देवकोटा ! तिमीलाई पागल करार गर्नेहरूको
रवैया उस्तै छ अझै पनि
हरसाल फेरिन्छन् भित्तेपात्रोहरू समयसँगै यहाँ
उस्तै छ जनताको डँडाल्नोमा ब्रह्मलुटको प्रहार
तिमी गुलाफमा हेलेन र पद्मिनी पाउँथ्यौ
शब्दहरूमा सुन्थ्यौ जीवनको स्पन्दन
अचेल प्लास्टिकका गुलाफमा
मानिसहरू खोजिरहेछन् हराएको मुस्कान
र, उडिसकेको सुगन्ध
म भने ‘क्याक्टस’मा भेट्छु आफूलाई
मरुभूमिमा पाउँछु जीवन
हरेक रात मेरो सपनाबाट झर्छन्
पारिजातका फूलहरू र म खोजी बस्छु
पूर्णिमाको रातको उज्यालोमा
अस्तित्वको जिजीविषा
ए ! जीवनकाव्यका महर्षि
अझै पनि उस्तै छ विभेदको पर्खाल
रुपा सुनारहरू भइरहेछन् बहिस्कृत
मारिँदैछन् भीमबहादुर र नवराज विकहरू
मन्दिर पसेको कसुर र दलित भएको निहुँमा
उस्तै छ मानिसकै आँगनमा मानवताले
दयाको भीख माग्ने उपक्रम
अझै छ बोलवाला
तिमीलाई राँची पठाउनेहरूकै
बसेका छन् तम्तयार उनीहरू
समाजलाई पागलखाना बनाउने होडबाजीमा
तिम्रा शेक्सपियरहरू अचेल
पैसासँग अरबमा रगत र पसिना साटिरहेछन्
मुनाहरू तिम्रा आजकल खाडीमा बेचेर बैंस
किनिरहेछन् खुसी र सपना
फर्किरहेछन् कैद भएर रातो बाकसमा कालीदासहरू
तिम्रो विपनाको विश्व संवेदना
क्रयविक्रयकोे बधशाला बनेको छ
प्रिय कवि, यो कुरुप समयमा ठीक यतिबेला
स्मृतिको मन्दिरमा बसेर गरिरहेछु म
तिम्रो सुन्दर शान्त विशाल नेपालको
सपनाको अभ्यर्थना...।
- रिमा केसी
प्रतिक्रिया दिनुहोस !