देख्दाखेरी मेरो कन्चट त्यसै आउँछ रन्की

गीत समीक्षा

देख्दाखेरी मेरो कन्चट त्यसै आउँछ रन्की

अहिले पनि सियोको टुप्पोले देशप्रेमीको मुटु बिझाइरहेको छ। मुलुकमा जुन वाद र तन्त्र आए पनि पिँधको मानिस पिँधमै छ।

सियोको टुप्पोले मुटु बिझ्यो दमाईं दाइ
आजलाई देशलाई देखेर 
जर्जर पातमा कीराले दमाईं दाइ

देश दशा झलक्कै लेखेर 

नेपाली सांगीतिक क्षेत्रका एक होनाहार गायक शिशिर योगीले आफ्नै संगीतमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सुरचित यस गीतलाई गहिरो भावमा डुबेर गाए। गीत सार्वजनिक भएसँगै उनलाई धेरैबाट झम्टाई र धम्की आएछ। ‘एक चर्चित गायक भएर कुनै एउटा जातिको आस्थालाई खलल पुर्‍याउने गरी यस्तो गीत गाउने अधिकार तपाईंलाई कसले दियो ?’ शिशिरले यस्ता प्रश्न गर्ने सबैलाई विनम्रतापूर्वक आग्रह गरेछन्– ‘मित्र ! पहिला यस गीतमा प्रयोग भएका शब्द अनि तिनको भावको गहिराइ बुझ्ने चेष्टा गर्नुहोस्। त्यसपछि सोच्नुहोस्– गीतले कसैको आस्थामाथि खलल पुर्‍याउँछ वा कसैको आस्थालाई सम्मानको उच्चतम बिन्दुमा आरोहण गराउँछ ?’ शिशिरको प्रतिप्रश्न सुनेर गीतको गहिराइ छामेपछि प्रश्न गर्ने केही साथीले आत्मालोचना गरेछन्।

देवकोटा नेपाली काव्य जगतका एक विशिष्ट प्रतिभा हुन्। नेपाली झ्याउरे लयमा त उनको कलमले यसरी कब्जा जमाएको छ कि जसले पाठकका हृदयमा हजारौं वर्ष राज गरिरहनेछ। महाकाव्यका ठेली, खण्डकाव्यका अनेक रूप र कविता संग्रहका विविध शैलीले भन्न नसकेका कुरा उनले गीतमा भनेका छन्। उनले गीतिकाव्य र गीति नाटक पनि रचना गरेका छन्। उनको ‘गाइने गीत’ शीर्षकको गीत संग्रह पनि अस्तित्त्वमा छ। उनका धेरै गीत रेकर्ड भएका छैनन्। बौद्धिकता र भावको गहनता हुने भएर होला, धेरै गायक संगीतकार उनका शब्दमा रमाउन सकेनन्। यति हुँदाहुँदै पनि संसाररूपी सुख स्वर्गभित्र, सुनको बिहान र यात्रीलगायतका केही काव्यात्मक बान्कीलाई गीत बनाएर गाइएकै हुन्। मुनामदनका केही अंश पनि स्वर 
र सुरको जादुमा भरिएकै हुन्। 

देवकोटाका थोरै गीतमध्ये ‘सियोको टुप्पो’ एक भावात्मक गीत हो। देवकोटाले यसमा दमाईं दाइको बिम्बलाई बडो गजबले प्रस्तुत गरेका छन्। यस गीतमा फाटेर जर्जर भएको देशलाई तुनेर उनेर बलियो पार्नु पर्ने संकेत गरेका छन्। देशको जर्जरतालाई सिएर सुन्दर देश बनाउन सक्ने क्षमता दमाइँ दाइको सियोको टुप्पोमा मात्रै हुन्छ भन्ने भाव यसमा छ। दुई अलग धारलाई जोडेर मजबुत बनाउन सक्ने सियोको टुप्पोले कसैको मुटुमा घोच्नुहुन्न। सियोले उध्रेकोलाई सुधार्छ। च्यातिएकोलाई जोड्छ र फाटेकोलाई सपार्छ। सियो चलाउनेहरू, सम्बन्ध जोड्नेहरू अनि मुलुकलाई गति दिनेहरू जहिल्यै तल परे। सबै मानव बराबर हुन् भन्ने भावभूमिमा आफ्ना रचनावली चम्काउने देवकोटाको यस गीतमा पनि मानवता, राष्ट्रप्रेम र प्रकृतिप्रेमको त्रिवेणी पाइन्छ। स्वच्छन्दतावादका झरिला झिल्का यहाँ पनि भेटिन्छन्। मान्छेले मान्छेलाई गरेको दुव्र्यवहार देख्दा यस गीतमा पनि देवकोटाको कलम प्रश्न बनेर उभिएको छ।
जस्ले चुस्छ त्यही गुरु रे त्यसकै तिमी चेला
भए न है अझ किन आँखा खोल्ने बेला ? 

