आधुनिक इब्सेन जोन फोस्से

आधुनिक इब्सेन जोन फोस्से

युवावस्थामा कम्युनिस्ट विचारधाराबाट समेत प्रभावित भएका फोस्सेले समाजको यथार्थतालाई साहित्यको माध्यमबाट सबै सामु प्रस्तुत गरेको पाइन्छ।

आधुनिक यथार्थवादी नाटककार हेनरिक इब्सेनको पदचिह्नलाई पछ्याउँदै अगाडि बढेका जोन फोस्सेले सन् २०२३ को साहित्य विधाको विश्व प्रसिद्ध नोबेल साहित्य पुरस्कार प्राप्त गरेका थिए। नोबेल साहित्य पुरस्कार घोषणा गरेपछि उनका कृतिहरूको खोजी र पठन विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्न पुगेको पाइन्छ। पछिल्लो समय उनको तुलना हेनरिक इब्सेनसँग हुने गरेका कारण उनलाई आधुनिक इब्सेन पनि भन्ने गरिन्छ।

बर्गेनविश्वविद्यालयमा तुलनात्मक साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन गरेका फोस्सेको रुचि साहित्यबाहेक संगीतमा पनि देखिन्छ। युवावस्थामा उनी हिप्पी संस्कृतिप्रति पनि आकर्षित भएका थिए। त्यस्तै, युवावस्थामा कम्युनिस्ट विचारधाराबाट समेत प्रभावित भएका फोस्सेले समाजको यथार्थतालाई साहित्यको माध्यमबाट सबैका सामु प्रस्तुत गरेको पाइन्छ। उनी कवि, कथाकार र निबन्धकारभन्दा पनि बढी नाटककार र उपन्यासकारका रूपमा चिनिन्छन्। उनका अधिकांश नाटक र उपन्यासमा एक्लो पात्रको जीवनको भित्री रहस्य र उनीहरूको खोजलाई कलात्मक रूपमा प्रस्तुत गरिएको पाइन्छ। 

फोस्सेको साहित्यिक यात्राका सुरुवात भने सन् १९८३ मा प्रकाशित रातोकालो उपन्यासबाट भएको हो। त्यस्तै, उनको दोस्रो उपन्यास सन् १९८६ प्रकाशित क्लोज्ड गितारलाई मानिन्छ। साहित्यका उपन्यास, कविता, कथा, नाटक, निबन्ध र बाल साहित्यमा ६ दर्जनभन्दा बढी कृति लेखिसकेका फोेसेका कृतिहरू विश्वका विभिन्न भाषामा अनुवाद भएका पाइन्छन्। उनका कृतिहरू अंग्रेजी भाषामा न्यून र फारसी भाषामा बढी मात्रामा अनुवाद भएको पाउन सकिन्छ। फारसी भाषामा उनका कृतिलाई अनुवाद गर्ने कार्य मोहमद हमेदले गरेका हुन्। पछिल्लो समयमा उनका केही नाटकलाई अंग्रेजी भाषामा अनुवाद गर्ने काम पनि भएको छ।

यसरी उनका नाटकलाई अंगे्रजीमा अनुवाद गर्ने कार्य साराह क्यामरुन सन्डेले गरेकी हुन्। स्विडिस एकेडेमीले फोस्सेलाई नोबेल साहित्य पुरस्कार प्रदान गर्नुका कारणबारे विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरेको छ, ‘नभनिएका र भन्न नसकिने कुरालाई प्रयोगात्मक नाटक तथा गद्यबाट आवाज उठाएका कारण सन् २०२३ को नोबेल साहित्य पुरस्कार प्रदान गरिएको हो।’ उनका अधिकांश नाटकका भाषा लयात्मक र काव्यात्मक रहेका छन् भने अधिकांश नाटकहरू इरान र अमेरिकालगायत विश्वका विभिन्न देशमा मञ्चन पनि भइसकेका छन्। साराह क्यामरुनले उनको रातले आफ्नो गीत गाउँछ, मृत्यु भिन्नताहरू, शरदको सपना, एक गर्मी दिनलगायत नाटकलाई निर्देशन गरी अमेरिकाका विभिन्न सहरमा मञ्चन गराइसकेकी छन्।

