग्यो— देशको सबैभन्दा सुरक्षित ठाउँ त प्रदर्शनकारीको कब्जामा छ भनेपछि आज यो देश कसको हातमा होला ?
भित्र पस्नेहरूले झ्याल फुटाउँदै सामान बोकेर निस्किरहेका थिए। कोही फोटो खिच्दै हाँसिरहेका थिए। कोही सोफा लिएर हिँड्दै थिए त कोही कुर्सी त कोही गमला। केहीबेरमै शीतल निवासमा आगो लगाइयो। राष्ट्रिय एकता कायम गर्दै संविधानको संरक्षकको गर्ने महामहिमको निवासमा आगोको लप्काले रातो आकाश रंगिँदा लाग्थ्यो— जनताहरू आजित भएकै थिए र पोखिदिए सबथोक केही कुराको पर्वाह नगरी। म घरी अस्पताल घरी राष्ट्रपति कार्यालय गर्दै थिएँ। राज्यका तीनै अंग भग्नावशेष भइसकेछन्। विस्तारै उपत्यकाभर उत्सवमा मनाउन थालियो। जेन–जीको भीडले विजय जुलुस निकाल्यो— कोही प्रहरीको पोसाकमा, कोही बन्दुक बोकेर, कोही कब्जा
गरिएका प्रहरीका गाडीमा सयर गर्दै।
मेरो हजुरबुवा अस्पतालको शय्यामा हुनुहुन्थ्यो, त्यसैले अन्यत्र जान सकिनँ। तर राष्ट्रपति भवन नजिकै भएकाले त्यहाँका दृश्यहरू मैले आँखा–आँखैमा बोकेँ। त्यो दिन मैले राजधानीलाई नयाँ आँखाले देखेँ— जहाँ विद्रोह, अराजकता र विजय एकै सासमा धड्किरहेका थिए।
सडकमा कुनै सवारीसाधन चलेका थिएनन्। अवस्था नाजुक थियो तर जसरी पनि हामी घर फर्कनु थियो। हजुरबुवाको किमो पाँच घण्टाको हो। किमो ५ बजे नै सकिसकेको थियो तर हामी माहोल शान्त होला र घर जाउँला भनेर पर्खिरहेका थियौं। अरू कुनै उपाय नदेखेपछि मैले मेरो सबैभन्दा नजिकको साथी विनोद विष्टलाई फोन गरेँ। ऊ कोटेश्वरबाट मोटरसाइकल लिएर आन्दोलनकारीहरूबाट बच्दै अस्पताल आइपुग्यो, रातको करिब ८ बजे। हजुरबुवालाई मैले मेरो मोटरसाइकलमा राखेँ र विनोदले मामालाई राखेर हामी घरतर्फ लाग्यौं।
महाराजगन्जदेखि ठिमीसम्म, प्रत्येक चौकमा उस्तै दृश्य— अराजक भीड, हातमा रक्सीको बोतल, ढुंगा अनि मुखमा तुच्छ गाली। राजधानीका सडकहरू अराजकहरूको कब्जामा पुगेको रहेछ। त्यो दिन काठमाडौं केवल विद्रोही होइन, उन्मादीहरूको पनि सहर बनिसकेको थियो। हामीलाई पनि पटक–पटक रोकियो। मैले हरेक पटक बिन्ती गरिरहेँ— ‘मेरो हजुरबुवा बिरामी हुनुहुन्छ, अस्पतालबाट फर्किंदैछौं।’ कतै त्यही शब्दले बाटो खोल्यो, कतै झुक्याएर भाग्नु पर्यो। तर जडीबुटीमा हाम्रो केही सीप चलेन। भीडले हामीलाई घेर्यो।
एकजनाले विनोदको बाइकमा बाँसले हानेर हेडलाइट फुटाइदियो। हजुरबुवा झस्किनुभयो, मामाको अनुहार रातो भयो। हामीले फेरि एकै स्वरमा याचना गर्यौं— ‘बिरामी लिएर जाँदैछौं, कृपया बाटो दिनुस्।’ म कर्ममा विश्वास गर्ने मान्छे, तर यसपटक भाग्यले नै जोगायो।
यी दुवै दिनले मलाई एउटा सत्य सम्झाइदियो— पत्रकार भए पनि म अभियन्ता मन लिएर बाँचिरहेको छु। जेन–जीका साथीहरूलाई अझै भन्छु— ‘तिमीहरूसँगै सडकमा उभिन सक्दिनँ, तर तिमीहरूको आँसु मेरो आँखाभित्र पोखिन्छ। तिमीहरूको विजय जुलुसमा मेरो आत्मा पनि सहभागी हुन्छ। र तिमीहरूको हारमा मेरो मन पनि भत्किन्छ।’
यस आन्दोलनमा धेरै पत्रकार घाइते भए, गोली खाए। उनीहरूका कथा मेरोभन्दा बलिया छन्। उनीहरूका डायरी मेरोभन्दा ऐतिहासिक हुनेछन्। तर म पनि छोटो अनुभवलाई बाँडेको छु। आफ्ना काँपेका हातबाट शब्दहरू अर्पण गर्दैछु— शायद कमजोर होलान्, तर यिनमा मेरो समय, मेरो संघर्ष र मेरो आत्मा मिसिएको छ। र लेखिएको छ, देशको कुनै कालखण्डको यौटा तर सशक्त इतिहास।
प्रतिक्रिया दिनुहोस !