प्रस्तुत पंक्ति मुलुकको वर्तमान अवस्थासित ठ्याक्कै मेल खान्छ। मानिसहरू इमान, नैतिकता, जिम्मेवारी र मानवता भुलेर भ्रष्ट नेताका पछि अझै लागेका छन्। सहिदको रगत विगतदेखि वर्तमानसम्म खेर गएको छ। उही हुल्लजवादी, उही लुटलाट कम्पनी र दम्भका सामु मानव अस्तित्त्व लम्पसार छ। यहाँ एउटा मानवले अर्को मानवलाई हेपेको, छुवाछूत गरेको र सताएको देख्दा कविको दिमाग रन्किएको छ, सन्किएको छ।

कुकुरलाई चुमेर मान्छेलाई छि छि र थु थु गर्दै थुक्ने अनि जथाभावी भुक्ने प्रवृत्तिलाई देवकोटाले तिरस्कार गरेका छन्। हिजो मानिसको आवाज दबाइएको थियो, आज पनि दबाइँदै छ। हिजो जनअपेक्षाको अवमूल्यन हुने गरेको थियो, आज पनि हुने गरेको छ। हिजो जनता नांगाभोका थिए, आज पनि नांगाभोका छन्। आज पनि सत्तामा बस्नेले जनतालाई नालीका गन्धा र कीरा मान्ने प्रवृत्तिमा फेरबदल आएको छैन। सुनको मन्दिरभित्र ढुंगाको ईश्वर बस्छ र भक्त बनेको मानिस गाँजाको नशामा सन्किन्छ। अहिले पनि जनता थिचिएको सुनको खानीजस्ता भएका छन् भने नेता सुरापानामा अलमस्त छन्। सायद देवकोटाले तत्कालीन समयमा नेतागणले जनतामाथि प्रदर्शन गरेको गैरजिम्मेवारीपनाले आजित भएर यो गीत रचना गरेका हुन्। भूत र अभूत दुवै समयमा नेतागण जनतालाई सिनो बनाएर कुहिएको लासमा भन्किने झिँगाको हैसियतभन्दा माथि उठ्न सकेनन्। 

राणा शासनले मुलुकलाई चरम शोषण, अन्याय र अत्याचार गर्‍यो। जनताका सन्ततिलाई गोलीले भुट्यो। राणाशासन ढल्यो तर साँचो प्रजातन्त्र आएन। नाम मात्रको नक्कली प्रजातन्त्र आयो। त्यो प्रजातन्त्र पनि गयो। पञ्चायत आयो। पञ्चायतको निरंकुशता विरुद्धमा जनताले क्रान्ति गर्‍यो। पञ्चायतले पनि जनता मार्‍यो। क्रान्तिकारी जनतालाई अराष्ट्रिय तत्त्व भन्यो। पञ्चायत सकियो। फेरि प्रजातन्त्र आयो। राजतन्त्रसहितको प्रजातन्त्रले पनि जनअपेक्षा पूरा गर्न सकेन।