फोस्सेका बोट हाउस, ड्रिम अफ अटम, एलिस एट द फायर, मर्निङ एन्ड इभिनिङ, सेप्टोलोजी लोकप्रिय उपन्यास हुन् भने द नेम, आई एम द विन्ड, समवन इज गोइङ टु कम उनका चर्चित नाटक हुन्। साहित्यमा कलम चलाएबापत फोस्सेले सन् १९९२ देखि देशविदेशबाट थुप्रै पुरस्कार प्राप्त गरिसकेका छन्। उनले पाएका प्रमुख पुरस्कारमा इब्सेन पुरस्कार, ब्राज पुरस्कार, साहित्यका लागि युरोपेली पुरस्कार, नेस्ट्रोए थिएटर पुरस्कार मुख्य मानिन्छन्।

यसअघि सन् १९०३, सन् १९२० र सन् १९२८ मा पनि नर्बेली लेखकहरूले साहित्य विधामा नोबेल पुरस्कार पाइसकेका छन्। फोस्से भने साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने नर्वेका चौथो लेखक हुन्। यस अगाडि नर्वेका बियोन्स्टन बियोन्सन (१९०३), क्युत हाम्सुन (१९२०) सिग्रिड अन्डसेट (१९२८)ले नोबल पुरस्कार प्राप्त गरिसकेका छन्। नर्वेजियन समाजले आफ्ना यी लेखकका सम्मानमा प्रत्येक वर्ष साहित्यिक कार्यक्रमको आयोजना गर्ने गरेको छ भने साहित्य उत्सवमा फोस्सेका नाटक पनि मञ्चन गर्ने गरिएको पाइन्छ। उक्त अवसरमा उनका कविता पनि पाठ गरिन्छ। कलेक्टेड पोएम्स फोस्सेको प्रसिद्ध कविता संग्रहको नाम हो। जसमा एन्जेल विद वाटरी आइज, द मुभमेन्ट्स अफ द डग, डग एन्ड एन्जेल, आइज इन द विन्ड तथा थुप्रै नयाँ कविता समावेश छन्। योन फोस्सेलाई न्यूनतमवादका प्रवर्तकसमेत मानिन्छ। उनका मेलन्कली १—२, आई एम द विन्ड, एलिस एट द फायर, सिन्स ए चाइल्ड हुड आदि महत्त्वपूर्ण कृति हुन्।

द गर्ल अल द सोफा, नाइट सङ्स, प्लेज (वान टु सिक्स), द डेड डग्स, मर्निङ एन्ड इभिनिङ, बोट हाउस, सेप्टोलोजी (वान टु सेभेन), एन एन्जेल वाक्स थ्रु द स्टेज एन्ड अदर एसेज, ए साइनिङ फोस्सेका अंग्रेजी भाषामा अनुवाद भएका कृति हुन्। उनले कविताका अलावा करिब ४० भन्दा बढी नाटक, कथा, लेख तथा बाल साहित्यको रचना र नर्वेजियन भाषामा बाइबलसमेत अनुवाद गरेका छन्। फोस्सेका रचनामा स्यामुयल बेकेट, अगस्ट स्टिंगवर्गको प्रभाव पाइने कुरा नोबेल समितिका अध्यक्ष एन्डर्स अल्ससनले बताएका छन्। उनका अनुसार फोस्सेको साहित्यमा नर्वेजियन भाषा, पृष्ठभूमि र प्रकृति विशेष रूपमा सजिएको पाउन सकिन्छ।

उनको बाल्यकाल ज्यादै दुःखद् र संघर्षपूर्ण थियो। जसका कारण उनका अधिकांश कृतिमा उनको बाल्यकालको दुर्घटनाको प्रभाव परेको पाइन्छ। उनी सात वर्षको हुँदा गम्भीर दुर्घटनामा परेका थिए र उक्त दुर्घटनामा भाग्यले बाँच्न सफल भएका थिए। फोस्सेको जन्म सन् १९५९ सेप्टेम्बर २९ मा नर्वेको हजेसन्डमा भएको थियो। फोस्सेको तीनजनासँग वैवाहिक सम्बन्ध गाँसिएको पाइन्छ। उनको पहिलो विवाह सन् १९८० मा बोर्ज सिजेल र दोस्रो विवाह सन् १९९३ मा नर्वेजियन लेखिका ग्रेथ फतिमासँग भएको थियो। पहिलो र दोस्रो श्रीमतीसँगको वैवाहिक जीवन सफल नभएपछि उनले सन् २०११ मा अन्नासँग विवाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.