मुलुकले ठूलो आन्तरिक कलह र युद्ध भोग्यो। गणतन्त्रका लागि कयौं जनताका छोराछोरी बलि चढे। गणतन्त्र आयो। गणतन्त्रले पनि खोलमात्र ओडेर आयो। सारमा छाडातन्त्र, लुटतन्त्र, मनपरीतन्त्र र भ्रष्टाचारतन्त्रले मुलुक जर्जर भयो। अहिले २०८२ को मध्यविन्दुमा हामी जेन—जी आन्दोलनको उभारले कम्पायमान छौं। भ्रष्टाचारमुक्त, सुन्दर, समृद्ध र सुशासनयुक्त मुलुकको सपना देख्ने कलिला छोराछोरी मारिएका छन्। सत्ताका पिशाचहरूलाई 
अलिकति पनि पश्चात्ताप र लज्जाबोध छैन। 

सत्ताले हरेक आन्दोलनमा घुसपैठ र षड्यन्त्र देख्छ। हिजो पञ्चायत सत्ताले क्रान्तिकारीलाई अराष्ट्रिय तत्त्व भन्यो। हिजो माओवादी आन्दोलन हुँदा दक्षिणी हावा, ईयू र सीआइए अनि विदेशीको मतियार भन्यो। आज जेन—जी आन्दोलनलाई पनि पुरानो सत्ता विदेशी दलाल र डार्क स्टेटको गोटी देख्दै छ। आफूबाहेक अरू सबैलाई खत्तम देख्ने 
मनोरोगले ग्रस्त छ नेपालको राजनीति।

अहिले पनि सियोको टुप्पोले देशप्रेमीको मुटु बिझाइरहेको छ। मुलुकमा जुन वाद र तन्त्र आए पनि पिँधको मानिस पिँधमै छ। जनता शोषण र दमनको सिकार छ। सत्तामा तर मार्न पल्केकाहरू मुलुकका कुनाकुनामा बसेर बुढो साँढे जसरी डुक्रिरहेका छन्। देवकोटाको पालामा पनि मार्ने वर्ग उही थियो अहिले पनि मार्ने वर्ग उही छ। दुर्भाग्य के हो भने अहिले पनि तिनै सत्ताका प्यादाहरू सर्वसाधारण जनताका छोराछोरी मरिरहेका छन्। कीराले पात खाएर जर्जर पारेझैं देशलाई जर्जर बनाइरहेका छन्। 

सुनको मन्दिर ढुंगो ईश्वर धर्म गाँजा सन्की
अचाक्ली नै भयो हाम्लाई हाम्रा हक छन् कि
सडेका कपडा अनि कुहेका चमडा
रगत सुक्यो दमाईं दाइ नक्कलीले लाल सर्वत पिएर...। 

सियोको टुप्पोले

सियोको टुप्पोले मुटु बिझ्यो दमाईं दाइ
आजलाई देशलाई देखेर 
जर्जर पातमा कीराले दमाईं दाइ
देश दशा झलक्कै लेखेर 
    ईश्वरको मूर्ति मान्छे, मान्छे गर्छ हेला
    एउटै मासु एउटै रगत एउटा अर्को पेला
    पैले खाँद्छन् मुलालाई पछि भन्छन् सिन्की
    मान्छे सडाई मान्छे खान्छ झिँगा जस्तो भन्की
    देख्दाखेरी मेरो कन्चट त्यसै आउँछ रन्की
जस्ले चुस्छ त्यही गुरु रे त्यसकै तिमी चेला
भए न है अझ किन आँखा खोल्ने बेला ?
कुकुर चुम्छन् मानिस थुक्छन् हामीलाई दमाईं दाइ
लात्तीले नै फुटबल झैं फ्याँकेर 
    थिचिएको सुनको खानी भुइँचालोले झिक्ला
    दबिएको आवाजलाई ज्वालामुखी फेक्ला
    ठाँटिएका परी देउता स्वर्गका छन् सुरा
    हामी नांगा हामी भोका हिउँदका छुरा
    हामी नाला हामी गन्धा हामीहरू कीरा
सुनको मन्दिर ढुंगो ईश्वर धर्म गाँजा सन्की
अचाक्ली नै भयो हाम्लाई हाम्रा हक छन् कि
सडेका कपडा अनि कुहेका चमडा
रगत सुक्यो दमाईं दाइ नक्कलीले लाल सर्वत पिएर।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.